धरान: आज मंगलबार निजामती कर्मचारी दिवस मनाउँदैछ । तर, सरकारले यो पटक पनि सर्वोत्कृष्ट निजामती कर्मचारी भेटेन ।
सरकारले यस वर्ष पनि निजामती सेवामा काम गर्ने राम्रो कर्मचारी फेला पार्न सकेन । हरेक वर्ष एकजना कर्मचारीलाई सर्वोकृष्ट निजामती सेवा पुरस्कार प्रदान गर्दै आएको सरकारले यसपटक पनि कोही कर्मचारी फेला पार्न नसकेको हो । देशभरि नै ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ आदर्श वाक्यका साथ दिवस मनाइने गरिन्छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले ४० जनालाई निजामती पुरस्कृत गर्ने घोषणा गरे पनि सर्वोत्कृष्ट कर्मचारीको नाम उल्लेख छैन ।
निजामती कर्मचारी दिवसका अवसरमा १० जनालाई उत्कृष्ट र ३० जनालाई निजामती सेवा पुरस्कार दिइँदैछ । उत्कृष्ट कर्मचारीको पुरस्कार राशी एक लाख र निजामती सेवा पुरस्कार ५० हजार रुपैयाँको रहेको छ ।
सरकारले हरेक वर्ष २२ भदौमा निजामती कर्मचारी दिवस मनाउँदै आएको छ । निजामती सेवा नियमावली २०५० अनुसार निजामती सेवा पुरस्कारको व्यवस्था गरिएको छ । सर्वाेत्कृष्टलाई दुई लाख रुपैयाँको पुरस्कार राशी भए पनि छनोट समितिले सर्वाेत्कृष्ट कर्मचारी नै सिफारिस गरेको छैन ।