धरानः प्रत्येक वर्ष भाद्र कृष्ण औंसीका दिन मनाइने बुबाको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ ।
दिवङ्गत पितालाई तर्पण, सिदादान र श्राद्ध गरेर एवम् पिताप्रति आदर सम्मान साथ मीठो खान तथा राम्रो लगाउन दिई बुबाको मुख हेर्ने पर्व मनाइँदैछ ।
दिवङ्गत पिताका नाममा उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदादान र श्राद्ध गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए ।
गोकर्णेश्वर उत्तरगया, बेत्रावती उत्तरगयालगायत पवित्र स्थलमा गई पितृप्रति सम्मानका साथ श्राद्ध गर्दा घर, मामाघर र ससुराली तर्फका तीन, तीन पुस्ताका पितृले मोक्ष पाउने धार्मिक विश्वास छ ।
‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । पगकजकुशे औंसी भाद्र कृष्ण औंसीकै दिन वर्षभर देवकार्य, पितृकार्यलगायत धार्मिक कर्म गर्न आवश्यक पर्ने कुश उखेलिन्छ ।
आजका दिन वैदिक मन्त्रोच्चारणपूर्वक उखेलिएको कुश वर्ष दिनसम्मका कर्ममा प्रयोग गर्न सकिने र अन्य दिन उखेलिएको कुश त्यसदिन मात्र प्रयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको अध्यक्ष गौतमले बताए ।
हिन्दूहरुले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । कुशलाई भगवान् विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजका दिनमा घरघरमा नयाँ कुश राखेमा रक्षा हुन्छ र छोएमा पाप मुक्त भइन्छ भन्ने मान्यता छ ।
यस्तै, आजै नेपाली साहित्य नक्षत्रका यूगकवी मोतीराम भट्टको जन्मजयन्ती मनाइन्छ । विसं १९२३ साल भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा उनको निधन भएको थियो ।
भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि अतुलनिय योगदान पुर्याएका छन् । नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका थिए भने नेपालमा छापाखानासमेत भित्र्याएका थिए । नेपाली भाषामा गजलको प्रारम्भ पनि यीनै महान मोतीरामले नै गरेका हुन् ।