उदयपुरः उदयपुरमा एक युवा लुटिएका छन् । ओखलढुङ्गाबाट खाद्यान्न सामग्री पुरयाएर फर्किँदै गरेका २५ वर्षीय बोलेरो चालक प्रकाश श्रेष्ठ लुटिएका हुन् ।
ओखलढुङ्गामा खाद्यान्न पुरयाएर प्रदेश–२–०१–००१च ०३६९ नम्बरको बोलेरोमा फर्किँदै गरेका चालक मङ्गलबार राति लुटिएका हुन् । उदयपुर जिल्लाको कटारी–८ स्थित बर्मी जङ्गलमा उनी लुटिएका हुन् । उनको साथमा रहेको १३ लाख ७७ हजार ८९५ लुटपाट भएको प्रहरीले जनाएको छ ।
उदयपुरका एसपी सुवासचन्द्र बोहराले लुटपाटमा संलग्न ५४ वर्षीय रमेशकुमार श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिए ।
कटारी आउने तयारी गरेका चालक श्रेष्ठलाई रमेशले म पनि कटारी सँगै जान्छु भनेर भनेपछि उनी पनि बोलेरोमा चढेका थिए । जङ्गलमा पुगेपछि चालक श्रेष्ठले पिसाब फेर्न गाडी रोकेका थिए । पिसाब फेरिरहेका बेला रमेशले चालक श्रेष्ठको गर्दनमा ढुङ्गाले प्रहार गरी बेहोस बनाएका थिए । चालक श्रेष्ठ बेहोस बनेपछि झोलामा रहेको नगद र मोबाइल लुटेर रमेश सुइँकुच्चा ठोकेका थिए ।
नगद कटारी नगरपालिका–४ घर भएका जमानसिंह बस्नेतको भएको बताइएको छ । प्रहरीले रमेशको साथबाट लुटेको पैसा र मोबाइल बरामद गरिएको जनाएको छ । बोलेरो चालकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । लुटपाटमा संलग्न रमेशलाई चोरी र ज्यान मार्ने उद्योग मुद्दामा इलाका प्रहरी कार्यालय कटारीले अनुसन्धान गरिरहेको छ ।