धरानः नेपाली कांग्रेसका युवा नेताहरूले अधिवेशन तालिका संशोधन भएकोप्रति आपत्ति जनाएका छन् । कांग्रेसका १२ युवा नेताले संयुक्त विज्ञप्ति जारी गर्दै अधिवेशन तालिका संशोधन गरिएको प्रति आपत्ति जनाएका हुन् ।
स्थानीय तहका अधिवेशनहरू पर सारिएको प्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको उनीहरूले जनाएका छन् । ‘सबै घटनाक्रमप्रति हाम्रो ध्यान गम्भीर रूपमा आकृष्ट भएको छ । निर्धारित समयमा चौधौं महाधिवेशनको सुनश्चितताका लागि पार्टी नेतृत्वको ध्यानाकर्षण गराउन चाहान्छौं’, विज्ञप्तिमा भनिएको छ ।
अधिवेशन प्रकृया सुरु भैसक्दा पनि पार्टीको केन्द्रीय कार्यालय सानेपामा धर्ना, अनसन चलिरहने अवस्थालाई सुखद् घटनाको रूपमा लिन नसकिने उनीहरूको धारणा छ । समानुपातिक प्रतिनिधित्वको माग गरिरहेका साथीहरूको मागमा आफूहरूको ऐक्यवद्धता रहेको उनीहरूले जनाएका छन्।
डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, सरिता प्रसाईं, जीवन परियार, प्रदिप पौडेल, रामकृष्ण यादव, किरण यादवलगायतले संयुक्त रूपमा विज्ञप्ति जारी गरेका हुन् ।