Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

किरातहरुको साझा लिपि बन्ने

हाम्रो कोशी आवाज
असोज १४ २०७८, बिहिबार
किरातहरुको साझा लिपि बन्ने

धरानः किरातहरुका चार संस्थाहरुको संयुक्त बैठकले सम्पूर्ण किरातहरुले एउटै साझा लिपि निर्माण गरेर प्रयोग गर्ने निर्णय गरेका छन् । साझा लिपिको नाम किरात सिरिजङ्गा लिपि हुने भएको छ ।
किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, सुनुवार सेवा समाज, किरात याक्खा छुम्मासहितको किरात समन्वय समितिले एउटै साझा लिपि निर्माण गरी लेखन प्रणालीको विस्तार तथा विकास गर्ने निर्णय गरेको हो ।
काठमाडौँको कोटेश्वरस्थित सुनुवार सेवा समाजको कार्यालयमा बसेको समन्वय समितिको बैठकले सबै किरातहरुकाे साझा लिपि तयार पारी प्रयोग गर्ने निर्णय गरेको हो ।
किरात याक्थुङ चुम्लुङले २०४९ सालदेखि नै किरात सिरिजंगा लिपि नामकरण गरी प्रयोगमा ल्याएको किरात लिपिलाई नै विस्तार गरी सबै किरातीहरुको भाषा अनुसार परिमार्जन गरी साझा लिपि निर्माण गरिनेछ ।
यसका लागि बैठकले भाषाविद् तथा त्रिभुवन विश्वविद्यालयका उप-प्राध्यापक डा. तारामणि राईको संयोजकत्वमा ९ सदस्यीय कार्यदल समेत बनाएको छ । कार्यदललाई आगामी माघ १ गतेसम्मका लागि समय दिइएको छ ।
कार्यदलको सदस्यहरुमा प्राज्ञ अमर तुम्याहाङ, डा. लाल रापचा, डा. गणेश जिमी, गणेश वाम्बुले राई, डिबी आङ्बुहाङ, इन्दिरा जिमी र उत्तम सुनुवार छन् । एक जना सदस्य भने पछि थपिने भएको छ ।
संयोजक डा. तारामणि राईका अनुसार कार्यदलले किरात सिरिजङ्गा लिपिलाई साझा रुपमा लेख्ने प्रणालीमा प्रयोग हुनेगरी अध्ययन गर्ने, सम्पूर्ण किराती भाषाहरुलाई किरात सिरिजङ्गा लिपिमा लेखनका लागि वर्णहरु निर्धारण गरी समायोजन गर्ने र वर्ण तथा लिपि सार्वजनिक गरेपश्चात थप्नुपर्ने ध्वनी, चिन्हसहितको लिपि प्रतिवेदन तयार पार्ने कार्यादेश दिइएको छ ।
२५ व्यञ्जन र १० स्वर वर्ण रहेको किरात सिरिजङ्गा लिपिलाई करिब तीन दर्जन किराती भाषाहरुलाई समेट्ने गरी साझा लिपि बनाउनका लागि त्यसमा थप गरी करिब ४३ वटा व्यञ्जन वर्ण पुर्याउनुपर्ने सुझाव यसअघि नै संयोजक राईले दिएका थिए ।

प्रकाशित मिति: असोज १४ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend