धरानः प्रतिनिधिसभाका सांसदहरूले १८ वर्षलाई विवाहको उमेर हद तोक्नुपर्ने तथा लिभिङ टुगेदरलाई कानूनी मान्यता दिनुपर्ने प्रस्ताव गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको कानुन, न्याय तथा माधव अधिकार समितिको बैठकमा सांसदहरूले कानूनले १८ वर्षमा वालिग हुने व्यवस्था गरिसकेपछि विवाहका लागि उमेर हद तोक्न नपर्ने बताएका हुन्। त्यस्तै सांसदहरूले लिभिङ टुगेदरलाई पनि कानूनी मान्यता दिनुपर्ने प्रस्ताव गरेका छन्।
बलात्कारसँग सम्बन्धित कानूनका विषयमा भएको छलफलमा नेपाली कांग्रेसका सांसद मीन विश्वकर्मा, लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मणलाल कर्ण, नेकपा माओवादी केन्द्रका मातृका यादव र नेकपा एमाले सांसद तथा समिति सभापति कृष्णभक्त पोखरेलले कानुनले विवाहको उमेर हद घटाउनुपर्ने बताएका हुन्।
बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले लिभिङ टुगेदरलाई कानूनी मान्यता दिनुपर्ने प्रस्ताव गरे। लिभिङ टुगेदर अस्थायी विवाह भएकाले दर्ता गरी कानूनी मान्यता दिनुपर्ने उनको भनाइ छ।
त्यस्तै समितिका सभापति पोखरेलले नेपालको विद्यमान कानूनले शारीरिक सम्पर्कका लागि उमेर हद १८ वर्ष तोकेकाले विवाहको लागि पनि सोहीअनुरुप हुनुपर्ने बताए । हाल नेपालमा केटाकेटी दुबैका लागि विवाह गर्न उमेर हद २० वर्ष तोकिएको छ।