पूर्व धरानका ज्याकी लिम्बुको सपना छ, हिपहप डान्सर बन्ने। उसले आफ्नो शहरमा केही नाम पनि कमाएको छ। अनि ज्याकीका पिताको सपना छ- छोरालाई ब्रिटिस लाहुरे बनाउने।
ज्याकी, बाबुको सपनामा जबरजस्ती हिँडिरहेको छ भने बाबु छोरालाई जबरदस्ती लाहुरे बनाउन चाहिरहेछन्।
ज्याकीले आफ्नो सपना पूरा गर्ला या बाबुको?
यही नै रिनाशा राई राणा निर्देशित नेपालको पहिलो डान्स सिनेमा ‘ज्याकीः आई एम ट्वान्टीवान’को कथा हो।
रिलिज अगाडि यो सिनेमा कतै हलिउड सिनेमा ‘स्टेपअप’ वा बलिउड सिनेमा ‘एबिसिडी’को कपी त हुने हैन? भन्ने संशय नेपाली सिनेनगरीमा थियो।
सिनेमा रिलिज भइसकेको छ, र यसको जवाफ हो- छैन्।
सिनेमाले नेपालमा नृत्यबाट भविष्य खोज्नेहरूको मनोदशामै आफ्नो कथा पस्केको छ।
झण्डै २ घण्टा २० लामो सिनेमा मेकिङ्का हिसाबले गज्जब लाग्छ।
आफ्नो दोश्रो निर्देशनमा निर्देशक रिनाशा थप परिस्कृत बनेकी छन्। उनले सिनेमाको प्रत्येक सटलाई स्तरीयरूपमा प्रस्तुत गरेकी छन्। कुनै पनि सटमा उनले कम्प्रोमाइज गरेकी छैनन्।
उनको खुबी सिनेमामा राम्रोसँग आएको छ।
कलाकारलाई उनले उनीहरूको मनोदशाबाट बाहिर निस्कन दिएकी छैनन्। यसका लागि रिनाशा धन्यवादकी पात्र हुन्। सिनेमामा उनी पात्र अनुसारका कलाकार छनौट गर्न सफल छिन्।
सिनेमामा उनको डिटेलिङ् गज्जबको छ।
त्यसैगरी सिनेमामा शीर्ष भूमिकामा अभिनय गरेका धिरज मगरले उत्कृष्ट काम गरेका छन्। उनले आफ्नो अनुहारमा आफ्नो सपना प्राप्तिको चाहना र बाबुको सपनाबीचको पिल्साइलाई स्पष्ट उतारेका छन्।
डेब्यू सिनेमामा चक्लेटी बनेका धिरजको सिनेमामा भर्ती हुन तयार रफ एण्ड टफ लुक एकदमै स्वभाविक छ। उनले आफ्नो फिजिकल ट्रान्सफर्मेसनलाई गज्जब बनाएका छन। डान्सरको रोलमा उनले डान्स पनि गज्जबकै गरेका छन्। व्यवसायिक डान्सरभन्दा कम देखिन्न धिरज।
यस्तै रूबिको भूमिकामा रहेकी जसिता गुरूङको अभिनय सिनेमा निखारिएको छ। उनले आफ्नो भूमिकालाई न्याय गरेकी छन्।
त्यसैगरी बाबुको भूमिकामा प्रेम सुब्बा, रूबीकी आमाको भूमिकामा लुनिभा तुलाधर तथा सुजाता राई, सूर्यमान लिम्बु आदिको अभिनय प्रशंसनीय छ।
यो सिनेमा हेर्दा रिनाशाको निर्देशनसँगै अन्य तीन कुराको मुक्तकण्ठले प्रशंसा गर्नसकिन्छ। एउटा क्यामराको फ्रेमिङ अर्को साउण्ड र तेश्रो यसको करियोग्राफी। यसमा सिनेमा अब्बल दर्जाको छ।
फ्रेमिङमा छायाँकार सुशन प्रजापतिले उत्कृष्ट कला देखाएका छन्।
यस्तै दि वाइल्ड रिपर्जको डान्स कोरोयोग्राफीलाई कमालको छ।
प्रविन पछाईको साउण्ड डिजाइन अन्य नेपाली सिनेमाको तुलनामा उत्कृष्ट छ भन्दा फरक नपर्ला।
सिनेमामा निर्देशनसँगै लेखनमा पनि रिनाशा छिन्। लेखनको मामिलामा उनले संवादका लागि सोमनाथ खनालसँग राम्रो सहलेखन गरेकी छन्। तर उनी पटकथामा भने चुकेकी छन्।
पहिलो हाफमा पटकथा खुकुलो लाग्छ। यस्तो लाग्छ ठूलो पर्दामा कुनै डान्स रियालिटी शो हेरिरहेका छौं। डान्स सिक्वयन्सहरूलाई उनले कसिलो बनाउन उनी चुकेकी छन्।
त्यस्तै अत्याधिकरूपमा ज्याकी पात्रमाथि केन्द्रित हुँदा अन्य पात्रहरू सन्तुलनका हिसाबले धरमराएको महशुस हुन्छ। उनीहरूको कथा हतारहतार दौडाइएको जस्तो छ।
पात्र र कथाको सन्तुलनमा समन्वय गर्न चुक्दा सिनेमाले दिनुपर्ने जत्ति मज्जा दर्शकलाई दिदैन। केही नपुगेको महशुस हुन्छ।
यस्तै सिनेमाको संरचना पनि अन्य सिनेमाभन्दा केही फरक छ। यो शैली दर्शकका लागि नयाँ हुनसक्छ। यसमा पनि रिनाशालाई तारिफ गर्नुपर्छ।
सिनेमामा निर्देशक-कलाकार सबैको मेहेनत र नियतमा इमानदारिता देखिन्छ।
समग्रमा सिनेमा खुकुलो पटकथाका कारण औषतभन्दा केहीमात्र माथि छ।
यो सिनेमाले मासलाई अपिल नगरे पनि नृत्यका फ्यान र एक तहका युवापुस्तालाई भने रिझाउन सक्छ। -अशेष अधिकारी