मानिसमा इमानदारिता नभएपछि ऊ अरुलाई ढाट्ने, ठग्नेजस्ता काम गरेर मोजमस्ती गर्ने गर्छ । पछिल्लो समय बजारमा कोही घरजग्गा दलालीले ठग्यो भन्छन् त कोही सेयर दलालीले । यता मिनपावर, कन्सलटे्रन्सी आदिले विदेशी पठाइदिने नाममा ठगी गर्ने क्रम पनि हवात्तै बढेको छ ।
त्यस्तै, शिक्षादेखि स्वास्थ्य र खाद्यदेखि घर भाडासम्ममा जनता ठगिरहेका छन् भने सार्वजनिक सवारीसाधनमा नठगिन त कुरै भएन । यहाँ हरेक क्षेत्रमा कोही न कोही कसैबाट ठगिएकै हुन्छ । यहाँ एउटा नेपालीले अर्को नेपालीलाई व्यापारव्यवसाय गर्ने नाममा ठग्छ ।
तर, सरकार मुर्कदर्शक भएका बस्छ । अहिले एउटै व्यक्तिको २० हजारदेखि १२ करोड रुपैयाँसम्म ठग्ने तर कानूनको दायरमा आउन नसक्ने भनेकै सहकारी हुन् । पछिल्लो समय अधिंकाश मानिस सहकारीबाटै ठगिएका छन् । अहिले त सबैभन्दा धेरै ठगी गर्ने को ? भनेर कसैलाई सोध्यो भनी नि सहकारी नै भन्छन् ।
मुलुकभर सञ्चालित ३५ हजारभन्दा बढी सहकारीमा करोडौं बचतकर्ताले २१ खर्ब रकम बचत गरेका थिए । तर, उक्त रकम आज सहकारीका सञ्चालक, अध्यक्ष र कर्मचारीले झयाम बनाइदिएका छन् । अहिले त आफ्रनै रकमले आफ्नो ज्यान गएको छ ।
बचतकर्ताहरुले आफ्नो घरजग्गा, गाडी, सेयरलगायत चलअचल सम्पत्ति बेचेर ब्याजको प्रलोभनमा सहकारीमा रकम जम्मा गरे । तर, सहकारीका सञ्चालक, अध्यक्ष र कर्मचारी बचतकर्ताको रकम फिर्ता नगरी रातारात भाग्न थाले ।
यता नभागेकाले पनि वर्षो दिनदेखि एक सुको फिर्ता गरेका छैनन् । यसले बचतकर्ताहरु तनावका कारण आत्महत्या गर्न बाध्य भएका छन् । अहिले सहकारीका बचतकर्तामध्ये कति आफ्नो बालबालिकाको स्कुल फ्रिस तिर्न नसकेर तनावमा परेका छन् त कति घरभाडा तिर्न नसकेर ।
यता, खाद्यान्न, स्वास्थ्य आदिको कुरै छोडौं । उनीहरुलाई बिहानबेलुकाको छाक टार्न समेत धौंधौं परेको छ । अहिले सहकारी बचाउका लागि राष्ट्रिय सहकारी महासंघ आन्दोलित भएको छ ।
सोही क्रममा काठमाडौंको मिनभवनस्थित सहकारी विभागमा महासंघ आन्दोलित बनेको थियो । तर, सहकारी विभागका महानिर्देशक नमराज घिमिरे र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले उनीहरुलाई नियन्त्रणमा लिएनन् ।
यता बचतकर्ताको रकम फिर्ता गर्न पहल नगरी उल्टै आन्दोलन गरिरहेको भन्दै सर्वसाधारण जनता यस्ता ठग, चोर सहकारीलाई कालोमोसो दलेर जुत्ताको माला लगाउनुपर्छ भन्दै थिए । हिजो उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेत चुके ।
उनले बचतकर्ताको रकम फिर्ता नगरी उल्टै आन्दोलन गनेृ सहकारीलाई कानूनको दायरमा ल्याउन सकेनन् । अहिले सहकारीका सञ्चालक, अध्यक्ष र कर्मचारीले ठुलो खेल रचिरहेका छन् । उनीहरु बचतकर्ताको रकम पचाउनका लागि एकातिर आन्दोलन गरिरहेका छन् त अर्कातिर जिल्ला प्रशासन कार्यालयमा सुरक्षाको माग गरिरहेका छन् ।
यता रुस–युके्रन युद्ध, कोरोना महामारीलगायत विभिन्न समस्याका कारण बचतकर्ताको रकम फिर्ता गर्न नसकेको भन्दै उनीहरुले सरकार र सञ्चारमाध्यमलाई समेत उल्लु बनाएका छन् । हिजो बचतकर्तासँग रकम उठाउने समयमा त उनीहरुले न रुस–युक्रेन युद्ध भनेका थिए न कोरोना महामारी ।
अनि अहिले फिर्ता गर्ने समयमा तै यस्तो नाटक गर्न पाइन्छ । जहाँ सर्वसाधारण जनता र देश मर्कामा पर्छ त्यहाँ सञ्चारमाध्यमको आवश्यकता पर्छ । सहकारीमा बचत गर्नेमध्ये कति खुट्टामा चप्पल नलगाई पेटभरी नखाई भारी बोक्ने पनि छन् त कति आफ्नो घरजग्गा, गाडी, सेयरलगायत चलअचल सम्पत्ति बेचेर बचत गर्ने पनि छन् ।
सहकारी त्यो हो, जसले चिया बेच्नेदेखि सरकारी कर्मचारी, नेता समेतलाई ठगेको छ । सहकारीकै कारण यहाँ करोडौं जनताको रुवाँबासी भएको छ । तर, यस्तो हुँदा सदनमा कुनै पनि सांसदले यस विषयको उठान गरेनन् ।
यसबाट त सहकारीले सर्वसाधारणलाई ठग्ने कार्यमा पर्दाभित्र बसेर सांसदहरुले समेत सहयोग गरिरहेको स्पष्ट हुन्छ । अहिले संसदमा भएका सांसदको पृष्ठभूमि केलाउने हो भने कोही दलाली छन् त कोही गुण्डा । यता व्यवसायीहरुको पनि केही कमी छैन हाम्रो सदनमा ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल नेतृत्वको सरकारमा अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत हुन् । यदि उनको पृष्ठभूमि केलाउने हो भने सिन्धुपाल्चोकका जनता उनलाई गुण्डा भन्छन् । उनी पहिला पनि स्वास्थ्य तथा जनसंख्या मन्त्री र सूचना तथा सञ्चार मन्त्री भइसकेका छन् ।
अहिले सुनिन्छ कि उनले मन्त्री हुँदा भ्रष्टाचार गरेर कमाएको सम्पत्ति एउटै सहकारीमा ६७ करोड छ । यता बैंकमा सञ्चालक हुनुका साथै घरजग्गा र सेयरमा धेरै लगानी गरेको सुनिन्छ । अनि यस्ता भ्रष्टाचार व्यक्तिलाई जनताले भोट दिएर जिताउने र पार्टीले मन्त्री बनाउने काम गरेपछि देशमा विकास हुन्छ त ?
पछिल्लो समय सरकारी कर्मचारी, राजनीतिक दल, व्यक्ति तथा व्यवसायी आदिले भ्रष्टाचार गरेर वा गैरकानूनी रुपमा आयआर्जन गरेको सम्पत्ति सहकारीमै जम्मा गरेको सुनिन्छ । तर, अहिले सहकारी भाग्दा वा रकम फिर्ता नगर्दा पनि उनीहरु कसैसँग यस विषयमा कुराकानी गर्दैनन् ।
कसैसँग आफ्नो रकम डुबेको कुरा गरेमा भोलि सञ्चारमाध्यममा आफ्नो गैरकानूनी कार्य छ्यापछ्याप्ती हुने डरले उनीहरु चुपचाप छन् । बैंकमा दश लाख रुपैयाँभन्दा बढी रकम राख्न स्रोत खुलाउनुपर्छ । तर, सहकारीमा एउटै व्यक्तिले दश करोड रुपैयाँ राख्दा पनि स्रोत खुलाउनु पर्दैन ।
यसरी स्रोत खुलाउनु नपरेपछि अधिंकाशले गैरकानूनी रुपमा आयआर्जन गरेको सम्पत्ति सहकारीमा जम्मा गरे । एउटा उदाहरण नै भन्नुपर्दा तीन करोड किनेको घरजग्गा राज्यलाई राजस्व छल्नका लागि ५० लाखमा किनबेच गरिएको भनियो । यसरी एउटा घरजग्गाबाटै राज्यलाई साढे करोडको राजस्व छल्यो ।
यता ती रकम भने सबै सहकारीमै जम्मा गरियो । सरकारले करको लोभमा सहकारी दर्ता गर्न दियो त एउटै घरमा ७ ओटासम्म सहकारी सञ्चालन गरियो । सहकारीहरुले पनि १६ देखि २२ प्रतिशतको ब्याजको प्रलोभनमा सर्वसाधाणलाई बचत गर्न लगायो ।
उता को कताबाट आएको र को कस्तो अवस्थाको ? भनी सबै पत्ता लगाई सहकारीले आफ्नो कर्मचारीलाई कमिशनको प्रलोभनमा पारेर त्यस्ता मानिसहरुलाई पनि रकम राख्न बाध्य बनाए । तर, अहिले फिर्ता गर्ने बेला एकाएक भाग्न थाल्यो । त्यो नि रात न दिन भनी ।
सहकारीका सञ्चालक, अध्यक्ष र कर्मचारीले बचतकर्तालाई सोतार बनाएका छन् । अहिले सहकारीले बच्चादेखि वृद्धासम्म बचतकर्ताको रकम फिर्ता नगर्दा सरकार तमासा हेरेर बसिरहेको छ । यता विज्ञापन बोर्ड पनि जनतालाई सचेत गराउनुको साटो जनता डुबेको टुलुटुलु हेरेर बसिरहेको छ ।
कतिपय सहकारीले अहिलेपनि बचतकर्तालाई आफ्रनै भवन रहेको दाबी गर्दै आएका छन् । तर, भवन बेच्दा दुई करोड आउँछ भने रकम फिर्ता गर्नु छ पाँच करोड । पछिल्लो समय भागने सहकारी त भागिसके ।
तर, नभागेका सहकारीले नयाँ नाटक रचेका छन् । उनीहरु बचतकर्ताको घरघरमा पुग्छन् । यता एक बचतकर्तालाई अर्को बचतकर्तासँग भेटघाट गर्न दिदैँनन् त ब्याज बढाइदिने भन्दै रिन्यु गराउन लगाउने तर रकम भने फिर्ता नगर्ने ।
त्यसैले, अब बचतकर्ताको रकमफिर्ता नगर्न सहकारीका सञ्चालक, अध्यक्ष र कर्मचारीले बनाएको यस्तो रणनीति बचतकर्ता र सञ्चारमाध्यमले छिटै बुझ्रन आवश्यक छ । अहिले सहकारीहरु घरजग्गा, गाडी र सेयरको कारोबारमा मन्दी आएको वा मूल्य घटेकाले यीनीहरुको मूल्य बढेपछि रकम फिर्ता गर्छु भन्दा बचतकर्तालाई फर्काइरहेका छन् ।
तर, दश वर्षसम्म पनि घरजग्गा, गाडी र सेयरको मूल्य नबढेमा तब बचतकर्ताले के गर्ने ? हिजो आफ्नो रकम सुरक्षित हुने विश्वासले बचतकर्ताले सहकारीमा रकम जम्मा गरेका थिए नाकि घरजग्गा, गाडी, सेयरलगायत जोखिमपूर्ण क्षेत्रमा लगानी गर्न । त्यसैले, अब घरजग्गा, गाडी र सेयरमा मन्दी आयो वा मूल्य घट्यो भनेर सहकारी पन्छिन पाउँछ ?
सरकारले अब कि त सहकारीका सञ्चालक, अध्यक्ष र कर्मचारीलाई समात्नुपर्छ होइन भने बचतकर्ताहरु यीनीहरुको घरघरमा पुगेर कालोमोटो दल्ने र जुत्ताको माला लगाउने काम गर्न थाल्छन् ।
सहकारीमा बचत गर्ने बचतकर्ताको रकम डुब्दा पनि सरकार मौन बसेको छ । अहिले राष्ट्रिय सहकारी महासंघ वा सहकारीका सञ्चालकका सामु सरकार लम्पसार परेको छ ।अहिले त रकम फिर्ता नपाएपछि बचतकर्ता सहकारीमा भएको सामान नै बोकेर हिडेका छन् ।
यता कति बचतकर्ताले गुण्डा, अभियन्ता वा नेताको आडमा आफ्नो रकम फिर्ता लिए । उनीहरुले आधा रकम गुण्डा, अभियन्ता वा नेतालाई दिने शर्तमा रकम फिर्ता पाएका हुन् । तर, नेता, गुण्डा वा अभियन्ता लग्न नसक्ने बचतकर्ताको रकम सहकारीले पचाइदिएको छ । सहकारीको अगाडि प्रधानमन्त्री प्रचण्डको समेत केही लागेन । मुलुको प्रधानमन्त्री प्रचण्ड भन्दा पनि सहकारी महासंघ र सहकारीका सञ्चालक शाक्तिशाली रहेको प्रमाणित भएको छ ।