प्रकृतिमाथि छेडखानी गर्दा वर्षेनि निम्तिन्छ विपद्, तैपनि खुलेन् सम्बन्धित निकायको चेत !
तीन दशकअघि काठमाडौं उपत्यकामा ढुङ्गेधारा, कुवा, तालपोखरी, चौतारी, पार्टी पौवा प्रशस्त थियो । उपत्यका बाहिरका जिल्लामा पनि ढुङ्गेधारा, कुवा, तालपोखरी थुप्रै थिए । नुहाउन, लुगा धुन सर्वसाधारण त्यही जान्थें । अधिकांशले खानेपानी पनि ढुङ्गेधाराबाट नै ल्याउने गरेका थिए ।
पूरातत्व विभागले यसअघि गरेको अनुसन्धानअनुसार उपत्यकामा ६३४ वटा ढुङ्गेधारा थियो । कुवा, तालपोखरीको त हिसाब नै गरिएको छैन् । विभागले यतिवटा भनेपनि उपत्यकाको तीन जिल्लामा योभन्दा धेरै ढुङ्गेधारा थिए । तर, अहिले ती ढुङ्गेधारा कहाँ छन् त ? उपत्यकाबासीले ढुङ्गेधारा बिर्सिन थालिसकेका छन् ।
कहीँ कतै ढुङ्गेधारा देखिँदैन् न त कुवा र तालपोखरी । सबै मासिसकेको छ । त्योसँगै खोला, कुलाहरु पनि मासियो । खोलामाथि ढलान गरेर बाटो र घर निर्माण गरिएको छ । तालपोखरी सिद्याएर आवासीय क्षेत्र बनाइएको छ । सबैतिर ढलान गरेपछि जमिनबाट फुट्ने मूल पनि रोकिएको छ ।
आकाशबाट परेको पानी जमिनले सोस्दै आएको थियो । अहिले त्यो पनि रोकिएको छ । सबैतिर पिच गरिएको छ, कहाँबाट पानी जमिनले सोसोस् ? पछिल्लो समय मुलुकमा पानीको हाहाकार हुँदै गएको छ । जलस्रोतको दोस्रो धनी मुलुक भनिएको नेपालमा स्रोतहरु सुक्दै गएको छ ।
प्रकृतिमाथि छेडखानी गरेको परिणाम अहिले सबैले भोग्नुपरेको छ । वर्खामा सबैतिर डुबान हुन्छ, हिँउदमा पानी नपाएर सकस । आकाशबाट परेको पानी जाने ठाउँ नभएपछि वर्खामा उपत्यका डुबानमा पर्ने गरेको छ । सानो पानी पर्दासमेत सडकको माथिमाथिसम्म पानी जम्मा हुन्छ ।
अन्य जिल्लाको अवस्था पनि त्यस्तै छ । ढलहरु साना छन् । आकाशको पानी जाने ठाउँ छैन् । खोलानाला सबै मासिसकेका छन् । अनि माथिबाट आएको पानीले पूरै उपत्यका नै डुबाउँछ । तैपनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन् । वर्खाको समयमा समेत ढल खोलेर राखिदिन्छन् ।
मर्मतको नाममा खाल्डाखुल्डी खनेर त्यतिकै छोडिदिन्छन् । सडकहरुमा ठूल्ठूला भ्वाङ्ग पारेर छोडिएको छ । सरकारले जनता मार्नलाई पासो थापेझैं भएको छ । कहाँ खाल्डाखुल्डी छ थाहा हुँदैन् । सबै आफ्नै धुनमा हिँडिरहेका छन् । अनि ग्वामराङ्ग गएर त्यस्तो ठाउँमा पर्छन् ।
सरकारको लापरवाहीका कारण धेरैले अकालमा ज्यान गुमाउनुपरेको छ । हालै मात्र सामाखुशीमा एक जना बालकको स्ल्याब खोलेको ठाउँमा पर्दा मृत्यु भएको थियो । उनको शव नै ११ दिनपछि भेटिएको थियो । जोरपाटीमा पनि केही वर्षअघि एउटी किशोरीले ज्यान गुमाइन् ।
भक्तपुरको घलातेमा एक जना टिपर चालक ढलमा परेका थिए । पानीको गहिराइ नाप्न पुगेका चालकलाई ढलले बगायो । कति दिनको खोजीपछि उनको शव फेला परेको थियो । हरेक वर्ष यस्ता घटना दोहोरिरहन्छन् । तैपनि लापरवाही किन ? काठमाडौं ठूल्ठूला कान्ला, पाटा भएको जिल्ला हो ।
भिरालो ठाउँलाई सम्मो बनाएर घर बनाइयो । भिरालो हुँदा सबै पानी सरर् तल आउँथ्यो । पानी खेतबारीले नै सोस्थ्यो । जग्गा माफियाहरुले सबै भीरपाखालाई सम्मो बनाएर प्लानिङ्ग गरे । पानी गएर त्यही जमिदियो, जसको कारण उपत्यका डुबानमा पर्न थाल्यो । यता, ढलको पाइप पनि सानो हालिएको छ ।
बस्ती ठूलो हो, ढलको पाइप सानो । त्यत्रो पाइपले कसरी धान्छ ? खोलालाई अतिक्रमण गरेर घर बनाइयो । खोलाको दायाँबायाँ भएको सरकारी, गुठीको जग्गा सबै कब्जा गरिएको छ । खोला कतिखेर बढ्छ ? कसलाई के थाहा । खोलाले नै ज्यान लिन सक्छ ? भनेर कसैले सोचेका छैनन् ।
जसरी हुन्छ सरकारको सम्पत्ति कब्जा गर्नतर्फै लागिपरेका छन् । भुइचालो, बाढी, पहिरोलगायत प्राकृतिक विपद अचानक आउँछ । कुन साल कत्रो विपद् आउँछ ? कसलाई के थाहा ? प्रकृतिमाथि छेडखानी गर्नु आफैंलाई हानीनोक्सानी पुर्याउनु हो भन्ने थाहा हुँदाहुँदै पनि हेलचेक्याइँ गरिएको छ ।
डुबानलाई नै मुख्य एजेण्डा बनाएर कतिपयले चुनाव जिते । नारा यही लगाए, भोट मागे, जनताले पनि होला भनेर दिए । तर, समस्या समाधान भएन् । होस् पनि कसरी ? जहाँ मनलाग्यो त्यही घर बनाएको छ । अरु त छोडौं, खोलामाथि ढलान गरेरसमेत घर बनाएका छन् ।
अनि आकाशबाट परेको पानी कहाँ जान्छ ? यति सामान्य कुरा पनि नबुझेका हुन् कि बुझ् पचाएका, ठम्याउनै गाह्रो । आफ्नो व्यक्तिगत फाइदाका लागि यहाँ खोला जाने ठाउँ नै रोकिदिएका छन् । खोलामा ढल ल्याएर मिसाएका छन् । केही दिनअघिको अविरल वर्षाका कारण उपत्यकाका तीन जिल्ला जलमग्न बन्यो ।
खोला भरिएर अधिकांश क्षेत्र पूरै डुबेको थियो । घर भित्रैसम्म पानी पस्यो । उपत्यकामै बाढी आयो । झन् कपन एरिया त ‘पानी पानी’ भएको थियो । कपन हरेक वर्ष डुबानमा पर्छ, योपटक मात्र होइन् । डुबानमा पर्ने समस्यालाई समाधान गर्छु भनेर गगन थापा पटक–पटक जनताको घरमा गए ।
जनताले पनि होला त नि भनेर भोट दिए । उनी स्वास्थ्यमन्त्रीसमेत भए । तर, जनताले कुनै निकाश पाएन् । हरेक वर्ष पानी पर्नेबित्तिकै त्यहाँको स्थानीयको निद्रा भाग्छ । थापाले गरेको प्रतिबद्धता अहिले काठमाडौं महानगरपालिकाले पूरा गर्न थालेको छ । महानगर प्रहरीको टोलीले कपनको खोला पूरानै स्वरुपमा फर्काउन थालेका छन् ।
केही व्यक्तिले आफ्नो फाइदाका लागि कपन खोला नै मिचेका थिए । महानगरले धमाधम त्यो खोताल्न थालेको छ । त्यसपछि हर्षित भएका त्यहाँका स्थानीयले महानगरलाई धन्यवादसमेत दिएका थिए । तीन पटक चुनाव जिताएका बासिन्दाका लागि उनले त्यति त गर्न सक्दैनन् भने देशको लागि के गर्छन् ?
अझैपनि म देशको प्रधानमन्त्री बन्छु भनेर हिँड्नु लाजमर्दो कुरा हो । उनले त जनताको आँखामा छारो हालेका रहेछन् भन्ने त स्पष्ट भयो । उनको सक्षमता अहिले आएर पुष्टि भएको छ । २०७० सालदेखि लगातार चुनाव जितेका उनले यतिका वर्षमा त्यति जाबो काम पनि गर्न सकेनन् ।
सबै महानगरले गर्ने हो भने अन्य प्रतिनिधि किन चाहियो ? जनतालाई आश्वासन दिने अनि सत्तामा पुगेर केही नगर्नेहरुलाई चिनिराख्नुपर्छ । आश्वासनको पछाडि लागेर देश बन्दैन्, बनाउने दृढ इच्छाशक्ति भएको नेतृत्व चाहिन्छ । युवा नेता भनिएका गगन थापामाथि जनताले धेरै विश्वास गरेका थिए ।
उनले केही गर्लान भनेर जनताले गरेको विश्वास ‘वालुवामा पानी’ हालेझैं भएको छ । गगन थापा अर्को पटक कुन मुखले काठमाडौं क्षेत्र नम्बर ४ मा भोट माग्न जाने ? गम्भीर प्रश्न खडा भएको छ । अब डुबानको बहाना बनाऊँ भने महानगरले खोला नै खोजिसक्यो । देशमा यत्रो प्रतिनिधि छन् । हरेक क्षेत्रले आफ्नो अभिभावक पाएका छन् ।
तर, समस्या ज्युँको त्यु छ । जनताका प्रतिनिधि भनिएकाहरु आफ्नै स्वार्थको पछाडि दौडिएपछि देश कसरी विकास हुन्छ ? नेता, सांसद, जनप्रतिनिधिहरुले आफ्नो जिम्मेवारी पूरा गरिदिने हो भने यस्ता समस्या समाधान हुन बेर लाग्दैन् । तर, यहाँ सबैको ‘देखाउने र चपाउने दाँत’ छुट्टाछुट्टै भयो ।
हाम्रो मुलुकमा राहत बाँड्न हतारो हुन्छ तर समस्या समाधानतर्फ कसैको ध्यान जाँदैन् । हरेक वडामा वडाध्यक्ष छन्, हरेक नगरपालिकामा मेयर । हरेक क्षेत्रमा माननीय छन् । यद्यपि, सबै अनदेखा गर्छन् । बाढीको कारणले यहाँ यति क्षति भयो भनेर समाचारहरु आइरहेका हुन्छन् ।
धेरै नभएपनि सबै जनप्रतिनिधि अलिअलि पढलेख भएका त होलान् । तैपनि उनीहरु मतलब नै गर्दैनन् । घाम लाग्नेबित्तिकै डुबान हट्छ, जनताले पनि त्यो कुरा बिर्सिन्छन् । जसको फाइदाचाँहि नेता र जनप्रतिनिधि भनौउदाले लिँदै आएका छन् । जनताहरु पनि आफ्नो हकहितका लागि लड्नुपर्ने बेला भएको छ ।