धरानः विशेषतः पहिचानवादी आन्दोलनले उद्वेलित पूर्वी नेपालको इलाम–२ मा यही वैशाख १५ मा हुन गइरहेको उपनिर्वाचनमा चुनावी भिडन्त रोचक हुने देखिएको छ ।
यसअघि एमालेको दबदबा रहेको र एमाले कांग्रेसबीचको भीडन्त भइरहने इलाममा धरानमा मेयर हर्क साम्पाङको इन्ट्रीले एकखाले तरंग ल्याएका छन् । विशेषतः मेयर साम्पाङले पहिचावादीलाई जुरुक्क बोक्दै एकखाले तरङ्ग नै ल्याएका हुन् । यसले पुराना दलको होस उडेको इलामेली जनता र देशविदेशबाट हेर्नेहरुले समेत महसुस गरेका छन् ।
इलामका विभिन्न ठाउँमा आयोजित विभिन्न चुनावी सभा हेर्दा पनि आँकलन गर्न सकिन्छ कि इलाममा नयाँ, पुराना दलको लागि अहिले मेयर साम्पाङ चुनौती बनेर खडा भएका हुन् । प्रचारका हिसाबले अगाडि रहेको मेयर साम्पाङ र उनको टिमले अहिले सबैतिर प्रचार पुरयाइसकेको छ अर्थात् उम्मेदवार डकेन्द्रसिंह थेगिम र चुनाव चिह्नबारे सबलाई अवगत भइसकेको छ । इलाम–२ मा कसले उलटफेर गर्ला भनेर आँकलन गर्न नसक्ने अवस्थामै छन् इलामेली जनता । सबैको ध्यान खिचेको इलाम–२ ले कस्तो परिणाम ल्याउला भनेर पर्खन अब हप्ता पर्खनु पर्नेछ ।

प्रतिष्ठाको विषय
उपनिर्वाचनले सांसद भित्रयाउने मात्रै नभई शक्ति परीक्षणका रूपमा पनि हेरिएको छ । उपनिर्वाचन विशेषतः नाम चलेका र केन्द्रमा दबदबा नै रहेका नेताहरु एमालेबाट स्व. सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङ, कांग्रेसबाट शेरबहादुर देउवाइतरका डम्बर खड्का, रवि लामिछाने अध्यक्ष रहेको रास्वपाबाट मिलन लिम्बू, धरानका मेयर साम्पाङको समर्थनमा डकेन्द्रसिंह थेगिम उम्मेदवार बन्नु चर्चितहरुबीचकै प्रतिस्पर्धा र टक्करका रुपमा हेरिएको छ । यसले उपनिर्वाचनले देशविदेशसम्म प्रतिष्ठा र चर्चाको विषय समेत बन्ने गरेको छ । भनौं, यो उपविर्नाचन दलहरुबीच र स्वतन्त्रबीचको प्रतिष्ठासँग जोडिएको विषय समेत हो ।
मेयर साम्पाङले भन्दै आएका छन्–उम्मेद्वारहरु त केवल पात्र मात्रै हुन्, प्रवृत्तिगत शक्तिको टकराव र मेरो पनि प्रतिष्ठानसँग जोडिएको हो यो चुनाव । उनले इलाममा नाच्दै, नचाउँदै माहौल भने बनाएका छन् ।
गीतले भनेजस्तै यसो हेर्दा इलाम पुगेपछि मेयर साम्पाङ राजनीतिका माहिर र चतुर खेलाडी जस्तै देखिएका छन् । धरान बनाउन छाडेर कति कुदिराखेको समेत भनेर उनलाई कमेन्ट गर्नेहरु पनि बढिरहेका छन् । उनको बोलीले पनि भन्छ– इलामदेखि नै उनी देशैभर स्वतन्त्रको माहौल ल्याउने दाउमा छन् भने पहिचानलाई स्थापित गराउन खोजिरहेको देखिन्छ । उनी अहिले पहिचान र धार्मिक मतलाई आधार बनाएर भूगोल, संस्कृति र सभ्यताको कुरा गरिरहेका छन् । उनले यसो भनिरहँदा कतिपयले जातीय राजनीति गरेको भनेर खिसिट्युरी समेत गरिरहेका छन् । कतिले त जातीयताको कुरा गर्ने मेयर साम्पाङ स्व. गोरेबहादुर खपाङ्गीको हालतमा पुग्ने समेत तर्क गरिरहेका छन् । तर यो पहिचानको अन्तिम लडाइँ हो भनेर उम्मेदवार थेगिमले समेत भनिरहेका छन् । धार्मिक मत र पहिचान पक्षधरका अभियान्ताहरूको स्वीकारोक्तिलाई उनले राम्ररी बुझेका छन् ।

डम्बर, डकेन्द्र प्रतिस्पर्धामा
उपचुनावमा एमालेको ध्येय आफ्नो बर्चश्व कायम राख्नमा व्यस्त रहँदा कांग्रेस ‘कमब्याक’ को खोजीमा छ । एमालेलाई पुरानो हिसाब देखाउँदै कांग्रेस क्यास गर्ने दाउमा छ भने नयाँ दल रास्वपाको समेत हिसाब निकाल्दै मेयर साम्पाङको टिम उछिट्याउने दाउमा छ ।
गत चुनावको अंक गणितले इलाम–२ मा कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी दलका रूपमा स्थापित छन् । अघिल्लो स्थानीय तहको मत केलाउँदै अहिले इलाम–२ को निर्वाचनमा दलहरुले हिसाबकिताब गरिरहेका छन् । एमाले, कांग्रेस, रास्वपाका नेता तथा उम्मेदवार आफ्नो पक्षमा चुनावी नतिजा रहेको दाबी गर्दै आएका छन् । तर, नवोदित रास्वपाको उपस्थितिसँगै स्वतन्त्रको इन्ट्रीले इलाम–२ को यसपटकको निर्वाचन बुझ्न त्यति सहज छैन । यसपटक कांग्रेसका डम्बर खड्का र स्वतन्त्रका डकेन्द्र थेगिमबीच महाभिडन्त हुने पक्का जस्तै छ । डकेन्द्र र डम्बरबीचको महाभिडन्तले रवि लामिछाने र केपी ओलीलाई यसपटक झट्का लाग्ने देखिन्छ ।

कांग्रेससँग भिड्दै र चुनौती दिँदै जित निकाल्ने तयारीमा छन् पहिचानवादी समूहका स्वतन्त्र उम्मेदवार थेगिम । गत वर्षको चुनावीको नतिजा, इलामको सामाजिक बनोट र कोशी प्रदेशमा चलिरहेको आन्दोलनलाई समेत आधार मान्ने हो भने डकेन्द्रसिं थेगिम पनि प्रतिस्पर्धी उम्मेदवार बन्ने देखिन्छ । थेगिमलाई जनता समाजवादी पार्टी (जसपा) सहित ४१ वटा राजनीतिक तथा सामाजिक संस्थाहरुले साझा उम्मेदवार बनाएको छ । प्रदेशको नाम कोशी राख्ने निर्णयप्रति असन्तुष्टि जनाएर गत वर्षदेखि आन्दोलित यी संस्थाहरूले डकेन्द्रसिंहलाई उम्मेदवार बनाउनुमा उनी उक्त क्षेत्रमा चिनिएको अनुहार हुनु हो ।
उता कांग्रेसले संगठनात्मक पकड, मतदाता रुझानलाई आधार मान्दै चुनाव जित्ने दाउमा छ भने एमालेले दिन नसकेको पहिचानलाई स्थापित गराउँदै झट्का दिने तयारीमा छन् डकेन्द्र । विकल्पमा हेरिएको दल रास्वपा समेत अनेकौं काण्डमा मुछिनुले पनि उनले जीत निकाल्ने आधार बन्दै गएको डकेन्द्रनिकट नेताहरु बताउँछन् ।
अर्को पाटोले हेर्ने हो भने मज्जाले नियाल्ने हो भने इलाम–२ मा करिब ६५ प्रतिशत जनजाति र ३५ प्रतिशत खसआर्य मतदाता रहेका छन् । इलाममा लिम्बू समुदायको जनसंख्या दोस्रोमा छ । २ लाख ७९ हजार ५३४ जनसंख्या रहेको इलाममा राईको बाहुल्य छ । जनगणना–२०७८ अनुसार, इलाममा ६८ हजार ३३९ जना अर्थात् २४.४४ प्रतिशत जनसंख्या राई छन् । दोस्रोमा रहेको लिम्बूको जनसंख्या ४५ हजार ७ (१६.१० प्रतिशत) छ । तेस्रोमा क्षेत्री ३८,८५६ (१३.९० प्रतिशत), चौथोमा बाहुन ३५ हजार ५६९ (१२.७२ प्रतिशत), पाँचौमा तामाङ १९ हजार ७४६ (७.०६ प्रतिशत) र छैटौंमा मगरको जनसंख्या १४ हजार ५५१ (५.२० प्रतिशत) छ । यी बाहेक दलित सहित अरु अन्य समुदायको जनसंख्या ५७ हजार ४६६ छ ।

छैन सहज तर पनि डकेन्द्रकै जीतको आँकलन
एमालेको बलियो संगठनलाई धक्का दिएर जित हासिल गर्न उनीहरू दुवैलाई सहज भने छैन । २०५६ सालको चुनावपछि सुवास नेम्वाङले यो क्षेत्रबाट कहिल्यै हारेनन् । पार्टी विभाजनको चोट, प्रतिनिधिसभा विघटन गर्ने कमजोर राजनीतिक एजेण्डा अनि पाँच दलीय गठबन्धनविरुद्ध एमालेले भाग लिएको गत वर्षको चुनावमा समेत नेम्वाङले जितेका थिए ।
३० हजार २० मत ल्याएर पाँचौं पटक लगातार चुनाव जितेका नेम्वाङको गत २६ भदौमा हृदयघातबाट निधन भएको थियो । सुवासको निधन भएपछि रिक्त स्थानमा उनकै कान्छो छोरा सुहाङलाई एमालेले उम्मेदवार बनाएको हो । कांग्रेसले लगातार चुनाव हार्ने गरेको यो क्षेत्रमा खड्काले गत वर्षको चुनावमा नेम्वाङलाई कडा चुनौती दिएका थिए । यसपटक पार्टी मत जोगाउँदा खड्काले चुनाव जित्ने आँकलन कांग्रेस नेताहरुको भएपनि असली पहिचान पक्षधरहरु घुस्दा र दह्रो हिसाबले भिड्दा डकेन्द्रको जीत हुने आँकलन पहिचान पक्षधरहरुको छ ।
२२ वर्ष शिक्षणमा लागेका डकेन्द्र २०६० चैतदेखि किरात धर्म तथा साहित्य उत्थान संघको केन्द्रीय समिति र महागुरु फाल्गुनन्द स्मृति प्रतिष्ठानको अध्यक्षबाट थिए । धार्मिक मत पाउन हरेकजसो चुनावमा उम्मेदवारहरूबीच प्रतिस्पर्धा चल्नेगर्छ । उनको उम्मेदवारीलाई आधार मानिने अर्को आधार भनेको इलामको धार्मिक अवस्थिति हो । किनकि जातिगतसँगै धार्मिक रुपले पनि इलाम मिश्रित बसोबास रहेको जिल्ला हो ।
देशभर ८१.३ प्रतिशत हिन्दूको जनसंख्या हुँदा इलाममा ४४.१९ प्रतिशत (२३ हजार ५३३ जना) मात्र हिन्दू छन् । किराँत धर्म मान्नेहरु ३६.२० प्रतिशत अर्थात् एक लाख १ हजार १९२ जना छन् भने बौद्ध धर्म मान्नेहरु १६.६८ प्रतिशत रहेका छन् ।
यो उपनिर्वाचनमा मत बढाउन रवि लामिछानेदेखि सिके राउतसम्म किरात धर्मालम्बीहरूले माङसेवुङ भनेर पुज्ने लारुम्बा पुगिसक्नुले यो क्षेत्रको चुनावी आँकलनमा बल पुग्छ भने थेगिमको उम्मेदवारीको आधार अनुमान लगाउन सकिन्छ ।
यता, गत आमनिर्वाचनबाट उदाएको रास्वपालाई भने पूर्वबाट पनि उदाउनु छ । रास्वपाले पत्रकार मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । उनी, पूर्वमाओवादी हुन् । उनको छवि अहिले उम्मेद्वार बनेपछि यता उता हुँदै गएपछि धमिलिएको छ ।
एमालेका उम्मेदवार सुहाङप्रति सकारात्मक तथा नकारात्मक दुवै पक्ष छन् । सकारात्मक पक्ष सुवासको विरासत र सहानुभूतिको भोट हो । नकारात्मक पक्ष वंशवाद र परिवारवाद हो । अर्कोतिर एमालेको एउटा समूह असन्तुष्ट पनि रहेको छ । सुहाङ एमालेको सक्रिय राजनीतिमा थिएनन् । अस्ट्रेलिया बसेर फर्किएपछि उनले काठमाडौंमा ‘ल फर्म’ चलाउँदै आएका थिए । कतिपय सुवासकै छोरा भएको आधारमा सुहाङले टिकट पाएपछि उनीहरू निराश छन् । त्यस्तै एमालेलाई पहिचानविरोधिको ट्याग समेत लागेको छ । केही महिनाअघि एमाले अध्यक्ष केपी शर्मा ओली र स्वर्गीय सुवास इलाम पुग्दा कालो झन्डा देखाउनुको साथै रुख ढालेर बाटोसमेत अवरुद्ध गरेका थिए ।