Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको पब्लिक हाइस्कुलले आर्थिक सहयोगको बहानामा शुल्क अनिवार्य असुल्दै, छात्रवृत्तिका नाममा विद्यार्थी तान्दै

हाम्रो कोशी आवाज
असार २२ २०८१, शुक्रबार
धरानको पब्लिक हाइस्कुलले आर्थिक सहयोगको बहानामा शुल्क अनिवार्य असुल्दै, छात्रवृत्तिका नाममा विद्यार्थी तान्दै

धरानः धरान–१७ की सुमना श्रेष्ठ (नाम परिवर्तन) श्रीमानसँगको सम्बन्ध विच्छेदपछि छोरासँगै एक्लै बस्छिन् । उनको छोराले अघिल्लो वर्ष धरान–१२ स्थित पब्लिक हाइस्कुलमा भर्ना हुन खोजे तर प्रधानाध्यापक डा. इन्द्रमोहन झाले ठाउँ खाली छैन भन्दिए । जसोतसो सोर्सफोर्स लगाएर उनले स्कुल पुग्ने वातावरण त पाए तर भर्ना शुल्क अनिवार्य भनेपछि उनले त्यहाँ पढ्न पाएनन् ।
‘हामी विपन्न परिवारका मान्छे, छोरालाई बोर्डिङमा पढाउन सकिनँ,’ सुमनाले भनिन्, ‘फिस तिर्न नसक्दा मेरो छोरा पढ्नबाटै वन्चित हुने अवस्था आयो र अन्यतिरकै स्कुलमा भर्ना गरें ।’
अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ विपरीत धरानको पब्लिक हाइस्कुलले अभिभावसँग शुल्क असुल्दै गर्दा अभिभावकहरु यसरी मारमा परेका हुन् । धरानमा यसरी शुल्क लिने शुरुवात धरानको पब्लिक हाइस्कुलले गरेको हो । अहिले अधिकांश विद्यालयले यसलाई ‘फलो’ पनि गरिरहेका छन् ।
गत चैतमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरकारी (सार्वजनिक) विद्यालयमा माध्यमिक तहसम्म विद्यार्थी भर्नालगायतका कुनै पनि शुल्क नलिन र निजी लगानीका विद्यालयमा शुल्कसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहहरूलाई आग्रह गरेको थियो । तर त्यसको धज्जी उडाउँदै अहिले विद्यालयहरुले शुल्क लिइरहेका छन् ।
मन्त्रालयले सूचना प्रकाशन गरी सरकारी विद्यालयमा अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी नियमावली, २०७७ को नियम ५ मा उल्लेख भएबमोजिम भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा शुल्क र पाठ्यपुस्तकवापत कुनै पनि शीर्षकमा शुल्क लिन नपाउने व्यवस्थालाई सोहीबमोजिम कार्यान्वयन गर्न, गराउन आग्रह गरेको थियो । संविधानमा भएको निःशुल्क र अनिवार्य शिक्षाको मौलिक हकको व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा स्कुलहरुले यसरी शुल्क लिइरहेका हुन् ।
अहिले पब्लिकले पनि अंग्रेजी माध्यममा अध्यापन गराउने बहानामा अभिभावकसँग निजी (बोर्डिङ) स्कुलकै जस्तो महँगो शुल्क लिइरहेका छन् । सरकारले सामुदायिक विद्यालयमा माध्यमिक तहसम्म निःशुल्क शिक्षा दिने व्यवस्था गरे पनि सामुदायिक विद्यालयले निजीलाई नै उछिन्ने गरी विद्यार्थीसँग भर्ना र मासिक शुल्क उठाइरहँदा सरकारी निकाय मुकदर्शक बनेको छ ।
प्रधानाध्यापक डा. झाका अनुसार एलकेजीमा ३५ सय, ९ कक्षामा १४ हजार, कक्षा–१० देखि १२ सम्म १६ हजार रुपैयाँ लिने गरिएको प्रधानाध्यापक डा. झाले जानकारी दिए । उनले एनआईसी एशिया बैंकमा पैसा तिरेको रसिद पाएपछि मात्रै विद्यार्थी भर्ना लिन थालिएको बताए । पब्लिकले पैसा उठाउन बिल काट्ने गरेको भन्ने ब्यापक गुनासो आएकोले बैंकमा जम्मा गर्न भनिएको उनले जानकारी दिए । उनले शुल्क तिर्न नसक्नेहरू सबैको जिम्मा लिन नसकिने समेत बताए ।
यस्तै, धरानका अन्य विद्यालयले पनि अनेक शीर्षकमा विद्यार्थी तथा अभिभावकहरूसँग शुल्क उठाइरहेको छ ।
नेपालको संविधानले मौलिकहक अन्तर्गत शिक्षासम्बन्धी हकमा ‘प्रत्येक नागरिकलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहको शिक्षा निःशुल्क पाउने हक हुनेछ’, भनिएको छ । शिक्षा ऐन २०२८ को दफा १६ घ(१)मा ‘नेपाल सरकारले निःशुल्क शिक्षा घोषणा गरेको विद्यालय शिक्षाका लागि सामुदायिक विद्यालयले विद्यार्थीको नाममा कुनै किसिमको शुल्क लिन पाउने छैन’ भनिएको छ ।
प्रधानाध्यापक झाले विद्यालयको शैक्षिक गुणस्तर सुधार्न निजी स्रोतबाट शिक्षक व्यवस्थापनका निम्ति अभिभावकको स्वेच्छाले वार्षिक सहयोग लिएको बताए । ‘शिक्षा नियमावलीअनुसार हामीले वार्षिक सहयोग लिएका हौं,’ उनले भने, ‘संविधानले कक्षा १२ सम्म निःशुल्क भने पनि सरकारबाट प्राप्त शिक्षक दरबन्दी अपुग छ, पानी–बत्तीको महसुल बुझाउन र निजी स्रोतमा राखिएका शिक्षकलाई तलब खुवाउन विद्यार्थीसँग पैसा नलिई पुग्दै पुग्दैन ।’ विद्यालयमा शिशुदेखि कक्षा १२ सम्म करिब २४ सयको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् । उनले निजी स्रोतका शिक्षकलाई पनि सरकारी स्केलअनुसार नै तलब दिइएको दाबी गरे ।
उनले अंग्रेजी माध्यममा अध्यापनको सम्पूर्ण खर्च व्यवस्थापन, भौतिक पूर्वाधार निर्माण र शिक्षक दरबन्दीजस्ता सुविधा दिने हो भने अभिभावकसँग शुल्क लिन नपर्ने जिकिर गर्दै भन्छन्, ‘हामीले प्रयास नगरेको भए बोर्डिङका विद्यार्थी कसरी सामुदायिकतिर ग्वारग्वार्ती आउँथे र यसको साख फेरि जाग्थ्यो ? ’ सामुदायिक विद्यालय पनि अब्बल रहेको उदाहरण दिन आफूहरूले सकारात्मक काम गरेको बताए । उनले नाफा कमाउन नभएर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न प्रयास गरेको र यति गर्दा पनि विद्यालय ‘बे्रकइभन’मा मात्र रहेको दाबी गरे ।
उनले आर्थिक अपारदर्शिताको पनि प्रश्न उठ्ने गरेको छ नि भन्ने प्रश्नमा ‘१४ घण्टा खट्छु, ६ घण्टाको एक सिफ्टका दरले २ सिफ्ट बढी हुन्छ, आफूले बढी लिँदा के फरक परयो’ भन्ने जवाफ फर्काए ।
उनले अहिले छात्रवृत्ति दिने बहानामा विद्यार्थी तान्ने मेलो समेत गरेका छन् । ३.६ जीपीए (ए प्लस) भन्दा माथि सामुदायिक र निजी दुवैबाट आएका विद्यार्थीलाई शत प्रतिशत छात्रवृत्ति दिने उनले बताए । ३.६ जीपीए भन्दा कम ल्याएका, आर्थिक अवस्था कमजोर भएका, दुर्गमबाट आएकालाई के गर्न सकिन्छ भन्ने विषयमा उनी अनकनाए ।
यता, अभिभावकहरू सहमतिअनुसार शुल्क लिइएको विषयमा अनभिज्ञ छन् । जाने बुझेकाले भने प्रश्न तेस्र्याउन थालेका छन् । ‘गरिब दिनदुःखीका छोराछोरीले पढ्नै नसक्ने भए अभिभावक सुमनाले भनिन,–‘सरकारी स्कुल पनि बोर्डिङ स्कुल जस्तै बनाउने हो भने सरकारी स्कुल किन भन्नु, सबै बोर्डिङ् बनाइदिए भइहाल्यो नि । शिक्षक पाल्ने निहुँमा सोझासाझा र निमुखिया अभिभावकसँग रकम असुल्न मिल्छ र ?’
प्रायः सामुदायिक विद्यालयले अभिभावकसँग शुल्क लिएर विद्यालय संचालन गरेको तथ्य स्थानीय सरकार र सरोकारवाला निकायहरूलाई जानकारी नभएको होइन । स्थलगत अनुगमनमा नजाने र जनताको अवस्थाबारे खासै चासो नराख्ने जनप्रतिनिधि र कर्मचारीहरूले थाहा नपाए झैं गरेका छन् ।
धरान उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गणेशप्रसाद खतिवडाले शिक्षा नियमावलीमा एक पटक विद्यालयमा भर्ना भएपछि अर्को पटक कुनै शुल्क नलाग्ने भएपनि धरानमा लिइरहेको बताए । भर्ना र परीक्षा शुल्कको सम्बन्धमा विद्यालय व्यवस्थापन समितिले विनियम बनाई न्युनतम शुल्क तोक्न सक्ने र सोहीअनुसार न्युनतम शुल्क लिन सक्ने प्रावधान रहेको जानकारी दिए  ।

प्रकाशित मिति: असार २२ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend