Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ‘धरान’ लेखिएको विशाल बोर्ड राखिने

हाम्रो कोशी आवाज
जेष्ठ १४ २०८३, बिहिबार
धरानमा ‘धरान’ लेखिएको विशाल बोर्ड राखिने

धरानः धरानमा ‘धरान’ लेखिएको विशाल बोर्ड राखिने भएको छ ।
धरानको चिनारी तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित धरान–२० स्थित देउराली डाँडामा विशाल धरान अक्षर बोर्ड निर्माण गरिने भएको हो । धरान समाज युकेको लगानीमा निर्माण हुन लागेको सो बोर्ड धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले जानकारी दिए ।
सो बोर्ड कोशी प्रदेशकै ठूलो अक्षर बोर्डका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ । सो बोर्ड धरानको तीनकुनेलगायत शहरका विभिन्न स्थानबाट स्पष्ट देखिने गरी निर्माण गरिने जनाइएको छ । यस परियोजनाले सिङ्गो धरानलाई पर्यटनको नयाँ आकर्षक गन्तव्यका रूपमा थप परिचित गराउने विश्वास लिइएको छ ।
उनका अनुसार परियोजनाका लागि आवश्यक जग्गा सार्वजनिक क्षेत्रभित्र नै पर्याप्त मात्रामा उपलब्ध रहेको छ । स्थलगत अध्ययनका क्रममा प्राविधिक टोलीले देउराली डाँडाको भू–भाग उपयुक्त रहेको निष्कर्ष निकालेको र हालको अवस्था अनुसार यो भन्दा उपयुक्त वैकल्पिक स्थान नरहेको समेत जानकारी दिएका छन् ।
अक्षर बोर्ड निर्माणका लागि आवश्यक लागत भने प्राविधिक इस्टिमेट तयार भएपछि मात्रै यकिन हुने बताइएको छ । परियोजनामा आर्थिक लगानी धरान समाज युकेले गर्नेछ भने जग्गा व्यवस्थापन, प्राविधिक अध्ययन, डिजाइन तथा आवश्यक समन्वयको जिम्मेवारी धरान उपमहानगरपालिकाले लिने जनाइएको छ ।
धरान–२० को प्राकृतिक सौन्दर्य, हरियाली तथा उच्च भू–भागलाई पर्यटनसँग जोड्दै धरानको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने लक्ष्यसहित यो योजना अघि बढाइएको कार्यवाहक मेयर बेघाले बताए । तस्वीरः सुजन तामाङ

प्रकाशित मिति: जेष्ठ १४ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend