धरानः धरान-९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयले चालु शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षामा सर्वोत्कृष्ट नतिजासहित उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित परीक्षा (एसईई) मा यसपटक पनि दुर्लभ नतिजा ल्याउने छात्र रुपराज बरालसहित उत्तीर्ण सबै विद्यार्थीलाई सम्मान गरेको हो । एसईई उत्तीर्ण सबै विद्यार्थीलाई एक कार्यक्रमका बीच अभिभावककै उपस्थितिमा अभिभावकसहित उनीहरूलाई सम्मान गरिएको हो । गत वर्षझै यसपटक पनि विद्यालयबाट परीक्षामा सहभागी विद्यार्थीले जीपीए ४.० प्राप्त गर्न सफल भएको र अभिभावककै उपस्थितिमा सबै उत्तीर्ण विद्यार्थीका लागि शुभकामना साथै सम्मानको कार्यक्रम संस्थापक अध्यक्ष वेनिन्द्र कट्वालले जानकारी दिए ।
संस्थापक अध्यक्ष कटवाल, प्रिन्सिपल निलमकुमार श्रेष्ठ र अध्यापकहरूलाई अभिभावकले समेत सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष कटवालले परीक्षामा विद्यार्थीले सर्वोत्कृष्ट नतिजा ल्याउनुमा अभिभावक, विद्यार्थी साथै शिक्षकले खेलेको भूमिका सह्रानीय रहेको बताए । उनले यसपटक ५ जनासम्मले ४ जीपीए ल्याउने आशा गरेको बताउँदै आगामी वर्षहरुमा यो प्रयासलाई जारी राख्ने बताए । इतिहासमै पहिलोपल्ट अघिल्लो वर्ष परीक्षामा सहभागी छात्रा गृष्मा लुइँटेलले ४ जीपीए ल्याउन सफल भएको उनले बताए ।
यसअघिका वर्षहरूमा पनि विष्णुले एसईईमा सुखद् नतिजा हासिल गर्दै शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै आएको थियो । २०५९ सालदेखि एसएलसी हुँदै एसईईसम्म आइपुग्दा दोस्रोपटक यस्तो दुर्लभ नतिजा आएको उनले जानकारी दिए । ‘एसएलसी हुँदै एसईईमा विद्यार्थी सहभागी भएको यो २२ औं ब्याच हो’, उनले भने, ‘यतिका वर्षसम्म पनि हाम्रो नतिजा उत्कृष्ट नै हो तर पनि यो इतिहासमै सर्वोत्कृष्ट नतिजाका रुपमा लिएका छौं ।’ उनले दक्ष शिक्षक–शिक्षिकाको समर्पण, परिश्रमी विद्यार्थी र अभिभावकको सहयोगले सर्वोत्कृष्ट नतिजा निकाल्न सम्भव भएको समेत बताए ।
विष्णु छुट्टै पहिचान बनाउँदै अघि बढेको स्कुल हो । ‘गुणस्तरीय शिक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारालाई आत्मसात् गर्दै २०४६ सालमा स्थापना भएर अघि बढेको यो स्कुलमा वि.सं. २०५६ सालदेखि निम्न माध्यमिक तह, २०५९ सालदेखि माध्यमिक र २०६५ सालदेखि उच्च माध्यमिक तहसम्मको पढाइ सञ्चालन भइरहेको छ । धरानमा नाम चलेको र देशभरीका स्कुलमध्ये टप २० सम्ममा पर्न सफल विष्णुले यसअघि पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै अभिभावक, विद्यार्थीको मन जित्दै आएको छ । २०६५ सालमा प्लस टुको अध्ययन–अध्यापन थालिएको विष्णुमा ९५ प्रतिशतभन्दा कम नतिजा छैन ।

















