Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुन बेच्नेदेखि घरधनीसम्मले छल्छन् राजश्व

रुषा थापा
कार्तिक १३ २०८२, बिहिबार
सुन बेच्नेदेखि घरधनीसम्मले छल्छन् राजश्व

नेपालमा वि.सं. २०२२ सालमा सुनको मूल्य प्रतितोला ८० रुपैयाँ थियो । तर, १५ दिनअघि त्यही सुन तोलाकै दुई लाख ५८ हजार पाँच सय रुपैयाँ पुग्यो । यसबीचमा न सुनको लम्बाई बढेको थियो न चौडाई । न त गुणस्तर वा मोटाई नै बढेको थियो । दुई लाख ५८ हजार पाँच सय पुगिसकेको सुन अहिले निरन्तर ओरालो लागिरहेको छ ।
बुधबार सुन तोलाको दुई लाख ३६ हजार तीन सयमा झर्यो । अहिले बजारमा भनिन्छ कि सुन १५ वर्षअघिकै मूल्यमा आउँछ । त्यतिबेला सुनको मूल्य तोलाको बढीमा ४०–४५ हजार रुपैयाँ थियो । सुनको मूल्य दुई लाख ५८ हजार नाघेको बेला व्यापारीहरु भन्थे, ‘सुनको मूल्य अब पाँच लाख पुग्छ ।’ व्यापारीको विश्वासमा परेर धेरैले सुन किने ।
आफूसँग भएको रकमसहित ऋण लिईलिई मानिसहरुले सुनमा लगानी गरे । तर, अहिले मूल्य घटेपछि सर्वसाधारण धमाधम सुन पसल पुगिरहेका छन् । सुन किन्नुपर्छ भनेर कोही व्यापारी पसल नै बन्द गरेर बसेका छन् भने कोही पसल खोलेपनि सुन किन्न मान्दैनन् । ‘हामीसँग पैसा छैन, अन्तै लगेर बेच्नुस्’ भन्छन् व्यापारीहरु ।
सुन पसलमा अत्यधिक भीडभाड देखिन्छ । एउटै पसलमा पाँच–दश मिनेटमै दर्जनौं सर्वसाधारण सुन बेच्न भन्दै आइपुग्छन् । हिजो सुनको मूल्य दुई लाख ५८ हजार पाँच सय पुग्दा मानिसहरुले आफूसँग भएको सबै रकम यसमै लगानी गरे । तर, उनीहरुले भ्याट बिल चाँहि लिएनन् । न व्यापारीले भ्याट बिल दिए न उनीहरुले मागे ।
सुन कुनै पनि सरकारी निकायमा दर्ता हुदैँन । कोसँग कति सुन छ ? सरकारलाई नै थाहा छैन । घरजग्गा, गाडी, सेयरजसरी नामसारी वा खरिदबिक्री हुँदा राज्यको ढुकुटीमा राजस्व जाने व्यवस्था सुनमा लागू हुँदैन । अर्को कुरा, सुन बनाउने ज्याला छुट्टै छ । सुन बनाउँदा साढे २६ हजार रुपैयाँ ज्याला लिइन्छ । यसको पनि राज्यले केही पाउँदैन ।
त्यसैले, सुन कालोधन थुपार्ने माध्यम बन्दै गयो । सरकारी निकायले सुनतर्फ केही चासो नदिँदा मानिसहरुले भ्रष्टाचार गरेको, राजस्व छलेको, ठगेको पैसा सुनमा लगानी गरे । अर्थमन्त्री रामेश्वर खनाललाई यसतर्फ चासो नै छैन । उनी घरजग्गा, गाडी र सेयरजसरी सुन पनि दर्ता गर्नुपर्ने तथा नामसारी र किनबेच गर्दा राजस्व तिर्नुपर्ने व्यवस्था गर्दैनन् ।
सुन राख्दा वा लगाउँदा कर लगाउनुपर्छ । किनकि सुन भनेकै हुनेखानेले लगाउने हो । उनीहरुबाट सरकारले राजस्व भराउनुपर्छ । यसो गरे राज्यको ढुकुटीमा खर्बौको फाइदा पुग्ने छ । अर्थमन्त्री खनाल किताबी ज्ञानका आधारमा अर्थविद् भए, उनीसँग व्यवहारिक ज्ञानको अभाव देखिन्छ । बजार कसरी चलिरहेको छ ? कसले कसरी राजस्व छलिरहेको छ ? के गरेमा राजस्व उठ्छ ? भनेर उनलाई थाहै छैन । बैंक, जलविद्युत तथा वित्तिय संस्थाहरुले एक सय प्रतिकित्तामा निष्काशन गरेको सेयर २४ सयमा बेचबिखन भइरहेको छ ।
एउटाले २४ सयमा बेच्छ, अर्कोले २४ सयमा किन्छ । तर, त्यही सेयर नामसारी गर्दा राज्यको ढुकुटीमा जम्मा एक सयको राजस्व आउँछ । यदि जति मूल्यमा सेयर बेचबिखन भएको छ, त्यतिकै राजस्व लिने हो भने राज्यलाई कति फाइदा होला ? दुई पाङ्ग्रेदेखि चार पाङ्ग्रे सवारी साधन पाँच लाखदेखि करोडौंमा किनबेच हुन्छन् ।
तर, यातायात कार्यालयमा नामसारी हुँदा राज्यको ढुकुटीमा जम्मा आठ सयदेखि बढीमा दुई हजार रुपैयाँ आउँछ । त्यो पनि गाडीको मोडेल र सिसिको आधारमा । यदि जति मूल्यमा त्यो गाडी किनबेच भएको हो, त्यतिकै राजस्व लिने हो भने ? सार्वजनिक यातायातलाई ६ महिना र निजी प्लेटका सवारी साधनलाई एक वर्षका निम्ति हरियो स्टिकर दिइन्छ ।
त्यसपछि सवारी प्रदूषण जाँचेर पुनः हरियो स्टिकर लिनुपर्ने व्यवस्था छ । तर, यसबापत राज्यको ढुकुटीमा जम्मा ३५ रुपैयाँ आउँछ भने कार्यालयका हाकिम, दलाली, लेखनदासको गोजीमा प्रतिगाडी धनीबाट तीन हजार रुपैयाँ जम्मा हुन्छ । यसो किन भन्नुपर्दा गाडी पुरानो भइसक्यो हुन्छ, प्रदूषण फेल । अनि यातायात व्यवसायीहरु गाडी नै नलगी यसरी घुस दिएर हरियो स्टिकर ल्याउँछन् ।
त्यस्तै, जाँचपास, रुटपरमिट नवीकरणको पनि गाडी धनीहरु दलाली, लेखनदासलाई तीन हजार रुपैयाँ दिन्छन् । त्यसमा पाँच सयदेखि आठ सय रुपैयाँ राज्यको ढुकुटीमा जाँदा अरु रकम लेखनदास, दलालीको खल्तीमा जान्छ । यातायात व्यवसायीसँग सरकारले लिनुपर्ने ३२ वटा शीर्षकमा ३५ वर्षदेखि राजस्व वृद्धि भएको छैन । जबकी यस अवधिमा सर्वसाधारणले व्यवसायीलाई तिर्नुपर्ने भाडा सयौं गुणाले बढेको छ ।
अहिले राजनीतिक दलका नेता होस् या सरकारी कर्मचारी, पत्रकार, कानून व्यवसायी, आम सर्वसाधारण पठाओ, इनड्राइभलगायत राइड सेयरिङमार्फत यात्रा गर्छन् । यसरी यात्रा गर्दा उनीहरुले तिर्ने भाडा सरकारले तोकेको होइन, सम्बन्धित कम्पनीले आफूखुशी तोकेको हो । तर, जिम्मेवार पदमा रहेका, कानून बुझेकाहरु यसबारे सोधीखोजी गर्दैनन् ।
उनीहरु पैसा तिर्छन्, हिँड्छन् । तर, राइड सेयरिङ कम्पनीहरुले गैरकानूनी रुपमा यात्रु बोकेर ठगिरहेकोतर्फ उनीहरु चासो देखाउँदैनन् । राइड सेयरिङमार्फत मोटरसाइकल, स्कुटर वा चार पाङ्ग्रे सवारी साधनमा यात्रु बोकेर एकै जनाले दिनमै पाँच हजारदेखि २० हजारसम्म आम्दानी गर्ने गरेका छन् । एउटा गाडीमा तीन लाखदेखि ५० लाखसम्म लगानी गरिएको हुन्छ । सार्वजनिक यातायातले ६–६ महिनामा जाँचपास, प्रदूषण, बिलबुक, रुट परमिट नवीकरण गर्नुपर्छ । एउटा गाडी हुने घरेलु र दुई वा सोभन्दा बढी हुने कम्पनीमा दर्ता हुनुपर्छ । र, वर्षेनी पञ्जीकरण गर्नुपर्छ ।
यसबापत राज्यको ढुकुटीमा राजस्व जम्मा हुन्छ । आयल निगमले पेट्रोल र डिजेलको मूल्य थपघट गर्दा सरकारले सार्वजनिक यातायातको भाडा निर्धारण गर्छ । सरकारले तोकेभन्दा बढी भाडा लिएमा यात्रुको उजुरी वा ट्राफिक प्रहरी, यातायात व्यवस्था विभागको अनुगमनमा त्यस्ता सवारी चालक, सहचालकलाई कारबाही गरिन्छ । तर, निजी प्लेटका सवारी साधनमा यस्तो केही पनि हुँदैन ।
किनकि कानूनले निजी प्लेटका गाडीलाई यात्रु बोकेर कमाउनै निषेध गरेको छ । यातायात ऐन, २०४९ वा नियमावली, २०५४ मा सो व्यवस्था छ । तर, केही वर्षयता निजी प्लेटका गाडीहरुले यात्रु बोकेर धमाधम कमाइरहेका छन् । दिनमै उनीहरु हजारौं कमाउँछन्, महिनामा लाखौं । आफूखुशी यात्रुसँग भाडा असुल्छन् । तर, सरकार न निजी गाडीलाई यात्रु बोक्नमा रोक लगाउन सक्छ न तिनीहरुलाई कानूनकै दायरामा ल्याउन सक्छ ।
अहिले २० वर्षे पुराना ट्याक्सीको स्क्राइभ गरेको नम्बर प्लेट नौ लाखमा किनबेच भइरहेको छ । जबकी त्यही नम्बर प्लेट नामसारी हुँदा राज्यको ढुकुटीमा जम्मा पाँच सय रुपैयाँ आउँछ । यातायात क्षेत्रमा लामो समयदेखि सिण्डिकेट । हरियो–कालो प्लेटको ट्याक्सी, फोस्टक ट्याम्पो, ढुवानी गाडी तथा माइक्रो बस, बसहरुको दशकौंदेखि नयाँ दर्ता खुलेको छैन । यदि सरकारले नयाँ दर्ता खोलिदिने हो भने रोजगारी सिर्जनासँगै राज्यको ढुकुटीमा राजस्वको ओइरो लाग्नेछ ।
सार्वजनिक यातायातले एक दिनमै पाँच हजारदेखि ५० हजारसम्म कमाउँछन् । एउटै गाडीमा २० लाखदेखि करोडौं लगानी गरिएको हुन्छ । तर, आम्दानी र लगानी दुवैको राजस्व सरकारले पाउँदैन । यता, घरजग्गा किनबेच गर्दा पनि राजस्व छलिन्छ । एउटाले करोडौंमा घरजग्गा बेच्छ, अर्कोले किन्छ । अनि मालपोतमा नामसारी गर्न पुग्दा चाँहि सरकारी रेट वा १५ लाखमा किनबेच गरेको भनि ८५ लाखको राजस्व छल्ने ।
व्यापारीहरु व्यवसाय गर्छन् तर दतै गर्दैनन् । घरधनीहरु चर्को मूल्यमा घर भाडामा लगाउने तर घरबहाल कर नतिर्ने । एउटै कोठाको पाँच हजारदेखि २० हजार, एक फ्ल्याटको ३० हजारदेखि तीन लाख र एउटा सटरको २५ हजारदेखि २० लाखसम्म मासिक भाडा उठाउँछन्, घरधनीहरु । खाली सटर त २० लाखदेखि ६० लाखमा किनबेच गरिन्छ । कानूनबमोजिम घरधनीले डेराबहालसँग उठाएको भाडाको दश प्रतिशत घरबहाल कर तिर्नुपर्छ । तर, घरधनीहरु राज्यलाई राजस्व तिर्ने बेला अनेकौं बहाना बनाएर छल्छन् ।

प्रकाशित मिति: कार्तिक १३ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ४ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • ७ दिन अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend