Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अस्पतालमा बिरामी र कुरुवासँग रुखो व्यवहार, बीमालाई प्रभावकारी बनाऊ

रुषा थापा
कार्तिक २४ २०८२, सोमबार
अस्पतालमा बिरामी र कुरुवासँग रुखो व्यवहार, बीमालाई प्रभावकारी बनाऊ

कोही पनि व्यक्ति बिरामी भएपछि अस्पताल पुग्छन् । उपचार गर्दा धेरै पैसा लाग्ने भएपछि उनीहरु आफ्नो खेतबारी, घरजग्गा बेच्छन् । र, राम्रो भनिएका सरकारी तथा निजी अस्पतालमा उपचार गराउँछन् ।
सरकारी होस् निजी अस्पतालका डाक्टर, नर्स, अस्पताल प्रशासन, सुरक्षाकर्मीलगायतले बिरामीले तिर्ने पैसाबाट तलब खान्छन् । यसरी बिरामीकै पैसाबाट तलब खाएर, उनीहरुलाई नै राम्रो बोली वचन गरिँदैन । न त बिरामीका कुरुवासँग मिठो बोलिन्छ ।
यसको लागि एउटै उदाहरण काफी छ । शनिबार दिउँसो काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पताल पुग्दा दुई सय ६२ बेड नम्बरमा उपचाररत काभ्रेपलाञ्चोकको भूम्लु गाउँपालिका–२, सिम्थलीका यमबहादुर थापाका आफन्त र कुरुवासँग सुरक्षागार्डहरु हप्कीदप्की गरिरहेका थिए ।
थापा केही दिनअघि केएमसी अस्पताल भर्ना भएका थिए । त्यसअघि उनले १५ लाख बढी खर्च गरेर केएमसीनजिकै होप हस्पिटलमा आफ्नो घुँडाको उपचारमा गराए । सो रकम उनले गाउँको खेतबारी धितो राखेर ल्याएका थिए । तर, रोग निको भएन ।
थापाले आफ्नो बीमा गराएका थिए । बीमामार्फत उपचारका निम्ति उनी टिचिङ अस्पताल पुगे । तर, त्यहाँ उपचार नगरिएपछि उनी केएमसी अस्पताल भर्ना भएका हुन् । उपचारमा अझै लाखौं रकम लाग्ने बिरामी थापा बताउँथे । उपचारपछि समेत घुँडाको रोग ठिक हुने–नहुनेमा उनी यकिन छैनन् । अनि अस्पतालका नर्स, सुरक्षागार्ड चाँहि उनीसँग रुखो व्यवहार गरिरहेका छन् ।
उनलाई भेट्न आएका आफन्तलाई कुट्नै लाग्याजस्तो सुरक्षागार्डको व्यवहार थियो भने नर्सहरु बिरामीको हेरचाह नगरी मोबाइल चलाएर बसिरहेको देखिन्थ्यो । कुनै पनि व्यक्ति रहरले अस्पताल जाँदैन । अस्पतालमा लाखौंदेखि करोडौंसम्म खर्च हुन्छ ।
त्यसका निम्ति बिरामी आफ्नो खेतबारी, घरजग्गा, जायजेथा बेचेर उपचार गर्न आएको हुन्छ । बिरामीको कुरुवालाई पनि धेरै चिन्ता हुन्छ । एकातिर जायजेथा सबै बेचिएको हुन्छ, अर्कोतिर रोग निको हुन्छ कि हुँदैन भनेर चिन्ता ।
यस्तो अवसथामा डाक्टर, नर्सहरुले बिरामी र उसका कुरुवालाई सान्त्वना दिने हो । राम्रो बोलीवचन गरेर रोग निको हुन्छ भनेर विश्वास दिलाउने हो । तर, हाम्रो त ठ्याक्कै उल्टो छ । यहाँ त बिरामीलाई सान्त्वना दिनु परको कुरा हो, राम्रो बोलीवचनसमेत गरिँदैन । डाक्टर, नर्सकै व्यवहारका कारण बिरामीलाई कुर्न बसेकाहरु समेत बिरामी हुन पुग्छन् ।
डाक्टर, नर्स शिक्षित हुन्छन् । पढेलेखेरै उनीहरु त्यो ठाउँमा पुगेका हुन् । तर, उनीहरुको व्यवहार भने निकै तल्लो स्तरको देखिन्छ । डाक्टर, नर्स मै हुँ भन्ठान्छन् । आफूहरुजस्तो कोही छैन भन्ठान्छन् । आफूहरुले जे गरेपनि हुन्छ भन्ने डाक्टर, नर्सको मनोविज्ञान देखिन्छ ।
बिरामीहरु यत्तिकै अस्पताल आएका हुँदैन । उनीहरु सित्तैमा अस्पताल बसेका हुँदैनन् । कसलाई आफ्नो घर छोडेर अस्पतालको बेडमा कुचिएर बस्न मन लाग्छ र । तर, यो कुरा डाक्टर, नर्स, सुरक्षागार्डले बुझेको देखिदैँन । आफन्त बिरामी परेपछि भेटघाटका निम्ति मानिसहरु अस्पताल पुग्छन् । टाढाटाढाबाट मानिसहरु अस्पताल गएका हुन्छन् ।
तर, सुरक्षागार्ड, नर्सहरु हल्ला हुन्छ भन्दै आफन्तलाई बिरामीसँग भेट्न दिँदैनन् । अनि लामो यात्रा गरेर बिरामी भेट्न आएकाहरु बिरामी नै नभेटि फर्किन्छन् । अर्कोतर्फ, बिरामीले पैसा तिरेपछि तत्कालै उपचार पाउनुपर्ने हो । तर, डाक्टर, नर्सहरु जब आफू फुसर्द हुन्छन्, तब उपचार गर्छन् ।
त्यतिबेलासम्म बिरामीको मृत्यु भएमा को जिम्मेवार हुने ? डाक्टर, नर्सको लापरबाहीको बिरामीको ज्यान पनि जाने, सम्पत्ति पनि सिद्धिने । सरकार भन्छ–बीमा गर्नू । बीमा कम्पनीहरु बीमा गराउन घरघरमा एजेण्ट खटाउँछन् । जनताहरु बिरामी हुँदा काम लाग्छ भनेर ३५ सय रुपैयाँ तिरेर बीमा गराउँछन् ।
बीमा कम्पनीहरुसँग बीमक बिरामी हुँदा डेढ लाखसम्मको उपचार पाइने दाबी गर्छन् । तर, बिरामी हुँदा चाँहि बीमा काम लाग्दैन । अनि पैसा मात्र सिध्याउन किन बीमा गराउने ? बीमा गराएपछि बिरामी हुँदा तोकिएको अस्पताल जानुपर्छ । बिरामीहरु अनेकौं दुःख, कष्ट गरेर सम्बन्धित अस्पताल पुग्छन् ।
अनि बीमाबाट उपचारका लागि आएको भन्नेबित्तिकै उनीहरुलाई अस्पतालले बेवास्ता गर्छ । हामी कहाँ यो रोगको उपचार हुँदैन भन्दै अन्यत्र रिफर गरिन्छ वा फर्काइन्छ । बिरामीको ज्यानसम्म योसम्मको खेलबाड कहिलेसम्म ? आखिर पैसाका निम्ति जनताको ज्यानसम्म बीमा कम्पनी, अस्पतालहरु कहिलेसम्म खेलिरहने ?
यहाँ सिटामोल किन्ने पैसा नभएर ज्यान गुमाउनेदेखि उपचार गर्दागर्दै आफ्नो भएभरको सम्पत्ति सिद्धिएपछि अस्पतालकै छतबाटै हामफालेर आत्महत्या गरेकोजस्ता थुप्रै घटना छन् । सबै सम्पत्ति बेचेर उपचार गर्दागर्दै पनि बिरामी भएपछि शव झिक्ने पैसा नभएर अस्पतालमै छोडेर हिँडेको घटना पनि छन् । अस्पताल पुग्नु रहर होइन, बाध्यता हो । जुन केबल बिरामी वा उसका परिवारलाई थाहा हुन्छ ।
यस्तो अवस्थामा बिरामी, उसका परिवारलाई अस्पतालका डाक्टर, नर्स, कर्मचारीले थोरै मिठो बोलेमा पनि धेरै सहयोग पुग्छ । बिरामीमा आत्मबल आउँछ । कुरुवाहरु पनि खुशी हुन्छन् । विडम्बना, हामी कहाँ त बिरामी, कुरुवा मान्छे नै होइनन्जस्तो व्यवहार गरिँदैन ।
शहरका अस्पतालमा उपचार गर्न बिशेषगरी गाउँ वा दुर्गम जिल्लाबाट मानिसहरु आएका हुन्छन् । गाउँमा अस्पताल नभएपछि शहर आउनैपर्यो । पहिलो पटक शहर आउँदा र अस्पताल भर्ना हुँदा धेरैजसो व्यक्तिलाई धेरै कुरा थाहा हुँदैन । यहाँको वातावरणसँग झिज्न उनीहरुलाई समय लाग्छ ।
गाउँका मान्छेहरु अंग्रेजी बुझ्दैनन् । यस्तो अवस्थामा अस्पतालका डाक्टर, नर्स, कर्मचारीहरुले उनीहरुलाई सहयोग गर्नुपर्ने हो । दुर्भाग्य, उल्टै पाखे भन्दै हेपिन्छ । यति पनि आउँदैन भन्दै बिरामी र उसका कुरुवालाई हप्कीदप्की गरिन्छ । आखिर यस्तो व्यवहार कहिलेसम्म ?
नेपालको संविधान, २०७२ मा सरकारले स्वास्थ्य र शिक्षा निःशुल्क भनेको छ । केएमसी अस्पतालका उपचाररत यमबहादुर आफन्तसँग गुनासो गरिरहेका थिए, अहिलेसम्म १८ लाख खर्च भइसक्यो । अब धितो राख्न पनि केही छैन । रोग पनि ठिक भएन । के गर्ने होला ।
यसले नै देखाउँछ कि हाम्रो संविधान केबल कागजमै सीमित भएको छ । यहाँ त बिरामीले लाखौं खर्चिएर समेत गुणस्तरीय उपचार नपाएको अवस्था छ, निःशुल्क त परको कुरा हो । केएमसी अस्पताल काँग्रेस नेता एवं पूर्वसांसद डा. सुनिल केसीको हो ।
उनी गरिब जनताको निःशुल्क उपचार गर्छु भनि दाबी गर्छन् । तर, उनको अस्पतालमा पैसा तिरेरसमेत उपचार नपाएको अवस्था छ । अनि कहिलेसम्म जनतालाई भ्रमित बनाइराख्ने । अब प्रधानमन्त्री सुशीला कार्की र स्वास्थ्यमन्त्री डा.सुधा गौतमले पैसा नभएकै कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थामा अन्त्य गर्नुपर्छ ।
साथै, सरकारी तथा निजी अस्पतालमा बिरामी र उसका कुरुवासँग गरिने रुखो व्यवहारको पनि अन्त्य हुनुपर्छ । र, बीमालाई प्रभावकारी बनाउनुपर्छ ।

प्रकाशित मिति: कार्तिक २४ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ३ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • ७ दिन अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend