Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हर्क साम्पाङदेखि अन्य उम्मेदवार सार्वजनिकरूपमै चन्दा माग्दै, भोटसँगै नोट दिनुहोस्

हाम्रो कोशी आवाज
माघ २३ २०८२, शुक्रबार
हर्क साम्पाङदेखि अन्य उम्मेदवार सार्वजनिकरूपमै चन्दा माग्दै, भोटसँगै नोट दिनुहोस्

-नविन राई

नेपालको निर्वाचन पद्धतिमा ‘भोट’ र ‘नोट’को सम्बन्ध नङ र मासुको जस्तै अभिन्न भइसकेको छ । ‘नोट’ बिना ‘भोट’ नझर्ने तितो यथार्थले निष्ठा, विचार र सिद्धान्तमा आधारित राजनीतिलाई क्रमशः किनारातिर धकेल्दै लगेको छ ।
निर्वाचन प्रक्रिया खर्चिलो, भड्किलोमात्र होइन, अपारदर्शी र अस्वस्थ प्रतिस्पर्धाको अखडा बनेको छ । भोट माग्न फैलिने हातहरूमा वैचारिक घोषणापत्रभन्दा ठूलो वित्तीय हिसाब–किताब देखिन थालेको छ । राजनीतिक आदर्शभन्दा बढी पैसा खन्याउनुपर्ने बाध्यताले लोकतान्त्रिक अभ्यासको आत्मामाथि नै प्रश्न उठाएको छ ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि केही उम्मेदवारहरूले भने फरक बाटो रोजेका छन् । रञ्जु दर्शना, गणेश कार्की, महावीर पुन, हर्क साम्पाङ र गोमा तामाङजस्ता उम्मेदवारहरूले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमै ‘चन्दा’ मागिरहेका छन् । उनीहरूको आग्रह स्पष्ट छ– ‘भोटसँगै नोट पनि दिनुस् ।’
यस अभ्यासले नेपाली राजनीतिमा एउटा नयाँ र बहुआयामिक बहसको ढोका खोलेको छ । भारत र अमेरिकाजस्ता लोकतान्त्रिक मुलुकहरूमा उम्मेदवारले आम नागरिकबाट ‘क्राउड फन्डिङ’मार्फत चुनावी खर्च जुटाउनु सामान्य मानिन्छ । तर, नेपालमा सार्वजनिक रूपमा यसरी आर्थिक सहयोग माग्ने संस्कृति अझै नौलो र अपरिचित छ ।
यथार्थ के हो भने, आज पनि चुनावी खर्चका लागि ठूला व्यापारी, ठेकेदार, बिचौलिया वा अदृश्य शक्ति समूहसँग ‘बन्द कोठा’भित्र लेनदेन हुने गरेको छ । यस्ता गोप्य चन्दाले नीतिगत भ्रष्टाचारलाई मलजल गर्दै आएको तथ्य सर्वविदितै छ । यही पृष्ठभूमिमा जनतासँग पारदर्शी ढंगले सहयोग माग्नु सकारात्मक देखिए पनि यसले केही गम्भीर प्रश्नहरू उब्जाएको छ ।
पहिलो, यसले उम्मेदवारको नैतिकतामाथि प्रश्न उठाउँछ । दोस्रो, निर्वाचन आयोगले तोकेको खर्च सीमा र पारदर्शिताको कार्यान्वयनप्रति शंका उत्पन्न हुन्छ । तेस्रो, मतदाता र उम्मेदवारबीचको सम्बन्ध वैचारिक सहमतिभन्दा ‘लगानीकर्ता र ऋणी’ जस्तो व्यावसायिक सम्बन्धमा रूपान्तरण हुने जोखिम रहन्छ ।
निर्वाचन आचारसंहिता, २०८२ ले खर्च र स्रोत सार्वजनिक गर्नुपर्ने, छुट्टै बैंक खाता खोल्नुपर्ने जस्ता प्रावधान त राखेको छ । तर, कहिलेदेखि, कुन चरणमा र कुन विधिबाट चन्दा संकलन गर्न पाइन्छ भन्ने विषयमा न स्पष्ट समयरेखा छ, न व्यवहारिक निर्देशिका नै ।
यही अस्पष्टताले उम्मेदवारहरूलाई कानुनी सीमाभित्र रहेर पनि कानुनकै आत्माविरुद्ध आफ्नै व्याख्या गर्न बाध्य बनाएको छ । त्यसैले आज देखिएको ‘चन्दा राजनीति’ कुनै आकस्मिक प्रवृत्ति होइन, नियामक खाडलबाट जन्मिएको संरचनागत परिणाम हो ।
यस खाडलभित्र उभिएर सुरु भएको ‘भोटसँगै नोट’ माग्ने अभ्यासलाई न पूर्ण रूपमा अस्वीकार गर्न सकिन्छ, न त निर्विवाद रूपमा महिमामण्डन गर्न । किनकि, यसको दुई पाटा छन्– सकारात्मक र नकारात्मक । र, राजनीतिमा कुन पाटा भारी पर्छ भन्ने कुराले नै यसको मूल्यांकन हुनेछ ।
सकारात्मक दृष्टिले हेर्दा, जब हजारौँ सर्वसाधारणले थोरै–थोरै रकम योगदान गर्छन्, उम्मेदवार कुनै एक ठूला चन्दादाता, व्यावसायिक समूह वा ‘पावर नेटवर्क’को बन्धक बन्नु पर्दैन । ‘मैले जनताको पैसा प्रयोग गरेको छु’ भन्ने मनोवैज्ञानिक दबाबले निर्वाचनपछि जनताप्रति उत्तरदायी हुने सम्भावना बढ्छ । यसले ‘पैसा बाँडेर भोट किन्न सक्ने’ संस्कृतिको सट्टा ‘जनताको सहयोगमा चुनाव लड्ने’ नैतिक आधार तयार पार्न सक्छ ।
यसले ‘पैसा नहुनेले चुनाव लड्न सक्दैन’ भन्ने गहिरो जरा गाडेको भाष्यलाई पनि चिर्न सक्छ । चुनावी प्रतिस्पर्धालाई एलिट वर्गको नियन्त्रणबाट बाहिर निकालेर सर्वसाधारणको पहुँचमा ल्याउने सम्भावना यहीँ निहित छ । सार्वजनिक रूपमा चन्दा संकलन गर्नु आफैँमा निष्कलंकताको सन्देश पनि हुन सक्छ ।
तर यसको अर्को पाटो झनै गम्भीर प्रश्न बोकेर आउँछ । मध्यमवर्गीय वा निम्नवर्गीय मतदातामा ‘हामीले भोट पनि दिनुपर्ने, नोट पनि ?’ भन्ने वितृष्णा पैदा हुन सक्छ । भोट नागरिक अधिकार र कर्तव्य हो, तर त्यससँगै आर्थिक दबाब जोडिनु लोकतन्त्रको आत्मासँग मेल खाँदैन । अझ खतरनाक पक्ष के भने, यदि कुनै उम्मेदवारले ठूलो परिमाणमा चन्दा संकलन ग¥यो भने उसले सोही अनुपातमा खर्च गर्ने सम्भावना रहन्छ । यसले चुनाव सस्तो होइन, झनै महँगो बनाउने नयाँ बाटो खोल्न सक्छ ।
अर्को जोखिम अझ संवेदनशील छ । चन्दा लिएर जितेको उम्मेदवारले अपेक्षित डेलिभरी दिन नसके ‘हाम्रो पैसा खाएर पनि केही गरेन’ भन्ने आक्रोश तीव्र हुन सक्छ । यसले राजनीतिक निराशालाई व्यक्तिगत विश्वासघातको तहसम्म पु¥याउने खतरा हुन्छ ।
त्यसैले समाधान उम्मेदवारको सदाशयतामा मात्र छोडिनु हुँदैन । निर्वाचन आयोगले साझा डिजिटल पोर्टल निर्माण गर्नुपर्छ, जहाँबाट मतदाताले आफ्नो मनपर्ने उम्मेदवारलाई चन्दा दिन सकून् र त्यसको रियल–टाइम विवरण आयोगसँग सुरक्षित रहोस् । यसले पारदर्शिता मात्र होइन, समान अवसरको सिद्धान्तलाई पनि बलियो बनाउँछ ।
त्यससँगै डिजिटल चन्दा संकलनको स्पष्ट सीमा तोकिनु अपरिहार्य छ । संकलित रकम कुन–कुन शीर्षकमा खर्च गर्न पाइने हो भन्ने कुरा स्पष्ट वर्गीकरणसहित निर्धारण हुनुपर्छ । जस्तै प्रचार सामग्री, यातायात, सभा व्यवस्थापन, सञ्चार खर्च आदि । अन्यथा, चन्दा राजनीतिले सुधार होइन, विकृतिको अर्को रूप लिन सक्छ ।
अन्ततः एउटा सत्य स्वीकार गर्नैपर्छ– नोटले चल्ने चुनावले कहिलेकाहीँ सत्ता बदल्न सक्छ, तर सर्वसाधारणको अवस्था आफैँ बदलिँदैन । सार्वजनिक रूपमा चन्दा माग्नु आफैँमा खराब होइन, यो राजनीतिक इमानदारिताको एउटा कठोर परीक्षण हो । यसको सफलता निर्वाचनपछि प्रस्तुत गरिने खर्च विवरण र संकलित रकमको पूर्ण पारदर्शितामा निर्भर गर्दछ । यदि, यो प्रक्रिया इमानदारीका साथ अघि बढ्यो भने यसले नेपालमा दीर्घकालदेखि महँगो, अपारदर्शी र असमान रहँदै आएको निर्वाचन प्रणालीलाई सुधार गर्ने एउटा निर्णायक ‘ब्रेकथ्रु’ बन्न सक्छ ।
उम्मेदवारहरूले सुरु गरेको ‘नोट’ माग्ने अभियान नेपाली राजनीतिमा पारदर्शितातर्फको यात्राको एउटा महत्त्वपूर्ण प्रयोग हो । यसले क्रोनी क्यापिटालिज्मको जरा हल्लाउन सक्छ । तर, त्यसका लागि उम्मेदवारको व्यक्तिगत नैतिकता मात्र पर्याप्त हुँदैन, निर्वाचन आयोग र राष्ट्र बैंकजस्ता राज्यका नियामक निकायहरूको प्राविधिक निगरानी, स्पष्ट निर्देशिका र कडाइका साथ कार्यान्वयन पनि उत्तिकै अपरिहार्य छ ।

प्रकाशित मिति: माघ २३ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ६ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend