Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हर्क साम्पाङदेखि अन्य उम्मेदवार सार्वजनिकरूपमै चन्दा माग्दै, भोटसँगै नोट दिनुहोस्

हाम्रो कोशी आवाज
माघ २३ २०८२, शुक्रबार
हर्क साम्पाङदेखि अन्य उम्मेदवार सार्वजनिकरूपमै चन्दा माग्दै, भोटसँगै नोट दिनुहोस्

-नविन राई

नेपालको निर्वाचन पद्धतिमा ‘भोट’ र ‘नोट’को सम्बन्ध नङ र मासुको जस्तै अभिन्न भइसकेको छ । ‘नोट’ बिना ‘भोट’ नझर्ने तितो यथार्थले निष्ठा, विचार र सिद्धान्तमा आधारित राजनीतिलाई क्रमशः किनारातिर धकेल्दै लगेको छ ।
निर्वाचन प्रक्रिया खर्चिलो, भड्किलोमात्र होइन, अपारदर्शी र अस्वस्थ प्रतिस्पर्धाको अखडा बनेको छ । भोट माग्न फैलिने हातहरूमा वैचारिक घोषणापत्रभन्दा ठूलो वित्तीय हिसाब–किताब देखिन थालेको छ । राजनीतिक आदर्शभन्दा बढी पैसा खन्याउनुपर्ने बाध्यताले लोकतान्त्रिक अभ्यासको आत्मामाथि नै प्रश्न उठाएको छ ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि केही उम्मेदवारहरूले भने फरक बाटो रोजेका छन् । रञ्जु दर्शना, गणेश कार्की, महावीर पुन, हर्क साम्पाङ र गोमा तामाङजस्ता उम्मेदवारहरूले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमै ‘चन्दा’ मागिरहेका छन् । उनीहरूको आग्रह स्पष्ट छ– ‘भोटसँगै नोट पनि दिनुस् ।’
यस अभ्यासले नेपाली राजनीतिमा एउटा नयाँ र बहुआयामिक बहसको ढोका खोलेको छ । भारत र अमेरिकाजस्ता लोकतान्त्रिक मुलुकहरूमा उम्मेदवारले आम नागरिकबाट ‘क्राउड फन्डिङ’मार्फत चुनावी खर्च जुटाउनु सामान्य मानिन्छ । तर, नेपालमा सार्वजनिक रूपमा यसरी आर्थिक सहयोग माग्ने संस्कृति अझै नौलो र अपरिचित छ ।
यथार्थ के हो भने, आज पनि चुनावी खर्चका लागि ठूला व्यापारी, ठेकेदार, बिचौलिया वा अदृश्य शक्ति समूहसँग ‘बन्द कोठा’भित्र लेनदेन हुने गरेको छ । यस्ता गोप्य चन्दाले नीतिगत भ्रष्टाचारलाई मलजल गर्दै आएको तथ्य सर्वविदितै छ । यही पृष्ठभूमिमा जनतासँग पारदर्शी ढंगले सहयोग माग्नु सकारात्मक देखिए पनि यसले केही गम्भीर प्रश्नहरू उब्जाएको छ ।
पहिलो, यसले उम्मेदवारको नैतिकतामाथि प्रश्न उठाउँछ । दोस्रो, निर्वाचन आयोगले तोकेको खर्च सीमा र पारदर्शिताको कार्यान्वयनप्रति शंका उत्पन्न हुन्छ । तेस्रो, मतदाता र उम्मेदवारबीचको सम्बन्ध वैचारिक सहमतिभन्दा ‘लगानीकर्ता र ऋणी’ जस्तो व्यावसायिक सम्बन्धमा रूपान्तरण हुने जोखिम रहन्छ ।
निर्वाचन आचारसंहिता, २०८२ ले खर्च र स्रोत सार्वजनिक गर्नुपर्ने, छुट्टै बैंक खाता खोल्नुपर्ने जस्ता प्रावधान त राखेको छ । तर, कहिलेदेखि, कुन चरणमा र कुन विधिबाट चन्दा संकलन गर्न पाइन्छ भन्ने विषयमा न स्पष्ट समयरेखा छ, न व्यवहारिक निर्देशिका नै ।
यही अस्पष्टताले उम्मेदवारहरूलाई कानुनी सीमाभित्र रहेर पनि कानुनकै आत्माविरुद्ध आफ्नै व्याख्या गर्न बाध्य बनाएको छ । त्यसैले आज देखिएको ‘चन्दा राजनीति’ कुनै आकस्मिक प्रवृत्ति होइन, नियामक खाडलबाट जन्मिएको संरचनागत परिणाम हो ।
यस खाडलभित्र उभिएर सुरु भएको ‘भोटसँगै नोट’ माग्ने अभ्यासलाई न पूर्ण रूपमा अस्वीकार गर्न सकिन्छ, न त निर्विवाद रूपमा महिमामण्डन गर्न । किनकि, यसको दुई पाटा छन्– सकारात्मक र नकारात्मक । र, राजनीतिमा कुन पाटा भारी पर्छ भन्ने कुराले नै यसको मूल्यांकन हुनेछ ।
सकारात्मक दृष्टिले हेर्दा, जब हजारौँ सर्वसाधारणले थोरै–थोरै रकम योगदान गर्छन्, उम्मेदवार कुनै एक ठूला चन्दादाता, व्यावसायिक समूह वा ‘पावर नेटवर्क’को बन्धक बन्नु पर्दैन । ‘मैले जनताको पैसा प्रयोग गरेको छु’ भन्ने मनोवैज्ञानिक दबाबले निर्वाचनपछि जनताप्रति उत्तरदायी हुने सम्भावना बढ्छ । यसले ‘पैसा बाँडेर भोट किन्न सक्ने’ संस्कृतिको सट्टा ‘जनताको सहयोगमा चुनाव लड्ने’ नैतिक आधार तयार पार्न सक्छ ।
यसले ‘पैसा नहुनेले चुनाव लड्न सक्दैन’ भन्ने गहिरो जरा गाडेको भाष्यलाई पनि चिर्न सक्छ । चुनावी प्रतिस्पर्धालाई एलिट वर्गको नियन्त्रणबाट बाहिर निकालेर सर्वसाधारणको पहुँचमा ल्याउने सम्भावना यहीँ निहित छ । सार्वजनिक रूपमा चन्दा संकलन गर्नु आफैँमा निष्कलंकताको सन्देश पनि हुन सक्छ ।
तर यसको अर्को पाटो झनै गम्भीर प्रश्न बोकेर आउँछ । मध्यमवर्गीय वा निम्नवर्गीय मतदातामा ‘हामीले भोट पनि दिनुपर्ने, नोट पनि ?’ भन्ने वितृष्णा पैदा हुन सक्छ । भोट नागरिक अधिकार र कर्तव्य हो, तर त्यससँगै आर्थिक दबाब जोडिनु लोकतन्त्रको आत्मासँग मेल खाँदैन । अझ खतरनाक पक्ष के भने, यदि कुनै उम्मेदवारले ठूलो परिमाणमा चन्दा संकलन ग¥यो भने उसले सोही अनुपातमा खर्च गर्ने सम्भावना रहन्छ । यसले चुनाव सस्तो होइन, झनै महँगो बनाउने नयाँ बाटो खोल्न सक्छ ।
अर्को जोखिम अझ संवेदनशील छ । चन्दा लिएर जितेको उम्मेदवारले अपेक्षित डेलिभरी दिन नसके ‘हाम्रो पैसा खाएर पनि केही गरेन’ भन्ने आक्रोश तीव्र हुन सक्छ । यसले राजनीतिक निराशालाई व्यक्तिगत विश्वासघातको तहसम्म पु¥याउने खतरा हुन्छ ।
त्यसैले समाधान उम्मेदवारको सदाशयतामा मात्र छोडिनु हुँदैन । निर्वाचन आयोगले साझा डिजिटल पोर्टल निर्माण गर्नुपर्छ, जहाँबाट मतदाताले आफ्नो मनपर्ने उम्मेदवारलाई चन्दा दिन सकून् र त्यसको रियल–टाइम विवरण आयोगसँग सुरक्षित रहोस् । यसले पारदर्शिता मात्र होइन, समान अवसरको सिद्धान्तलाई पनि बलियो बनाउँछ ।
त्यससँगै डिजिटल चन्दा संकलनको स्पष्ट सीमा तोकिनु अपरिहार्य छ । संकलित रकम कुन–कुन शीर्षकमा खर्च गर्न पाइने हो भन्ने कुरा स्पष्ट वर्गीकरणसहित निर्धारण हुनुपर्छ । जस्तै प्रचार सामग्री, यातायात, सभा व्यवस्थापन, सञ्चार खर्च आदि । अन्यथा, चन्दा राजनीतिले सुधार होइन, विकृतिको अर्को रूप लिन सक्छ ।
अन्ततः एउटा सत्य स्वीकार गर्नैपर्छ– नोटले चल्ने चुनावले कहिलेकाहीँ सत्ता बदल्न सक्छ, तर सर्वसाधारणको अवस्था आफैँ बदलिँदैन । सार्वजनिक रूपमा चन्दा माग्नु आफैँमा खराब होइन, यो राजनीतिक इमानदारिताको एउटा कठोर परीक्षण हो । यसको सफलता निर्वाचनपछि प्रस्तुत गरिने खर्च विवरण र संकलित रकमको पूर्ण पारदर्शितामा निर्भर गर्दछ । यदि, यो प्रक्रिया इमानदारीका साथ अघि बढ्यो भने यसले नेपालमा दीर्घकालदेखि महँगो, अपारदर्शी र असमान रहँदै आएको निर्वाचन प्रणालीलाई सुधार गर्ने एउटा निर्णायक ‘ब्रेकथ्रु’ बन्न सक्छ ।
उम्मेदवारहरूले सुरु गरेको ‘नोट’ माग्ने अभियान नेपाली राजनीतिमा पारदर्शितातर्फको यात्राको एउटा महत्त्वपूर्ण प्रयोग हो । यसले क्रोनी क्यापिटालिज्मको जरा हल्लाउन सक्छ । तर, त्यसका लागि उम्मेदवारको व्यक्तिगत नैतिकता मात्र पर्याप्त हुँदैन, निर्वाचन आयोग र राष्ट्र बैंकजस्ता राज्यका नियामक निकायहरूको प्राविधिक निगरानी, स्पष्ट निर्देशिका र कडाइका साथ कार्यान्वयन पनि उत्तिकै अपरिहार्य छ ।

प्रकाशित मिति: माघ २३ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • लोभ, अहंकार र प्रतिशोध: सामाजिक तथा संस्थागत विनाशका कारण

    -तोमनाथ उप्रेती मानव समाजको विकासलाई स्थिर, न्यायपूर्ण र विश्वसनीय बनाउने आधार नैतिक मूल्य, सामाजिक विश्वास र जिम्मेवार व्यवहार हुन्। जब व्यक्तिको सोच र व्यवहारमा लोभ,...

    • ३ दिन अगाडी
    • ७ मिनेट पाठ
  • धरानलाई नठगिने बजार बनाउन सकिन्छ !

    बेदप्रसाद सापकोटा, धरान उपमहानगरपालिका बजारलाई गुणस्तरीय, स्वच्छ, पारदर्शी र उपभोक्तामुखी बनाउन व्यवस्थित बजार अनुगमन अपरिहार्य छ । व्यवसायीलाई व्यावसायिक मर्यादा र कानुनको परिधिभित्र राख्न तथा...

    • ४ दिन अगाडी
    • ६ मिनेट पाठ
  • ग्याँस नपाउँदा कोठाभाडामा बस्ने भोकै !

    अहिले सबै नागरिकको गुनासो एउटै छ–ग्याँस पाइएन । ग्याँस नपाउँदा डेरामा बस्ने झनै समस्यामा परेका छन् । सरकारले २१ सय ६५ रुपैयाँ तोकेको ग्याँस...

    • ५ दिन अगाडी
    • ७ मिनेट पाठ
  • लोककल्याणकारी विज्ञापन कटौटीः छापा पत्रकारिता संकटमा

    सरकारले लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णय गरेपछि नेपाली छापा पत्रकारिता फेरि एकपटक गम्भीर संकटको मोडमा पुगेको छ । सरकारका लागि यो बजेट व्यवस्थापन,...

    • ५ दिन अगाडी
    • १२ मिनेट पाठ
  • झापातर्फ: जहाँ धरतीले हरियालीमा इतिहास लेख्छ

    -तोमनाथ उप्रेती पूर्वको क्षितिजतर्फ जाने यात्राहरूमा एउटा अनौठो आकर्षण हुन्छ। सूर्य त्यतैबाट उदाउँछ। उज्यालो पनि त्यतैबाट आउँछ। त्यसैले पूर्वको यात्रा सम्भावनातर्फको यात्रा पनि हुन्छ। यही...

    • ७ दिन अगाडी
    • १८ मिनेट पाठ
  • भोटेकोशी महाप्रलय बित्यासः अब पाठ सिकौं

    पछिल्लो समय बजारमा व्यापक चर्चा छ–काठमाडौं उपत्यका छिट्टै भासिन्छ । चिया पसलदेखि सार्वजनिक स्थलसम्म यही कुरा भइरहेको सुनिन्छ । यद्यपि, यो सत्य हो या...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend