Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा पत्रकारिता चिन्तनका सन्दर्भमा चन्द्रमणि र म

हाम्रो कोशी आवाज
बैशाख ६ २०८३, आइतबार
धरानमा पत्रकारिता चिन्तनका सन्दर्भमा चन्द्रमणि र म

धरानमा पत्रकारिताः उहिले र अहिले

-प्रा.डा. बन्धु कोइराला ‘खेकोब’

२०२४–२५ तिर महेन्द्र कलेज धरानमा तपाई हामी पढेको । २०१२ सालमा स्थापना भएको यो कलेज महाप्रसाद रिजाल प्रिन्सिपल र पछि लोकेन्द्रप्रसाद आचार्य त्यो बेला धरान भन्नु बाम र प्रगतिशील विचारको एउटा अद्भूत रोमाञ्चक घडी थियो हामी विद्यार्थीहरुको लागि । कलेज जीवन सक्नासाथ म कीर्तिपुरतिर हानिएँ, तपाईहरु धरानमा बढी केन्द्रित हुनुभयो र त्यही पत्रकारिता समाजसेवा र राजनीतितिर लाग्नुभयो तपाई यी तिनवटै कुरामा संलग्न रहँदा जेल जीवन पनि व्यतित गर्नुभयो । सक्रिय राजनीति तपाईको म चाहिँ काठमाडौँ गएपछि त्रिविमा अध्ययन र प्राध्यापन र अनुसन्धानमा व्यस्त रहेँ । बीच बिचमा पत्रिकाको प्रकाशन पनि मेरो रुचिको विषय रह्यो । स्वतन्त्रता वाक स्वतन्त्रता अभिव्यक्ति स्वतन्त्रता दुवैको लागि पत्रकारिता महत्वपूर्ण पाटो रह्यो । अनुसन्धानको क्रममा म विश्वेश्वरप्रसाद कोइराला, फणीश्वरनाथ रेणु, पारिजात, रिमाल, लेखनाथमा केन्द्रित भएँ, तपाईले वीपीका सम्बन्धमा धेरै धेरै सामग्री तयार गर्नुभयो साथै म साहित्यका विभिन्न विधामा लेखन पनि बीपी र उनको प्रजातान्त्रिक समाजवादमा केन्द्रित तपाई अनवरत् । आजीवन नै भनौँ संयोगको कुरा हो मैले वीपीको विषयमा पिएचडी गरें र एक पटक बीपीको अन्तरवार्ता लिने मौका पनि पाएँ, साहित्यका सन्दर्भमा । यसै सन्दर्भमा तपाईको बीपीसम्बन्धी एक सामग्री मैले अध्ययन गरें, जुन अध्ययन स्वयंमा मेरो लागि प्रेरक छ । जनउदय नाटक लगायत अरु कृतिहरु पनि ।
यसै सन्दर्भमा मेरा एक मित्र चन्द्रमणिसँगको पत्रकारिता सम्बन्धी एक चाखलाग्दो सामग्री तपाईलाई सम्प्रेषण गरेको छु । यसलाई उपयुक्त ठहरयाई प्रकाशन गर्न, गराउनको लागि अनुरोध गर्दछु ।
चन्द्रमणि अधिकारी मेरा मित्र उनी कलेजस्तरमा केही अनुज तर हामी मित्र दुई कुराले हामीनजिक । हामी दुवै मेची अञ्चलका उनी पाँचथर म ताप्लेजुङ तर हाम्रो बसोबास कोशीको धरान महाविद्यालयीय अध्ययन पछि म विश्वविद्यालयको उच्चस्तर पढ्न काठमाडौं हुइकिए । उनी लामो समयसम्म धरानमै रमाइरहे । त्यही केन्द्र उनको । उनको र मेरो समानता निकै छन् । असमानता पनि । उनी र म साहित्यिक पत्रकार पनि । र केही समय समाचार पत्रकारितामा पनि काम ग¥यौँ यो गजबकै प्रसंग उनले काँचुली, फेवा, आर्सी, परामर्श आदिको सम्पादन गरे र यस्तै निबन्धको प्रबन्ध अस्मिता जस्ता कृतिको प्रकाशन पनि । उनी प्रजातान्त्रिक धारका म बामपन्थी धारको जहाँ भए पनि हामी प्रेस वाक स्वतन्त्रताको यही लडाइ हाम्रो म विश्वविद्यालयको सेवामा २०३० सालमा प्रवेश गरेँ उनी चाहिँ २०५७ मा । त्यो भन्दा अगाडि स्थानीय स्कुलहरुमा उनी केन्द्रित भए । सक्रियता जीवन हामी दुवैको मर्म । उनको र मेरो पत्रकारिताका सन्दर्भमा धेरै चर्चा, छलफल हुन्थ्यो । उनी म भन्दा बढी सञ्चार सूचनाको हक जस्ता कुरामा अभिरुचि राख्थे म चाहिँ पत्रकारिता र साहित्यिक पत्रकारिता खास गरेर त्यसमा रुचि राख्थे र राखिरहेकै छु ।
नेपाली साहित्यिक पत्रकारिता गोरखापत्र भन्दा अगाडि प्रारम्भ भएको हो अर्थात् सो पछि १९५८ वि.सं. मा गोरखापत्र प्रकाशन भयो । १९५८ वैशाख २४ सन् १९०१ मे ६ । सो भन्दा अगाडि सूचनाका कुनै सशक्त माध्यम थिएनन नेपालमा सरकारी सूचना प्रवाह गर्न सरकारले कामदारहरुको नियुक्ति गरेको हुन्थ्यो तिनीहरु कटवाल भनिन्थे ती कटवालहरु चोक चोकमा डाँडा भन्ज्याङमा बिसौनी चौताराहरुमा मुख्य इलाकाहरुमा ढोल बजाउँथे ढयाङ्ग्रा बजाउँथे उराहा लगाउँथे पर परका मानिसले कान ठाडा पारेपछि सरकारी सूचना उर्दीका रुपमा फर्मान गर्थे ती कटवाल के आजका पत्रकार हुन त पत्रकारको पूर्व रुप नेपाली छापाखानाको इतिहास १५० वर्ष भन्दा बढी छ जबकि विश्वको पत्रकारिताको इतिहास ५०० वर्ष पुरानो ।
सन्दर्भ यिनै पत्रकारितामा प्रजातन्त्रका पारदर्शिताका कुराहरु आउँछन् र सरकारले जहिले पनि पत्रकारलाई आफ्नो प्रशंसा स्तुति गान तर्फ लगाइरहन्छ एक अर्थमा मानौँ हेन्ड्स अन्डरसेनको सुप्रसिद्ध कथा इम्पेरोस न्यूक्लोथ्स झैँ तर यसको विरोधमा पनि काम भइरहेको हुन्छ ।
यसै सिलसिलामा हामी पत्रकारिताका कुराहरु गरिरहन्थ्यौँ साहित्यका शिक्षाका ।
यी सन्दर्भहरु कहिलेकाही हाम्रो पत्रव्यवहारमा हुन्थ्यो भने कहिले चाहिँ फोनमा अनि कहिले भेटमा यस्तै यस्तै ।
फुर्सदको समय निकाल्नै पनि त गाह्रो छ । नेपालमा निजी क्षेत्रमा पत्रकारिता सरकारी पत्रकारिता पछि आउँछ नै ।
नेपाली विषयका शिक्षण सहायक श्री अधिकारीको जन्म २००७ साल फागुन १ गते मौवा पाँचथरमा भएको हो। २०५७ सालदेखि त्रिवि सेवामा प्रवेश गर्नुभएका उहाँले ‘काँचूली’, ‘फेवा’, ‘आरसी’, ‘परामर्श’ आदिको सम्पादन र ‘नेपाली भाषा र व्याकरण’, ‘निबन्धको प्रवन्ध’, ‘अस्मिता’ आदि कृति प्रकाशित गर्नुभएको छ । उहाँ धरान–१५ निवासी ।
आज विश्व सूचनाको राजमार्गमा दौडिरहेछ । छिटो पुग्न र सही ठाउँमा पुग्नु उसको आवश्यकता हो । यसलाई पूरा गराउन सञ्चार क्षेत्रमा देखापरेको नयाँ प्रविधि हो–इन्टरनेट, सञ्चार क्षेत्रमा सूचनाका लागि मात्र नभएर ज्ञान सागरमा डुबुल्की मार्न नै विशिष्ट सहयोगी बन्न पुगेको छ । यस माध्यमबाट हामी विश्वका ठूला–ठूला पुस्तकालयहरूलाई आफ्नै कोठामा भित्र्याउन सक्छौं । इन्टरनेट प्रणालीबाट घरै बसीबसी अमेरिका, चीन, जापान, बेलायत आदिका पुस्तकहरू पढ्न सक्छौं । तसर्थ आजको प्रेसले रोटरी प्रेस प्रयोग गर्ने पर्दछ र इन्टरनेटमा प्रवेश गर्ने पर्दछ किनभने लेटर प्रेसको अब दन्त्य कथा हुँदैछ र कलमको लेखाइको पनि अन्त्य हुँदैछ ।
वर्तमान अवस्थामा टि.भि. रेडियो, सभा र सम्मेलनका माध्यमले जो सूचना प्रवाह गरिदैँछ । त्यसलाई साउन्ड ब्रोडकास्टिङ भनिन्छ । विद्युतीय सञ्चार माध्यमद्वारा हामी सिनेमा, नाचगान आदि हेर्दछौँ, समाचार सुन्दछौँ । त्यो हो श्रव्यदृश्य माध्यम र किताब, पत्रपत्रिका, पर्चा, पम्पलेट, पोस्टर यी आदि भनेका छापा माध्यम भनौँ प्रिन्ट मिडिया हुन् । यी सबैलाई इन्टरनेटमा समावेश गर्न सकिन्छ । इन्टरनेट आजको पत्रकारिताको नवीनतम उपलब्धि हो । यसपछि, पत्रिकाहरू कागज कलम, ट्रेडिल मेसिन फ्लाट मेसिन र अफसेट प्रेसबाट पनि निकै टाढा पुगेर कागज कलममै नचाहिने पत्रकारितामा पुगेका छन् ।
अब पत्रकारहरू टेपरिकार्डर, क्यामेरा, ल्याप टप कम्प्युटर र फ्लपी डिस्क र सि.डि. को आवश्यकता बोध गर्दछन् । त्यसैले अहिले नेपालका धेरै समाचार सेवा इन्टरनेटमा समाविष्ट छन् । विदेशमा भएका नेपालीहरू नेपाली समाचार र पत्रिका तत्तत्क्षण विदेशमा पढ्न पाइरहेका छन्। तसर्थ सूचनाको पहुँच सरल हुनुपर्ने र सुसूचित हुने जनताको हक सुरक्षित हुनुपर्ने आजको माग छ। यही क्रममा हामी नेपाली पत्रकारिताका विभिन्न कृतिहरु, सन्दर्भ सामग्रीहरुको चर्चा गरिरहन्छौँ त्यस सम्बन्धमा नेपालमा पढाइने पत्रकारिता पाठ्यक्रम पाठ्यपुस्तहरुको पनि ।
एक दिन लेखे ‘पूँजीपति र उद्योगीहरू पत्रकारितामा लगानी गर्न रुचि राख्दैनन् । यसको प्रतिफल राम्रो हुन सक्नेबारे तिनीहरूलाई कसैले विश्वास जगाइदिएकै छैन । यहाँका उद्योगपति, व्यापारी र साहुमहाजन पत्रपत्रिकालाई मदत गर्नुपर्दछ, विज्ञापन दिनुपर्दछ, आफ्नो उद्योग व्यवसायलाई व्यापक प्रचार गराउनुपर्दा नेपाली प्रेसको उपयोग गर्नुपर्दछ भन्ने सोच नै राख्दैनन् जब कि छिमेकी राष्ट्र भारतमा ठूलाठूला औद्योगिक कम्पनीहरू आफ्ना वार्षिक आम्दानीबाट १०% र १५% रकम पत्र(पत्रिकालाई सहयोग बनी पहिले नै छुट्याउँछन्, विज्ञापन प्रायोजन गर्दछन् । यहाँ भने सरकारी उच्च अधिकृत पनि नेपाली पत्रपत्रिकाका ग्राहक नबनेर भारतीय वा बेलायती वा अमेरिकी पत्रिका पढ्ने गर्दछन् । भारतीय साहू र भारतीय मूलका मानिसको मुख्य व्यापारिक कारोबार भएका नेपालका सहरहरूमा पत्रपत्रिका पनि उनीहरू भारतीय नै पढ्ने गर्दछन् ।
हाम्रो नेपाली समाज खास गरेर प्रिन्ट मिडियाको भेउ नै नपाई रेडियो र टेलिभिजनतिर पुगेको छ । भूउपग्रहमार्फत् आकाशभरि छरिएका जी.टी.भी. र स्टार प्लसका कार्यक्रमहरूलाई रिसिभरमार्फत् पक्रेर आफ्ना कोठाभित्रका पर्दामा हेर्न पल्किएका दर्शकहरू अब अखबारतिर फर्किने मनस्थितिमा देखिँदैनन् यद्यपि अखबारले दिने खुराक रेडियो र टेलिभिजनबाट पाइँदैन ।
उनको र मेरो पत्रकारिता अर्थात् चौथो अङ्गको बारेमा विभिन्न छलफल हुन्थ्यो म बोल्ने गर्थे आफ्नो विचार उनी लेख्ने नै गर्थे र टिपोट पठाउँथे चौथो अङ्गको बारेमा उनको प्रतिक्रिया यस्तो हुन्थ्यो–
“पहिलो विश्व अर्थात् अमेरिका र बेलायतजस्ता प्रजातान्त्रिक मुलुकहरूमा पत्रकारिताको स्थान उच्च एवम् शीर्षस्थ हुन्छ र छ पनि। त्यहाँ अखबारमा कपोलकल्पित कुरा छापिँदैनन् र झूटो विज्ञापन पनि हुँदैन । त्यहाँ अखबारमा सत्य कुरा छापिन्छ र छापिएको कुरा सत्य प्रमाणित हुन्छ । त्यस्ता समाचारहरूबाट सम्बन्धित निकायले सरकारसम्म खबर पुयाउँछ अनि सरकारले त्यस्ताउपर कार्यवाही नै गर्दछ किनकि त्यहाँ प्रेस जगत्को विश्वसनीयतामा रत्तिभर शङ्का हुँदैन । बेला(बेलामा “नैतिकताका कारण राजीनामा“ भन्ने हामी जो सुन्छौँ त्यो यसै विश्वसनीयताको प्रमाण हो । यसर्थ द प्रेस वास्तवमै चौथो अङ्ग सावित भएको छ । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका जस्ता राज्य व्यवस्थाका प्रमुख तीन अङ्ग यस चौथो अङ्ग पत्रकारितासँग सधैँ सजग रहन्छन् ।
मैले विश्वविद्यालयमा सेवामा रहँदा पत्रपत्रिकामा समाचारपत्रहरुमा पनि केही काम गरेँ तर त्यसमा गहन रुपमा प्रवेश गरिनँ उनी त्यसमा बढी अभिरुचि राखे । मेरो कानून बिएल गर्दा नेपालमा पत्रकारिता भन्ने एउटा कार्यपत्र पेश गरेको सन्दर्भमा उनलाई पठाएँ उनले त्यो पढेपछि मलाई एउटा सामग्री पठाए त्यो थियो मिसन पत्रकारिता त्यस बारेमा मलाई केही रुचि थियो ।
मिसन पत्रकारिताः
दोस्रो विश्व अर्थात् साम्यवादी नीति अवलम्बन गर्न अग्रसर रहेका तर पूँजीवादी समाजको चक्रव्यूहमा फँसेर बीचैमा अल्मलिइरहेका भए पनि आफूलाई कम्युनिज्म प्राप्तिको बाटोमा लागेका भन्ने राष्टूहरूमा पत्रकारिता राष्टिूयस्तरको र पार्टीहरूको मात्र हुन्छ। त्यसैले त्यस्ता मुलुकहरूमा पहिलो विश्वका अखबारहरूको प्रवेश नै हुँदैन । ‘आफ्नै बुझ, आफैंलाई बुझ ।’ नीति लागू गरिएको हुन्छ सञ्चारका लागि। त्यस्ता मुलुकमा पार्टीले मुखपत्र निकाल्ने र सरकारले त्यसको समर्थन र सहयोग गर्नेजस्ता कार्य हुन्छन् । त्यसकारण दोस्रो विश्वको पत्रकारिता उसको राजनीतिक लक्ष्यको अन्तिम बिन्दुमा पुग्नका लागिको माध्यम पत्रकारिता मात्रै हो । त्यसैले यो एउटा मिसन पत्रकारिता हो ।
तेस्रो विश्वको पत्रकारिताको सम्बन्धमा उनको टिपोट थियो–
अविकसित राष्ट्र भन्नु र विकासोन्मुख राष्ट्र भन्नु एउटै कुरो हो । यस्ता राष्ट्र तेस्रो विश्वअन्तर्गत पर्दछन् । यस्ता राष्ट्रमा विकास भोकाएको हुन्छ, गरिबी मौलाएको हुन्छ र भ्रष्टाचार काँधिएको हुन्छ । यस्ता राष्ट्रमा आधारभूत अवस्था अर्थात् जगरूपमा रहेका जनता त्यहीँ किचिएका, थिचिएका र पुरिएका हुन्छन् । माथिल्लो तला (बुइँगल) मा बस्ने सरकार छाता ओढेर जसोतसो काम चलाइरहेको हुन्छ र बीच तलामा बसेको कर्मचारी र टाठाबाठाहरू अकूत सम्पत्ति कमाइरहेका हुन्छन् । यस्ता मुलुकमा चाकरी, चाप्लुसी, भ्रष्टाचार, घुसखोरी र नातावाद बढी मौलाउँछ ।
मन्त्रीपिच्छेका, शक्ति केन्द्रपिच्छेका र समूहपिच्छेका अखबार यस्तै मुलुकमा हुन्छन् । यस्ता पत्रपत्रिकाले पाठकलाई कहिल्यै सुसूचना दिँदैनन् र, सबैलाई सधैँ भ्रमको भुमरीमा पारिराख्दछन् । यस्तै पत्रपत्रिकामा संलग्न पत्रकारहरू पीत पत्रकारितामा लागेका हुन्छन् । प्रहरीसँग मिल्ने, प्रहरीले हिरासतमा लिएकाहरूसमेतलाई हैरान पार्ने, होटलवाला, उद्योगी र व्यवसायीहरूलाई आतंकित पार्ने, तिनीहरूलाई गर्ने तिनीहरूबाट अनावश्यक रूपमा र बिनाकारण पनि रकम असुल गर्ने, असुल गर्न नसके अखबारमा बदनाम गरिदिने, प्रहरी, प्रशासन र जनप्रतिनिधिको विश्वासिलो भएर रहने, बेलाबेलामा तिनीहरूको स्तुतिगान गर्ने, आफूलाई कतै कुनै बेला कुनै सङ्कट आइपरयो भने तिनै आफ्ना इष्टदेवताहरूबाट सुरक्षित हुनेजस्ता पत्रकारिताको धर्मविपरीतका प्रवृत्तिमुक्त पत्रकारहरूको समूहको विकास भएको हुन्छ ।
हाम्रो नेपालजस्ता विकासोन्मुख मुलुकहरूमा यसो नगर्ने वा गर्न नचाहनेहरू एक्लै परेका हुन्छन् । निष्पक्ष र स्वतन्त्र पत्रकारिता गर्नेलाई सरकारले पनि टेढो आँखाले हेर्दछ । पीत पत्रकारिता गर्ने पत्रकारहरू मोटाएका हुन्छन् तर तिनका पत्रिकाभने दुब्लाएका हुन्छन् । स्थानीय पत्रकारहरूलाई एजेन्ट रिप्रिजेन्टिभ पत्रकारहरूले बिएमगर्न प्रोत्साहित गर्दै निलो पत्रकारिता गर्न उक्साउने सिकाउने बिलो द वेल्ट पत्रकारिता यस्तै मुलुकहरूमा हुन्छ किनभने असल समाचारकर्मीका लागि विश्वविद्यालयीय योग्यताको आवश्यकता पर्ने कुराको यस्ता मुलुकमा पालना नै हुँदैन ।
हामी छलफल गरिरहन्थ्यौं बिडम्बनाका कुरा
उनी भन्थे विकासोन्मुख मुलुकहरूमा पत्रकारिता गर्न भनौँ पत्रकार बन्न पत्रकारितासम्बन्धी खासै ज्ञान, सीप, योग्यता र दक्षताको खाँचो पर्दैन। जसले चाहयो त्यो पत्रकार बन्न सक्छ । पत्रकार हुनु र पत्रकार बन्नु भनेका दुई बेग्लाबेग्लै कुरा हुन् । यस्ता मुलुकमा त मुखको बाजा चैं ट्याउँट्याउँ बजाउन जान्ने भए सहीसम्म गर्न सक्ने व्यक्ति सम्पादक बन्न सक्छ । यस्ता सम्पादकहरू आफ्ना नामअगाडि ‘वरिष्ठ सम्पादक’ जस्ता गरिमामय विशेषण जोडेर हाटबजार गर्न, मेला भर्न, उद्योगकारखाना निरीक्षण गर्न र मन्त्रीहरूसँग विदेश भ्रमण गर्न पनि पुग्दछन् । त्यसैले जो पत्रकार हुन्छ त्यसले पत्रकार बन्नु वा बनिरहनु पर्दैन र जो पत्रकार बन्दछ त्यो कहिल्यै पत्रकार हुन सक्दैन । अमेरिकी पत्रकार वाल्टर लिपम्यान भन्दछन्–After all, there is nothing to teach at a school of Journalism. What a Journalist needs is an education.
सरकार के गर्छ ?
उनले लेखेर पठाए–
जनताको चेतनास्तर विकसित नभएको र विकासका नाउँमा भ्रष्टाचार उम्लिएका यस्ता मुलुकहरूमा पत्रकार संघको अध्यक्षको हुने र कसलाई बनाउने भनी सरकारले नै निर्णय गर्दछ र सत्ताको वरिपरि घुम्ने र दुईचार टाठाबाठा सम्पादक पत्रकारहरूलाई विना छपाइ, विनाभर्पाइ राम्रो रकमको व्यवस्था सरकारले नै गरिदिन्छ । साहुमहाजन, उद्योगपति व्यापारी र अरू वित्तीय प्रशासनका सरोकारवालाहरूलाई फोन गरिदिएर उत्पादनका सेम्पलसहित केही उपहारसमेतको व्यवस्था गराइदिन्छन् अनि बाँकी सम्पूर्ण पत्रकारहरूका र पत्रकारिता जगत्कै अधिकार खोसेर लिन्छन् । सुविधा थप गर्दैनन् बरू दिइएको सुविधा कटौती गर्दछन् ।
विकासोन्मुख मुलुकहरूमा प्रेस युनियनहरू सरकार नियन्त्रित हुने हुनाले त्यस्ता मुलुकहरूमा अधिकांश पत्रकारहरू औगात, ल्याकत र क्षमताविहीन हुन्छन् । जोसुकै र जस्तोसुकै व्यक्तिले पनि संवाददाता भएर समाजमा उधुम मच्चाइरहेको हुन्छ । संवाददातामा विश्वविद्यालयीय योग्यता हुनुपर्दछ भन्ने मानक सिद्धान्तको धज्जी उडाइएको हुन्छ । त्यहाँ सरकारले अखबार प्रकाशनको स्वीकृति दिन्छ अनि प्रकाशक त्यसैको पसल थापेर बस्तछ सम्पादक लेखक भई अखबार चलाइदिने ग्राहक सेवकको खोजी गरेर । पत्रकारिताको मर्म नबुझेका, धर्म चाल नपाएका, कर्तव्यबोध नभएका र अदक्ष व्यक्तिका नाउँहरू वरिष्ठ सम्पादक, विशेष सम्पादक, अतिथि सम्पादक, मुख्य सम्पादक तथा प्रधान सम्पादकजस्ता दुर्बोध्य एवम् गहन विशेषज्ञताजन्य अनावश्यक विशेषण शब्दांशहरू जोडेर छापिन्छन् । सम्पादकीय सूचीमा यस्ता विविध विशेषणयुक्त नामहरू छापिए पनि पत्रिका भने आठ पाँच अर्थात् ‘विशेष’ (विज्ञापन सजिलै उपलब्ध सक्ने) चाडपर्वहरूमा मात्र प्रकाशित हुन्छन् । भिनो प्रयास र गतिला सोर्समार्फत् उपलब्ध विज्ञापनको रकमले त्यो खाले सञ्चारकर्मीहरू आफ्नो दुनो सोझ्याउँछन् र पेशाप्रति इमान्दारहरूको बाटो बन्द गराइदिन्छन् । त्यस्तै, पत्रकारिता क्षेत्रभित्र घुसेका तस्करहरूका कारण, सङ्घर्षशील पत्रकारद्वारा नियमित रूपमा प्रकाशित भइरहेका पत्रपत्रिकाले तयार पारेको पत्रकारिताको इमान र स्वच्छ छवि धमिल हुन सक्छ–प्रशंसाका भोकाहरूको स्तुतिगान औ कल्पित समाचारको प्रवाहले ।
यस्ता सम्पादकहरूका मातहतमा रहेर काम गर्ने संवाददाताहरू पनि शिष्ट र व्यवहारिक हुन सक्दैनन् । स्वामीभक्त हनुमान हुन्छन् । मेहनत पटक्कै नगर्ने अल्छी हुन्छन् । कुरोको चुरो पकड्न सक्ने खुबीवाल हुनुका सट्टा आक्रामक र रिसाहा हुन्छन् । भोजभतेर, दानदातव्य र उपहारमा लोभिने निर्लिप्त र आशक्त हुन्छन् । पेशियारी गर्दै गर्दैनन् । आफ्नो पेशाप्रति इमान राख्दै राख्दैनन् । त्यसैले विश्वासिला हुँदैनन् । प्रेस पासको धक्कू लगाउने हुन्छन् र हुन्छन् सनकी पनि । पत्रकारिताको धर्मविरुद्धका यस्ता प्रतिकूल स्वभाव, आचरण र व्यवहारले पत्रकारिताको साख गिराउँछ । यस्तैहरूले इमान्दारहरूलाई एक दिन बेइमानीको खाडलमा जाकिदिन्छन्।
मूलतः म साहित्यिक पत्रकार त्यसका समस्याहरुमा बढी केन्द्रित उनी पत्रकारितामै बढी केन्द्रित रहन्थे र हामी छलफलमा हुन्थ्यौँ–
नेपाली पत्रकारिताका समस्याः
नेपाली पत्रकारिता हाल विकराल समस्याले घेरिएको छ । यसका खास समस्याहरू के के हुन् तः
–आर्थिक दुर्बलता ।
–दक्ष जनशक्तिको अभाव ।
–आवश्यक प्रेस उपकरणको अभाव ।
–प्रकाशन स्वतन्त्रताको उपभोगमा गतिरोध ।
–पत्रकारितामा एकताको अभाव ।
–पत्रकारहरूको सुरक्षाको प्रश्न ।
–प्रसार र बिक्री–वितरणको समस्या ।
–सरकारी पक्षबाट प्रोत्साहनको अभाव ।
–सरकारी विज्ञापनको केन्द्रीकरण कार्य ।
–अझै विश्वसनीय बन्न नसक्नु ।
–कम योग्यता भएकाहरूको यसमा निर्बाध प्रवेश हुनु ।
–सेवा र सुविधाको ग्यारेन्टी नहुनु ।
–आत्मनिर्भर हुन नसकी परमुखापेक्षी हुनु ।
–सङ्गठन टुक्रिनु ।
यस्तो महत्वपूर्ण अंग समस्यामा जेलिनाले समाज र राष्ट्रलाई निकै ठूलो क्षति भएको छ ।
कुन समाज कति प्रजातान्त्रिक, सभ्य र विकसित छ भन्ने कुराको निचोड गर्ने मापदण्ड पनि पत्रकारिताको स्तर नै हो ।
The nineteenth century was the era of the novelist. The twentieth century is the era of journalist वरिष्ठ अमेरिकी पत्रकार जेम्स रिस्टोनको उपर्युक्त भनाइलाई मनन गरेपश्चात् हामी भन्न सक्छौं But this 21st century is the era of I.T.
आजको विश्व भनेको सूचना र प्रविधिको विश्व हो । त्यसैले सूचना क्रान्ति व्याप्त छ विश्वमा आज । सूचना पाउनु, सुसूचित हुनु र सूचनाको सञ्जालमा छिर्नु आजका मानिसको दिनपञ्जी भएको छ । शिक्षा, स्वास्थ्य, खेलकुद र आहार विहारजस्तै अभिन्न अंग बनेको छ– मानव समाजका लागि आज सूचना पनि । सूचनाका लागि अप्टिकल फाइबर र साइबरक्याफे परिपूरक सामग्री भएका छन् ।
प्रजातान्त्रिक मुलुकहरूमा पत्रकारितालाई राज्य व्यवस्थाको चौथो अङ्ग मानिन्छ । त्यसैले ती मुलुकहरूमा जताततै द प्रेस इज द फोर्थ स्टेट भनेको सुन्न पाइन्छ । प्रेस भन्नाले अखबारजगत् भन्ने बुझ्नुपर्दछ तर अहिले प्रेस फराकिलो भएर अखबारका सीमाभन्दा धेरै पर रेडियो र टेलिभिजनसम्म पुगेको छ । द प्रेस भन्नाले अखबार मात्र होइन सम्पूर्ण सञ्चारजगत् भन्ने बुझिन्छ । अखबार भनेको प्रिन्ट मिडिया हो र रेडियो, टेलिभिजन भनेका विद्युतीय सञ्चारमाध्यम हुन् । यी सबै खाले माध्यमहरूबाट मानिस आफ्ना वरिपरि चारैतिर, विश्वका हर(एक भनौं जुनसुकै कुनामा के भयो ? के–के भइरहेछ ? के–के हुनेवाला छ वा होलाजस्तो छ भन्ने विषयमा जानकारी पाउँछन् । त्यो जानकारी पाउनु, सकेसम्म चाँडो पाउनु एवम् सही र सत्यतथ्य खबर पाउनु प्रजातान्त्रिक मुलुकका मानिसको नैसर्गिक अधिकार भएको छ । यही सही र सत्य समाचारलाई सुसूचना भनिन्छ ।
अखबारमा मुद्रित सूचना पढेर मात्र थाहा पाउन सकिन्छ । रेडियोको सूचना सुनेर नै थाहा हुन्छ र टेलिभिजनबाट भने घटना दुर्घटनाका दृश्यहरू घरै बसिबसी हेर्न, सुन्न र बुझ्न सकिन्छ । त्यसैले यस परिवर्तित समयमा अखबारभन्दा सूचनाको सशक्त माध्यम देखियो र श्रव्यदृश्य दुवै हुनाका कारण रेडियोभन्दा सूचनाको अझ सशक्त एवम् प्रभावकारी माध्यम ठहरियो । यी सबैको सामूहिक नाम हो– पत्रकारिता ।
आज त विश्व नै एकग्राम भएको छ । एउटा गाउँ नै विश्व भएको छ । यो सन्दर्भमा छापा पत्रकारिता अझ रेडियो पत्रकारिता टिभी पत्रकारिता अगाडि बढेर कहाँ पुगेको छ त्यसलाई चर्चा गरेर साध्यै छैन । आज पत्रकारिताको नाममा विकृति झन् बढी आएको छ त्यो अवस्थामा हिजोको पत्रकारिता त कहाँ पुग्यो कहाँ पुग्यो त्यसको कुरा गरेर पनि साध्य छैन । हिजो मैले २०२७–०२८ मा पत्रकारिता गर्दा साहित्यिक पत्रकारिता अथवा विधागत पत्रकारिता भन्नु नै अनौठो कुरा थियो । आज त त्यो कहाँ पुग्यो पुग्यो कति अघि बढ्यो सञ्चारको व्यापकतासँगै । आज पत्रकारिताको कुरा गर्दा यी कुरा आएका हुन् र खासगरेर चन्द्रमणिसँगका ती दिनका केही पहलुहरु यसमा उजागर भएका हुन् । आज मास कम्युनिकेशनका बेला त्यो हाम्रो पालाको छापा पत्रकारिता र ज्ञाली कम्पोज वा ट्रेडल मिसिनका पत्रकारिता आज सम्झिँदा मलाई एक अर्थमा आनन्द आउँछ पहिलेको घटना सम्झेर ल्याउँदा ।

प्रकाशित मिति: बैशाख ६ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ४ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • ७ दिन अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend