Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चितवनमा माटोमुनि गाडिएका शवः सामूहिक अन्त्येष्टि होइन व्यवस्थापन !

हाम्रो कोशी आवाज
भाद्र १४ २०८३, आइतबार
चितवनमा माटोमुनि गाडिएका शवः सामूहिक अन्त्येष्टि होइन व्यवस्थापन !

-प्रतिमा सिलवाल

भोटेकोसी बाढीमा परेर त्रिशूली हुँदै चितवन भएर बग्ने नारायणीमा तैरिएको अवस्थामा आइपुगेका शव चौथो दिन शनिबार राति ९ बजेर ५५ मिनेट जाँदासम्म २ सय ५९ वटा पुगेको छ ।
तीमध्ये महिला ६० र पुरुष १ सय ७ जना छन् । ६ बालक र ४ बालिकाबाहेक ८२ जनाको शव महिला पुरुष छुट्याउन नसकिएको अवस्थामा चितवन आइपुगेको छ ।
शवको संख्या एकैपटक सय नाघेर आउँदा सबैभन्दा पहिले चितवनमा राख्ने ठाउँ नै भएन । जिल्लाका अस्पतालहरुमा जम्मा ३० वटा मात्रै शव व्यवस्थापन गर्न सकिने अवस्था रहेको पनि यही विपतका बेला प्रशासनले थाहा पायो ।
मान्छेको संख्या ५०, सय, दुई सय हुँदै दुई सय ५० बाट नाघ्न थालेपछि शव व्यवस्थापन गर्ने निकायलाई नै सकस पर्न थाल्यो कसरी नसड्ने गरि राख्ने ? एक त चितवन आइपुगेकामध्ये आधा जसो मात्रै शव सग्ला छन् । कसैको हात, कसैको टाउको, कसैको खुट्टा छैन । त्यसमाथि पानीले फुलेर बाहिर निकाल्दा शव एकैपटक सड्न पनि सुरु हुन थाल्यो ।
अहिले चितवनको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज, स्थानीय प्रशासनले चिसो बनाएर राखेको औद्योगिक प्रतिष्ठानको सरकारी भवन वरपर हिँड्दा दुईवटा मास्क लगाउँदा पनि दुर्गन्ध फैलिएर बस्न सक्नुको अवस्था छैन ।
कतिसम्म भने पहिलो दिन त ६० हाराहारीमा शव पुगेपछि राख्ने ठाउँ नै नभएर प्रशासनले शवलाई नारायणी किनारमा छोड्नुपर्ने अवस्था आयो । त्यसपछि कोठाको व्यवस्थापन गरेर भरतपुर अस्पतालमा धोइपखाली गरेर फोटो खिच्ने, झोलामा राखेर यता सरकारी भवनको चिस्यान बनाइएको कोठामा ल्याउँदा ११ गते साँझ परिसकेको थियो ।
चितवन आसपास फिजारिएको नारायणी नदी भएकाले अलि धेरै शव पनि यहीँ भेटिएको तथ्यांक छ । र, यहाँ शव व्यवस्थापन अन्य जिल्लाभन्दा अलि व्यवस्थित गर्न कोशिस पनि गरिएको थियो ।
तर, यति ठूलो महाविपत्तिको अवस्था आउने परिकल्पना नेपालको सरकारी संयन्त्रले कहिल्यै गरेको रहेनछ । त्यसैले शवको पोष्र्टमार्टम गर्न पनि एक दुई जना डाक्टरको भर पर्नुपर्ने अवस्था आयो । भरतपुर अस्पताललाई शवको पोष्टमार्टम, डिएनए परीक्षण लगायतका काम गर्न विशेषज्ञको अभावले निकै अप्ठ्यारो भएको त अस्पतालले शनिबार विज्ञप्तिमार्फत नै जनायो ।
एकातिर शव व्यवस्थापन चुनौती बढ्दै गइरहेको छ । अर्कोतिर आफन्तहरुले फोटो हेरेर, शव नै हेरेर पनि आफ्नो मान्छे हो होइन पहिचान गर्न समस्या बढ्दै गयो । आजसम्म भेटिएका शवबाट जम्मा ९ वटा शव मात्रै आफन्तले चिनेर लगेका छन् । जसमा ८ जना पुरुष छन् भने १ जना बालिकाको शव रहेको छ ।
व्यवस्थापन चुनौतीको बिच शव गाड्ने निर्णय कति ठिक ?
शवको दुर्गन्ध फैलिएको कारण व्यवस्थापनमा काम गर्ने सुरक्षाकर्मी, पोष्टमार्टम, डिएनए नमुना संकलन लगायतका काम गर्ने विशेषज्ञहरु नै जोखिममा पर्ने अवस्था आएपछि शनिबार बिहान संघीय सरकारको स्वीकृति लिएर चितवन जिल्ला सुरक्षा समितिले एउटा निर्णय गर्यो, पहिचान नखुलेका शवलाई माटोमुनि गाड्ने ।
सोही निर्णयअनुरुप आज ९६ वटा, जसमा ३५ महिला, ५९ पुरुष र २ वटा लिंग पहिचान नभएका शव भरतपुर १ मा पर्ने देवघाटको जङ्गलमा माटोमुनी गाडेर राखिएको छ ।
गाडेर राखेको विषयलाई सर्वसाधरण तथा आफन्त गुमाएका व्यक्तिहरुले दुईतर्फी प्रतिक्रिया दिएका छन् । एकतर्फ आफन्त खोज्न रसुवादेखि चितवनतर्फ आइपुग्न नभ्याउँदै किन गरियो शवको अन्त्योष्टि भन्ने तर्क छ । अर्कोतर्फ सडेर चिन्न नसक्ने भएका शवले थप रोगको जोखिम निम्त्याउनु भन्दा माटोमुनि राख्नु नै ठिक भन्ने तर्क छ ।
माटोमुनि शव गाड्नु ठिक कि बेठिक भनेर तर्क गर्नुभन्दा अगाडि कसरी शव गाडिएको छ, बुझौँ । शुक्रबार रातिदेखि नै डिएनए नमुना झिक्न चितवन प्रशासनको समन्वयमा भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज लगायतका विभिन्न अस्पतालका विशेषज्ञ चिकित्सकको टोली खटिएको थियो । डिएनए नमुना संकलनमा खटिएका चिकित्सक प्रभाष रोयका अनुसार राति नियमित बिजुली आएन । अहिले गर्मीको समय छ । एकातिर बिजुलीको पनि नियमितता छैन । अर्कोतिर सडिसकेका शव भएकाले चिकित्सकको टोलीले राति नै डिएनएको लागि नमुना संकलन गर्न सकेन । त्यसमाथि आधाजति शवको मात्रै दाँत भएकोले सबै शवबाट कपाल, हड्डी लगायतका अङ्ग निकालेर सुरक्षित गर्नुपर्ने अवस्थामा चिकित्सकहरु पुगे । दिउँसो १२ बजे आसपास मात्रै चिकित्सकहरुले ९६ वटा शवबाट नमुना सङ्कलन गरेर सिध्याए ।
ति डीएनए नमुनाको परीक्षण गरेर राखिने प्रशासनले जनाएको छ । डिएनए नमुना संकलन गरिसकेका शवलाई देवघाटको जङ्गलमा लगेर अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेर डिएनए मिलेको अवस्थामा आफन्तले झिकेर अन्त्योष्टिको लागि लैजान मिल्ने गरी संकेत चिन्ह शव माथि र शव भएको ठाउँमा पनि नसड्ने बस्तुमा लेखेर प्रशासनले राखेको चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलले सार्वजनिक रुपमा जानकारी दिएका छन् ।
प्रहरी प्रशासनले सार्वजनिक गरेको तरिका अनुसार नै शवलाई माटोम्ुनि व्यवस्थापन गरेको हो भने यो अहिलेको जोखिमपूर्ण अवस्थामा भएका विकल्पहरुमध्ये सबैभन्दा उपयुक्त विकल्प भएको देखिन्छ ।
किनकी, ती सबै शवहरु वेवारिसे होइनन् । उनीहरुका आफन्तहरु खोजिरहेका छन् । हिजोसम्म सम्पर्कमा आउँछन् कि भनेर आफन्तहरु कुरेर बसे । अझै पनि उद्दार कार्य चलिरहेकाले आफ्ना मान्छेको ज्यान गइसकेको अझै उनीहरुले विश्वास गरेका छैनन् । केही आफन्त चाहिँ अब चाहिँ नफर्किने भए भनेर शनिबार शव हेर्न चितवन आइपुगेका छन् ।
प्रशासनले फोटो खिचेर डिस्प्ले पनि गरिरहेको छ । आफन्तहरु ती शव हेर्न नसकेर रोइरहेका दृष्य निकै कहालीलाग्दो देखिन्छ । त्यसैले माटोमुनि राखिएका ती सबै शवहरुका आफन्त उनीहरुलाई देख्न छट्पटिरहेका यथार्थ हो । तर, व्यवहारिक अवस्था अलि जटिल छ । ठ्याक्कै शव नचिनिकन मेरो मान्छे भन्न पनि सकिँदैन । त्यसो हुँदा नचिनिएका शवको व्यवस्थापन स्थानीय प्रशासनले गर्नै पर्छ । तर, हाम्रो व्यवस्थापकीय अवस्थाले नसड्ने तरिकाले शव राख्न सक्ने अवस्था नभएको पटकपटक चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भन्दै आएका छन् । कतिसम्म भने सुक्खा बरफ नपाएर ११ गते शव राख्नै समस्या परेको थियो ।
त्यसैले प्रशासनले पहिचानसहित डिएनए नमुना सुरक्षित गरेर शवको व्यवस्थापनको लागि गरिएको उपाय अहिलेको अवस्थामा सबैभन्दा उपयुक्त विकल्प रहेको देखिन्छ । यद्यपि, आफन्त हराइरहेका व्यक्तिले आएर प्रश्न गरेको वा मेरो आफन्तको मृत शरीर देखाइदेउ भनेको अवस्थामा तुरुन्त पहिचान भएको शव दिनसक्ने गरी प्रशासनले व्यवस्थापन गर्नु भने जरुरी देखिन्छ । त्यसैले सामूहिक रुपमा माटोमुनि राखिएका शव अन्त्योष्टि नभइ व्यवस्थापन हो भन्ने आफन्त हराएका व्यक्तिलाई सरकारले विश्वस्त पार्न आवश्यक देखिन्छ ।

प्रकाशित मिति: भाद्र १४ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend