सबैभन्दा शक्तिशाली वस्तु अन्न रहेछ, धेरै मानिसहरू आफ्नै देशमा मर्ने इच्छा हुँदोरहेछ, प्रकृतिबिना कार्य गर्नु मुर्खता रहेछ, अमेरिका संसारको शक्तिशाली राष्ट्र होइन रहेछ, संसारको महान ब्यक्ति किसान रहेछ, मानिसहरू सवारी साधनबिना हिँड्न सक्दो रहेछ, हामी पत्रु खानाबिना पनि बाँच्न सकिने रहेछ, सबैभन्दा उत्तम कर्म कृषि रहेछ । जय लकडाउन, जय हाम्रो देश । हामीले फेसुबुकमा देख्दै, पढ्दै आएका शब्द हुन् यी । अहिलेको अवस्थामा यी पोष्ट गरेका यी शब्दले सबैको मन छुन्छ ।
असार १५ लागिसकेको छ । देशभरि धान रोपाइँ गर्ने दिन, हिलो खेल्ने दिन, दही–चिउरा खाने दिन । भनौं असार १५ ठाउँअनुसार भिन्न परम्पराहरू भएपनि कृषकहरूसँग जोडिएको महत्वपूर्ण दिन । असारलाई यो बेला मानो रोपेर मुरी उब्जाउन दिन पनि भनिन्छ । यो दिन विभिन्न भाका गुन्जिन्छन्, हिलो छ्यापाछ्याप गर्ने दिन भनेर सबैलाई थाहा भएको हुनुपर्छ । वर्षेनी असार १५ मा धान रोप्ने, दही, चिउरा खाएर चलन पुरानै हो । कृषि सभ्यतामा असार महिनालाई मानो खाएर मुरी उब्जाउने अवसरको रूपमा लिने गरिन्छ ।
असार १५ का दिन एकपटक हिलो छुनु, किच्नु भन्ने मान्यता छ । यस दिन रोपाइँलाई पर्वको रूपमा मनाइने हुँदा खेतको हिलामा पसेर असारे गीत गाउँदै धान रोप्ने गरिन्छ । हलगोरूले हिल्याएको हिलोमा छुपुछुपु धान रोपेर आपसमा रमाउँदै रोपाहार र बाउसेहरू एकापसमा हिलो छ्यापाछ्याप गरी हिलो खेलेर अन्न दिने माटोलाई माया गर्छन् । नेपालमा असारमा दही चिउरा साउनमा खीर भन्ने गरिन्छ । असार १५ वर्षकै दिन दही–चिउरा खाने चलन छ । आज किसानहरूले खेतमा सामूहिक रोपाइँ कार्यक्रम गर्ने हिलो खेल्ने र दही चिउरा खाई हर्षोल्लासपूर्वक धान रोप्ने परम्परा कायमै छ । नेपालमा पनि ‘राष्ट्रिय धान दिवस’ मनाइने चलन छ ।
कोरोना कहरका कारण अहिले धेरैजना शहर छोडेर गाउँघर पुगेका छन्, विदेशिएका पनि फकिएका छन् । लकडाउनमै पनि बाँझो जमीन फोडिएका छन् । कृषिबाटै समृद्धि छ भन्नेमा सबैलाई ज्ञात छ तर पनि सबैजना यसतर्फ आकर्षित नभई विदेशसम्म पुग्नु अर्को बिडम्वना हो । कोरोनाका कारणले धेरै सहरमा गुम्सिएका छन् । पिंजडाको सुँगाझैं भएका छन् । तरपनि गाउँघरतिर पुगेकाहरू छन्–आनन्द त यहाँ छ । धेरैले फेसबुकमा पोष्ट्याउँदै पनि आएका छन्–लागियो अर्गानिक खानेकुरा खाँदै कृषि कर्मतिर । यो रामो संकेत पनि हो । यही बेला हो मानो रोपेर मुरी उब्जाउने अनि कृषिको महत्व बुझ्ने । गाउँघरतिर बाँझो जमिन फोडिसकिएका छन्, सहर बसेका, विदेश पुगेका अधिकांश युवापुस्ता गाउँ फर्किएका छन् । अझै पनि कतिपय युवाहरू आफू जन्मेको हुर्केको गाउँमा खेतीपाती गरौंला, कुटो, कोदालो, हँसिया समाउला र गाउँ फर्केर धमाधम ‘विकासको मूल’ फुटाउला भन्दै होलान् । धेरैलाई लाग्न थालिसकेको छ कृषि नै ठूलो, कृषि नै हुने रहेछ समृद्धि ।
नेपाल कृषिप्रधान देश भएको हुँदा धेरै जनता कृषिमै निर्भर रहेको पाइन्छ तर कतिपय ठाउँमा अहिले किसान कहिले वर्षा होला भनी आकाश हेर्न विवश छन् । राज्यले पनि कृषिको व्यवसायीकरण गर्दै युवा आकर्षण गर्न वैज्ञानिक खेती प्रणाली लागु गर्न पन्छिनु हुन्नँ । कृषि अनुदान, सर्वसुलभ ऋण, मल–बिऊ, औजारको व्यवस्था र ठूला तथा साना सिचाईं परियोजना सन्चालनतर्फ पनि ध्यान जाओस् । मानो रोपेर, मुरी उब्जाउने बेलामा मल, बिउविजनको अभाव छ भन्ने सुनिन्छ, यसतर्फ पनि राज्यको ध्यान जाओस् अनि मात्रै समृद्धि आउँछ भन्ने हेक्का होस् । गाउँमै सक्रिय बनौं, धान रोपौं, तरकारी फलाऔं, उब्जाउ बढाऔं, आफू समृद्धिमा लागौं, देशलाई समृद्धितर्फ डोहोरयाऔं, असार १५ को शुभकामना ।