धरानः भोलि अर्थात् असार २५ देखि २८ गतेसम्म प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा वर्षकै अत्याधिक वर्षा हुने भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी, पहिरो र डुबानको जोखिम उच्च रहेको रहेको जनाएको छ । बैशाखदेखि लगातार वर्षा भइरहेका कारण पहाडी भूभागको माटो गलिसकेकाले त्यस क्षेत्रमा पहिरो जान सक्ने र खोलानाला र खहरेहरुमा बाढी आउने सम्भावना रहेको प्राधिकरणले जनाएको छ । सूचना जारी गर्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।
शुक्रबारदेखि कन्काई, कमला, कोशी, बाग्मती, नारायणीसहित अन्य सहायक नदीमा बाढी आउन सक्ने र त्यसले खतरा निम्त्याउन सक्ने प्राधिकरणको चेतावनी छ । तराईका झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनका होचो क्षेत्रहरु डुबानको उच्च जोखिममा रहेको सूचनामा जनाइएको छ ।