काठमाडौंः इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वाशुदेव पाण्डेले नेपालमा संक्रमितमध्ये ०.३ प्रतिशतमा मात्रै लक्षण र मृत्यु भएकामध्ये २४ जनामा गम्भीर खालका रोग रहेको बताएका छन् ।
निर्देशक डा. पाण्डेले नेपालका कूल कोरोना संक्रमित १६ हजार ८०१ मध्ये जम्मा ०.३ प्रतिशतमा मात्रै कोरोनाको लक्षण देखिएको बताए ।
‘जम्मा संक्रमितमध्ये ०.३ प्रतिशतमा मात्रै कोरोनाका केही लक्षण देखिएको छ’, उनले भने, ‘त्यसमा पनि खोकी लाग्ने, ज्वरो आउने अरु सामान्य लक्षण रहेका छन्, गम्भीर खालका बिरामी छैनन् । उनले मृत्यु हुनेको संख्या ०.२१ प्रतिशत रहेको बताए। उनले मृत्यु भएका ३८ मध्ये २४ जनामा अन्य गम्भीर खालका रोग रहेको बताए ।
प्रदेश १ मा कोरोना संक्रमित घट्दै
धरानः प्रदेश १ मा कोरोना संक्रमित घट्दै गएको छ ।
प्रदेशमा हालसम्म ७ सय २४ जनामा संक्रमण पुष्टि भएको छ । जसमा १ सय १९ महिला र ६ सय ५ जना पुरुष रहेका छन् । प्रदेशमा डिस्चार्ज हुनेको संख्या ५ सय ७१ पुगेको छ ।
प्रदेश १ मा हाल १८० जना आइसोलेसनमा रहेका छन् । यहाँ कोरोना भाइरसको संक्रमित कसैको पनि मृत्यु भएको छैन । यहाँ हाल २ हजार ७६७ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै, धनकुटा, भोजपुर जिल्ला कोरोनामुक्त भइसकेका छन् ।