धरानः नेपालमा पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीषमा थप ११६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । प्रवक्ता गौतमका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ११४ रहेको छ भने जम्मा संक्रमितको संख्या १७ हजार १७७ रहेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ६९७ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ११ हजार २५ पुगेको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा २६ वटा प्रयोगशालमा ५ हजार ९० जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । हालसम्म २ लाख ९८ हजार ८२९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ ।क्वारेन्टाइनमा बस्नेको संख्या २४ हजार ५२७ छ । त्यस्तै, ६ हजार ११३ आइसोलेसनमा छन् । अहिलेसम्म ११ हजार २५ जनाले कोरोनालाई जितेर घर फर्किएको उनले बताए । यो संख्या कुल संक्रमितमध्ये ६४.२ प्रतिशत हो ।
थप एकको मृत्यु
थप एकजनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले रौतहटको परोहा नगरपालिकाका ३६ वर्षका पुरुषको बुधबार निधन भएको जानकारी दिए । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।
उनी असार २४ गते भारतबाट नेपाल फर्किएपछि रौतहटको परोहा क्वारेन्टिनमा बसेका थिए । असार २९ गते रुघाखोकी, ज्वरो तथा स्वास प्रश्वासमा समस्या आएपछि सोही दिन उनलाई नारायणी अस्पताल वीरगञ्जमा आईसीयुमा भर्ना गरिएको थियो ।
संक्रमित कहाँका ?
प्रदेश १ मा तीनजना मात्रै संक्रमित थपिएका छन् । धनकुटाका १, मोरङका १, ताप्लेजुङका १ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै, नवलपरासी पूर्वका ११, रौटहटका ५, धादिङका १, पाल्पाका १, गोरखाका १, सप्तरीका १३, धनुषाका ६, नुवाकोटका १ ,काठमाडौँका ७ ,सिन्धुपाल्चोकका १, चितवनका ८, कास्कीका ३, तनहुँका ३, म्याग्दीका ९, सल्यानका ३, अछामका १, दैलेखकका ३, जाजरकोटका १, जुम्लाका २, मुगुका १, सल्यानका २, सुर्खेतका २८ र डडेलधुराका २ जनामा पनि कोरोना पुष्टि भएको छ ।
समुदायस्तरमा परीक्षण गरिने
प्रदेश १ मा कोरोना भाइरसको संक्रमण पहिचान गर्न समुदायस्तरमा परीक्षण गरिने भएको छ ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले हाल क्वारेन्टिनमा सीमित परीक्षणको दायरा बढाउँदै समुदायस्तरमा समेत परीक्षण गरिने बताए । मन्त्री घिमिरेले अब परीक्षण क्वारेन्टिनमा मात्र नभएर समुदायमा समेत आवश्यक भएको बताए । कोरोना उपचार केन्द्र र क्वारेन्टिनबाट डिस्चार्ज भएकाहरुको परिवार र आसपासका स्थानहरुको छनौट गरेर नमूनाका रुपमा परीक्षण गर्ने तयारी गरिएको उनको भनाइ छ ।
यसैक्रममा प्रदेश सरकारलाई लायन्स क्लब डिष्ट्रिक ३२५ ए वानले २ हजार ६ सय भिटिएम किट हस्तान्तरण गरेको छ । क्लबले कोशी अस्पताल विराटनगरलाई १ हजार ४ सय र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई १ हजार ४ सय भिटिएम किट हस्तान्तर गर्ने जनाएको छ ।