धरानः नेपालमा पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १४७ जनाको आरटी–पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए । प्रवक्ता गौतमका अनुसार नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ३५८ रहेको छ ।
३ हजार ४८१ जनाको आरटीपीसीआर परीक्षण गरिएको थियो । त्यस्तै, पछिल्लो २४ घण्टामा थप १५६ जना कोरोना संक्रमित निको भइ घर फर्केका छन् । योसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या १२ हजार ८४० पुगेको छ । कोरोनाका कारण अहिलेसम्म नेपालमा ४३ जनाको मृत्यु भएको छ ।
प्रदेश १ मा संक्रमित हुनेमा धनकुटाका २, सुनसरीका २, मोरङका ८, झापाका १ जना छन् । यसअघि धनकुटा कोरोनामुक्त जिल्ला घोषित भइसकेको थियो । उनका अनुसार काठमाडौंमा ५, ललितपुर र भक्तपुरमा २–२ जना, सिरहाका २, सप्तरीका ७, पर्साका १७, भक्तपुरका २, काठमाडौंका ५ महोत्तरीका १, पर्वतका १, ललितपुरका २, कास्कीका २ छन् ।
त्यस्तै, स्याङ्जाका १, पर्वतका २, रुपन्देहीका १३, प्युठानका २, नवलपरासीका १, सुर्खेतका ५, सल्यानका १, दैलेखका २४, डडेलधुराका २, डोटीका ७, कैलालीका २, बझाङका १ र कञ्चनपुरका ३० जना रहेका छन् ।
आइसोलेसनमा रहनेको संख्या ५ हजार ३५८ जना रहेको छ । बुधबार सार्वजनिक २४ घन्टाको तथ्यांकमा संक्रमित १०० जना भेटिएका थिए ।