धरानः नेपालमा पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सोमबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १३९ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए । प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ९५० रहेको छ । नेपालमा कोरोना निको हुनेको प्रतिशत ७४.३५ रहेको छ ।
सोमबार थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार एक जना भारतीय र दुई जना नेपाली कोरोना संक्रमितको मृत्यु भएको हो ।
वीरगञ्जको गण्डक अस्थायी कोभिड–१९ अस्पतालमा उपचारत भारत विहारका ६५ वर्षीय पुरुषको साउन ११ गते मृत्यु भएको हो । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि साउन १० उनलाई आइसियुमा भर्ना गरिएको थियो । उनी मधुमेहका बिरामी थिए । उनको स्वाब परीक्षणको रिपोर्ट मृत्युपछि आएको हो । रिपोर्टमा कोरोना पोजिटिभ आएको हो ।
यस्तै, धनुषा जिल्ला सहिदनगर नगरपालिकाका ३६ वर्षीय कोरोना संक्रमित पुरुषको पनि साउन ११ मा नै मृत्यु भएको छ । उनमा ज्वरो, खोकीका लक्षण देखिएका थिए । उनलाई प्रादेशिक अस्पताल जनकपुरबाट धरान ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी बारा जिल्लाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको पनि साउन १२ गते मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । उनी न्युमोनिया र मस्तिष्कघातका बिरामी थिए ।
सोमबार सप्तरीका २१, सिरहाका १, धनुषाका १०, महोत्तरीका १०, पर्साका २०, काभ्रेपलाञ्चोकका १, ललितपुरका ३, काठमाडौंका ३, कास्कीका ३, बाँकेका १, रुपन्देहीका १, सुर्खेतका १, दैलेखका २८, सल्यानका २, बैतडीका ४ जनामा कोरोना पुष्टि भएको छ ।