धरानः कालिकोटमा सुतिरहेका बेला मध्यराति पहिरोले घर पुर्दा एकैपरिवारका ४ जनासहित ६ जनाको मृत्यु भएको छ ।
कालिकोट जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी श्यामबाबु ओलियाका अनुसार बिहीबार राति १२ बजेतिर जिल्लाको महाबै गाउँपालिका वडा नम्बर ३ का राजबहादुर विष्टको घर पुर्दा उनको परिवारका ४ सदस्य र दुई छिमेकीसमेतको मृत्यु भएको हो ।
पहिरोमा परी विष्टका दुई छोरा १३ वर्षीय पुष्प, ११ वर्षीय प्रवीण तथा दुई छोरी १८ वर्षीया सविना र १५ वर्षीया आशा विष्टको मृत्यु भएको हो। यसैगरी सोही घरमा सुतेका छिमकी दिलबहादुर विष्टका दुई छोरी १९ वर्षीया शान्ति र १० वर्षीया रेखा विष्टको मृत्यु भएको डीएसपी ओलियाले जानकारी दिए । एकैघरमा सुतेका भएपनि घरमूली राजबहादुर विष्टका दम्पत्ति भने बाँच्न सफल भएका छन् ।
यस्तै, सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा पहिरोमा परेर १३ जना सम्पर्कविहीन भएका छन् । पहिरोले पुरिएका १३ घरमध्ये पाँच परिवारका १३ जना सम्पर्कविहीन भएको जुगल गाउँपालिकाका योजना अधिकृत रामबावु नेपालले जानकारी दिए । पहिरोले घरमा पुरिएका आफै निस्कन सक्ने स्थानिय निस्केर लप्सेचौरमा सुरक्षित ठाउँमा गएर बसेका छन् । पहिरोको कारण ३० घर जोखिममा परेको बताइएको छ ।