धरान (रासस): नेपाल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट निको हुने दर क्रमशः घट्दै गएको छ ।
विश्वको तुलनामा नेपालमा संक्रमणबाट निको हुने दर करिब १० प्रतिशतले कम रहेको छ । अहिले नेपालमा निको हुने दर ५८.३ प्रतिशत रहेको छ भने विश्वमा ६८.१ प्रतिशत रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा विश्वको तुलनामा नेपालमा संक्रमणबाट निको हुने दर ९.८ प्रतिशतले कम रहेको छ । तथ्यांक भन्दाबढी नै निको भएको सरकारी अधिकारी बताउँछन् । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले तथ्यांकअनुसार नेपालमा विश्वको तुलनामा संक्रमण हुने दर कम भए पनि वास्तविक त्यसो नभएको बताए । उनले पछिल्लो समय रिपोर्टिङ गर्ने कम भइरहेकाले निको हुने दर तथ्यांकमा कम देखिएको बताए ।
‘हामीले सबै ठाउँबाट तथ्यांक संकलन गर्न सकेका छैनौं,’ उनले भने, ‘संक्रमित दैनिक निको हुनेको संख्या बढी भए पनि संकलनमा समस्या भएकाले निको हुनेको कम तथ्यांक आएको हो ।’ उनले सबै ठाउँबाट तथ्यांक आइसकेपछि निको हुने दर बढी देखिने बताए ।