Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

राई जातिभित्रको गन्थन-मन्थन

हाम्रो कोशी आवाज
असोज ३ २०७७, शनिबार
राई जातिभित्रको गन्थन-मन्थन

किन मैले राई जात होइन भनेर लेखिरहेको छु ?
खासमा राई जात हँुदै होइन, थिएन । तर, विसं २०२१ सालमा आएको भूमिसुधार ऐनसँगै आम जनताले पनि राई भन्न, लेख्न थालेका हुन्, पाएका हुन् । त्यसैले मैले कसैको व्यक्तिगत विरोध गरेको होइन, किनभने, अहिले राई सरहरूले भन्ने गरेको ‘जसले राई जात होइन भन्दै छ, उसको नागरिकता र तीन पुस्तेमा मात्रै होइन, जग्गाधनी प्रमाणपुर्जा, विदेश जाँदा चाहिने पासपोर्ट, स्कूल पढेको वा कलेज वा क्याम्पस पढेको सर्टिफिकेट, ड्राइभिङ लाइसेन्स, पेन्सन पट्टा, विद्यार्थी परिचयपत्र, वृद्ध भत्ता परिचयपत्र आदिमा समेत राई छ ।’ भन्दै हिँड्ने राई सर र राईनी म्याडमहरू छन्, उनीहरूप्रति मेरो व्यक्तिगत चिनजान नै छ, न त उनीहरूप्रति व्यक्तिगतरुपमा मेरो अतिशय दुराशय (नकारात्मक दृष्टिकोण, सोच) नै छ । तर, पनि खासमा कुनै पनि जात वा जातिको जातीय चिनारी वा जातीय स्वपहिचान भनेको उसको जग्गाधनीको प्रमाणपुर्जा, विदेश जाँदा चाहिने पासपोर्ट, स्कूल पढेको, कलेज वा क्याम्पस पढेको सर्टिफिकेट, ड्राइभिङ लाइसेन्स, पेन्सन पट्टा, विद्यार्थी परिचयपत्र, वृद्ध भत्ता परिचयपत्र, नागरिकता होइन भन्ने ‘यो केही नजान्ने कुलुङे ढाक्रे’को जिरह हो ।
मैले जाने, बुझेसम्म विश्वको कुनै पनि जाति वा समुदायको जातीय स्वपहिचानको आधार उसको जग्गाधनीको प्रमाणपुर्जा, विदेश जाँदा चाहिने पासपोर्ट, स्कूल पढेको, कलेज वा क्याम्पस पढेको सर्टिफिकेट, ड्राइभिङ लाइसेन्स, पेन्सन पट्टा, विद्यार्थी परिचयपत्र, वृद्ध भत्ता परिचयपत्र, नागरिकता आदिले दिने होइन कि, सम्बन्धित जाति वा समुदायको उत्पत्ति थलो अर्थात् ऐतिहासिक भूमि, इतिहास, वंश, पितापुर्खाले खाइखेली आएको भूमि, भाषा, भेषभुषा, धर्म, हामी भन्ने भावना, परम्परागत कानून, संस्कार, संस्कृति, रीतिथिति, चालचलन, गरगहना आदिले दिने हो । निश्चय नै नागरिकता र पासपोर्टले सम्बन्धित व्यक्ति कुन देशको नागरिक हो ? भन्ने प्रमाण मात्रै दिने हो ।
राईबारे प्रष्ट भएर जानुहोस्
हो, राई के हो त ? यसबारे राई सर र राईनी म्याडमहरू प्रष्ट भएर जानु होस् । त्यसैले कथित राई, जातै हो वा पदवी पगरी भए पनि अब राईलाई जातै मान्नुपर्छ भन्ने राई सरहरू र राई जातिको नाममा खुलेको राई यायोक्खाका हर्ताकर्ताहरूले यस विषयमा पनि प्रष्ट्याएर सार्वजनिकरुपमा आम मानिसहरूले बुझ्नेगरी लेख्नु, बोल्नुपर्ने देखिन्छ । पत्रकार सम्मेलन नै गरेर जाँदा अझ राम्रो हुन्छ । त्यसैले राई भन्नाले विगतमा पदवी वा पगरी मात्रै जनाए तापनि अब राईलाई नै जात मान्नुपर्छ भन्नेहरुसँग प्रश्न छ, ‘यदि राई जात वा जाति नै हो भने, राईको वंश को हो ?, राईको पुर्खाहरुको नाम के के हो ? राईहरुको पितापुर्खाले शुरुमा चर्चेको, खाइखेली आएको ऐतिहासिक भूमि कहाँ छ, हो ?, प्रष्ट्याएर जानुहोस् ।
के साँच्चै एक जाति २८ भाषी हो त ?
राई सर राईनी म्याडमहरूले कताकती ‘एक जाति राई, २८ भाषी राई’ विशिष्टता बोकेको राई भन्ने गरेको सुनिन्छ । यदि साँच्चै ‘एक जाति राई, २८ भाषी राई’ र, विशिष्टता बोकेको राई हो भने, म एक जाति राई हँु, तर मेरो भाषाचाहिँ २८ वटा हो भने, म एक जाति राई हँु, तर मेरो भाषाचाहिँ २८ वटा छ भनेर २८ वटा भाषामा खररर …, ररर…, ररर … बोल्न सक्ने कुनै माइकालाल राई छन् ? छन् भने, हालसम्म कुनै पनि माइकालाल राईले बताएको, बताउन सकेको छैन । ‘यो केही नजान्ने कुलुङे ढाक्रे’ लाई पनि ती २८ वटा भाषामा खररर …, ररर…, ररर … बोल्न सक्ने माइकालाल राईसँग भेट गराई दिनुपरयो भन्ने अर्को जिरह हो ।
राईको ऐतिहासिक भूमि कहाँ हो ?
जसरी कुलुङ जातिको त पितापुर्खाले सुरुमा खाइखेली आएको, चर्चेको भूमि हालको एक नम्बर प्रदेशको सोलुखुम्बु जिल्लाको उत्तरपूर्वी क्षेत्र हो, जसलाई ‘महाकुलुङ’ भनेर चिनिन्छ । त्यस्तै आठपहरियाको पनि होला, बाहिङको पनि होला, मेवाहाङको पनि होला, बान्तावाको पनि होला, … अरुहरुको पनि होला । तर, ‘राई’ को नि ? राईको पनि पितापुर्खाले सुरुमा खाइखेली आएको, चर्चेको भूमि छ भने, थाहा हुनेहरूले बताउनुपरयो, लेख्नु परयो । राईको ऐतिहासिक भूमि यहाँ हो यो भनेर । त्यस्तै, कुलुङ जातिलाई अरु समुदाय वा जातजातिले कुलुङ भनेर चिन्नुअघि वा हामी कुलुङ जातिहरू कुलुङ जाति भनी चिनिनु, जानिनुअघि हाम्रो पुर्खाहरू २३–२४ जना रहेको छ । त्यसपछि पनि मुख्य चार वंश वा भनौं पुर्खाहरू रहेका छन् । ती हुन् ‘छेम्सी, ताम्सी, खप्दूलू र राताप्खू’ अनि मात्रै हामी कुलुङ जातिका रूपमा स्थापित भएका हौं । कुलुङ जातिका रूपमा स्थापित भएर पनि हाल कुलुङ जातिभित्रै ३८० वटाभन्दा बढी थर, उपथरहरु रहेको छ । त्यही भएर नै कुलुङ–कुलुङबीच विवाह गर्ने गरिन्छ । नत्र त राईवादी कमरेडहरूले भने जस्तै ‘राई’ जात र कुलुङ, बाहिङ, मेवाहाङ, बान्तावा आदिचाहिँ थर हो भने, कसरी एकै थरभित्र अर्थात् कुलुङ–कुलुङबीच, बाहिङ–बाहिङबीच, मेवाहाङ–मेवाहाङबीच, बान्तावा–बान्तावाबीच विवाह हुन्छ ? के राई भन्नेहरु पशु समान हुन् ? कि राई भन्नेहरूमा पनि मुसलमानहरूमा जस्तै दूधको नाता मात्रै बार्ने, रगतको नाता नबार्ने (एकै आमाको सन्तानबाहेक बाबु एकै आमा फरक भए पनि विवाह गर्ने) प्रचलन छ ?
कहिलेसम्म सुँगा रटाइ गरिरहने ?
त्यसैले आजको जस्तो सूचना, सञ्चार र प्रविधिले फड्को मारेर उखरमाउलो गरी क्रान्ति गर्दै गरेको समयमा पनि उनीहरू (राई जात वा जातिवालाहरु) एकोहोरो रुपमा सुगा रटाइ मात्रै गर्दै राई जात र कुलुङ, थुलुङ, मेवाहाङ, बान्तावा आदिचाहिँ थर हो भन्दै कहिलेसम्म नचाहिँदो र आधारहीन बकवास वा भनौं प्रलाप गरी रहने ? आजको जस्तो सूचना, सञ्चार र प्रविधिले फड्को मारेर उखरमाउलो गरी क्रान्ति गर्दै गरेको समयमा पनि उनीहरु (राई जात वा जातिवालाहरु) एकोहोरो रुपमा सुगा रटाई मात्रै गर्दै लिँडेढिपी गरी रहेमा नराम्रोसँग कलंकित हुने छन् । त्यस्तै हाम्रा भावी पुस्ता (नाति, पनाति, खनाति, जनाति, …) ले पनि ती राई जातिवाला राई सर, राईनी म्याडमहरूलाई नराम्रोसँग धिक्कार्ने छन् ।
आगामी जनगणनामा राईको जनसंख्या कति घट्ला ?
सम्भवतः चेतनापछि फर्किएन भने, आगामी जनगणना (विसं २०७८ को १२ औं राष्ट्रिय जनगणना) मा राईको जनसंख्या वि २०६८ को भन्दा आधाभन्दा पनि बढी घट्ने छ । हुन पनि विसं २०५८ को जनगणनामा ६ लाख ३५ हजार चानचुन रहेको ‘राई’ को जनसंख्या विसं २०६८ को जनगणनामा घटेर ६ लाख २० हजार चानचुनमा झरेको छ । जबकी १० वर्ष १.२ वा १.३ प्रशितले मात्रै बढेको भए पनि ७ लाख चानचुन हुनुपर्ने थियो । तर, यो पक्षमा भने कोही नबोलीकन बसेका छन् । त्यसरी नै राई जातिवाला अरु राई जातिबारे अन्टसन्ट लेखिरहेको देखिए तापनि यो सत्य र तथ्य तथ्यांकबारे भने बिरालोले आफ्नो विष्टा लुकाएझैंँ लुकाएर बसेका छन् ।
राई जात हो भने किन कारबाही गर्थे ?
स्मरणीय कुरो के छ भने, ‘राई’ भनेको नेपालको कुनै जात वा जाति नभएर नेपालको भगौलिक एकीकरणपछि शाह राजा एवम् श्री ३ महाराज (राणा) हरुले त्यस बेलासम्म एकै रहेको किरातीहरूको भूमिलाई समेत फुटाएर स्थानीयस्तरमा तिरोभरो उठाउन र पञ्चखत बाहेकको मुद्दा मामिला मिलाउने अधिकार र ठेकीबेठीसहित दिइएको पदवी वा पगरी मात्रै हो । राई शब्दको सुरु वा व्युत्पत्ति भनेको ‘राय’ हो । कर्णाली प्रदेशमा त्यो बेला राजालाई ‘राय’ भनिन्थ्यो । हुन त नेपालको भगौलिक एकीकरणपछि राई मात्रै नभएर, सुब्बा, मुखिया, देवान, पटवारी, चौधराई आदि पदहरुको पनि श्रृजना गरिएको थियो ।
अहिले आएर कसैले त्यही सामन्तीहरुलाई जनाउने ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘पटवारी’, ‘चौधराई’ शब्दलाई नै जात वा जाति मान्छन् भने त्यसमा हाम्रो आपत्ति छैन । तर, उनीहरुले पनि हामीलाई आप्mनो असली जातीय स्वपहिचान कुलुङ, मेवाहाङ भनी अलग्गै जातिका रुपमा चिनिन दिऊन् भन्ने हो । उनीहरुले राई भनेको जात वा जाति नभएर नेपाल एकीकरणपछि शाह र राणाहरुले त्यसबेलासम्म एकै रहेका किरातीहरुलाई फुटाएर स्थानीयस्तरमा तिरो(भरो उठाउन र, पञ्चखत बाहेकको मुद्दा मामिला स्थानीयस्तरमै मिलाउन दिएको पदवी वा पगरी मात्रै भए तापनि अब हामी त्यही राई पदवी वा पगरीलाई नै जाति मान्छौं भनेर सार्वजनिक रुपमा पत्रकार सम्मेलन गरेर प्रष्ट पारे अझ राम्रो हुन्थ्यो । साथै कुलुङलगायत अन्य किरातीहरुलाई सामन्तवादको प्रतीक वा अवशेष राई शब्दलाई नै जात वा जाति मान भनेर दवाव दिँदैनौं भनेदेखि ‘सुनमा सुगन्ध’ हुन्थ्यो ।
विसं २०६८ मा के भएको थियो ?
हो, विसं को ११ औं राष्ट्रिय जनगणनामा कुलुङ लगायत अन्य १२ किराती जातिहरुको स्पष्ट तथ्यांङ्क आयो । तर, सो तथ्यांक आउन नदिन राई यायोक्खाका तत्कालीन हर्ताकर्ताहरुले के के मात्रै गर्नु भएन ? त्यो बेलाका महानिर्देशक उत्तमनाराण मल्ल सर, जनसंख्या निर्देशक रुद्र सुवाल सर लगायत सरहरुलाई सोध्दा भैहाल्छ ।
राई जात भए किन लिम्बूहरू राईबाट फेरि लिम्बू भए ?
राई भनेको जात होइन भन्ने त संखुवासभाका वनेम थरका लिम्बूहरुले विसं १८३१ मा राई पद पाएको आधारमा नामको पछाडि राई लेख्दै आएको तर, उनीहरु असलीयतमा लिम्बू भएको थाहा भएपछि राई पद त्यागेर विसं २०६६ मा पुनः लिम्बू जाति नै भएको उदाहरणले पनि देखाउँछ । सो समाचार विभिन्न पत्रपत्रिका, रेडियो, टिभी आदिमा पनि आएको थियो । दुईदुई पटक केन्द्रीय सहरी विकासमन्त्री भएका मोहम्मद इस्तियाक राई पनि राई छन् । उनी नाम सुन्दै मुसलमान होइनन् र ? यदि राई जात वा जाति नै हो भने ती मुसलमान कसरी राई भए ? अर्को महत्वपूर्ण प्रश्न के छ भने, राईको ऐतिहासिक भूमि कहाँं हो ?, राईको वंश को हो ?, राईको मातृभाषा कुन हो ?, राईको मौलिक भेषभुषा के हो ?, राईको मौलिक चाडबाड कुन हो, कस्तो हुन्छ ? देखाउन सक्नुपर्छ भनी माथि नै पनि भनिएको छ । अथवा दुई दुई पटक केन्द्रीय सहरी विकासमन्त्री भएका मोहम्मद इस्तियाक राई र भारतीय सिने उद्योगकी कलाकार ऐश्वर्य राई पनि राई नै छिन् । उनीहरुलाई राई जातिवाला कमरेडहरुले अहिलेसम्म किन सम्मान नगरेको ?
थप केही जानकारी चाहिएमाः ९८४९९८५९९७, ९८६२४३६०४९
ninamkirat123@gmail.com

प्रकाशित मिति: असोज ३ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend