Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

शिक्षाक्षेत्रले भोग्दैछ दुरगामी नियति

हाम्रो कोशी आवाज
मंसिर ७ २०७७, आइतबार
शिक्षाक्षेत्रले भोग्दैछ दुरगामी नियति

कोरोनाका कारण देशभरका विद्यालय ठप्प छ । खासगरी शिक्षालयहरू बन्द हुँदा लाखौं बालबालिकाहरू विद्यालय जानबाट बञ्चित भएका छन् । जस्तोसुकै कठिन परिस्थितिमा पनि बालबालिकाहरू शिक्षा लिन पाउने अधिकारबाट बन्चित हुनुहुँदैन भन्ने विश्वव्यापी मान्यता भएपनि महामारीले गर्दा नेपालमा मात्र नभएर विश्व जगतका शिक्षण संस्था बन्द छन् । विद्यार्थीहरू निराशा र कुण्ठाका बीच बन्द कोठामा सीमित छन् ।
युनेस्कोको तथ्यांकअनुसार अहिले विश्वमा २९ करोड ५ लाख विद्यार्थीको पठनपाठन अवरूद्घ भएको अवस्था छ । नेपालमा मात्र लगभग विभिन्न तहका ७३ लाख विद्यार्थी पढाइलेखाइबाट बञ्चित छन् । फलस्वरूप यतिखेर लाखौं विद्यार्थीहरूको दिमागमा विकसित भइरहेको अन्योलपूर्ण मानसिकतालाई मनन गर्दा नेपालको शैक्षिक क्षेत्रमा यसले दूरगामी नकारात्मक असर पर्ने अवस्था पक्कै पनि देखिदैछ ।
त्यसो त शिक्षा क्षेत्र मात्र नभएर अहिले कोरोना भाइरसले विश्व नै आक्रान्त छ । विश्वको सामाजिक, शैक्षिक, आर्थिक, सांस्कृतिक लगायतका सबै क्षेत्र प्रभावित छन् । नेपालमा पनि यसको प्रत्यक्ष नकारात्मक असर परिरहेको छ । तथापि, शिक्षा क्षेत्रलाई उद्योग, व्यापार वा कृषि उत्पादन क्षेत्र जस्तो सम्झनु हुँदैन । उद्योग तथा कृषि उत्पादन रातदिन काम गरेर पनि क्षतिपूर्ति गर्न सकिएला तर शिक्षाको क्षतिपूर्ति रातारात गर्न सकिँदैन, यो दीर्घकालिक हुन्छ । यसर्थ पनि शिक्षा क्षेत्रलाई विशेष संवेदनशील क्षेत्र मान्नैपर्ने हुन्छ ।
यतिखेर लामो समयदेखि पठनपाठन हुन नसकेको यो अवस्था र छिट्टै विद्यालय खुल्ने स्थिति नदेखिएपछि सरकारले अनलाइन वा भर्चुअल क्लास शुरू गरेको जनाएको छ । कोरोना महामारी र बन्दाबन्दीका कारण खुला, दूर र वैकल्पिक शिक्षा बाध्यात्मक भएको भन्दै विभिन्न टिभी, रेडियो र एफएमहरूमार्फत् कक्षाहरू पनि सञ्चालन त गरिएका छन् । विभिन्न विद्यालयहरूले भाइबर, मेसेन्जर, फेसबुक, गुगल, जुममार्फत् समेत शिक्षण पद्दतिलाई अगाडि बढाएको पनि बताएका छन् । आज कोरोनाले हाम्रा विद्यालयलाई भर्चुअल कक्षाहरूमा जानैपर्ने पाठ सिकाएकै छ । अब सरकार र विद्यालयहरूले प्रविधिलाई नकार्न सक्ने अवस्था पनि छैन । तर पनि नेपालजस्तो भौगोलिक विकटतापूर्ण र ग्रामीण परिवेश भएको मुलुकमा यसको उपयोगिता र सार्थकता त्यति प्रभावकारी र परिणममुखी भने बन्न सकेको देखिँदैन ।
यथार्थमा भन्नुपर्दा नेपालका धेरै शिक्षकलाई कम्प्युटर नै चलाउन नआउने अवस्थामा, कतिपय अभिभावकलाई मोबाइलमा फेसबुकभन्दा बाहेक अरू कुराहरू हुन्छ भन्ने पनि थाहा नभएको अवस्था र नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार ६३ प्रतिशत नेपाली मात्रै इन्टरनेटको पहुँचमा भएको अवस्थामा अनलाइन क्लासलाई कसरी सर्वव्यापी, प्रभावकारी र परिणाममुखी बनाउन सकिएला भन्नेतर्फ सरकार गम्भीर बन्नैपर्छ ।
नेपालमा शैक्षिक संस्थाहरूको विद्यमान भौतिक पूर्वाधार, शिक्षकलाई तालिम, विद्यार्थीहरूको प्रविधिमा पहुँच, देशमा उपलब्ध प्रविधि र इन्टरनेटको मूल्य, सुलभता र विश्वसनीयता, नेपालका शैक्षिक संस्थाहरूको जर्जर पूर्वाधारमा अनलाइन शिक्षाको नाममा आधुनिकीकरण तत्कालको लागि असम्भव नै देखिन्छ । देशका प्रायः ठाउँमा अहिले पनि २ जी,३ जी सेवा नै छ । ४ जी भनेर प्रचार गरिएको सेवा काठमाडौं र अन्य सहरका निश्चित क्षेत्रमा मात्र उपलब्ध भएको विद्यमान परिस्थितिमा अनलाइन शिक्षण पद्धतिमा अपनाइने अडियो, भिडियो, ग्राफिक्स र इफेक्टहरू जस्ता प्रविधिहरूको उपलब्धताबिना अनि देशका दूर सुदूरसम्म छरिएर रहेका विद्यार्थीहरूको निम्न आर्थिक अवस्थाको धरातलीय विषम् परिस्थितिका बाबजुद अनलाइन वा भर्चुअल क्लासको सार्थकता र प्रभावकारिता कत्तिको होला ? सहजै अनुमान गर्न सकिन्छ ।

त्यसो त अनलाइन वा भर्चुअल कक्षा कहिल्यै पनि कक्षाकोठाको पूर्णतः विकल्प हुन सक्दैन । तर अनलाइन वा भर्चुअल कक्षा र कक्षाकोठा एकअर्काका परिपूरक बनाउन सकेमा शिक्षामा ठूलो परिवर्तन ल्याउन भने अवश्य सकिन्छ । अनलाइन कक्षालाई व्यवस्थित गर्नका लागि सरकारले यथाशीघ्र तदनुरूपको तालिम, भरपर्दाे,सस्तो र सर्वसुलभ इन्टरनेटको सुविधा अनि व्यवस्थित साधनस्रोत र भौतिक पूर्वाधारको व्यवस्था तत्काल गर्नैपर्ने देखिन्छ । कोरोनाका कारण जुन नियति अहिले शिक्षा क्षेत्रले भोगिरहेको छ त्यो अत्यन्तै संवेदनशील र अकल्पनीय छ । कोरोनाको आतङ्क कहिलेसम्म रहने हो भन्ने अनिश्चित छ । अनुमान गर्न पनि कठिन छ । यस परिस्थितिमा अबको शिक्षालाई कसरी व्यवस्थापन गरेर कम असरयुक्त बनाउन सकिन्छ भन्ने चुनौती यतिबेला थपिएको छ ।
करिब ७३ लाख विद्यार्थी मानसिक तनावमा परेको, लाखौं अभिभावकलाई चिन्ताले सताएको र लाखौं शिक्षक–कर्मचारीको रोजगारी धरापमा परेको र समग्र शैक्षिक क्षेत्र डामाडोल भएको वर्तमान अवस्थामा सरकारले उपयुक्त निकास निकाल्नैपर्छ । मानसिक तनावमा परेका विद्यार्थीहरूलाई उनीहरूको नियमित पढाइ र परीक्षा के, कसरी, कहिले हुने वा नहुने स्पष्ट योजना र कार्यक्रम अब सरकारले ल्याउनैपर्छ । यदि कोरोनाको समय अझै लम्बियो भने सधैँभरि विद्यालय बन्द गरेर मात्र हुँदैन । अब कोरोना सँगसँगै विद्यालय सञ्चालन गरेर शैक्षिक क्रियाकलापहरू सञ्चालन गर्नु जरूरी छ । यसका लागि हामीले आवश्यक पूर्वतयारीहरू गर्न आवश्यक छ ।
अभिभावकको कुरा गर्नुपर्दा अहिले विशेषतः तीनखाले अभिभावक जन्मिएका छन् । एकखाले अभिभावक केटाकेटी बिग्रिए कहिले स्कुल खुल्छ र ढुक्क हुन्छ भन्ने पक्षमा छन् । केटाकेटीले पढ्न छोडेको र बिर्सिएको उनीहरुको तर्क छ । यस्तै, अर्कोखाले अभिभावक महामारीले आफ्नो छोराछोरीलाई पनि गाँज्छ भन्दै आफ्नो छोराछोरीको पढाइ एक वर्ष पर धकेलिएपनि केही फरक नपर्ने बताउँदै आएका छन् । यस्ता अभिभावक पनि छन्– वैकल्पिक माध्यमबाट पनि छोराछोरीले पढ्न पाउन् ।
विद्यालय खुलिहाले पनि अबका दिनहरूमा विद्यालयका एउटै कोठामा ४०–५० जना विद्यार्थी राखेर अध्यापन गराउन सम्भव नहोला । भौतिक दूरी कायम राख्दै अध्ययनका क्रियाकलापहरू गराउनुपर्ने हुन सक्छ । विद्यालयका क्याण्टिन र शौचालयहरूमा प्रशस्त पानी र साबुनको व्यवस्थापन गरेर हात धुने व्यवस्था गर्नु जरूरी भएको छ । अब कोरोनालाई जितेर यसबाट मुक्ति हुनुभन्दा पनि कोरोना सँगसँगै शैक्षिक क्रियाकलापहरूलाई सञ्चालन गर्दा हामीले हरेक बच्चालाई कसरी व्यक्तिगत सरसफाई गर्ने भन्ने सिकाएर स्कुलको गेटबाट भित्र पसेपछि गेटबाहिर ननिस्किउन्जेल सुरक्षित भएर बस्न सिकाउनुपनि त्यत्तिकै आवश्यक छ ।
बसभित्र विद्यार्थीलाई कोचाकोच पारेर ओसार्ने प्रवृत्तिबारे पनि अब सोच्नैपर्ने भएको छ । पक्कै पनि अबको शिक्षामा व्यवस्थापकीय जटिलताहरु थपिएका छन् । यदि कोरोनाको समय धेरै महिना रह्यो भने हामीले हाम्रा बानी व्यवहारमा आमूल परिवर्तन ल्याउने नै पर्छ । यस कोरोना महामारीले शिक्षाको सिकाइ पद्दति मूल्याङ्कनलगायत सम्पूर्ण आयाममै आमूल परिवर्तन गरिदिएर हाम्रो शिक्षालाई नयाँ उचाइमा पुरयाउन नसके मुलुकको शैक्षिक क्षेत्र अझ बढी अस्तव्यस्त बन्ने निश्चित छ । तसर्थ सरकार केवल कोरोना महामारीको अवस्था देखाएर शिक्षा क्षेत्रको यो भयानक र दर्दनाक स्थितिबाट अब उम्किन मिल्दैन । शैक्षिक प्रणालीलाई कोमामा पुग्न नदिनका लागि सरकारले एउटा न विकल्प यथाशीघ्र ल्याउनै पर्छ र विद्यार्थीहरूलाई नियमित शैक्षिक गतिविधिहरूबाट टाढा हुन नदिन तत्काल उनीहरूसँग शैक्षिक सम्पर्क मजबुत बनाउने र शैक्षिक क्रियाकलाप बढाउने संयन्त्र विकसित गर्नैपर्छ ।
यस समयमा राज्यले उत्कृष्ट कार्ययोजना बनाउन सकेन भने शिक्षा क्षेत्र लामो समयसम्म थला पर्नेछ । विद्यार्थीको भाग्य र भविष्यलाई तलमाथि हुन नदिन विवेकपूर्वक योजनासहित काम गर्नु आवश्यक छ । शिक्षा क्षेत्रमा पर्ने लागेको यो दूरगामी नकारात्मक असरले विद्यार्थीहरूको मात्रै भविष्य बिग्रँदैन, अपितु यसले सिङ्गो समाज र राष्ट्रको भविष्यलाई नै दीर्घकालसम्म अन्धकारतर्फ धकेल्न सक्छ । महामारीको प्रकोपको बहानामा समग्र राष्ट्रको शैक्षिक पद्दति र संरचनालाई ध्वस्त नबनाऔं । स्वास्थ्यप्रति उच्च सावधानी अपनाउँदै शिक्षाप्रतिको आधारभूत दायित्व पूरा गर्न विकल्पका बाटाहरू पहिल्याऔं ।

प्रकाशित मिति: मंसिर ७ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend