Hamro Koshi Aawaj

आइतबार, कार्तिक २२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा राँके जुलुस निकालेर संसद विघटनको विरोध

हाम्रो कोशी आवाज
पुष ११ २०७७, शनिबार
धरानमा राँके जुलुस निकालेर संसद विघटनको विरोध

धरानः धरानः संसद विघटन गरिएको विरोधमा धरानमा राँके जुलुस निकालिएको छ ।
नेकपानिकट प्रचण्ड–माधव समूहको राष्ट्रिय युवा संघ नेपाल र जनता संघीय समाजवादी पार्टीका कार्यकर्ताले राँके जुलुस निकालेको हो ।
जनताको बलिदानीबाट स्थापना गरिएको गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशिताजस्ता राजनैतिक उपलब्धीमाथि प्रहार गर्ने गरी प्रतिगामी कदम चालिएको भन्दै प्रचण्ड–माधव समूहका कार्यकर्ता र जनता समावादी पार्टीका कार्यकर्ताले शनिबार साँझ धरान बजारमा राँके जुलुस प्रदर्शन गरेको हो ।
प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध चर्का नाराबाजी गर्दै धरानस्थित छाताचोकबाट शुरु भएको राँके जुलुस भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
असंवैधानिक कदम फिर्ता गर्न, राष्ट्रपतिको गरीमा कायम गर्न, विधिको शासन लागू गर्न लगायतका नारा लगाउँदै कार्यकर्ताहरु सडकमा निस्किएका थिए ।
राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य हरि लिम्बूले प्रतिगामी र गैर–संवैधानिक संसद विघटनले देशलाई प्रतिगमनतर्फ धकेल्ने प्रयास भएको दावी गरे । कार्यक्रममा समाजवादीका धरान उपमहानगर समिति अध्यक्ष ताजुप लिम्बूले बोलेका थिए । प्रधानमन्त्री ओलीले संसारकै उत्कृष्ट संविधान भन्ने गरेको तर उनलै असंवैधानिक कदम चालेको उनले आरोप लगाए ।
खुलेनन् कार्यकर्ता
संघमा राजनीतिक वृत्तमा आएको हलचलले स्थानीयस्तरका नेता कता लाग्ने, कुन कित्ता समात्ने भन्ने अन्यौलता अझै कायमै छ । कतिपय कार्यकर्ताले फेसबुकमा पोष्ट्याउँदै चित्त बुझाइरहेका छन् भने कतिपयले फेसबुकै सिधैं लेखेका पनि छन्–यता जाउँ भने अर्कोले सिध्याउने, उता जाउँ भने अर्कोले सिध्याउने, गाह्रो छ हौं हामीलाई आदि इत्यादि ।
धरानमा भएको विरोध कार्यक्रममा पनि माधवपक्षका कार्यकर्ता खुलेर सडक आन्दोलनमा आउन सकेका छैनन् । शुक्रबार भएको विरोध कार्यक्रममा पनि माधवपक्षका नेता, कार्यकर्ताको उपस्थिति न्यून रह्यो । त्यहाँ अधिकांश प्रचण्ड पक्षका कार्यकर्ता उपस्थित थिए । प्रचण्ड पक्षधर कार्यकर्ताले नै सडक संघर्ष गरिरहेका छन् । धरानमा प्रम ओली पक्षका भन्दा नेपाल पक्षका कार्यकर्ता बढी छन् । तर पनि भनेजस्तो कार्यकर्ता खुल्न नसकेको एक नेताले बताए । ‘अलि कम्तीरुपमा उपस्थिति जनाएकोचाहिँ पक्कै हो’, उनले भने, ‘हिजो त्यस्तो भएपनि आज भने अलि बढी कार्यकर्ता खुलेर आएका छन् ।
कार्यक्रममा कतिपय प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कार्यकर्ता भने भानुचोक घण्टाघर छेऊ र लोकतान्त्रिक चौतारी छेऊ बसेर रमिता पनि हेरिरहेका थिए । ‘पहिला सँगै थियौं, अहिलेको गतिविधि नियाल्न मन लाग्यो’, घण्टाघर अगाडि भेटिएका एक कार्यकर्ताले भने । तस्वीरहरुः लक्ष्मण थापा

प्रकाशित मिति: पुष ११ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend