धरानः लियोनल मेस्सीले फेरि एकपटक च्याम्पियन्स लिग फुटबलको उपाधि जित्ने सपना रहेको बताएका छन् ।
फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) मा आवद्ध भएका मेस्सीले एकपटक फेरि युरोपियन च्याम्पियन बन्ने सपना रहेको र योपटक पिएसजीबाट त्यो चाहना पूरा गर्ने चाहना उनले व्यक्त गरेका हुन् ।
मेस्सीले भनेका छन्, ‘मेरो लक्ष्य र सपना भनेको फेरि एकपटक च्याम्पियन्स लिग जित्नु हो ।’
३४ वर्षका मेस्सीले ३० नम्बरको जर्सी लगाउने छन् मेस्सीले पिएसजीमा । मेस्सीले बार्सिलोनाका लागि ७७८ खेलमा ६७२ गोल गरेका छन् । १३ वर्षको हुँदा आवद्ध भएको बार्सिलोना २१ वर्षपछि छोडेका मेस्सी अब पिएसजीका खेलाडी भएका छन् ।
लिओनल मेस्सी पेरिस सेन्ट जर्मेन (पीएसजी)मा अनुबन्ध भएपछि फ्रेन्च क्लबमा नयाँ अट्याकिङ ‘ट्रिओ’ बनेको छ । पेरिस क्लबमा मेस्सी फेरि पुराना साथी नेयमारसँगै हुनेछन् । नेयमार केही वर्षअघि बार्सिलोनाबाटै पीएसजी पुगेका थिए । पीएसजीमा अब मेस्सी, किलिएन एमबाप्पे र नेयमारसहितको अट्याकिङ लाइन हुनेछ । यसअघि बार्सिलोनामा मेस्सी, लुइस सुआरेज र नेयमार सँगै थिए । त्यसलाई ‘एमएसएन’ भनिन्थ्यो ।
अब पीएसजीमा सुआरेजको सट्टा एमबाप्पे छन् र यसलाई ‘एमएमएन’ (मेस्सी, एमबाप्पे र नेयमार) भनिएको छ । पीएसजीको अबको एउटै चाहना च्याम्पियन्स लिग जित्नु हो । मेस्सीको आगमनपछि पीएसजी थप बलियो बनेको छ ।
मेस्सीसहित ५ नयाँ खेलाडी भित्रयाएको पीएसजीले हरेक पोजिसनलाई बलियो बनाएको छ । युरो २०२० को उत्कृष्ट खेलाडी बनेका इटालियन गोलकिपर डोनारुम्माले पीएसजीको गोलपोष्ट सम्हाल्ने सम्भावना छ । यस्तै डिफेन्स लाइनमा रामोस र हाकिमीसँगै कप्तान मार्क्विवन्होस र उपकप्तान प्रेसनल किम्बेम्पे हुनेछन् ।