Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

यसरी लिनुहोस् शेयरबाट कमाइको मज्जा

हाम्रो कोशी आवाज
माघ १६ २०७८, आइतबार
यसरी लिनुहोस् शेयरबाट कमाइको मज्जा

मेरा एकजना मित्र ठ्रूलै व्यावसायीसँग नजिक रहेर काम गर्छन् । ती व्यवसायीको विभिन्न कम्पनीमा संस्थापक सेयर र व्यवसायीक पोर्टफोलियो हेर्दा अर्बभन्दा अलिक बढी नै हुनुपर्छ ।

अनुमान गर्दा दिनको लाख खर्च गरेपनि बाञ्चुन्जेलमा उनको सम्पत्ति सकिँदैन होला । ती मित्रसँगको भेटमा मलाई सोध्न मन लाग्यो ।

तपाईं त राम्रै सम्पत्ति भएका व्यवसायीसँग नजिक भएर काम गर्नुहुन्छ । काठमाडौंबाट अन्य जिल्ला (हवाईजहाज नजाने) तिर जाँदा ती व्यवसायी गाडीमा जान्छन् कि हेलिकोप्टर चार्टर्ड गर्छन् ? उत्तरमा उनले भने– खै हेलिकोप्टर नै लिएर हिँडेको चाहीँ म देख्दिन । प्रायः गाडीमै हिँडेको देख्छु । सम्पत्तिको त्यति उपभोग गरेको चाहीँ देख्दिन ।

यो सुनेपछि मलार्इ लाग्यो लोभले हामीलाई सिध्याउला । तर, हामी जतिसुकै मेहनत गरेपनि लोभलाई सिध्याउन सक्दैनौं । मानिस बाँच्न सकेको पनि लोभले गर्दा नै हो । मानिससँग कुनै न कुनै प्रकारको लोभ बाँचुञ्जेल रहिरहको हुन्छ । केहीमा बढी होला केहीमा कम । तीमध्ये कमाउने लोभ चाहीँ अरुभन्दा निकै नै भिन्न र बढी नै हुन्छ ।

हामी मेहनत गरेर खाना बनाउछौं । केका लागि भन्दा उपभोग गर्न । तर, यदि बनाएको खाना हामी उपभोग गर्दैनौं भने त्यो कसैले उपभोग गरिदिन्छ । हामीसँग एउटा उखान पनि छ । काम साँची आफूलाई खान साँचो अरुलाई । खानेकुरा साँचेर राखौं खानेवेला कोही टुप्लुक्क आइपुगिहाले बाँडेर खाने वा आफूले नखाई पाहुनालाई खुवाउने हाम्रो बानी छ ।

आफू नखाएर भए पनि आउने पाहुनालाई दिने हाम्रो संस्कारै हो । अझ हामी कतिसम्म गर्छौं भने खाँदाखाँदै कोही टुप्लुक्क आइहाल्छकि भनेर आफ्नो भाग कटाएर पनि तिनका लागि छुट्याएर राख्छौं । मोबाइल वा सञ्चारका सुविधा नहुँदा त यो अभ्यास निकै प्रचलनमा थियो । तर, अहिले मोबाइलको प्रयोग बढेपछि भने फोन गरेर भेट्न जाने चलन बढेको छ ।

खाँदै गर्दा वा खानेबेला आउनेलाई तिमी त खाएर आयौ होला नि म खाएँ है त भन्दैनौं । त्यसैले खाने बेला आफूभन्दा पहिले अरु नै तयार हुन्छन् । र, कहिलेकाहीँ तिनकै अधिकार पो बढी देखिन्छ । तर, काम साँचेर राख्यौं भने हामी त्यस्तो पाउदैनौं । र, कोही आएर गरिदिनेवाला पनि छैन ।

घरमा आएका कोही व्यक्तिलाई मेरो अलिकति भाँडा माझ्नु छ सहयोग गर्छौ भनेर त हामी भन्न पनि सक्दैनौं । त्यस्तै अलिकति कपडा धुनुथ्यो, भुईं पुछ्नुथ्यो सहयोग गर्छौ भनेर सहयोग माग्न पनि सक्दैनौं । अलिकति खेत खन्नु थियो सहयोग गर्न सक्छौ भनेर भन्न पनि सकिँदैन । यसैले पनि भनिन्छ काम साँचे पनि खान चाँही नसाँचौं । खानु भनेको उपभोग गर्नु हो।

हामी हरेक दिन मेहिनत किन गरिरहेका छौं भन्दा उपभोग गर्नका लागि । चाहे जसरी उपभोग गर्न र जीवनलार्ई सहज बनाउनका लागि । खानेकुरा जस्तै उपभोगको कुरा हाम्रो सम्पत्तिमा पनि लागू हुन्छ ।

सम्पत्तिको उपभोग। सम्पत्तिमा चाहीँ दुःख साँची आफूलाई सुख साँची अरुलाई भन्ने हुन्छ ।

गाँउघरमा भनार्इ नै छ नि कसैको अपुताली परेमा सम्पत्ति केही रहेछ खाने कोही हुनुहुन्छ भन्दा सयौं हात उठ्छन् । तर, ऋण पनि केही रहेछ भन्दा हातहरु हराउँछन् । मेहनत गरेर बनाएको खाना झैं सम्पत्ति पनि सुख (आनन्द)का लागि उपभोग गर्दैनौ भने त्यो कसैले उपभोग गर्छ ।

संसारमा मेहनत गर्न चाहने कम होलान् । तर, मेहनत नगरी खान चाहनेहरु अनगिन्ती छन् । घर–घरमा, टोल–टोलमा र गाँउ–गाँउमा छन् । सहर अनि देशमा छन् । विदेशमा छन् ।

मलाई पनि कहिलेकाहीँ लाग्छ कसैको पैसामा संसार घुम्न पाए । यसो सरकारी कर्मचारी, मन्त्रितिर हेरौं न । विदेश घुम्न भनेपछि तँछाडमछाड हुन्छ । यो सबै किन भईरहेको छ भन्दा अर्काको पैसामा आनन्द लिन ।

नेपाल धितोपत्र बोर्डको अध्यक्ष कोही नया बन्यो भने सेयर बजारका समस्या समाधान गर्न भन्दा पहिला विदेश भ्रमणको तालिका बनाउन व्यस्त हुन्छ । उसको तालिका नियुक्ति हुनुभन्दा पहिल्यै बनाएर आएको हुन्छ । किनकी, यहाँ अर्काको पैसामा घुम्न पाइन्छ ।

यस्तै संसारमा काम गरेर निवृत्त हुनेभन्दा काम नगरी निवृत्त हुन खोज्नेहरु धेरै छन् । आफैं मेहनत गरेर कमाएको सम्पत्तिबाट निवृत्त हुनेभन्दा पनि अरुको सम्पत्तिबाट निवृत्त हुन खोज्ने हरुको संख्या बढी छ ।

त्यसैले घर–घरमा बुबाआमाहरु आफ्नो सुख सबै त्यागेर छोराछोरीलार्इ पहिला निवृत्त बनाउन लागेका छन् । त्यसैले सुखका लागि मृत्यु कुर्ने कि भएको सम्पत्ति बाँच्दै उपभोग गर्ने भन्ने पश्न हरेकमा उब्जनु पर्छ ।

तर, हाम्रो समाजको चरित्र अलिक फरक छ । हामी दुःख आफू लिएर सुखलाई पुस्तान्तरण गर्दै जान्छौं । दुःख आफू सहेर सुख पुस्तान्तरण गर्ने काम मेरा बुबा आमाबाट पनि भयो ।

तपाईका बुबाआमाबाट पनि भएको हुनुपर्छ । यो घर–घरमा छ । जुत्ता लगाउने क्षमता हुँदा पनि चप्पलमात्रै लगाएर वा खाली खुट्टा भए पनि उनीहरु भनिरहेका हुन्छन् मेरा सन्तानका लागि ।

लगानीकर्ताले गर्ने ५ गल्ती श्रीर्षकको पुस्तकमा पिटर मालोक सम्पत्तिको उपभोगका बारेमा निकै मार्मिक कुरा लेख्छन्– ‘तपाईंसँग भएको सम्पत्तिले आफू सन्तुष्ट हुने गरी उपभोग गर्नुहुन्न भने तपाईंको मृत्युपछि जसले सम्पत्ति पाउने छ, त्यहाँबाट पाएको पैसाले तत्काल नयाँ घर किन्नेछन्, गाडी किन्नेछन्, अनि संसार पनि घुम्नेछन् ।

यसैले २०औं वर्षदेखि चलाइरहेको पुरानो गाडी बेच्नुहोस् । र, आधुनिक विशेषता र सुरक्षासहितको नयाँ गाडी किन्नुहोस् । किनकी, आयु लम्व्याउन पनि तपाईंले यात्रामा सुरक्षित रहनुपर्छ । र, त्यो सम्पत्तिको सही उपभोगबाट मात्र प्राप्त हुनेछ ।

यस्तै पुरानो ल्यापटपका ठाँउमा नयाँ ल्यापटप किन्नुहोस् । भ्रमणको योजना बुन्नु भएको छ भने त्यसलाई पुनरविचार गरेर थप समयसहित (लामो समय)को नयाँ तालिका बनाउनुहोस् ।

यदि दान गर्न रुचाउनु हुन्छ भने जीवित हुँदै दान गरेर सन्तुष्टि लिनुहोस् । आफ्ना छोराछोरी नातीनातिनालाई दिनु छ भने बाँच्दैखेरी दिनुहोस् र उनीहरुको खुशीलाई हेर्नुहोस् । यी सबै मजा बाँच्दै नलिएर किन मृत्युसम्म कुर्नुहुन्छ ?

आखिर तपाईंको सम्पत्तिबाट मृत्युपछि पाउनेले १० लाखको ठाँउमा ८ लाख पाएर वा ६ लाखका ठाँउमा ५ लाख पाएर केही फरक पर्ने वाला छैन । त्यसैले तपाईंले जीवनमा जुन सम्पत्ति बनाउनु भएको छ, अनुमानित आयु (औषत आयु ९० देखि १०० वर्षसम्म)लाई जिउन पुग्ने राखेर बाँकीले बाँच्दै त्यसको मजा लिनुहोस् ।

सुखको उपभोग आफू गर्नुहोस् बचे पुस्तान्तरण गर्नुहोस्, नपुगे आगामी पुस्तालाई मेहनत गर्न सुझाव दिनुहोस् । तपाईंको सम्पत्तिमाथिको अधिकार तपाईंसँगै छ ।’

सेयरमा पैसा बनाउनेका लागि उपभोग झनै महत्वपुर्ण छ । यसअघि भनिएअनुसार नै लोभले हामीलाई मार्ला । तर, हामी लोभलाई मार्न सक्दैनौं ।

किनकी, लोभ हरेकको मन–मनमा गढेर बसेको हुन्छ। तुलनात्मकरुपमा सेयर बजार अति लोभ जगाउने क्षेत्र पनि हो । त्यसैले पनि नाफाको सेयर बेचेर खल्तीमा आउने पैसाको आनन्द लिनेहरुको जमातभन्दा क्यालकुलेटरका नाफाका अंकमा रमाउनेको संख्या धेरै हुन्छ ।

सेयर मूल्य बढ्नेको सीमा असिमित भए पनि घट्नेको सीमा सीमित हुन्छ । घटे शुन्यसम्म बढे अनन्तसम्म । वारेन वफेटको कम्पनी वर्कसायर हाथवेको सेयरको मूल्य सन् १९६५ मा १९ डलर प्रतिसेयर थियो । सन् २०२२ को जनवरीमा प्रतिसेयर ४६४५६० डलर छ । शून्य डरलाग्दो (अति जोखिमयुक्त) भए पनि मानिस अनन्तको लोभी हुन्छ । यसैले त सेयर बजारमा लगानीकर्ता बेच्ने होइनभन्दा अझै बढ्छ नि भनिरहेका हुन्छन् ।

दीर्घकालमा सेयरमा पैसा बन्छ । लाख होइन । करोडमात्र पनि होइन । अर्ब पनि बन्छ । तर, सयौं आवश्यकता र चाहनालाई मारेर अनन्तको सम्भावनाको आशामात्र पनि पाल्न सकिँदैन ।

सेयरमा पैसा बनेको छ भने हाम्रा सुखका लागि लाइन लागेका आवश्यकता पूरा गर्नका लागि पनि हामी तयार रहनुपर्छ । आवश्यकता नै छैनन् भने मनोरन्जन, सोख र चाहनाका लागि पनि तयार हुनुपर्छ ।

किनकी, सेयरमा आज जति पैसा छ भोलि त्यति नहुन पनि सक्छ । किनकी, आज बढेको बजार भोलि अनि सँधैसँधै त्यसरी नै बढ्छ भन्ने छैन । यसैले पनि सेयरमा पैसा बन्यो वा बनेको छ भने बाइक किन्ने क्षमतामा हुनुहुन्छ । र, आवश्यक छ बाइक किन्नुहोस्, गाडी किन्ने क्षमतामा हुनुहुन्छ र आवश्यक छ भने गाडी किन्नुहोस, जग्गा किन्ने क्षमतामा हुनुहुन्छ र आवश्यक छ जग्गा किन्नुहोस् ।

स्कुल कलेजको शुल्क तिर्ने बेला भएको छ शुल्क तिर्नुहोस् । नयाँ व्यवसायको सोचमा हुनुहुन्छ सेयर बेचेर नयाँ व्यवसाय शुरु गर्नुहोस् । व्यवसाय बिस्तारको सोचमा हुनुहुन्छ भने विस्तार गर्नुहोस् । देश–विदेश भ्रमणको चाहनामा हुनुहुन्छ भ्रमण गर्नुहोस् ।

मैले पनि सेयरको पैसाले धेरै चाहनाहरु पूरा गरेजस्तो सेयर बजारका बारेमा चलचित्र बनाउने चाहना थियो आशा नामको चलचित्र बनाए यो अहिले युट्युवमा छ । सेयरको गीत बनाउने चाहना थियो । सेयर दोहोरी गीत पनि बनाएँ, त्यो पनि युट्युवमा सुन्न सकिन्छ ।

कागजी धनलाई वास्तविक सम्पत्तिमा सार्नुहोस् । जसले तपाईंको प्रगति देखाउँछ । तर, मेरो सेयर (डिम्याट खाता)मा भएको पोर्टफोलियोको मूल्यले समाजमा तपाईंको प्रगतिलाई कहिल्यै देखाउँदैन ।

यो तपाईंको नजरमा देखिने भए पनि समाजको नजरमा त्यो अदृष्य नै हुन्छ । समाज पनि तपाईंको प्रगति हेर्ने चाहनाको भोको छ । यसैले त समाज आफ्नो काम छाडेर तपाईंको आर्थिक अवस्थाको दिनरात कुरा गरिरहेको हुन्छ ।

यदि समाजलाई प्रगति देखाउन चाहनु हुन्छ भने वित्तीय सम्पत्ति (सेयर, पैसा, ऋणपत्र, म्युचुअल फण्ड)लाई वास्तविक सम्पत्ति (घर, जग्गा, गाडी, उद्योग व्यवसाय) मा परिणत पनि गर्दै जानुपर्छ । जब गाडी किन्नुहुन्छ, समाजले देख्नेछ । घर किन्नु हुन्छ समाजले देख्नेछ । व्यवसाय शुरु गर्नुहुन्छ समाजले देख्नेछ । जग्गा किन्नु हुन्छ, त्यो पनि समाजले देख्नेछ । दान गर्नु हुन्छ, यो पनि अवश्य देख्नेछ ।

सेयरको मूल्य बढेर जुन खुशी पाउनु भएको छ चाहना र आवश्यकताअनुसार त्यसको उपभोग गरेर त्यसमा खुशी थप्नुहोस् । नाफामा बेचेको सेयरबाट आएको पैसाले टारेका आवश्यकताले खुशी थपिदिने छ । यसैले तपाईंले जे कमाउनु भएको छ त्यसको आनन्द लिनुहोस् । मज्जा लिनुहोस् ।

प्रकाशित मिति: माघ १६ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend