धरानः यही असोज ८ गते अर्थात् आउँदो बिहीबारदेखि पाँच दिन नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ ।
जल तथा मौसमविद् डा. विनोद पोखरेलले असोज ८ देखि १२ गतेसम्म पूर्वदेखि पश्चिमसम्म भीषण वर्षा हुन सक्ने भन्दै किसान र सर्वसाधारणलाई सतर्कता अपनाउन आहवान गरेका छन् ।
यस्तै आजै मौसम तथा पर्यावरणविद् उज्ज्वल उपाध्यायले पनि बङ्गालको खाडी र अण्डमान सागरका बीचमा तीब्र गतिमा विकसित भइरहेको न्यून चापीय प्रणाली अब केही दिनमा चक्रवाती आँधीमा परिणत हुने सम्भावना बढेको उल्लेख गरेका छन् । उनले आँधीमा परिणत भएमा त्यसको नाम अर्नब हुने र यसको प्रभाव नेपालमा असोजको ८, ९ र १० मा पर्ने देखिने उल्लेख गरेका छन् ।
मौसमविद्हरूको अनुमान र सुझावपछि सामाजिक सञ्जालमा चर्चा चुलिएको हो । यसैबीच सरकारी निकाय जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले भने अवस्था पूर्ण स्पष्ट भई नसकेको जनाएको छ ।
महाशाखाका अनुसार यो प्रणाली नेपालबाट निकै टाढा छ । यद्यपि, असोज ६ गतेपछि पूर्वबाट यसको आंशिक प्रभाव शुरु भई हप्ताको अन्त्यतिर कोशी, मधेस र बागमती प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने महाशाखाको साप्ताहिक बुलेटिनमा उल्लेख छ ।
मौसमविद्हरूका अनुसार यो प्रणालीका कारण पहाड र हिमालभन्दा मध्य नेपालका तराई तथा काठमाण्डौ उपत्यकामा वर्षाको सम्भावना बढी छ । प्रणालीको दिशा अझै परिमार्जन हुन सक्ने भएकाले अफवाहको पछि नलागी आफ्ना पछिल्ला सूचनामा ध्यान दिन महाशाखाले आग्रह गरेको छ ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले सोही प्रणालीका कारण नेपालमा ‘भीषण’ वर्षा हुन सक्ने जनाएका छन् ।
‘नेपालमा वर्षा जारी रहे पनि अहिलेसम्म ठूलो क्षति भएको छैन । तर, अर्को हप्ता (८–१२ असोज) पूर्वदेखि पश्चिमसम्म धेरै स्थानमा भीषण वर्षाको सम्भावना देखिएकाले समयमै पूर्वतयारी र सतर्कता आवश्यक छ,’ उनले भनेका छन् । वर्षाबारे अहिले नै सबै स्पष्ट भइनसके पनि सावधानी अपनाउनुपर्नेमा उनले जोड दिएका छन् । ‘यो सूचना किसानसम्म पुरयाऔँ, ताकि अन्नबाली जोगाउन सम्भव तयारी गर्न सकियोस् । सबै सतर्क रहौं,’ उनले भनेका छन् ।
नेपालको सरकारी निकाय मौसम पूर्वानुमान महाशाखाले पनि बंगालको खाडीमा न्यूनचापीय क्षेत्र विकास हुने सम्भावना बलियो रहेको जनाएको छ । त्यो आजै बन्ने सम्भावना रहेको महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताए ।
महाशाखाले शुक्रबार जारी गरेको यही असोज ८ गतेसम्मको साप्ताहिक मौसम पूर्वानुमान बुलेटिनमा साताको अन्त्य (असोज ७–८) तिर मधेस, कोशी, वाग्मती प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना उल्लेख छ । यस्तो पूर्वानुमान सोही न्यूनचापीय प्रणालीलाई आधार मानेर गरिएको उनले जानकारी दिए ।
‘अति भारी वर्षा हुन्छ अथवा धेरै ठाउँमै ठूलो पानी पर्छ भन्ने त क्लियर छैन,’ मौसमविद् भन्छन्, ‘यसका असरहरूचाहिँ थप हुन सक्ने देखिन्छ ।’