Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हाम्रा विद्यालय कति बालमैत्री ?

हाम्रो कोशी आवाज
फाल्गुन १४ २०७८, शनिबार
हाम्रा विद्यालय कति बालमैत्री ?

शिक्षा भनेको बालबालिकाहरुको सुन्दर भविष्य निर्माण र देश विकासको मूल आधार वा पूर्वाधार हो । शिक्षा चेतनाको वाहक हो । गतिशील समाजको मार्गदर्शक हो । व्यक्ति, समाज र राष्ट्र विकासको सशक्त माध्यम हो । समाजमा व्यक्ति–व्यक्तिबीचमा सिर्जित हुन सक्ने असमझदारी र असमानतालाई निराकरण गर्ने एक महत्वपर्ण हतियार हो । यो भनेको मानव सभ्यताको विकास र सामाजिक न्यायको प्रवद्र्धन गर्ने एक अमूल्य रत्न पनि हो । जन्मदेखि मृत्युपर्यन्त आवश्यक पर्ने ज्ञान नै शिक्षा हो । असल खराब छुट्याउन सक्ने विवेक प्रदान गर्ने, सही निर्णय लिन सक्षम बनाउने, व्यक्तिको व्यवहारलाई अनुकरणीय र आदर्श बनाउने, मानवता र नैतिकताको प्रस्फुटन गराउने, इच्छानुरुपको प्रतिभा विकासमा टेवा पुरयाउने आदि कार्यहरु गर्ने नै शिक्षा हो । शिक्षाले व्यक्तिलाई विविध पक्षहरुमा आर्दश बनाउँदछ । शिक्षा आदर्श व्यक्तित्व भएको व्यक्तिलाई जन्माउने मूल प्रक्रिया हो । त्यसैले बालबालिकाहरुको लागि शिक्षा नैसर्गिक अधिकार हो भनी आजको समाज र राष्ट्रले राम्ररी बुझेको पाइन्छ । शिक्षा विभिन्न प्रकारका हुन्छन् । तीमध्ये औपचारिक शिक्षा पनि पर्दछ । जुन बालबालिकाहरुले भौतिक उपस्थितिमा गएर प्राप्त गर्दछन् ।
विद्यालयलाई एउटा भौतिक अस्तित्व भएको ठाउँ हो जसको चार दिवारभित्र बाल–बालिकालाई शिक्षा प्रदान गरिन्छ । अर्को शब्दमा विद्यालय त्यो शैक्षिकस्थल हो, जहाँ शिक्षकहरुद्वारा आफ्ना बालबालिका विद्यार्थीहरुलाई जीवनपयोगी शिक्षा प्रदान गरिन्छ । नेपालको शिक्षा ऐन आठौं संशोधनले विद्यालयमा दुईतह रहने व्यवस्था गरेको छ । जसमध्ये पहिलो तह आधारभूत तह हो । यस तहमा कक्षा एकदेखि कक्षा–८ सम्मको कक्षाहरु पर्दछ भने दोस्रो तह माध्यमिक तह हो, जसमा कक्षा–९ देखि १२ सम्मको कक्षाहरु पर्दछ । कक्षा एकभन्दा अगाडिको एक वर्ष अवधिको शिक्षालाई प्रारम्भिक बालविकासको रुपमा व्याख्या गरिएको पाइन्छ । विद्यालयमा बालबालिकाहरुलाई उनीहरूको बालमनोविज्ञान बुझेर, उमेर स्तर तथा सिकाइ क्षमतालाई मध्यनजर गरेर शिक्षण कार्य गर्नुपर्छ । बिधालयलाई अङ्ग्रेजीमा स्कुल पनि भनिन्छ ।
विद्यालयले बालबालिकाहरुको सर्वाङ्गीण विकास गर्न विभिन्न कार्यहरु गरी महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । जसअन्तर्गत बालबालिकाहरुको मानसिक शक्तिको विकास गर्न, गतिशील तथा सन्तुलित मस्तिष्कको निर्माण गर्न, संस्कृतिको सुरक्षा, सुधार तथा हस्तान्तरण गर्न, व्यवसायिक तथा औद्योगिक शिक्षा प्रदान गर्न, मानवीय अनुभवको पुनर्गठन तथा पुर्नरचना गर्न, मानवीय असल चरित्र विकासजस्ता मूल्यवान जीवनपयोगी पक्षहरुको विकास गर्न विद्यालयले सहयोग गर्दछ ।
सामान्यतः बालमैत्री भन्नाले विद्यालयमा बालबालिकाहरुको लागि अनुकुल शैक्षिक वातावरण रहनु हो । बालबालिकाहरुले आफ्नो गति र क्षमता अनुसार रमाइलोसँग सिक्ने वातावरण भएको शिक्षालाई नै बालमैत्री शिक्षा भनिन्छ । यस्तो शिक्षाले मात्र बालबालिकाको रुचीबमोजिम सिकाइ अनुकूलको वातावरण तयार गर्न सहयोग पुरयाउँछ । बालबालिकाहरुको सर्वाङ्गीण क्षमताको विकासमा बालमैत्री वातावरणले योगदान दिने गर्दछ । बालबालिकाहरूका लागि गरिने र उनीहरूद्वारा गराइने सम्पूर्ण व्यवस्थापन, व्यवहार र क्रियाकलापहरू यदि उनीहरूको हित अनुकुल हुनसक्यो भने त्यसलाई ‘बालमैत्री’ भनिन्छ । गुणस्तरीय शिक्षा कायम राख्नका लागि विद्यालयमा बालमैत्री वातावरण अपरिहार्य भएको कुरा सबैतिरबाट स्वीकार गरिएको पाइन्छ ।
बालमैत्री हुनको लागि विद्यालय शिक्षक प्रशासनको व्यवहार पूर्णरुपमा उनीहरुको अनुकूल हुनुपर्छ । अनुकूल भन्नाले बालबालिकाको व्यक्तिगत क्षमता अनुकूल, आवश्यकता अनुकूल, रुचि अनुकूल, बालस्वभाव अनुकूल भन्ने बुझ्नुपर्दछ । अर्थात् शैक्षिक वातावरण बाल क्षमतामैत्री, बाल रुचीमैत्री, बाल स्वभावमैत्री, बाल आवश्यकतामैत्री हुनुपर्छ भनिएको हो ।
सुरक्षित, स्वस्थकर, सफा र संरक्षित शैक्षिक पूर्वाधार, हिंसारहित कक्षाकोठा, बालअधिकारको सम्मान, सबै खाले बालकप्रति भेदभावरहित समान व्यवहार, विद्यालयलाई शान्ति क्षेत्रको रुपमा विकास, बालशोषण, यौनहिंसा, तथा कुनै पनि हिंसा शिक्षकबाट हुँदैन भन्ने बाल विश्वास, बालबालिकाहरुमा विद्यालयप्रति सकारात्मक सोंचको विकास, सहकार्यको अवधारणा अर्थात् साथी साथी मिले धेरै गर्न र सिक्न सकिन्छ भन्ने भावना, एकले अर्कोलाई सघाउने बानी, आफू कमजोर भएका कुरामा अरुबाट सहयोग लिने प्रवृत्तिमा विकास, शिक्षामा विद्यालय र समुदायको संयुक्त प्रयास, सक्रिय एवम् उत्पादनमुखी नागरिकको अवधारणा, लोकतान्त्रिक मूल्य–मान्यता, असल नागरिक बनाउने प्रयास, शिक्षामा अभिभावकहरुको संलग्नता, घर र विद्यालयबीच बाल विकासका गरिने सन्तुलित प्रयासहरु नै बालमैत्री विद्यालय वा बालमैत्री कक्षा वातावरण सिर्जनाको मूल आधारहरु हुन् ।
शिक्षा दिने र ज्ञान आर्जन गराउने कार्यलाई शिक्षण भनिन्छ । अर्थात् शिक्षण भनेको शिक्षकद्वारा अध्यापन गराइने कार्य हो । शिक्षकले बालबालिकाहरुलाई उनीहरूको सिकाइको स्तर माथि उकास्न विद्यालयमा नियमित पढाउने र सिकाउने पेशा नै शिक्षण हो । शिक्षकद्वारा गरिने शिक्षण कार्य सिकाइसँग प्रत्यक्ष अथवा अप्रत्यक्ष रुपमा सम्बन्धित हुन्छ । यसले विद्यार्थीहरुको व्यवहारमा परिवर्तन ल्याउन सहयोग गर्दछ । विद्यार्थीहरुको व्यवहारमा परिवर्तन ल्याउनु आफैमा चुनौतीपूर्ण कार्य हो । यो कार्य शैक्षणिक गुण भएका एक असल शिक्षकबाट सम्भवप्रायः छ । त्यसैले विद्यार्थी अर्थात् बालबालिकाहरुको सिकाइ उपलब्धिलाई अधिकतम बनाउन शिक्षकको पनि महत्वपूर्ण भूमिका रहेको हुन्छ । त्यस्तैगरी विद्यालयमा शिक्षकले आफ्नो शिक्षण कार्यलाई व्यवहारिक रुपमा उपलब्धिमूलक बनाउन आफ्नो तर्फबाट कक्षा कोठामा आवश्यक बालमैत्री वातावरण सिर्जना गर्न सक्दछ ।
व्यक्तिको व्यवहारमा आउने अपेक्षित परिवर्तन नै सिकाइ हो । सिकाइ भनेको विद्यार्थीहरुले गर्ने शैक्षिक उपलब्धि अर्थात् बुझाई हो । शैक्षिक उपलब्धि उसको रुचि र क्षमतामा निर्भर गर्दछ । विशिष्ट अर्थमा भन्नुपर्दा सिकाइ भनेको विद्यार्थीहरुले जानेका कुराहरुलाई देखिने गरी उनीहरुको व्यवहारमा उतार्नु हो । सिकाइ आफैमा जटिल र उपलब्धिका लागि प्रयास गर्नु पर्ने कार्य हो । सिकाइ एक निश्चित प्रक्रिया र अनुकुल वातावरणबाट मात्र सम्भव रहन्छ । सिकाइले विद्यर्थीहरुको सकारात्मक सोंच निर्माणमा जोड दिन्छ । बालबालिकापिच्छे सिक्ने क्षमता फरक फरक हुने भएकाले सिकाइको स्तर पनि फरक फरक रहने गर्दछ । शिक्षण सिकाइ एक निरन्तर, सक्रिय र सहभागितामूलक प्रक्रिया हो । जहाँ सिकारुहरुलाई सिक्न उत्प्रेरणालगायत अन्य पक्षहरुको नितान्त आवश्यकता पर्दछ ।
सिकाइले बालबालिकाहरुको मुख्यतः तीन क्षेत्रहरुमा रुपान्तरण ल्याउने गर्दछ । बेन्जामिन एस ब्लुमका अनुसार ती तीन क्षेत्रहरु क्रमशः ज्ञान, सीप र मनोभावना पर्दछन् । सिकाइका प्रमुख क्षेत्रहरु शरीरका प्रमुख तीन अङ्गसित सम्बन्धित हुन्छन् । जस्तो कि ज्ञान टाउकोसित, सीप हातसित र मनोभावना हृदयसित हुने गर्दछ । सिकाइका क्षेत्र र शरीरबीचमा हुने यस प्रकारको सम्बन्धलाई हरेक शिक्षकले अनिवार्य बुझेको हुनु पर्दछ । यसका लागि विद्यालयमा असल बालमैत्री वातावरण सिर्जना गर्नु अनिवार्य ठहर्छ ।
बालबालिकाहरुलाई उनीहरूको अनुकुलताको आधारमा गरिने र गराइने शिक्षण सिकाइलाई बालमैत्री शिक्षण सिकाइ भनिन्छ । बालमैत्री शिक्षण सिकाइ भनेको बालबालिकाहरुलाई पढाउने र उनीहरुको पढाइमा सहजीकरण पुग्ने र पुरयाउने पक्षहरुको समग्रता हो । विद्यालयले सिर्जना गरेको बालमैत्री वातावरणले बालबालिकाहरुको शैक्षिक, सामाजिक र संवेगात्मकलगायत अन्य विभिन्न पक्षहरुको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
त्यसैले हरेक विद्यालयमा बालमैत्री वातावरण हुनु नितान्त जरुरी छ । यसका लागि विद्यालयको भौतिक संरचना पनि बालमैत्री हुनुपर्दछ । सबै प्रकारका बालबालिकाहरुलाई उनीहरूको पहुँच र सहज हुने गरी पूर्वाधारहरुको निर्माण गरेको हुनुपर्छ । बालबालिकाहरुको सर्वाङ्गीण विकासमा बालमैत्री वातावरणले धेरै हदसम्म सहयोग गर्दछ । यसले उनीहरूलाई खुशी हुन र असल आचरणको निर्माण गर्न पनि उत्तिकै टेवा दिएको हुन्छ । विद्यालयमा बालमैत्री वातावरण बनाउन सबै पक्षको उत्तिकै महत्वपूर्ण भूमिका रहेको हुन्छ ।
बालमैत्री विद्यालयमा शिक्षक र विद्यार्थीबीच स्नेहको गाँठो अत्यन्तै कसिलो हुन्छ । शिक्षकहरूको सम्पूर्ण ध्यान आफ्ना विद्यार्थीहरुको आवश्यकता, रुचि, सिकाइ र सुरक्षामा केन्द्रित भएको हुन्छ । ती शिक्षकहरू विद्यार्थीलाई परीक्षाका लागि मात्र तयारी गर्ने नभएर उनीहरूलाई सार्थक जीवनका लागि तयार गर्ने ध्याउन्नमा लागेका हुन्छन् । विद्यार्थीका हृदयमा शिक्षकहरू सबैभन्दा प्रिय र ईश्वर भन्दा महत्वपूर्ण ठहरिएका हुन्छन् ।
विद्यालय बालमैत्री हुनका लागि प्रारम्भिक कक्षामा प्रयोग हुने भाषाको स्थान पनि महत्वपूर्ण हुन्छ । तोते बोली बोल्न सिक्दै गरेका नानीबाबुहरू आफ्नो आमाको काख छोडेर विद्यालयमा आउँछन् । उनीहरूसँग शिक्षकले गर्ने सञ्चारको भाषा र सिकाइको माध्यम प्रारम्भमा उनीहरूकै मातृभाषा हुनुपर्दछ । यसो भए मात्र उनीहरूलाई सहज महसुस हुन्छ र सिकाइ पनि सम्भव हुन्छ । बाल मनोविज्ञान र सिकाइका सिद्धान्तले पनि यही बताएका छन् । बालअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय नियम र नेपालको संविधानले समेत प्रारम्भिक कक्षामा बालबालिकाकै मातृभाषामा शिक्षा दिने प्रतिबद्धता जनाएका छन् ।
यसर्थ, हाम्रो सन्दर्भमा शुरूका कक्षामा मातृभाषाबाहेक अङ्ग्रेजी वा अन्य भाषालाई बालबालिकासँगको सञ्चारको माध्यम भाषा बनाइएका विद्यालयहरूलाई बालमैत्री विद्यालय मान्न सकिन्नँ । कक्षा चढ्दै जाँदा विद्यार्थीलाई थप भाषाहरू सिकाउँदै शिक्षण सिकाइको माध्यम भाषा परिवर्तन गर्न पनि सकिन्छ । तर, मातृभाषाको तोते बोली सिक्दै गरेका बालबालिकासँग अनौठा–अनौठा भाषा प्रयोग गरेर प्रारम्भिक दिनमै तर्साउने र हतोत्साहित गर्ने व्यवहार बालमैत्री भने पक्कै होइन ।
हुर्किंदै गरेका बालबालिकाहरुमा उनीहरूको उमेर अनुसारको शारीरिक र बौद्धिक क्षमता विकास भएको हुन्छ । उनीहरुका क्षमता अनुकूलका व्यवहार तथा सिकाइ क्रियाकलापहरू यदि शिक्षकहरुबाट भएनन् भने त्यहाँ बालमैत्री विल्कुलै कायम हुन सकेन भन्न सकिन्छ । यस्तो अवस्थामा रही गरिने कुनैपनि प्रकारको व्यवहार बालबालिका प्रतिकूल हुन जान्छ । त्यस्तैगरी बालबालिकाको उमेर र परिपक्वताअनुसारको भौतिक तथा शैक्षिक व्यवस्थापन र सिकाइ क्रियाकलाप नगराउने विद्यालय विल्कुलै बालमैत्री होइनन् । विद्यालयले बालबालिकाहरुका विभिन्न आवश्यकताहरु जस्तै शारीरिक आवश्यकता, सुरक्षा आवश्यकता, सामाजिक आवश्यकतालगायत आत्म गौरवको आवश्यकताहरुलाई सम्बोधन गरेको हुनुपर्छ । जुन बालमैत्री विद्यालयको एउटा लक्षण हो । भोक लाग्दा खान पाउने, तिर्खा लाग्दा पानी पिउन सक्ने व्यवस्था, दिशा–पिसाब लाग्दा सहज शौचालयको उपलब्धता, खेल खेल्न पाउनु आदि शारीरिक आवश्यकता हुन् । सानो कक्षामा निद्रा लाग्दा सुत्न पाउने, बिसन्चो भएमा आराम गर्न पाउने व्यवस्था बालबालिकाको आवश्यकता अनुकूल हुन् । यस्तो व्यवस्थाले बालमैत्री विद्यालय बन्न योगदान गर्छ । विद्यालयमा कुनै असुरक्षा अवस्था नभएको, दुर्घटना वा कुनै चोटपटक लाग्ने, विद्यार्थीको कुनै सामान हराउने, कुटपिट, गालीगलौज गर्ने अवस्था नभएर बालबालिकाले ढुक्क भई सुरक्षित महसूस गर्ने निर्भय वातावरण हुनु बालमैत्री विद्यालयको अर्को लक्षण हो ।
विद्यालयमा हुने बालमैत्री वातावरणले विशेषतः कक्षा कोठाको वातावरणमा व्यापक परिवर्तन ल्याउने प्रवल सम्भावना रहन्छ । शिक्षकले कक्षाकोठामा आफूकेन्द्रित भन्दापनि बाल केन्द्रित शिक्षण विधिलाई प्राथमिकता दिएर सोहीअनुसार शैक्षिक क्रियाकलापहरु सञ्चालन गर्दछ । शिक्षकले निरन्तर तथा निर्माणात्मक विद्यार्थी मूल्याङ्कन प्रणालीलाई जोड दिएको पाइन्छ । मुख्यतयाः शिक्षक तथा विद्यार्थीहरूबीच सुमधुर सम्बन्ध स्थापना भएको हुन्छ । बालमैत्री सिद्धान्तअनुसार शिक्षकहरूले आफ्नो व्यवहारमा परिवर्तन ल्याउनुपर्दछ ।
मनोरञ्जनपूर्ण सिकाइ प्रक्रिया र विद्यार्थीहरूमाथि हुने गरेको शारीरिक दण्ड सजायको अन्त्य गर्नुपर्दछ । शिक्षण सिकाइमा प्रर्याप्त शैक्षिक सामाग्रीहरुको प्रयोग र शिक्षणमा बहु–विधिको अवलम्वन गरिनु पर्दछ । विद्यालयको भौतिक वातावरण बालमैत्री हुने गरी सुधार गरिनु र विद्यालय व्यवस्थापनमा समुदायको प्रत्यक्ष सहभागिता अनिवार्य हुनुपर्दछ । यसबाट बालबालिकाहरुको शिक्षण सिकाइमा गुणात्मक सुधार आउने निश्चित प्रायः देखिन्छ । जसको परिणामस्वरूप विद्यालयमा शिक्षण सिकाइको प्रभावकारिता बढेर जानेछ । विद्यार्थीहरुको सिकाइ उपलब्धि पनि गुणात्मकरुपमा बढेर जान्छ । यसरी विद्यालयमा विद्यार्थी उत्तीर्णदरमा वृद्धि हुँदै जानु बालमैत्री वातावरणको सकारात्मक प्रभाव हो भनी लिन सकिन्छ । बालमैत्रीले वातावरणले बालबालिकाहरुको भर्ना संख्यामा पनि वृद्धि गर्दछ । बालबालिकाले विद्यालय छाड्ने अनुपात पनि घटेर जान्छ । अर्थात् तुलनात्मक रुपमा बालबालिकाहरुको सहभागिता बढेको पाइन्छ । यसकारणले आजको समयमा हरेक विद्यालयले सिकाइ प्रभावकारिता अभिवृद्धि गर्नका लागि बालमैत्री शैक्षिक वातावरण अनिवार्य कायम गर्न सक्नुपर्छ ।

प्रकाशित मिति: फाल्गुन १४ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend