धरानः शारीरिक, भावनात्मक, मनोवैज्ञानिक र सामाजिकरुपमा स्वस्थ हुनु नै समग्ररुपमा मानसिकरुपमा स्वस्थ हुनु हो । सामान्यतः मानसिक रुपमा स्वस्थ व्यक्तिको मन सफा हुने गर्दछ । जीवनमा अटुट खुशीसँग रमाउने हैसियत राख्दछ ।
मानसिकरुपमा स्वस्थ व्यक्तिमा उच्च आत्म–सम्मान, आत्म–बोध, स्व–मूल्याङ्कन प्रवृत्ति, अन्तर प्राणी सम्बन्ध र सामाजिक हितको भाव, असल सम्बन्ध बनाउने क्षमता, आवश्यकता परिपूर्ति गर्ने आत्म–विश्वाससहितको भाव, प्रशन्न रहने र उत्पादनशील क्षमता,उच्च शारीरिक स्वस्थता, तनाव र अति संवेदनशीलताको अभाव, पक्षपातरहित सकारात्मक चिन्तन, जीवन दर्शनप्रति स्पष्टता, जीवन लक्ष्य स्पष्ट हुनु, ईश्वरप्रति विश्वास, अपेक्षाको अभाव जस्ता बिशेषताहरु रहने गर्दछ ।
माथि उल्लेखित जीवनपयोगी विशेषताहरुको बोधको स्तरले हाम्रो मानसिक स्वास्थ्यको स्थितिलाई दर्साउँछ । हामीले स्पष्ट बुझ्नु पर्ने कुरा के हो भने मानसिक स्वास्थ्य नै सकारात्मक सोंचको लागि अनिवार्य हतियार हो । अर्थात् स्वस्थ मानसिक स्वास्थ्यविना व्यक्तिमा सकारात्मक सोंच सम्भव छैन । त्यसैले सकारात्मक सोंचका लागि कुलत, शारीरिक रोग, हतोत्साहित गर्ने प्रवृत्ति, गलत सङ्गत, प्रदुषित वातावरण, अपरिपक्व निर्णय, कच्चा प्रतिज्ञा, व्यक्तिगत पहिचानवादी मानसिकता, जिद्दीपना, लक्ष्य विमुख क्रियाकलापहरु अनिवार्य त्याग्नुपर्छ । नियमित योग, अभ्यास, ध्यान र ज्ञानमा व्यस्त हुनुपर्छ । जसले असल विचार, व्यवहार र पारिवारिक तथा सामाजिक सम्बन्धको विकास गर्छ । यसरी असल मानसिक स्वास्थ्य कायम गर्न सकिन्छ ।
मनुष्यको मनमा आउने अस्थिर मनोगत भावना, नकारात्मक सोंचाई, इन्द्रीयमार्फत् हुने गलत अनुभूति र व्यवहारमा देखिने अनेकताको समस्याले उसको मानसिक स्वास्थ्यमा अप्रत्यक्षरुपले गडबडी ल्याउने काम गर्दछ । यसलाई समयमा नै निधान गर्न नसकिएमा व्यक्ति ढिलो चाँडो मानसिक रोगी अर्थात् मानसिक समस्याको शिकार बन्ने कुरामा दुईमत छैन । तर हाम्रो नेपाली समाजले मानसिक समस्याप्रति सजगता बिल्कुलै देखाएको पाइन्नँ । यसको जड समस्या भनेको मानसिक समस्या र मानसिक अस्पताल सम्बन्धमा मनुष्यहरुको बनेको गलत पारिवारिक तथा सामाजिक दृष्टिकोण भएको पाइन्छ ।
यथार्थमा भन्ने हो भने आजको समाजले नकारात्मक सोँच र सोही अनुसारका घटनाक्रमलाई प्राथमिकता दिएको पाइन्छ । अर्थात् परिवार एवम् समाजले मनको विकारलाई खासै महत्व दिएका छैनन् । त्यसैले मानसिक विचलितहरु मानसिक भन्ने शब्दबाट नै डराउँछन् । आफूलाई लागेको वा भएको मानसिक समस्याबारे निर्धक्क साथ अरुलाई सुनाउँदैनन् । सुनाउन हिचकिचाउँछन् । भरसक अस्पताल जान मान्दैनन् ।
मानसिक समस्याको रुपमा मौलाउँदै गएको डिप्रेसन आज १८ वर्षमुनिका बालबालिकाहरुमा पनि देखिन थालेको अवस्था छ । यद्यपि उनीहरूमा मानसिक विचलनको स्थिति भने फरक फरक रहेको हुन्छ । आमाबाबु, अभिभावक वा विद्यालयलाई बालबालिकाहरुको मानसिक स्वास्थ्यको बारे राम्रो ज्ञान हुनु जरुरी छ । यसका लागि सबैभन्दा पहिले आमाबाबु, अभिभावक वा शिक्षकले घरमा वा विद्यालयमा बालबालिकाको समस्या वा भावनाहरु व्यक्त गर्न सक्ने वातावरण सिर्जना गर्नु धेरै महत्वपूर्ण हुन्छ । मानसिक समस्या भएको कठिन अवस्थामा उनीहरूले उपदेश सुन्न र शिक्षा ग्रहण गर्न चाहँदैनन् । यस्तो अवस्थामा उनीहरूको समस्यालाई सुन्ने, स्वीकार्ने र बुझ्ने प्रयास नै पहिलो र उपयुक्त कदम मान्नुपर्छ । सँगसँगै उनीहरुसँग गुणस्तरीय समय व्यतित गर्नु अर्को महत्वपूर्ण कदम हुन सक्दछ । यद्यपि लक्षणहरु निरन्तर रहेमा अभिवावकहरुले बाल मनोचिकित्सक वा मनोविदसँग परामर्श लिन जरुरी हुन्छ ।
बाल मनोरोग विशेषज्ञ डा. उत्कर्ष कार्कीका अनुसार बालबालिकाको शारीरिक विकास र उसको मानसिक स्वास्थ्यले एक अर्कालाई अप्रत्यक्ष रुपमा असर गर्दछ । यद्यपि उनीहरुको जीवनमा यी दुवै पक्ष अनिवार्य आवश्यक पर्छ । त्यसैले यो विषयमा सरोकारवाला सबै पक्षहरु एकदम संवेदनशील र जागरुक बन्नुपर्छ । विभिन्न उमेर समुहका बालबालिकाहरुमा भिन्नाभिन्नै प्रकारको मानसिक समस्याहरु देखा पर्न सक्दछ । तर यस्तो प्रकारको समस्या भने कुनै एक पक्षीय कारणले मात्र विल्कुलै हुँदैन । अभिभावकले आफ्ना बालबालिकाहरुसँग बढी अपेक्षा राख्ने, अरुको बच्चासँग तुलना गर्ने, दण्डित गर्ने र उनीहरूसँग नकारात्मक व्यवहार गर्नाले पनि मानसिक स्वास्थ्यमा असर पुगेको देखिन्छ । यसकारण हरेक आमाबुबा, अभिभावक, शिक्षकहरुले आफ्ना नानीबाबुहरुको हुन सक्ने मानसिक समस्या पहिचान गर्न समय समयमा मनोपरामर्श सेवा लिनु अति आवश्यक छ ।
मनोचिकित्सक डा. विश्वबन्धु शर्माका अनुसार मनमा उत्पन्न हुने विभिन्न विचार, सोंच र भावनाको कारणले व्यक्तिको दैनिकी सञ्चालन गर्न, सामाजिक सम्बन्ध स्थापित गर्न र सामूहिक अन्तरक्रिया गर्न असहज परिस्थिति सिर्जना हुनु भनेकै मानसिक समस्या हो । यस्तो अवस्था व्यक्तिको प्रतिकुल परिवेशको उपज हो । मनलाई व्यवस्थापन गर्न असमर्थ रहनु , व्यक्तिगत, पारिवारिक, सामाजिक र व्यावसायिक द्वन्द्व बढ्नु भनेको मानसिक समस्या निम्त्याउँनु हो। यो समस्यालाई न्यूनीकरण गर्न समाजले सहर्ष स्वीकार गर्नुपर्छ ।
मानसिक रोग चिकित्सक डा. जगदम्बा पण्डितका अनुसार कुनै पनि व्यक्तिको सोंचाई, महसुस गराई र त्यसलाई दैनिक व्यवहारमा कसरी उतार्छ ? भन्ने कुराले उसको मानसिक स्वास्थ्यको अवस्था पहिचान हुने गर्दछ । मानसिक स्वास्थ्य हरेक उमेर समूहका लागि उत्तिनै महत्वपूर्ण छ । हरेक मनुष्यले आफ्नो मानसिक स्वास्थ्यलाई स्वस्थ्य राख्न चाहन्छ भने उसले नियमित सकारात्मक सोंच, शारीरिक व्यायाम, सहयोगी भावना र पर्याप्त निन्द्रा ग्रहण गर्नु आवश्यक पर्दछ भन्ने कुरा बताउनु भएको छ ।
आध्यात्मिक गुरु सद्गुरुका अनुसार बालबालिकाहरुमा असल मानसिक स्वास्थ्य कायम राख्नका लागि उनीहरुलाई रुचिअनुसारको सृजनात्मक काममा व्यस्त गराउने, कार्यको लागि जबरजस्ती दबाव नदिने, खेलकुदमा जोड दिने, विचार प्रस्फुटन गर्न सहयोग गर्ने, प्राकृतिक तत्वहरुसँग जोड्दै रमाउन दिने, सही र सन्तुलित खानपान गराउन सिकाउने, आन्तरिक तथा बाह्य वातावरण सफा राख्ने र साथै शरीर, मन, भावना र उर्जाबीचमा सन्तुलन कायम राख्ने सम्बन्धमा बुझाउनु पर्दछ । हरेक व्यक्तिले शरीरको स्तरमा स्वस्थ्य रहन, मनको स्तरमा शान्त र आनन्दित बन्न, भावनाको स्तरमा स्थिर र उल्लासमय रहन र उर्जाको स्तरमा जीवन्त र सन्तुलित रहिरहन असल मानसिक स्वास्थ्य कायम राख्नु पर्ने कुरामा जोड दिनु भएको छ ।
मनोरोग विशेषज्ञ कपिलदेव उपाध्यायका अनुसार विशेषतः शारीरिक, मनोवैज्ञानिक, सामाजिक र आनुवांशिक समस्याहरुको कारणले व्यक्तिमा मानसिक विकार उत्पन्न हुने गर्दछ । त्यस्तैगरी शारीरिक यातना, घरेलु हिंसा, दुव्यसनी, पोषणरहित खाद्यान्न, अधिक औषधिको सेवन, गरीबी, बेरोजगारी, अत्याचार, अपराध आदिको कारणले पनि व्यक्तिको मनस्थितिमा तनाव उत्पन्न हुने र मानसिक विचलन आउने गर्दछ । हरेक अभिभावकले आफ्ना नानीबाबुहरुलाई सानो उमेरदेखि नै असल संस्कार अर्थात् सत्य बोल्न, देशलाई माया गर्न, अरुलाई सहयोग गर्न, भएको बाडी खान, चोरी नगर्न, अरुसँग तुलना नगर्न, विचार प्रस्फुटन गर्न, सकारात्मक सोंच्न यदि सिकाउने हो भने उनीहरुमा एक प्रकारको आदत बन्नेछ । जसले उसको मनमा आउन सक्ने मानसिक समस्या तुलनात्मक रुपमा कम रहन्छ ।
सारांसमा भन्नुपर्दा नियमित गरिने कार्य तालिका प्रभावित भई रहनु मानसिक समस्या वा मानसिक विकारको लक्षण हो । यसबाट छुटकारा पाउन बालबालिका, युवाले सामाजिक सञ्जाल र भिडियो गेमको प्रयोगमा अधिकतम कटौती गर्ने, विचारलाई शुद्धीकरण र प्राथमिकीकरण गर्ने, सामूहिक हित अनुकुल काम गर्ने काम गर्नुपर्छ । पर निर्भर रहने प्रवृतिलाई त्याग्नुपर्छ । आफ्नो सोंचाई र विचारलाई यथार्थको धरातलबाट हेर्नुपर्छ । अदृश्य मनलाई उसको काम गर्न दिनुपर्छ । मनललाई उसले भने अनुसार वहकिनु दिनु हुन्नँ । बुद्धिको इस्तेमाल गर्न जान्नुपर्छ । आवश्यकता अनुसार यसलाई नियन्त्रण गर्नुपर्छ । अर्थात् मनलाई निश्चित उद्देश्यमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्छ ।
(लेखकः धरानस्थित निजी विद्यालयका प्रिन्सिपल हुनुहुन्छ)