Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मन अनि भावना सफा छ ?

हाम्रो कोशी आवाज
चैत्र ६ २०७८, आइतबार
मन अनि भावना सफा छ ?

भावना भनेको अनुभवको आधारमा कुनै व्यक्ति, वस्तु वा दृष्यप्रति मस्तिष्कमा सृजना हुने सोंच, अनुभूति र प्रतिक्रियाको समग्र स्वरुप हो । यसले नयाँ विचारप्रति थप नकारात्मक वा सकारात्मक एवम् दुःख वा सुखको सोंच पैदा गर्दछ । भावना व्यक्तिको शरीर र मनसँग जोडिने विषय पनि भएकोले यसले मानिसको शरीर र मनलाई सोही अनुसार थप प्रभाव पार्ने गर्दछ । भावनाबाट नै व्यक्तिको सोंचाइको स्तर निर्माण हुने, बानीको विकास हुने र व्यवहार गरिने भएकोले यसै अनुसार नै परिवार तथा समाजमा उसको व्यक्तित्व पनि निर्माण हुने गर्दछ ।
सामान्यतः मानिसलाई भावनात्मक वा संवेगात्मक प्राणी भनेर पनि भनिन्छ । किनभने अधिकांश मानिसहरुले अधिकांश निर्णय र कार्यहरु गर्दा यथार्थको धरातलमा नउभिएर भावनामा वहेर नै गर्ने गर्दछ । जुन आफैमा उचित नहुन सक्छ अर्थात् व्यक्तिमा गलत भावना भएको अवस्थामा गरिने निर्णयहरु कालान्तरमा गलत हुने सम्भावना बढी हुन्छ ।
त्यसैले असल भावना विकास गर्नका लागि व्यक्तिमा भावनात्मक बुद्धिमत्ता अनिवार्य चाहिन्छ । भावनात्मक बुद्धिमत्ता केवल कक्षाकोठा पढाइने पाठ्यक्रमबाट मात्र आउने होइन । यो असल मानव सम्बन्ध र असल सामाजिक तथा पारिवारिक वातावरणबाट सम्भव हुन्छ । यसरी निर्माण हुने असल भावनाले व्यक्तिमा निहित मनोविकारजन्य तत्वहरु जस्तै अहङ्कार, क्रोध, तनाव र डिप्रेसनलाई न्यूनीकरण गर्न मद्दत गर्दछ ।
व्यक्तिको मनमा बास गरिरहने विभिन्न प्रकारको सोंचलाई पनि भावना भनिन्छ । भावना सकारात्मक र नकारात्मक दुवै प्रकारका हुन्छन् । सामान्यतः अधिकांश व्यक्तिले मनमा नकारात्मक भावना आउने गर्दछ । तर नकारात्मक भावना आउने वित्तिकै त्यस सम्बन्धमा छिटो प्रतिक्रिया व्यक्त गर्नु अनुचित ठहर्ने छ । मतलब, प्रतिक्रिया दिन हतार गर्नु हुन्नँ । यसले स्वयम् प्रतिक्रिया दिने व्यक्तिलाई अप्ठ्यारोमा पार्न सक्ने सम्भावना प्रवल रहने छ ।
मनमा उत्पन्न हुने नकारात्मक भावनाले व्यक्तिको जीवनबाट उसको अमृततुल्य अन्तर आनन्द हरण गर्ने सम्भावना अधिक हुन्छ । हामीले स्पष्ट बुझ्नुपर्ने कुरा के छ भने नकारात्मक भावना त्यसै आउँदैन । यसका पछाडि थुप्रै कारणहरु हुन्छन् । जसअन्तर्गत महत्वकांक्षी सोंच, कुलत, शारीरिक रोग, हतोत्साहित गर्ने प्रवृत्ति, गलत सङ्गत, प्रदुषित वातावरण, अपरिपक्व निर्णय, कच्चा प्रतिज्ञा, व्यक्तिगत पहिचानवादी मानसिकता, जिद्दीपना, लक्ष्य विमुख क्रियाकलाप, असन्तुलित खानपान, लापरबाही मानसिकताबाट आउने गर्दछ ।
वास्तवमा जीवन र जगतलाई बुझ्ने हो भने हाम्रो मनुष्य जीवन सौभाग्यले प्राप्त गरेको अमूल्य जीवन हो । यसलाई अर्थपूर्ण बनाउने हो भने हरेक व्यक्तिले आफ्नो मनमा खेल्ने नकारात्मक भावनालाई अनिवार्य सफा गर्नुपर्छ । शरीरको स्नान गरेर फोहोर फ्यालेझैं मनको पनि मैला फ्याल्नुपर्छ । यसको लागि तल उल्लेखित बुँदाहरुलाई अन्तर आत्माबाट बोध गरेको हुनुपर्छ ।
१) मनमा उत्पन्न हुने डरको कारक तत्व अर्थात् कारण के हो ?
पहिचान गर्ने, विश्लेषण गर्ने र त्यसको यथार्थ बुझ्ने प्रयास गर्नुपर्छ ।
२) व्यक्तिको सबैभन्दा ठूलो डर भनेको उसको मृत्यु हो । मृत्युलाई डरको मुख्य जड पनि भनिन्छ । मृत्युलाई नजिकबाट नियाल्ने र यसको यथार्थलाई अनिवार्य बुझ्ने र आफ्नो छोटो सामाजिक जीवनलाई सरल र सहज बनाउने तर्फ सोंच्नुपर्छ ।
३) शरीर र मनबीचको असन्तुलनको कारणबाट उत्पन्न हुने जटिल प्रकृतिको नकारात्मक भावनाको उपज नै डिप्रेसन हो । यसबाट मुक्त रहन र शरीर–मन वीचमा सन्तुलन कायम राख्न नियमित पैदल यात्रा, व्यायाम र योगाभ्यास गर्नुपर्छ । नियमित पैदलयात्रा गर्नु अर्थात् हिँड्नु मानिसको प्राकृतिक कार्य हो ।
४) चिन्ता र असुरक्षाबाट मुक्त रहन र साथै स्वस्थ जीवन आर्जन गर्नका लागि हरेक व्यक्तिले आफ्नो जीवनमा स्पष्ट दीर्घकालीन योजना निर्माण गरी अवश्य कार्यान्वयन गर्नुपर्छ ।
५) मनलाई निरन्तर असल कार्यमा केन्द्रित गर्नु गराउनुपर्छ । अन्यथा नकारात्मक भावना सिर्जना भई शारीरिक आलस्यता बढाउने र व्यक्तित्व घटाउने सम्भावना बढी हुन सक्छ ।
६) असल किताब अध्ययन, आध्यात्मिक चिन्तन एवम् असल व्यक्तिहरुसँगको सम्बन्ध विकास गर्दै जानुपर्छ ।
७) स्व–चिन्तन गर्ने बानीको विकास र जीवन शैलीमा परिवर्तन अनिवार्य ल्याउनुपर्छ ।
८) विषय वस्तुलाई सामान्य रुपमा हेर्ने, असल पारिवारिक एवम् सामाजिक वातावरण निर्माण गर्नुपर्छ ।
९) सकारात्मक र निस्वार्थी सोंच, सहयोगी भावना, स्वास्थ्य नगर्ने कार्य नियमित गर्नुपर्छ ।
त्यस्तैगरी भावना सफा गर्न तल उल्लेखित विधि अनिवार्य पालना गर्नुपर्छ । जसले शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्य पनि स्वस्थ राख्न मद्दत गर्दछ ।
क) उभिएर कम्तिमा ३ मिनेटसम्म शरीर सञ्चालन हुनेगरी शारीरिक व्यायाम गर्ने ।
ख) नलजाइकन कम्तिमा ३ मिनेटसम्म हाँसो रोधन प्राणायाम गर्ने ।
ग) उभिएर कम्तिमा ३ मिनेट सम्म आफ्नो मन सफा हुँदैछ भनी सम्झिँदै नृत्य गर्ने ।
घ) अब बसेरे आफूलाई अत्यन्तै मन पर्ने आकृति सम्झँदै कम्तिमा ३ मिनेट सम्म एकाग्र भएर स्मरण गर्ने ।
१) त्यसपछि मुख बन्द गरी मुस्कुराउँदै लामो र गहिरो मन्द श्वास लिने, कम्तिमा १५ सेकेण्ड श्वास रोक्ने र अनि नाकबाट विस्तारै श्वास छोड्ने । यो कार्य नियमित कम्तिमा ५ पटकसम्म गर्ने ।
२) श्वास रोकेको र आँखा चिम्लिएको समयमा आफूभित्र रमाउँदै मेरो मन सफा हुँदैछ, म शान्त छु, म सुरक्षित छु भन्दै हृदयबाट स्मरण गर्ने ।
३) त्यसपछि म यस कारणले शान्त र खुशी छु भन्दै त्यसको उत्तर आफूभित्र खोज्ने । जीवनको रमाइलो क्षण सम्झिने, आफूलाई भाग्यमानी ठान्ने, भगवानलाई धन्यवाद दिने ।
४) अन्त्यमा हाते घर्षणबाट उत्पन्न तापले तीनपटक बन्द आँखा सेक्दै म शान्त छु, म सुरक्षित छु र म खुशी छु भन्दै मुस्कुराउँदै आँखा खोल्ने ।
यसरी हरेक व्यक्तिले आफ्नो भावनालाई जानिसकेपछि त्यसलाई अनिवार्य सफा राख्नुपर्छ । भावना सफा राख्नको लागि माथि उल्लेखित महत्वपूर्ण विधि विधान अनिवार्य बोध गरेको हुनुपर्छ अनि मात्र उसले जीवनमा अन्तरनिहीत आनन्द सहजै महसुस गर्न सक्छ । आफू खुशी रहँदै अरुलाई खुशी बाँड्न पनि सक्छ ।

प्रकाशित मिति: चैत्र ६ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend