Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बातचित कलाले छाउँछ खुशी

हाम्रो कोशी आवाज
असार ११ २०७९, शनिबार
बातचित कलाले छाउँछ खुशी

बातचित भनेको कुनै पनि विषयवस्तुको सम्बन्धमा गरिने मौखिक वा अमौखिक कुराकानी वा वार्तालाप वा सञ्चार हो । जसलाई अंग्रेजीमा कम्युनिकेशन पनि भनिन्छ । वातचितमा कम्तीमा दुई पक्षहरु रहने गर्दछ । दुवै पक्षहरुबीचमा असल सम्बन्ध कायम राख्न वा कुनै एक पक्षले अर्को पक्षलाई उत्प्रेरित गर्दै आफूप्रति आकर्षित गर्न वा बुझाउन चाहिने विशिष्ट कलालाई बातचित कला भनिन्छ । यो कला आफैमा एक प्रकारको अन्तर बुझाइबाट प्राप्त हुने उपहार हो । जसको सहयोगले व्यक्तिले खोजेको सफलता र खुशी सजिलै हासिल गर्न गर्दछ ।
घर, समाजलगायत अन्य क्षेत्रहरुमा व्यक्ति व्यक्ति वा समूहबीचमा वैचारिक द्वन्द्व बढेको पाइन्छ । यसको मुख्य कारण भनेको उनीहरुबीचमा भएको अप्रभावकारी बातचितले नै हो । अर्थात् अप्रभावकारी बातचित भन्नाले एकले अर्काको भावना सही अर्थमा बुझ्न नसक्नु हो । भावना बुझ्न नसक्नुका कारण बातचित कलासम्बन्धी सीपको अभाव हो । त्यसैले व्यक्ति–व्यक्तिबीचमा रहेको अन्तर द्वन्द्व हटाउन र आपसी सद्भाव अभिवृद्धि गर्न हरेक व्यक्तिलाई हरेक क्षेत्रमा बातचित कलाको ज्ञान हुनु नितान्त जरुरी छ ।
हरेक व्यक्ति आफ्नो दैनिक जीवनमा कम्तिमा १५ देखि १६ घण्टासम्म कोही न कोही व्यक्ति वा समूहसँग बोलिरहेको हुन्छ । यति लामो समयसम्म उसले बातचित अर्थात् बोली रहँदा अरुलाई कति समयसम्म प्रभावित गर्न सक्यो ? भन्ने प्रश्नले नै मुख्यतः उसको उचाइ र उपलब्धि निर्धारण गर्दछ । यस्तो प्रकारको बातचित कला व्यक्तिको सुन्ने र बोल्ने विशेष क्षमताको संयोजनबाट प्राप्त हुने गर्दछ । बातचित कलाको अभावमा सम्भवतः व्यक्तिले राम्रो अवसर नपाउने र पाएपनि लामो समयसम्म नटिक्ने प्रवृत्तिले अन्ततः जीवनमा दुःख पाएको अवस्था रहेको पाइन्छ । त्यसैले बातचित कला हरेक उमेर समूहका व्यक्तिलाई दैनिक जीवनमा उत्तिकै अपरिहार्य रहेको हुन्छ ।
बातचित गर्नुको मतलब कसैको हृदय वा मनको प्रवेश द्वार खोल्दै आफ्नो विचार प्रवेश गराउनु हो अर्थात् व्यक्तिलाई आफू अथवा आफ्नो विचारप्रति प्रभावित गरी आकर्षित गराउनु हो । यो कार्य आफैमा एक जटिल कार्य हो तर सामाजिक जीवनमा नितान्त आवश्यक छ । यसको लागि हरेक व्यक्तिले आफ्नो बोल्ने र सुन्ने क्षमताको अनिवार्य विकास गर्नुपर्छ । आफ्नो बातचित कला कस्तो छ ? भनी समय समयमा चेक गर्ने र आवश्यक परे सुधार पनि गर्नु पर्ने हुन्छ । आफूले राखेको विचारले साथीभाइहरुको संख्या बढ्दै गएको हो वा होइन ? प्रतिक्रिया कस्तो आएको वा आउँदैछ ? जस्ता कुराहरूमा पनि विशेष ध्यान दिनुपर्छ । हामीले बोल्ने भाषा भनेको मात्र माध्यम हो भने बातचित भनेको विशुद्ध कला हो भनी बुझ्न सकिन्छ । वातचितलाई कलामय बनाउन सक्नुपर्छ । तब मात्र यसको सकारात्मक प्रभाव देख्न सकिन्छ । वातचित कलालाई सञ्चार कला पनि भनिन्छ ।
सामान्यतः बातचित गर्दा व्यक्तिको मनमा आफूले व्यक्त गरेको विचार ठीक छ । अरुको विचार कम महत्वको वा सम्भवतः गलत छ भन्ने भावना आउन सक्छ तर वास्तविकता भन्ने हो भने दुवैजना आ आफ्नो ठाउँमा ठीक हुन्छन् तर नजानिँदो अहंमताको कारणले उनीहरुमा आ आफ्ना विचारहरु सही हो भनी प्रमाणित गर्न लागी पर्दछन् । यस्तो हुनुको मुख्य कारण भनेको आफ्नो अडान नछोड्नु हो । आफूले देखेको र सुनेको नै सत्य हो भनी बुझ्नु हो ।
उदाहरण, किताबको एक साइडमा लेखिएको कुरा अर्को साइडमा बस्नेले विल्कुलै देख्दैनन् अनि उसले नदेख्ने भएपछि किताबमा लेखिएको छ भनी स्वीकार गर्दैनन् । यसबाट निकास, समाधान पाउनका लागि प्रस्तुतकर्ताले ‘सिचुएसन अब्जभेसन’ गर्दै आफ्नो अडान एङ्गल छोडेर उसको अर्थात् दोस्रो पक्षको एङ्गलबाट हेर्नुपर्छ । दोस्रो पक्षको भनाइमा सहमत हुनुपर्छ । अनावश्यक तर्क गर्नु हुन्नँ । सहमतिले उसको मनको द्वार खोल्ने चाबीको काम गर्न सक्छ । यसरी बोल्नेकर्ताले जहिल्यै अरुलाई सुन्न सक्ने किसिमले उसको मनभित्र रुचि जगाउन अर्थात् चुप लागेर सुन्ने महसुस गराउन सक्नुपर्छ अनि मात्र सुन्नेको बुझाइस्तर बढेर जान सक्छ ।
सञ्चार कला भनेको बोल्ने मात्र होइन सुन्ने पनि कला हो । बोल्नेवाला प्रस्तुतकर्ताले सामुन्ने व्यक्तिलाई खुशी बनाउन उसको भनाईलाई पनि प्राथमिकता दिएर अनिवार्य सुन्नुपर्छ । कुराकानी गर्दा प्रस्तुतकर्ता सम्भवतः विषयवस्तु भन्दा बाहिर जानु हुँदैन । प्रस्तुतकर्ताले आफ्नो विगतको व्यक्तिगत अनुभव एवम् इतिहासलाई बातचित प्रक्रियामा सम्भवतः ल्याउनु हुँदैन । अन्यथा यसले वार्तालापलाई रुखो बनाउन सक्छ । वातचित गर्दा व्यक्तिले प्रस्तुतकर्ताको भनाइलाई सुन्ने, महसुस गर्ने र बुझ्ने प्रयास गर्नुपर्छ । आवश्यकताअनुसार प्रतिक्रिया पनि दिनुपर्छ । तर अरुलाई मनाउने, फकाउने नाममा उनीहरुलाई जबरजस्त गर्न भने मिल्दैन । पब्लिक स्पिकिङ भनेको स्वीमिङसरह हो । जुन अभ्यास नगरी त्यसको यथार्थ अनुभव गर्न सकिन्नँ ।
Dr. Albert MehrabianÚs research report मा असल वातचितका लागि 7–38–55 को अवधारणा विकास गरेका छन् । जसअन्तर्गत प्रभावकारी बातचितलाई जम्मा १०० प्रतिशत मान्दा प्रस्तुतकर्ताको शारीरिक हाउभाउले ५५ प्रतिशत, उसको आवाजको लवजले ३८ प्रतिशत र शब्द चयनले ७ प्रतिशत भूमिका ओगट्ने गर्दछ । त्यसैले असल बातचित कलाको लागि शारीरिक हाउभाउ, आवाज र शब्द चयन सबैको महत्वपूर्ण भूमिका रहेको हुन्छ । Dr. Albert Mehrabian को 7–38–55 को नियमलाई 3 V को अवधारणा अर्थात् Verbal, Vocal and Visual पनि भनिन्छ।
अन्त्यमा, बातचित कला अन्तर्गत विशेषतः बोल्ने कला र सुन्ने कला पर्दछ । बातचितलाई जबरजस्त प्रभावकारी बनाउन हरेक स्पिकरले आफ्नो शारीरिक हाउभाउ, बोल्ने शैली र शब्द चयन एवम् त्यसको प्रयोगलाई ‘अडियन्स’ को भावना अनुकुल हुनेगरी अनिवार्य जोड्नुपर्छ । जसले ‘अडियन्स’ को उच्च ध्यानाकर्षण गराउन सक्छ । ‘अडियन्स’ ले यसो गरे मात्र बातचित कलाको प्रयोग भएको र यस सम्बन्धमा जानकार रहेको मानिन्छ । वातचित कलाले असल पारिवारिक तथा सामाजिक सम्बन्ध विकास गर्न मद्दत गर्दछ । असल सम्बन्धले व्यक्तिलाई उत्कृष्ट अवसर प्रदान गर्दछ । उत्कृष्ट अवसरले उसको जीवनशैली लगायत अन्य विभिन्न क्षेत्रमा समृद्धि ल्याउँछ । जसबाट व्यक्ति खुशी हुने गर्दछ र अन्ततः खुशीले उसलाई जीवनको आत्मानन्द प्रदान गर्दछ ।

प्रकाशित मिति: असार ११ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend