बातचित भनेको कुनै पनि विषयवस्तुको सम्बन्धमा गरिने मौखिक वा अमौखिक कुराकानी वा वार्तालाप वा सञ्चार हो । जसलाई अंग्रेजीमा कम्युनिकेशन पनि भनिन्छ । वातचितमा कम्तीमा दुई पक्षहरु रहने गर्दछ । दुवै पक्षहरुबीचमा असल सम्बन्ध कायम राख्न वा कुनै एक पक्षले अर्को पक्षलाई उत्प्रेरित गर्दै आफूप्रति आकर्षित गर्न वा बुझाउन चाहिने विशिष्ट कलालाई बातचित कला भनिन्छ । यो कला आफैमा एक प्रकारको अन्तर बुझाइबाट प्राप्त हुने उपहार हो । जसको सहयोगले व्यक्तिले खोजेको सफलता र खुशी सजिलै हासिल गर्न गर्दछ ।
घर, समाजलगायत अन्य क्षेत्रहरुमा व्यक्ति व्यक्ति वा समूहबीचमा वैचारिक द्वन्द्व बढेको पाइन्छ । यसको मुख्य कारण भनेको उनीहरुबीचमा भएको अप्रभावकारी बातचितले नै हो । अर्थात् अप्रभावकारी बातचित भन्नाले एकले अर्काको भावना सही अर्थमा बुझ्न नसक्नु हो । भावना बुझ्न नसक्नुका कारण बातचित कलासम्बन्धी सीपको अभाव हो । त्यसैले व्यक्ति–व्यक्तिबीचमा रहेको अन्तर द्वन्द्व हटाउन र आपसी सद्भाव अभिवृद्धि गर्न हरेक व्यक्तिलाई हरेक क्षेत्रमा बातचित कलाको ज्ञान हुनु नितान्त जरुरी छ ।
हरेक व्यक्ति आफ्नो दैनिक जीवनमा कम्तिमा १५ देखि १६ घण्टासम्म कोही न कोही व्यक्ति वा समूहसँग बोलिरहेको हुन्छ । यति लामो समयसम्म उसले बातचित अर्थात् बोली रहँदा अरुलाई कति समयसम्म प्रभावित गर्न सक्यो ? भन्ने प्रश्नले नै मुख्यतः उसको उचाइ र उपलब्धि निर्धारण गर्दछ । यस्तो प्रकारको बातचित कला व्यक्तिको सुन्ने र बोल्ने विशेष क्षमताको संयोजनबाट प्राप्त हुने गर्दछ । बातचित कलाको अभावमा सम्भवतः व्यक्तिले राम्रो अवसर नपाउने र पाएपनि लामो समयसम्म नटिक्ने प्रवृत्तिले अन्ततः जीवनमा दुःख पाएको अवस्था रहेको पाइन्छ । त्यसैले बातचित कला हरेक उमेर समूहका व्यक्तिलाई दैनिक जीवनमा उत्तिकै अपरिहार्य रहेको हुन्छ ।
बातचित गर्नुको मतलब कसैको हृदय वा मनको प्रवेश द्वार खोल्दै आफ्नो विचार प्रवेश गराउनु हो अर्थात् व्यक्तिलाई आफू अथवा आफ्नो विचारप्रति प्रभावित गरी आकर्षित गराउनु हो । यो कार्य आफैमा एक जटिल कार्य हो तर सामाजिक जीवनमा नितान्त आवश्यक छ । यसको लागि हरेक व्यक्तिले आफ्नो बोल्ने र सुन्ने क्षमताको अनिवार्य विकास गर्नुपर्छ । आफ्नो बातचित कला कस्तो छ ? भनी समय समयमा चेक गर्ने र आवश्यक परे सुधार पनि गर्नु पर्ने हुन्छ । आफूले राखेको विचारले साथीभाइहरुको संख्या बढ्दै गएको हो वा होइन ? प्रतिक्रिया कस्तो आएको वा आउँदैछ ? जस्ता कुराहरूमा पनि विशेष ध्यान दिनुपर्छ । हामीले बोल्ने भाषा भनेको मात्र माध्यम हो भने बातचित भनेको विशुद्ध कला हो भनी बुझ्न सकिन्छ । वातचितलाई कलामय बनाउन सक्नुपर्छ । तब मात्र यसको सकारात्मक प्रभाव देख्न सकिन्छ । वातचित कलालाई सञ्चार कला पनि भनिन्छ ।
सामान्यतः बातचित गर्दा व्यक्तिको मनमा आफूले व्यक्त गरेको विचार ठीक छ । अरुको विचार कम महत्वको वा सम्भवतः गलत छ भन्ने भावना आउन सक्छ तर वास्तविकता भन्ने हो भने दुवैजना आ आफ्नो ठाउँमा ठीक हुन्छन् तर नजानिँदो अहंमताको कारणले उनीहरुमा आ आफ्ना विचारहरु सही हो भनी प्रमाणित गर्न लागी पर्दछन् । यस्तो हुनुको मुख्य कारण भनेको आफ्नो अडान नछोड्नु हो । आफूले देखेको र सुनेको नै सत्य हो भनी बुझ्नु हो ।
उदाहरण, किताबको एक साइडमा लेखिएको कुरा अर्को साइडमा बस्नेले विल्कुलै देख्दैनन् अनि उसले नदेख्ने भएपछि किताबमा लेखिएको छ भनी स्वीकार गर्दैनन् । यसबाट निकास, समाधान पाउनका लागि प्रस्तुतकर्ताले ‘सिचुएसन अब्जभेसन’ गर्दै आफ्नो अडान एङ्गल छोडेर उसको अर्थात् दोस्रो पक्षको एङ्गलबाट हेर्नुपर्छ । दोस्रो पक्षको भनाइमा सहमत हुनुपर्छ । अनावश्यक तर्क गर्नु हुन्नँ । सहमतिले उसको मनको द्वार खोल्ने चाबीको काम गर्न सक्छ । यसरी बोल्नेकर्ताले जहिल्यै अरुलाई सुन्न सक्ने किसिमले उसको मनभित्र रुचि जगाउन अर्थात् चुप लागेर सुन्ने महसुस गराउन सक्नुपर्छ अनि मात्र सुन्नेको बुझाइस्तर बढेर जान सक्छ ।
सञ्चार कला भनेको बोल्ने मात्र होइन सुन्ने पनि कला हो । बोल्नेवाला प्रस्तुतकर्ताले सामुन्ने व्यक्तिलाई खुशी बनाउन उसको भनाईलाई पनि प्राथमिकता दिएर अनिवार्य सुन्नुपर्छ । कुराकानी गर्दा प्रस्तुतकर्ता सम्भवतः विषयवस्तु भन्दा बाहिर जानु हुँदैन । प्रस्तुतकर्ताले आफ्नो विगतको व्यक्तिगत अनुभव एवम् इतिहासलाई बातचित प्रक्रियामा सम्भवतः ल्याउनु हुँदैन । अन्यथा यसले वार्तालापलाई रुखो बनाउन सक्छ । वातचित गर्दा व्यक्तिले प्रस्तुतकर्ताको भनाइलाई सुन्ने, महसुस गर्ने र बुझ्ने प्रयास गर्नुपर्छ । आवश्यकताअनुसार प्रतिक्रिया पनि दिनुपर्छ । तर अरुलाई मनाउने, फकाउने नाममा उनीहरुलाई जबरजस्त गर्न भने मिल्दैन । पब्लिक स्पिकिङ भनेको स्वीमिङसरह हो । जुन अभ्यास नगरी त्यसको यथार्थ अनुभव गर्न सकिन्नँ ।
Dr. Albert MehrabianÚs research report मा असल वातचितका लागि 7–38–55 को अवधारणा विकास गरेका छन् । जसअन्तर्गत प्रभावकारी बातचितलाई जम्मा १०० प्रतिशत मान्दा प्रस्तुतकर्ताको शारीरिक हाउभाउले ५५ प्रतिशत, उसको आवाजको लवजले ३८ प्रतिशत र शब्द चयनले ७ प्रतिशत भूमिका ओगट्ने गर्दछ । त्यसैले असल बातचित कलाको लागि शारीरिक हाउभाउ, आवाज र शब्द चयन सबैको महत्वपूर्ण भूमिका रहेको हुन्छ । Dr. Albert Mehrabian को 7–38–55 को नियमलाई 3 V को अवधारणा अर्थात् Verbal, Vocal and Visual पनि भनिन्छ।
अन्त्यमा, बातचित कला अन्तर्गत विशेषतः बोल्ने कला र सुन्ने कला पर्दछ । बातचितलाई जबरजस्त प्रभावकारी बनाउन हरेक स्पिकरले आफ्नो शारीरिक हाउभाउ, बोल्ने शैली र शब्द चयन एवम् त्यसको प्रयोगलाई ‘अडियन्स’ को भावना अनुकुल हुनेगरी अनिवार्य जोड्नुपर्छ । जसले ‘अडियन्स’ को उच्च ध्यानाकर्षण गराउन सक्छ । ‘अडियन्स’ ले यसो गरे मात्र बातचित कलाको प्रयोग भएको र यस सम्बन्धमा जानकार रहेको मानिन्छ । वातचित कलाले असल पारिवारिक तथा सामाजिक सम्बन्ध विकास गर्न मद्दत गर्दछ । असल सम्बन्धले व्यक्तिलाई उत्कृष्ट अवसर प्रदान गर्दछ । उत्कृष्ट अवसरले उसको जीवनशैली लगायत अन्य विभिन्न क्षेत्रमा समृद्धि ल्याउँछ । जसबाट व्यक्ति खुशी हुने गर्दछ र अन्ततः खुशीले उसलाई जीवनको आत्मानन्द प्रदान गर्दछ ।