Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा चासोक भव्यरुपमा मनाउने तयारी

हाम्रो कोशी आवाज
मंसिर २१ २०७९, बुधबार
धरानमा चासोक भव्यरुपमा मनाउने तयारी

धरानः यसवर्ष लिम्बू समुदायको चासोक तङनाम भव्य र विविध कार्यक्रमका साथ आयोजना हुने भएको छ ।
किरात याक्थुङ चुम्लुङद्वारा बुधबार धरान– १५ स्थित चुम्लुङहीममा आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
५ दिनसम्म चल्ने लिम्बू समुदायले विविध कार्यक्रमका साथ चुम्लुङहीममा उत्सव पारामै चासोक तङनाम मनाउन लागेका हुन् । चासोक उत्सवको अवसरमा लिम्बू जातिको परम्परागत च्याब्रुङ नृत्यको प्रतियोगिता, लिम्बू जातिले खेल्दै आएका खेलहरू, अदिकालमा पहिलो पटक हाते तानमा युमाले धागोबाट कपडा बुनेर लगाउन थालेको मुन्धुम अनुसारको थाक्थाक्मा प्रदर्शनसहित साँझका बेला सांस्कृतिक प्रस्तुतिहरू समेत हुनुको साथै आयोजित उत्सवमा १७ वटा स्टलहरू परम्परागत लिम्बु परिकारहरूका साथै खानपिन पाइने जानकारी आयोजकले जानकारी दिएको छ ।
प्रचार समितिका संयोजक स्वर्णिमहाङ फोम्बोका अनुसार लिम्बू भाषा संस्कृतिलाई समृद्ध बनाउने लिपिका प्रवर्तक सिरिजंगाको धरान–८ तीनकुने चौकस्थित पूर्णकदको सालिकमा चुम्लुङले चासोक तङनामकै अवसरमा बाजागाजा सहित सम्मान प्रकट गर्दै माल्यार्पण गर्ने र बिहीबार नै सोही दिन बिहान अढाई सय वर्ष अघि लिम्बुवानको राजधानीको रूपमा रहेको विजयपुरस्थित दरबार स्थलमा चासोक मेला सुरु हुनअघि च्याब्रुङका समूहहरूसहित फेदाङमा येबाहरुले पूजा अर्चना गरिनेछ ।
चासोकको धार्मिक अनुष्ठान बुधबार साँझ सुरु भई बिहान बिहान सकिने छ । चुम्लुङले लिम्बु समुदायको धार्मिक अनुष्ठान तङसिङ सामूहिक रूपमा अभ्यास पनि सुरु गरेको छ । परिवारको शिर उठाउन, सुख, समृद्धि, गाली सराप बगाउने, रोगव्याधी दुःख बिमारबाट मुक्ति सुस्वास्थ्यका लागि गरिने तङसिङ तिन रात सम्म चल्ने मुन्धुम छ । एक परिवारले एक ठाउँमा गर्दै आएको यो धार्मिक अनुष्ठानमा लाखौ रुपैंया सम्म खर्च हुन्छ ।
सामान्य आयस्रोत तथा गरिब परिवारले गर्न नसक्ने तङसिङ सबैको पहुँचमा पु¥याउन इच्छुक परिवारहरूको संयुक्त तङसिङ अनुष्ठान गर्ने अभ्यास चुम्लुङले सुरु गरेको पत्रकार सम्मेलनमा चुम्लुङका केन्द्रीय उपाध्यक्ष डा.कमल तिगेला लिम्बुले बताए । उनले भने ‘हिन्दु धर्मावलम्बीहरूको भागवत पुराण लगाए जस्तै लिम्बु समुदायको यो छुट्टै धार्मिक अनुष्ठान हो ।’ आमाबुवा दिवङ्गत भएका घरमुलीका नाममा उनको परिवारको सुख, शान्तिका लागि तङसिंङ अनुष्ठान फेदाङमा, येवा, साम्बाहरुबाट सम्पन्न गरिन्छ ।
संयुक्त तङसिङमा सहभागी हुन चाहनेले १२ सय रुपैंयामा बुझाएर आफ्नो नामको तङसिङ उठाउन सकिने छ । यस्तै महिला घरमुलीका लागि तङसिंङ सँगै संयुक्त फुङसारी उठाइने छ । त्यसमा आफ्नो सहभागिता जनाउन चाहनेले ५ रुपैंया बुझाउनु पर्ने बताइएको छ । परिवारहरूले संयुक्त रूपमा गर्दै आएको तङसिङले चुम्लुङ फराकिलो दायरामा ल्याएर भिन्न परिवारलाई पनि संयुक्त तङमा सहभागी गराउने अभ्यास सुरु गरेको केन्द्रीय उपाध्यक्ष डा.कमल तिगेलाले बताए ।
उच्च पहाडी भेगमा अहिले पैयुँ फुल्ने उधौंली याम हो । यसलाई पूर्व लिम्बुवानका प्रकृतिपूजक लिम्बु समुदायले प्राग ऐतिहासीक कालदेखि मनाउँदै आएको चासोक तङनाम पर्व सुरु भएको सङ्केतका रूपमा मान्दछन् । परम्परागत नेपाली पर्वहरू दसैँ देखी छठ सकेपछि मङ्सिरे पूर्णिमाको साता अघि देखी पछिल्लो समय सहरी क्षेत्रहरूमा धूमधामका साथ मनाइने गरिन्छ ।
लिम्बू जातिले उभौली याममा यक्वा पूजा बीउ बिजन छरपोख गर्ने समयमा मनाउँछन् भने चासोक तङ्नाम न्वागी पूजा उँधौली याममा बालीनाली भित्र्याउने बेलामा धूमधामले मनाउँछन् । आरुको फूल फुल्न थालेपछि उभौली याम सुरु भएको मानिन्छ भने पैँयु फुलेको यामसँगै खोला नदीमा माछा, आकाशमा चराचुरुङ्गी, दक्षिणतिर लागेको ऋतुलाई लिम्बूहरूले प्राचीनकालदेखि उँधौली याम सुरु भएको सङ्केतको रूपमा लिँदै आएका छन् । उभौली र उँधौली याममा सम्पन्न गरिने यी दुवै चाडपर्व कृषि कर्मसँग सम्बन्धित छन् ।
उपाध्यक्ष तिगेलका अनुसार मुन्धुममा चासोक पूजाको उत्पत्तिका बारेमा व्यापक वर्णन गरिएको पाइन्छ । मुन्धुम अनुसार कृषि युग सुरु हुनुअघि लिम्बूहरूका आदिम पुर्खा सावायेत्हाङहरुले कन्दमूल काँचै खाएर जीवनयापन गर्थे । जसले गर्दा उनीहरू कुपोषण र अनेक रोगव्याधीको सिकार हुन्थे । यस्तो विषम परिस्थितिबाट मुक्ति पाउन उनीहरूले सर्वशक्तिमान् तागेरानिङवाफुमाङ प्रकृतिको पूजा आराधना गरे ।
कुपोषण र रोगव्याधीबाट बच्न उनीहरूले निरन्तर अनेक उपायको खोजी गरे । निरन्तर खोजीको फल स्वरूप तागेरा निङवाफुमाङ प्रकृतिको कृपाबाट उनीहरूले पेना÷माङदःक् कोदो, पारामा कोदोसँगै फल्ने बिरुवा, ताक्मारु घैया धान, तुम्री जुनेलो, साङघामा, लिङघामा र लङवामा आदि अन्नका बीउ विजन प्राप्त गरेको मुन्धुममा उल्लेख छ ।
चासोक तङनामको बिचमा नै किरात सिरिजंगा लिपिका प्रवर्तक सिरिजंगा सिंहथेबेको जयन्ती पर्दछ । सिरिजंगा लिपि लिम्बु मातृभाषा लाई लेख्य परम्परामा विकसित गर्ने नेपालको मौलिक लिपि हो । यसै लिपिमा लिम्बु भाषाका वाङमयमा पाइने इतिहास र साहित्यका सबै विद्याहरूका कृति, लिखत पाइन्छन् । तस्वीरः लक्ष्मण थापा

प्रकाशित मिति: मंसिर २१ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend