Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मेरा छोराले त रोटी बेलोस् तर भ्रष्टाचार नगरोस् !

अनुषा थापा
जेष्ठ २७ २०८०, शनिबार
मेरा छोराले त रोटी बेलोस् तर भ्रष्टाचार नगरोस् !

घुस लिने र दिने दुवै ‘अपराधी’ हुन् । राजाको पालामा घुस लिने र दिने दुवैलाई जेल कोचिन्थ्यो । तर, पछिल्लो समय जुनै पनि काम घुसले हुने गरेको छ । जुनसुकै काम गर्न पनि घुस खुवाउनैपर्छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डमा मुलुकका ‘हाइप्रोफाइल’ नेताहरु समातिए । पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहसचिव टेकनारायण पाण्डेलगायत अन्य थुप्रैमाथि करोडौं रुपैयाँ घुस खाएको आरोप लागेको छ ।
उनीहरु हाल प्रहरी हिरासतमा छन् । प्रहरीले घुस लिनेलाई समात्यो, दिनेलाई किन समातेन् ? करोडौं रुपैयाँ खर्च गरेर नक्कली भुटानी शरणार्थी बनेर अमेरिका जान तम्तयार हुनेहरुलाई पनि पक्राउ गर्नुपर्ने होइन् ? तिनीहरुचाँहि कसरी पीडित भए ? गैरकानुनी प्रक्रियामार्फत अमेरिका जान खोज्नेहरुलाई प्रहरीले तत्काल पक्राउ गर्नुपर्छ । घुस लिने जति दोषी छन्, घुस दिनेहरु पनि उतिनै दोषी हुन् । यो घुस प्रकरण त एउटा उदाहरण मात्र हो । किन कि यहाँ जागिर खान होस् या राजनीतिमा एउटा स्थान बनाउन घुस खुवाउनैपर्छ ।
क्षमता छ तर पैसा नभईकन केही चल्दैन् । कि आफ्नो मान्छे हुनुपर्यो । लोकसेवामा जागिर खान घुस चाहिन्छ नै । पढाइ, काम गर्ने क्षमता र ट्यालेन्ट होइन्, कति पैसा बगाउन सक्छ ? त्यो हेरिन्छ । होइन् भने राजनीतिक दलको सिफारिस हुनुपर्छ । आर्मी, पुलिसमा जागिर खानका लागि घुस दिनैपर्छ । यता, ठेकेदारहरुले ठेक्का आफ्नो हात पार्नका लागि पनि सरकारी निकायका कर्मचारीलाई घुस खुवाउँछन् । चुनावमा उठ्नका लागि पार्टी अध्यक्षलाई घुस दिनुपर्छ ।
अनि मुलुकमा कसरी भ्रष्टाचार हट्छ ? हरेक पाइलामा भ्रष्टाचार छ । घुस लिने र दिने काम जहाँकही भइरहेको छ । सरकारी कर्मचारीको तलब कति हुन्छ ? २० हजारदेखि ८५ हजार रुपैयाँसम्म तलब खाने कर्मचारी यहाँ छन् । तर, २० हजार कमाउनेको यहाँ महलजस्तो घर छ । उनीहरुको तीन करोडदेखि १० करोड रुपैयाँसम्मको सम्पत्ति छ । यो कसरी सम्भव भयो त ? त्यति जाबो कमाउनेले छोराछोरी पढाओस् कि घरको खर्च टारोस् । तलबको पैसाले राम्रो खानलाउन पुग्दैन्, सम्पत्ति कहाँबाट जोड्ने ?
यो भ्रष्टाचार हो भनेर छर्लङ्ग देखिन्छ । तर, उनीहरुको विरोधमा उजुरी हाल्ने आँट कसैमा पनि छैन् । जन्म दिने बुवा नै भ्रष्टाचारी भए त उजुरी हाल्न र कानुनको कठघरामा उभ्याउन खुट्टा कमाउनुहुँदैन् भने अरुको त कुरै छोडौं । विडम्बना, नेपालीको सोचाइ यस्तो छैन् । अरुलाई लुटेर ल्याओस् कि ठगे, खर्च गर्न र आरामदायी जिन्दगी जिउन पाए हुन्छ । छोराछोरी अर्कालाई लुटेर ल्याएको पैसामा मोजमस्ती गर्दै हिँड्छन्, श्रीमती स्वाङ् पार्दै ।
यहाँ त भ्रष्टाचार गरेर सात पुस्तालाई पुग्नेगरी सम्पत्ति जोडिन्छ । हजुरबुवाले भ्रष्टाचार गरेको पैसामा सात पुस्ताले मोज गर्छन् । काम पनि गर्न नपर्ने, आरामदायी जिन्दगी बसिबसि पाइने । अनि कसरी भ्रष्टाचार हट्छ ? सरकारले जुनसुकै नीतिनियम र कानुन बनाएपनि भ्रष्टाचार हटाउन सम्भव छैन् । जबसम्म घरघरबाट भ्रष्टाचारीको विरोधमा आवाज उठाइदैन् तबसम्म यो क्रम चलिरहन्छ । मुलुक भ्रष्टाचारको जालोबाट निस्किन सक्दैन् ।
सरकारले निःशुल्क भनेको सेवासुविधा साँच्नै नै निःशुल्क छ त ? घुस नदिएसम्म सरकारी कर्मचारीले काम नै अघि बढाइदिँदैनन् । पैसा खुवायो भने ‘ठाँउको ठाँउ’ काम हुन्छ । तर, घुस दिएन् भने महिनौंसम्म पनि फाइल अड्काएर राखिदिन्छन् । अनि कसरी बालकृष्ण र टोपबहादुर मात्र घुस्याहा भए त ? घुसखोरी त सबै हुन् नि । शिक्षा दिने ठाँउमा समेत आर्थिक चलखेल हुन्छ । विद्यार्थीका लागि सरकारले छुट्याएको दिवा खाजाकै पैसामा शिक्षकले भ्रष्टाचार गर्छन् ।
आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि सहयोग दिइएको कापी कलमसमेत बेचेर खाइदिन्छन्, शिक्षक । शिक्षक त यस्ता छन् भने विद्यार्थीलाई के सिकाउँछन् ? अन्यायमा परेकालाई न्याय दिने भनिएका वकिलहरु पनि घुसखोरी भए । अहिले जतिपनि सरकारी, गुठीका जग्गा व्यक्तिको नाममा गएका छन्, त्यो सबै वकालती गर्नेहरुकै काम हो । पैसा खुवाएपछि वकिलहरुले हार्ने मुद्दालाई पनि जिताइदिन्छन्, जित्ने मुद्दालाई पनि हराइदिन्छन् । यता, बैंक तथा वित्तिय संस्थाको कुरा गरौं ।
सबैभन्दा धेरै घुसको चलखेल हुने क्षेत्र बनेको छ, यो । आफ्नै सम्पत्ति धितो राखेर, मासिक ब्याज तिरेर कर्जा लिन पनि घुस खुवाउनुपर्ने । कस्तो नियम हो यो ? भन्नलाई खुल्ला प्रतिस्पर्धामार्फत टेण्डर आह्वान गरेर ठेक्का दिइएको भनिन्छ । तर, ठेकेदारहरुले सरकारी निकायका हाकिमलाई घुस नखुवाएसम्म ठेक्का पाउन सम्भव छँदै छैन् । यता घुस खुवाउँछ उता झारा टार्ने काम गरिदिन्छन् । बाटो कालो पत्र गरेको वर्षदिनमै उकिन्छ । पुल बनाउँदाबनाउँदै भत्कित्छ ।
मुलुकमा घुसबिना काम हुने कुन क्षेत्र छ त ? पदमा पुग्नको मात्र बेर हो, पुगेपछि रातारात मालामाल बन्छु भन्ने सोच सबैमा छ । हामीलाई कसले कसरी कमायो ? भन्ने कुरा थाहा छ । कसैले राज्यलाई राजस्व छलेर कमाएको छ, कसैले व्यक्तिलाई लुटेर । तर, त्यसको विरोधमा कसले त्यस्ताको विरोधमा कानुनको ढोका ढक्ढकाउने ? घर बनाउँदै र गाडी किन्दैमा मान्छे राम्रो हुँदैनन् । चप्पल नै लगाओस् तर इमान्दार मान्छेको सँधै सम्मान गर्नुपर्छ ।
नेपालीहरु पहिल्यैदेखि उल्टो बाटो हिँडे । जसरी हुन्छ सम्पत्ति जोड्नुपर्यो । बाटोमा चप्पल लगाएर हिँड्नेलाई कसैले गन्छ ? गन्दैनन् । भ्रष्टाचार गरेर गाडी चढ्नेलाई फूलमाला लगाउँछन् । अनि मुलुक कसरी भ्रष्टाचारमुक्त हुन्छ ? भ्रष्टाचार हटाउनका लागि पहिले जनता सचेत हुनुपर्यो । सरकार घरघरमा धाएर भ्रष्टाचार खोताल्न त सक्दैन् । जनताले भ्रष्टाचार भइरहेको छ भनेर सरकारको कानसम्म पुर्याइ दिनुपर्यो । अनि मात्र भ्रष्टाचार हट्छ ।
यहाँ छोराछोरीले बुवाआमा र बुवाआमाले छोराछोरीलाई भ्रष्टाचार गर्न सिकाइरहेका छन् । छोराछोरीको चाहना पूरा गर्नका लागि बुवाआमाले भ्रष्टाचार गर्छन् । समाजमा देखासिकीले भयावह रुप लिएको छ । अर्काको छोराछोरी मँहगो स्कुलमा पढ्छन् । आफ्नोले पनि त्यही पढ्नुपर्यो भनेर जिद्दी गर्छन् । अरुको छोराछोरीले मोबाइल बोक्छन्, आफ्नोले माग गर्छन् । किनिदिनै पर्यो । छोराछोरीले जे जे भन्छन् त्यही त्यही पुर्याउनका लागि बाबुआमाले भ्रष्टाचार गर्छन् ।
गलत रुपले कमाएर पनि इच्छा पूरा गरिदिन्छन् । बाबुआमा बुढाबुढी हुन्छन् । छोराछोरीलाई भन्छन्,‘अब मर्ने बेला हुन लाग्यो । आफ्नै घरमा मर्न पाएपनि हुन्थ्यो ।’ बुवाआमाले घरको इच्छा राखेका छन् है भनेर सन्तान त्यतातिर लाग्छन् । घर बनाउनका लागि भ्रष्टाचारको बाटो रोज्छन् । घरमा मरे पनि कोठामा मरे पनि जाने आखिर सास नै हो । घरसंगै जाने होइन् । तर, नेपालीले यो कुरा बुझेनन् । उनीहरुलाई आफ्नो घर भयो भने के के न हुन्छजस्तो भएको छ ।
एउटा व्यापारीले पाँच रुपैयाँ पर्ने सामान २० रुपैयाँमा बेच्छ । उसले आफ्नो सन्तानलाई पनि त्यही नै सिकाउँछ । पाँच रुपैयाँको सामान २० मा बेचेपछि बुवाले छोरालाई भन्छन्,‘तैलें व्यापार सिकिस् ।’ अरुलाई ठग्नु व्यापार हो ? मान्छेले जन्मिने बेला शरीर मात्र ल्याएको हुन्छ । मर्ने बेलामा पनि शरीर मात्र लैजाने हो । विडम्बना, यो चेतना नेपालीमा आउन सकेनन् । धनसम्पत्ति त जिँउदो हुञ्जेल त चाहिने हो । भ्रष्टाचार गर्नेलाई सबै घृणा गर्छन् ।
तर, गरिब नै भएपनि समाजमा राम्रो काम गर्यो भने सबैले सम्झिन्छन् । आफ्नो खानुपर्दा अरुले पनि खानुपर्छ भन्ने सोचौं । अरुलाई मारेर, लुटेर, ठगेर केही हुनेवाला छैन् । क्षणिकलाई मोजमस्ती गरिएला तर अरुलाई रुवाउनेलाई कहिले राम्रो हुँदैन् । समाज र राष्ट्रका लागि पहिले जनता जिम्मेवार हुन जरुरी छ । राज्यलाई मात्र दोष दिएर भ्रष्टाचार हटाउन सम्भव छैन् ।
सांसद् चित्रबहादुर केसीले यसअघि भनेका थिए,‘मेरो छोराले सरकारी जागिर लगाइदिनु भनेको थियो । मैले जे गर्न सक्छस् त्यही गर भनेको थिए । उसले तन्दुरी पसलमा रोटी पोल्ने, बेल्ने काम गर्यो ।’ यदि यो सत्य हो भने सबैले यहाँबाट पाठ सिक्नुपर्छ । आफू उभिने आफ्नै खुट्टामा हो । अरुको खुट्टामा उभिएर कतिञ्जेल चल्न सकिएला ? मेरा छोराले त रोटी बेलोस् तर भ्रष्टाचार नगरोस् ।

प्रकाशित मिति: जेष्ठ २७ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ८ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend