Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका मेयर साम्पाङले वडाध्यक्षलाई कार्यवाहक दिएपछि ६ दल विरोधमा खुले, कांग्रेसभित्र दुई धार हुँदै ‘साइलेन्ट’

हाम्रो कोशी आवाज
असोज ३० २०८१, बुधबार
धरानका मेयर साम्पाङले वडाध्यक्षलाई कार्यवाहक दिएपछि ६ दल विरोधमा खुले, कांग्रेसभित्र दुई धार हुँदै ‘साइलेन्ट’

मेयर साम्पाङले उपमेयर, वडाध्यक्ष र दलहरू भिडाउनै खोजेका हुन्ः पूर्व मेयर तिलक राई

धरानः धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) ले आफू युके जाने क्रममा धरान–११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहक मेयरको कार्यभार सुम्पेर हिँडेपछि अहिले धरानमा खैलाबैला मच्चिएको छ ।
उपमेयर हुँदाहुँदै कार्यवाहकको जिम्मेवारी वडाध्यक्षलाई दिएको भन्दै उपमेयर अइन्द्रविक्रम बेघाले अदालतसम्म पुग्ने बताउँदै पत्रकार सम्मेलन गरिसकेका छन् भने धरानका ६ राजनीतिक दलहरूले आपत्ति समेत जनाउँदै विज्ञप्ति समेत जारी गरेको अवस्था छ । उता निवर्तमान मेयर तिलक राईले समेत पत्रकार डाकेर मेयर साम्पाङले कानुनभन्दा माथि गएर निर्णय गर्दै कानुनको बर्खिलाप गरेको भनेका छन् । उनले दलहरू, उपमेयर र वडाध्यक्ष भिडाउने नियत मेयर साम्पाङले राखेको आरोप समेत लगाएका छन् ।
धरानमा रहेका नेकपा एमाले, माओवादी केन्द्र, जसपा नेपाल, नेकपा (एकीकृत समाजवादी पार्टी), रास्वपा र राप्रपाले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै उपप्रमुख स्वतः कार्यवाहक प्रमुख हुने ऐनको व्यवस्था रहँदा पनि मेयर साम्पाङले कानुनविपरीत गैरकानुनी काम गरेको दावी गरेका छन् ।
‘धरान उपमहानगरपालिकाका नगर प्रमुख श्री हर्कराज राई केही समयका लागि धरान बाहिर जाने क्रममा गैरकानुनी रूपमा ११ नं. वडा अध्यक्ष श्री लोकेन्द्र फागोलाई कार्यवाहक पत्र थमाएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ उक्त संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा १६ को उपदफा ४ क १२ मा ‘सात दिन भन्दा बढी समय गाउँपालिका अध्यक्ष वा नगरपालिकामा नगर प्रमुख अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने’ भन्ने स्पष्ट व्यवस्था रहेको छ ।’
विज्ञप्तिमा ऐनमा भएको उपप्रमुखको अधिकारलाई उल्लङ्घन गर्दै गैरकानूनी रूपमा वडाध्यक्षलाई कार्यवाहक दिइएको दाबी गरिएको छ । ‘ऐनले व्यवस्था गरेको उप प्रमुखको अधिकारलाई उल्लङ्घन गर्दै गैरकानुनी रूपमा प्रमुख र उपप्रमुख पदको गरिमा माथि आँच आउने गरी नगर प्रमुख हर्कराज राईले उपप्रमुख पदलाई अपमानित गर्ने अत्यन्तै नीच कार्य गरेको हाम्रो ठहर छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘यसर्थ र धरानवासीको शिर निहुराउने नगर प्रमुखको यस प्रकारको कार्यको घोर भत्र्सना गर्दछौँ ।’
नेपाली कांग्रेस जस्तो प्रजातान्त्रिक मूल्य र मान्यता मान्ने पार्टीबाट निर्वाचित वडा अध्यक्षले आफ्नै पार्टीसहितले बनाएको संविधान र कानुनविपरीत शर्तसहित केवल थपनामात्रको कथित कार्यवाहकको जिम्मा लिनु आश्चर्यजनक भएको जनाइएको छ । यसर्थ नेपाली कांग्रेस धरान नगर समितिलाई समेत यस विषयमा ध्यानाकर्षण गराउँदछौ ।’
उपमेयर बेघाले पत्रकार सम्मेलन गर्दै आफू नै स्वतः कार्यवाहक भएको बताउँदै आएका छन् । उनले आइपरे अदालतको ढोका ढकढकाउन पनि पछि नपर्ने बताएका छन् ।
कांग्रेस दुई धारमा विभाजित
एक कांग्रेस नेताका अनुसार कांग्रेसमा कार्यवाहकका विषयमा दुई धारमा विभक्त छ । उनका अनुसार कांग्रेस ‘साइलेन्ट’ रहेपनि कांग्रेसभित्र दुई धारमा विभक्त रहेकोले केही निष्कर्ष ननिस्किएको हुनाले विज्ञप्ति पनि ६ दलले मात्रै जारी गर्नुपरेको हो । कांग्रेसकै नेता भन्छन्– आहै कांग्रेसकै वडाध्यक्षलाई मेयर साम्पाङले कार्यवाहक थमाइहाले चुपचाप रहौं भन्ने पक्षमा एक पक्षीय कांग्रेसका नेताहरू अड्डी कस्दै लागेको देखिन्छ भने अर्को पक्ष कानुनको धज्जी उडाउन हुँदैन, भोलि आफैमाथि यस्तो आइलाग्दा के साम्पाङ पारामै लाग्ने हो भन्दै लागिपरेका छन् । यसैले पनि कांग्रेसले समयमै विज्ञप्ति जारी गर्न नसकेको हो ।
मेयर साम्पाङ उपमेयर, वडाध्यक्ष र दलहरूलाई खुब भिडाउन लागिपरेः पूर्व मेयर तिलक राई
उता पूर्व मेयर तिलक राईले पत्रकार सम्मेलन गर्दै मेयर साम्पाङले उपमेयर, वडाध्यक्ष र दलहरूलाई नै भिडाउन लागिपरेको आरोप लगाएका छन् । मेयर साम्पाङले आफू युकेबाट नफर्केसम्म दलहरू भिडिराखून भन्ने नियतले यस्तो काम गरेको आरोप समेत लगाए ।  ‘मेयर साम्पाङ सफल नै भएको पाएँ’, उनले थपे, ‘मेयर साम्पाङको नियत नै द्वन्द्व निम्त्याउने, विभाजित गर्ने, दलहरूलाई नरुचाउने बनाउने, उपमेयर, वडाध्यक्ष भिडाउन लागिपरेको हो कि भन्ने लाग्छ मलाई ।’
उनले ‘थपना’ जस्तो कार्यवाहक दिनु नै गलत भएको बताए । मेयर साम्पाङले वडाध्यक्ष फागोलाई यी काम गर्दै नगर्नू भन्दै शर्त राख्दै अधिकार दिनू नै थपना भएको उनको टिप्पणी छ । मेयर साम्पाङले दैनिक ५ हजारभन्दा बढी आर्थिक सहयोग नगर्ने, कार्यपालिका बैठक बोलाउन नपाइने, कुनै बजेटका योजनाहरू स्वीकृत नगर्ने, कर्मचारीको बढुवा सरुवा नगर्ने लगायतका सर्त राखेर वडाध्यक्ष फागोलाई जिम्मेवारी सुम्पेका थिए ।
उनले कार्यवाहकबारे विवाद आउँदा उपमहानगरपालिकामा कुनै पनि काम अगाडि बढ्न नसक्ने र निर्णय भएपनि कानुनले समात्ने हुनाले कामकाज सहजै प्रभावित हुने बताए । ‘उहाँ नआउन्जेलसम्म कुनै पनि काम नहोस् नै भन्ने मेयर साम्पाङको चाहना पूरा भएको जस्तो देखिएको छ ।’ उनले भनेका छन् ।
उनले उपमेयर नै स्वतः कार्यवाहक भएको बताउँदै आफूहरूको पालामा कानुनसम्मत नै वडाध्यक्ष दिँदै हिँडेको समेत खुलाए । ‘कहिले पनि उपप्रमुख हुदाँहुदै वडाध्यक्षलाई मैले कार्यवाहक तोकिन र त्यसअघिका मेयरको पालामा पनि त्यो भएको छैन ।’
उनका अनुसार धरान उपमहानगरपालिकाको आफ्नै पनि नियमावली भएको र नियमावलीमा प्रमुख वा प्रमुख र उपप्रमुख दुवै अनुपस्थित भएको अवस्थामा कार्यवाहक तोक्ने व्यवस्था रहेको छ ।
उनले मेयर साम्पाङको कानुन नबुझ्ने केही शुभचिन्तकहरूले सक्दो गाली गर्दा नडराउने समेत बताएका छन् । ‘कानुन त कानुन नै हो, कानुन नबुझ्नेले मलाई जति गाली गर्दा पनि हुन्छ, गरिरहनुन् ।’ उनले थपे ।
मेयरको कार्यालयमा ताला, कार्यवाहक सचिवालयबाटै काम गर्दै
कार्यवाहक जिम्मेवारी पाएका फागोले नगर प्रमुख सचिवालयको कोठाबाट काम गर्दै आएका छन् ।
मङ्गलबार दशैं विदापछि कार्यालय लागेपछि कार्यभार सम्हाल्न आएका उनका लागि सचिवालयकै एउटा टेबल तानेर कर्मचारीहरूले मिलाइदिएका थिए । मेयर साम्पाङले आफ्नो कार्यकक्षमा तालाबन्दी गरेर हिँडेपछि फागोले सचिवालयबाटै काम थालेका हुन् । उनी आए आफू सन्तुष्ट नै छु भनेर त्यहाँबाटै काम गर्न थालेका हुन् ।
निवर्तमान मेयर तिलक राईले यस विषयमा पनि प्रश्न तेस्र्याएका छन् । ‘जनताको कार्यालयमा ताला लगाउनु गलत हो, त्यसमा केही कुरा लुकेको छ’, उनले क्रियाशील पत्रकारहरूको सम्मेलनमा भनेका छन् ।
मेयर साम्पाङ नगरपालिकाको तर्फबाट नभई व्यक्तिगत तवरले असोज २८ गते बेलायत घुम्न जाने क्रममा वडाध्यक्षलाई कार्यभार सुम्पिएपछि विवाद बढेको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेशका संयोजक सरोज श्रेष्ठका अनुसार मेयरले नगरको जिम्मेवारी दिएको कार्यवाहकको अवस्था चौकीदारको जस्तो भएको भन्दै टिप्पणी गरेका छन् । मेयरले कोठाको व्यवस्था नगरी जाँदा सचिवालयको कोठा, रिसेप्सन कोठामा कार्यवाहकले काम गर्नु भनेको लज्जास्पद भएको उनको भनाइ छ ।
हाल कार्यवाहक फागो बस्दै आएको कोठाबाट नगरप्रमुखको कोठा पस्ने ढोकामा ताला लगाइएको र ढोका छेक्न सोफासेटसमेत राखिएको छ । मेयर साम्पाङले भने आरोप मात्रै लगाइएको र आफूलाई सहज लाग्ने व्यक्तिलाई जिम्मेवारी दिँदै आएको बताउँदै आएका छन् । उनले भनेका छन्– आरोप नाथे त कति लाग्छ लाग्छ नि ।

प्रकाशित मिति: असोज ३० २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend