Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा मेयर हर्क साम्पाङको अदालतलाई चुनौती, कार्यवाहक फागोको बचावट, तत्काल निर्देशन– मलाई कुनै अदालतले चुनेको होइन, आदेश नमान्नू

हाम्रो कोशी आवाज
कार्तिक ५ २०८१, सोमबार
धरानमा मेयर हर्क साम्पाङको अदालतलाई चुनौती, कार्यवाहक फागोको बचावट, तत्काल निर्देशन– मलाई कुनै अदालतले चुनेको होइन, आदेश नमान्नू

धरानः धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) ले गैरकानुनीरूपमा ‘काखी च्याप्दै’ वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका वडाध्यक्ष लोकेन्द्र फागो मेयर साम्पाङले सुम्पिएको ‘कार्यवाहकको जिम्मेवारी’ पूरा गरेर कार्यालयबाट हिँडेपछि उनले आक्रोश पोखेका छन् ।
कार्यालय समयमै ठीक समयमा ११ बजे आएर दुईवटा तोक आदेश दिएर हिँडेका कार्यवाहकको जिम्मेवारी पाएका फागो अब म आजदेखि कार्यवाहक रहिन भन्दै हिँडेपछि उनले आक्रोश पोखेका हुन् । फागोले मेयर साम्पाङकै कार्यकक्षमा छुट्टै टेबल कुर्सी राखेर अदालतबाट आएको पत्रसमेत बुझ्न नमान्दै काम गरेको सचिवालय स्रोतले जनाएको छ ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उच्च अदालतको अन्तरिम अल्पकालीन आदेशलाई चुनौती दिएका छन् । फेसबुकमार्फत मेयर साम्पाङले अदालतको आदेश नमान्न निर्देशन नै जारी गरेका हुन् ।
उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका मेयर साम्पाङले निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले आइतबार आदेश दिएपछि उनको प्रतिक्रिया यस्तो आएको हो ।
उनले आफूलाई अदालतले नभई नागरिकले चुनेको बताएका छन् । उनले आफूले नागरिकको मताधिकारका आधारमा वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएको बताएका छन् । ‘मलाई कुनै अदालतले चुनेको होइन । लोकतन्त्रमा सार्वभौम नेपाली नागरिकको शासन गर्ने अधिकार मताधिकारले चुनेको हो । म ५ वर्षसम्म धरानको प्रमुख हुँ, जुन जनताले बनाउनुभएको हो । मैले नागरिकले दिएको अधिकार दिएर ११ नम्बरका वडाध्यक्षलाई कार्यवाहक छोडेको छु । मैले जसलाई अधिकार दिएँ, उही हो कार्यवाहक । केही हल्ला नगर,’ उनले लेखेका छन् ।
‘मामा–ससुरा’ नाता पर्ने धरान उपमहानगरपालिका– ११ का वडाध्यक्ष फागोलाई जिम्मेवारी सुम्पिएर मेयर साम्पाङ उपहानगरपालिकाबाट नभई व्यक्तिगत हिसाबले श्रीमती र छोरासहित लन्डन उडेका थिए । यसको विरोध धरानका राजनीतिक दलहरूले पनि गरिरहेका छन् ।
उपमेयर आइन्द्रविक्रम बेघाले हालेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले कार्यवाहक मेयरको जिम्मा पाएका धरान– ११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई तत्काल काम नगर्न आदेश दिएको थियो ।

प्रकाशित मिति: कार्तिक ५ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend