केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली मधेश प्रदेशसभा सम्बोधन गर्न त्यता पुगे । प्रदेश सभा सम्बोधनपछि उनी हेलिकप्टरबाटै सिरहा पुगे । त्यहाँ जनसभा राखिएको थियो । तर, त्यो जनसभा जनसभाजस्तो थिएन । प्रधानमन्त्री बोल्ने क्रममा धेरैले कार्यक्रम नै छाडेर घरतिर दौडिए । प्रधानमन्त्री ओली स्टेजमा बोलिरहँदा कार्यक्रमस्थल भने सुनसान जस्तै हुन लागेको थियो । मधेशका जनता अशिक्षित छन् भन्ने गरिन्छ । यद्यपि, यो घटनाले मधेशका जनता धेरै शिक्षित रहेको स्पष्ट भएको छ । उनीहरुलाई राजनीतिक दलहरुले देश कहाँ पुरयाए भनेर थाहा छ ।
राजनीतिक दलहरुले देशलाई कहाँ पुरयाए ? हाम्रै आँखाअगाडि छर्लङ्ग छ । जनतामा निराशा बढ्दो छ । दल, नेताप्रति वितृणा, घृणा बढिरहेको छ । मधेशमा भएको यो घटना त शुरुवात मात्रै हो । यस्तै चाला हो भने देशभरका जनताले प्रधानमन्त्रीसहित राजनीतिक दलका नेताहरुलाई बहिष्कार गर्नेछन् । उनीहरुको कार्यक्रममा सहभागी हुने छैनन् ।
जनताले ओली, देउवा, प्रचण्ड, नेपाल जस्ता नेता जुनसुकै पार्टी भएपनि आफ्नै स्वार्थमा रमाउने भन्न थालिसकेका छन् । कसैलाई देश र जनताको चिन्ता छैन भन्न थालिसकेका छन् । सत्तामा पुग्न पाइन्छ कि पाइँदैन ? भन्ने सत्ताकेन्द्रित मानसिकता अधिकांश नेतामा देखिन्छ । अहिले जनताले बुझिसके कि कुनै पनि दल र नेता असल, इमान्दार छैनन् । नेता भनेको त्यागी हुनुपर्छ । हामी कहाँ चाहिँ ठ्याक्कै उल्टो । राज्यको ढुकुटी दोहन गर्ने छुट कसलाई छैन । आखिर देश बचोस्, नबचोस् आफ्नो हात चाहिँ खाली हुनुभएन । विदेशीसँग लिए २७ खर्ब ऋण । जनताले तिरेको कर र विदेशबाट पठाएको रेमिट्यान्ससमेत स्वाहा ।
सहकारीमा सोझासाझा जनताले राखेको खर्बौ रकम, निर्माण व्यवसायीको ४५ अर्ब, दूध र उखु किसानको सात अर्ब तथा कोरोना बीमाको २४ अर्ब रुपैयाँ खोइ ? दलका नेताको चाल ठीक छैन । यतिले मात्र कहाँ पुग्थ्यो र, देशभरका सरकारी, सार्वजनिक, गुठी, मठ–मन्दिर, तालतलैया, पोखरी आदिको जग्गा पनि कता गए ?
त्यसैले, दलहरुको कार्यक्रम बहिष्कार हुन थालिसकेको जनताले बुझ्न थालेका छन् । देशमा बेरोजगारी छ । गरिबी छ । बिहान बेलुकाको टाक टार्न सर्वसाधारणलाई धौंधौं परेको छ । यसैको फाइदा उठाएर दलहरुले सोझासाझा जनतालाई एक हजारदेखि दुई हजार रुपैयाँ दिई मासु भात खुवाउने प्रलोभन देखाएर कार्यक्रममा ल्याउने गर्छन् । यद्यपि, अब भने जनताको आँखा खुल्न थालेको देखिन्छ । बरु उनीहरु पैसा फिर्ता दिन तयार हुन्छन् तर दलहरुको झुटा भाषण सुन्नेवाला छैनन् । दलहरुको सदस्यता त्याग अभियान चलाउनुपर्छ । जनता लोभलालचमा नलागी पार्टीको सदस्यता त्यागुपर्छ । किनकि पार्टीभन्दा ठूलो देश हो । हामी जनता अझै पनि लोभलालचमा फस्ने हो भने भविष्यमा ठूलो क्षति व्यहोनुपर्ने छ । श्रीलंका, बंगलादेशको अवस्था हामी सबैले देखिसक्यो । नेपाललाई यो हुनबाट जोगाऔं ।
नेताहरुको कार्यक्रम बहिष्कार गरौं । दलहरुलाई बहिष्कार गरौं । यतिले पनि दलहरुमा चेतना नआए देशबाटै लखेट्न पनि जनता तयार हुनुपर्छ । किनकि देशभन्दा ठूलो अरु केही होइन । आज यही नेता भन्दाउँदाहरुले देश सिध्याए । हामी जनता चाँहि अझै पनि पार्टी पार्टी भनिरहेका छन् । सर्वसाधारणको आँखा खुल्न आवश्यक भइसकेको छ । विदेशीसँग ऋण ल्याउँदा मोजमस्ती गरिरहेका छन्, दल र नेता । अहिले २७ खर्ब रहेको विदेशी ऋण दुई वर्षपछि ५२ खर्ब पुग्नेछ । व्यापारी कर छल्छन् । सरकार कारबाही गर्दैन । जबकी जनताले एक रुपैयाँ कर छलेमा पनि कारबाहीको भागिदार हुनुपर्छ । यहाँ सानालाई ऐन, ठूलालाई चैन भयो । त्यसैले, अब जनता सचेत हुनुपर्छ ।
जनता सार्वभौम हुन् । जनताले चाहेमा जे पनि गर्न सक्छ । मुलुकमा विभिन्न समयमा भएको राजनीतिक परिवर्तन जनताकै संघर्षबाट भएको हो । लोकतन्त्र गणतन्त्र पनि १७ हजार नेपाली जनता शहिद बनेपछि स्थापित भएको हो । अहिले यही व्यवस्थामा दल र नेताहरु मोजमस्ती गरिरहेका छन् । जनताको रगत बगेर आएको व्यवस्थाले नेताहरुलाई आराम दिइरहेको छ । यतिमात्र होइन, नेताहरुले लोकतन्त्र गणतन्त्रको गलत फाइदा उठाए । भनिन्छ, अन्याय गर्नु तर अत्याचार नगर्नु ।
त्यतिले नपुगेर देशै धितो राखेर विदेशीसँग ऋण लिए । विदेशी या आन्तरिक ऋण तिर्न सरकारसँग आम्दानीको स्रोत छैन । कर्मचारी, जनप्रतिनिधिलाई तलबभत्ता दिनैपरयो । सामाजिक सुरक्षा भत्ता दिनैपरयो । अहिले सरकारी साधारण खर्चसमेत सरकार विदेशीसँग ऋण लिएर धानिरहेको छ । विकास त परको कुरा हो । सरकारी खर्च पनि धान्न नसक्ने अवस्थामा सरकार छ ।
यस्तो अवस्थामा नेताहरु पनि देश विकास गछौं भन्दै जनतालाई भ्रममा पारिरहेका छन् । जनता झुटा भाषणको विश्वासमा पर्नुहुन्नँ । कार्यकर्ताबाट माथि उठ्नुपर्छ । पार्टी ठूलो कि देश ? जनताले छुट्याउन सक्नुपर्छ । जनतामा चेतना आएको दिन नेताहरुको यो देशमा बास हुने छैन । मधेशबाट त यसको शुरुवात भइसकेको छ । अब अन्य जिल्लामा जनताले कहिलेबाट गर्छन् ? उनीहरुलाई देशको कति माया छ ? हेर्न बाँकी छ ।