धरानः धरान जेसीजको स्वर्ण जयन्तिको अवसरमा चन्द्रपुर डबली (मञ्च) को शिलान्यास भएको छ ।
धरान–३ स्थित धरानको ऐतिहासिक पृष्ठभूमि बोकेको पूरानो बजार चन्द्रपुर बजारमा सो डबलीको निर्माण गर्न लागिएको हो । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (साम्पाङ), धरान जेसीजका संस्थापक अध्यक्ष श्यामगोविन्द्र श्रेष्ठ र धरान ३ नंं. वडाध्यक्ष विद्या शाक्यले संयुक्तरूपमा एक समारोहका बीच सो डबलीको शिलान्यास गरेका थिए ।
धरान सबै जातजातिको साझा थलो भएकाले सबैको लागि सबैको सहमति र सहभागितामा विकासका काम गर्ने नगर प्रमुख साम्पाङले बताए । धरान जेसीजले निर्माण गर्ने डबलीमा धरान उपमहानगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले जेसीज युवाहरुलाई आफ्नो व्यक्तित्व र नेतृत्वको विकाससँगै सामाजिक काममा अभिप्रेरित गर्ने सस्थाको रुपमा आफूले बुझेको धारणा व्यक्त गरे ।
धरान जेसीज स्थापनाको ५० वर्ष पूरा भएको उपलक्ष्यमा एक स्मारकमो रुपमा यो डबली निर्माण गर्न लागिएको धरान जेसीजका अध्यक्ष विदुर थापाले प्रष्ट पारे । साथै वर्षभरी नै स्वर्ण जयन्तिको अवसरमा विभिन्न सामाजिक गतिविधिहरु सञ्चालन गरिरहेको समेत उनले जानकारी गराए । वडा कार्यालय, उपमहानगरपालिका र स्थानीयको समेत सहभागितामा धरान जेसीज परिवारको संलग्नतामा सबै मिलेर काम गर्न पाउँदा आफूहरुलाई खुशी लागेको उनले बताए ।
धरान जेसीजले निर्माण गर्न लागेको डबलीले स्थानीयहरुको कला, संस्कार र संस्कृति समेत प्रर्दशन गर्ने र विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न सक्ने मञ्चको रुपमा समेत रहने भएकाले यसमा स्थानीयहरुको समेत साथ र सहयोग रहने नेवाः देय दबूका केन्द्रीय उपाध्यक्ष अनिल मास्केले धारण व्यक्त गरे ।
धरानको ३ नं. वडा ऐतिहासिक वडा भएकाले यसको सौन्दर्यकरण र विकासमा धरान उपमहानगरले विशेष ध्यान दिनुपर्ने कुरामा वडाध्यक्ष विद्या शाक्यले आफ्नो धारणा राखे । उनले धरान जेसीले आफ्नो वडामा बनाउन लागेको डबली निर्माणका लागि आफ्नो व्यक्तिगत तर्फबाट र वडाको तर्फबाट सक्दो आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
करिब १० लाखको लागतमा काठमाडौको जस्तै नेवारी शैलीमा बन्ने सो डबली आगामी भाद्र १४ गते उदघाटन गर्ने लक्ष्य रहेको निर्माण समितिको संयोजक समेत रहेका पूर्व अध्यक्ष मोहन श्रेष्ठले जानकारी गराए । निर्माण कार्यका लागि रु ११ हजार भन्दा माथि रकम सहयोग गर्नेको नाम शिलालेखमा राख्ने योजना रहेको कुरा जानकारी गराए । डबली निर्माणका लागि संस्थापक सदस्य समाजसेवी कृष्णप्रसाद श्रेष्ठबाट रु. एक लाख एक हजार, संस्थापक अध्यक्ष श्यामगोविन्द श्रेष्ठबाट रु एक लाख एघार हजार र पूर्व अध्यक्षहरुबाट कम्तिका एघार हजारका दरले सहयोग प्रदान गरिने भएको छ ।
सो कार्यक्रममा स्थानीय जगन्नाथ ताम्राकारबाट ३ थान गजुर प्रदान गर्ने भएको छ । साथै कार्यक्रममा अर्का स्थानीय व्यक्तित्व बाबुलाल शाहबाट रु. एघार हजार प्राप्त भएको थियो । कार्यक्रममा धरान जेसीजकी निवर्तमान अध्यक्ष आयूष्मा शाक्य, संस्थापक सदस्य कृष्ण प्रसाद श्रेष्ठ, संस्थापक प्रथम महिला रेवा श्रेष्ठ, पूर्व अध्यक्ष क्लवका अध्यक्ष सरोज श्रेष्ठ, प्रथम महिला समूहकी संयोजक कोपिला श्रेष्ठ, ३ नं. वडाका सदस्यहरु, टोल विकास संस्थाका अध्यक्षहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो ।






