Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तिहार नजिकिएसँगै व्यापारीको ठगी र खान अयोग्य सामानको बिगबिगी

अनुषा थापा
असोज २९ २०८२, बुधबार
तिहार नजिकिएसँगै व्यापारीको ठगी र खान अयोग्य सामानको बिगबिगी

तिहार नजिकिँदै छ । भाइटिका आउन अब दुई सातापनि बाँकी छैन । त्योसँगै बजारमा सामान किन्नेहरुको चहलपहल छ । भाइमसला, ओखर, नरिवललगायत तिहारलाई नभई नहुने सामानहरुले बजार भरिएको छ । के ती सामान यसैवर्ष आयात गरिएको हो ? होइन । ठूल्ठूला व्यापारीले पहिले नै सामान आयात गरेर राखेका हुन्छन् ।
ठूल्ठूला व्यापारीले सामान होलसेललाई बेच्छन् । त्यहीँ सामान होलसेलवालाले खुद्रा व्यापारीलाई बेच्ने हो । एकाध वर्षअघिदेखिको सामान बजारमा बिक्रीका लागि सामान राखिएको छ । वर्षौंअगाडि ल्याएर थन्काइएको सामान बोराबाट निकाल्ने अनि ससाना पोका बनाएर बेच्ने ।
त्यस्ता सामानहरु बजारमा छ्याप्छ्याप्ती भेटिन्छ । ससाना प्याकेटमा प्याक गरेर खान अयोग्य सामान बेच्न राखिएको छ । भाइ मसलामा भएका अधिकांश सामानहरु बिग्रिएका हुन्छन् । ओखरमा गुदी नै हुँदैन । अन्य ड्राइफुट्रस पनि सुकेको, कालो भइसकेको हुन्छ । पहिले सस्तोमा ल्याएको सामान व्यापारीहरुले मँहगोमा बेचिरहेका छन् ।
कतिपय पसलमा वर्षौंदेखि बाँकी भएको भाइमसला पनि बेच्न राखिएको छ । तिहार लागेसँगै मिठाई पसलहरुलाई पनि भ्याइनभ्याइ भएको छ । तिहारमा बेच्नका लागि पसलेहरुले धेरै अगाडिदेखि मिठाइ बनाउन थालेका छन् । बाहिर मिठाइ पसल छ भने भित्र उनीहरुको बनाउने स्थल ।
मिठाई बनाउने ठाउँ अत्याधिक फोहोर, दुर्गन्धित र मिठाई बनाउने व्यक्ति एकदमै फोहोरी हुन्छन् । मैलो गन्जी लगाएर चुरोट खाँदै मिठाई बनाएको अधिकांश मिठाइ पसलमा देखिन्छ । उहिलेदेखि बनाएर राखिएको मिठाई उपभोक्ताले तिहारमा खरिद गर्छन् । न उनीहरुलाई मिठाई कहिले बनेको भन्ने थाहा छ न कहाँ बनाएको ?
खुरुखुरु पैसा तिर्छन्, लैजान्छन् । जसले स्वास्थ्यमाथि हानि पुर्याउने जोखिम छ । मिठाई पसलेले चाडबाडको मौका छोपेर पैसा पनि बढी लिन्छन् । तिहारमा मांसजन्य पदार्थको उत्तिकै उपभोग हुन्छ । तर, त्यतिबेलै ठगीधन्दा चल्छ । व्यापारीहरुले खसीको मासु भनेर बाख्राको मासु बेच्छन् ।
राँगाको मासु भन्दै भैंसीको मासु बेचिन्छ । भाउ भने बाख्राको खसीसरह र भैसीको राँगासरह लिइन्छ । कुखुराको हकमा त सबैलाई थाहा नै छ । फर्ममा मरेका कुखुराहरु पनि काटेर बेचिन्छ । दूध र दही तिहारमा धेरै नै उपभोग हुन्छ । व्यापारीहरुले दुई लिटर दूधमा त्यति नै पानी हाल्छन् र पाउडर मिसाउँछन् ।
केमिकल नहालिकन उब्जाइएको फलफूल र तरकारी बजारमा भेटिँदैन । तिहारमा ब्रिकीका लागि छिटोछिटो पकाउन र ठूलो बनाउन फलफूलमा केमिकल हालिन्छ । घरेलु मदिरा खानेयोग्य छैन । रासायनिक मल, राँगाभैंसीको हड्डीलगायतका खान नहुने सामानहरु घरेलु मदिरामा प्रयोग गरिन्छ ।
यता, पसल वा सुपरमार्केटहरुमा बेच्न राखिएको रक्सीहरुमा राजश्व अनुसन्धान विभागले टाँसेको स्टिकर भेटिँदैन । व्यापारीहरुले चाडपर्वको मौका छोपेर उपभोक्ता ठगीरहेका छन् । तर, सरोकारवाला निकाय आँखामा पट्टी बाँधेर बसेका छन् । यता, उपभोक्ताले पनि आफ्नो हकअधिकारको प्रयोग गर्न जानेनन् ।
व्यापारीले आफूलाई ठग्यो कि ? कम तौलको सामान दियो कि ? खान अयोग्य सामान पो बेच्यो कि ? तोकिएको रेटभन्दा बढीमा सामान बेच्यो कि ? उपभोक्ताले सोच्दैनन् । सामान हालिदिनु भन्छन्, पैसा तिर्छन्, हिँड्छन् । उपभोक्ता नै यस्तो भएपछि व्यापारीको ठग्ने मनोबल बढ्नु स्वाभाविकै हो ।
सरकार भन्छ, सामान खरिद गरेपछि बिल लिऔं । तर, व्यापारी बिल दिँदैनन् भने उपभोक्ता पनि माग्दैनन् । बिल नभएपछि सामान बिग्रिएको भएतापनि उजुरी गर्न मिल्दैन । व्यापारीले उपभोक्ताले तिरेको पैसाको १० प्रतिशत राज्यलाई राजश्व तिर्नुपर्छ । उपभोक्ताले भ्याट बिल लिए भने राज्यले राजश्व पाउँछ ।
तर, अधिकांश व्यापारीले भ्याट बिल दिँदैनन् । जसका कारण राज्य राजश्वबाट वञ्चित भइरहेको छ । व्यापारीले एकातिर राज्य ठगिरहेका छन् भने अर्कोतिर जनता । फेरि यसमा राज्य र जनता नै मतियार हुन् । राज्य अनुगमन गर्दैन भने उपभोक्ता ठगिएपनि बोल्दैनन् । जनताहरु नेताले देश लुटे भनेर थाक्दैनन् ।
तर, आफू लुटिएको जनता देख्दैनन् । जनता शिक्षित भए तर उनीहरुमा चेतना नै आएन । व्यापारीहरु खुलेआम ठगिरहँदा उपभोक्ता चुपचाप हिँड्छन् । र, तीन तहकै सरकारले बजार अनुगमन गर्दैन । अनुगमनका लागि स्थानीय पालिका छ । संघ र प्रदेशअन्तर्गत विभिन्न निकाय छन् ।
तर, कुनै निकायले बजार अनुगमन गरेको पाइँदैन । सरकारले दशैंमा बजार अनुगमन गरे । तिहारमा पनि पारा त्यस्तै छ । यहाा त जुनसुकै सरकार बनेतापनि व्यापारीलाई छुनसमेत नसक्ने रहेछन् भन्ने देखिसकिएको छ । व्यापारीहरुलाई चाडबाड कमाउने मौका हो । वर्षभरको आम्दानी व्यापारीहरुले चाडपर्वमा गर्छन् ।
व्यापारीहरु चिप्लो घसेर हुन्छ कि नेताहरुको विरुद्ध बोलेर उपभोक्ता ठग्छन् । सरकारले कुनैपनि सामानको मूल्य निर्धारण गरेको छैन । व्यापारीलाई सामानको मूल्य तोक्ने अधिकार दिएको छ । व्यापारीलाई जति मनलाग्यो त्यति नै सामानको रेट तोक्छन् । र, उपभोक्ता त्यतिमै सामान खरिद गरेर प्रयोग गर्न बाध्य छन् ।
मान्छे हेरेर व्यापारीले सामान बेच्छन् । सोझो छ भने अरुलाई दोब्बर लिनेमा तेब्बर लिइन्छ । व्यापारीहरुले व्यापारको नाममा ठग्ने र लुट्ने काम मात्र गरेका छन् । उनीहरुको दाउ नै कसरी मुर्गा बनाऊ भन्ने हुन्छ । सल्लाघारीको तीनकुनेस्थित ट्रष्टको जग्गामा यत्तिकै लंगुरगुच्छा खेलिरहेको देखिन्छ । ग्रुपग्रुप बनाएर लगुरगुच्छा खेलाइन्छ ।
सिर्जनानगरस्थित यातायात कार्यालयअगाडि रहेको पिपलको बोटमूनि पनि लगुरगुच्छा खेलिरहेको देखिन्छ । सल्लाघारीमा प्रहरी बिट छ । तर, प्रहरीहरु देखेर पनि अनदेखा गरिदिन्छन् । यता, जिल्ला प्रशासन कार्यालय पनि छ । सिडियोले पनि यस्ता विषयमा ध्यान दिएको पाइँदैन ।
व्यापारीहरुले कालोबजारी गरेका छन् कि उपभोक्ता ठगेका छन् ? सिडियोलाई थाहा छैन । सिडियोको काम नै सरकारी गाडी चढ्ने, कार्यालयमा हाजिर गर्ने र गफ ठोकेर बस्ने भएको छ । गृह मन्त्रालयले बजार अनुगमन गर्न सिडियोहरुलाई निर्देशन दिँदैन । उद्योग मन्त्रालयको पारा पनि उस्तै छ ।
ओमप्रकाश अर्याल गृहमन्त्री बनेको पनि महिनादिन भयो । कालोबजारी गर्नेहरुको सामुन्ने उनी निरीह छन् । उनी आएपछि नेपालीहरुको महान चाड दशैं आयो । तर, विगतमा भन्दा केही परिवर्तन देखिएन । व्यापारीहरुले ठगे, सरकार टुलुटुलु हेरिरह्यो । अहिले तिहार छ । तिहारमा पनि बजार अनुगमन हुने छाँटकाँट देखिँदैन ।
नेपालीमा एउटा उखान छ, जुन जोगी आएपनि कानै चिरेको । त्यस्तै अवस्था छ सरकारको । ठग्नेहरुलाई सरकारले नै संरक्षण गरिरहेको देखिन्छ । नत्र उपभोक्ता ठगिरहँदा सरकार के हेरेर बसेको छ ? राजश्व छल्ने र उपभोक्ता लुट्नेलाई सरकारले कारबाही गर्नुपर्छ कि पर्दैन ? वर्तमान सरकारबाट पनि कुनै परिवर्तन हुने संकेत देखिँदैन ।
कालोबजारी गर्ने, राजश्व छल्ने र सिण्डिकेट लगाउनेहरु झन् शक्तिशाली हुँदै गएका छन् । सरकार उनीहरुको अगाडि निरीह छ । जनताले देशमा सरकार छ र भन्नुपर्ने अवस्था छ । किन कि, जनताले सरकार भएको महसुश गर्न सकेका छैनन् । तिहारसँगै देउसी भैलो आउँदैछ ।
गृहमन्त्री अर्यालले देउसी भैलो र लगुरगुच्छालाई कडाइ नगर्ने हो भने अर्को ठूलो दुर्घटना हुन्छन् । यसमा सरकारको ध्यान जाओस् ।

प्रकाशित मिति: असोज २९ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • लोभ, अहंकार र प्रतिशोध: सामाजिक तथा संस्थागत विनाशका कारण

    -तोमनाथ उप्रेती मानव समाजको विकासलाई स्थिर, न्यायपूर्ण र विश्वसनीय बनाउने आधार नैतिक मूल्य, सामाजिक विश्वास र जिम्मेवार व्यवहार हुन्। जब व्यक्तिको सोच र व्यवहारमा लोभ,...

    • ३ दिन अगाडी
    • ७ मिनेट पाठ
  • धरानलाई नठगिने बजार बनाउन सकिन्छ !

    बेदप्रसाद सापकोटा, धरान उपमहानगरपालिका बजारलाई गुणस्तरीय, स्वच्छ, पारदर्शी र उपभोक्तामुखी बनाउन व्यवस्थित बजार अनुगमन अपरिहार्य छ । व्यवसायीलाई व्यावसायिक मर्यादा र कानुनको परिधिभित्र राख्न तथा...

    • ४ दिन अगाडी
    • ६ मिनेट पाठ
  • ग्याँस नपाउँदा कोठाभाडामा बस्ने भोकै !

    अहिले सबै नागरिकको गुनासो एउटै छ–ग्याँस पाइएन । ग्याँस नपाउँदा डेरामा बस्ने झनै समस्यामा परेका छन् । सरकारले २१ सय ६५ रुपैयाँ तोकेको ग्याँस...

    • ५ दिन अगाडी
    • ७ मिनेट पाठ
  • लोककल्याणकारी विज्ञापन कटौटीः छापा पत्रकारिता संकटमा

    सरकारले लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णय गरेपछि नेपाली छापा पत्रकारिता फेरि एकपटक गम्भीर संकटको मोडमा पुगेको छ । सरकारका लागि यो बजेट व्यवस्थापन,...

    • ५ दिन अगाडी
    • १२ मिनेट पाठ
  • झापातर्फ: जहाँ धरतीले हरियालीमा इतिहास लेख्छ

    -तोमनाथ उप्रेती पूर्वको क्षितिजतर्फ जाने यात्राहरूमा एउटा अनौठो आकर्षण हुन्छ। सूर्य त्यतैबाट उदाउँछ। उज्यालो पनि त्यतैबाट आउँछ। त्यसैले पूर्वको यात्रा सम्भावनातर्फको यात्रा पनि हुन्छ। यही...

    • ७ दिन अगाडी
    • १८ मिनेट पाठ
  • भोटेकोशी महाप्रलय बित्यासः अब पाठ सिकौं

    पछिल्लो समय बजारमा व्यापक चर्चा छ–काठमाडौं उपत्यका छिट्टै भासिन्छ । चिया पसलदेखि सार्वजनिक स्थलसम्म यही कुरा भइरहेको सुनिन्छ । यद्यपि, यो सत्य हो या...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend