Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सम्भवचाहिँ छ है

हाम्रो कोशी आवाज
जेष्ठ १० २०७७, शनिबार
सम्भवचाहिँ छ है

यो आलेख लेख्न बस्दा नारायण गोपालको अमूर्त तर बडो अर्थपूर्ण गीत पृष्ठभूमिमा बजिरहेको छ–
यो कस्तो व्यथा हो, लिएर मनमा हिँडिरहेछु, हिँडिरहेछु
ती भत्किरहेका पाइलालाई सोधें, के हो भनेर
केही होइन भन्छन्
ती चर्किरहेका भित्तालाई सोधें, के हो भनेर
केही होइन भन्छन्
ती सल्किरहेका आगोलाई सोधें, के हो भनेर
केही होइन भन्छन्
यो कस्तो व्यथा लिएर मनमा हिँडिरहेछु, हिँडिरहेछु…
याे गीत सुन्दासुन्दै कानमा अर्कै गीत गुञ्जिन्छ-
यो कस्तो कोरोना हो
लिएर डर, हिँडिरहेछु, हिँडिरहेछु
ती लडिरहेका मान्छेहरूलाइ सोधेंं, के हो भनेर
खै, थाहा छैन भन्छन्
ती जुधिरहेका डाक्टरहरूलाई सोधेंं, के हो भनेर
खै, थाहा छैन भन्छन्
ती एक्लिएका मान्छेहरूलाई सोधेंं, के हो भनेर
खै, थाहा छैन भन्छन्
यो कस्तो कोरोना हो
लिएर डर, हिँडिरहेछु, हिँडिरहेछु …
यसअघि टाढाबाट लेखेको ‘अदृश्य भाइरससँग तेस्रो विश्वयुद्ध’ लेखपछि कतिपय मित्रले मलाई सोधिरहेका छन्–अब मान्छेले कस्तो पाठ सिक्ला त कोरोना महामारीपछि ?
सोध्ने मित्रले कस्तो जवाफ अपेक्षा गरिरहेका छन्, म राम्ररी अनुमान गर्न सक्छु। उनीहरू ठानिरहेका छन्, म भन्नेछु – हो, यसबाट मान्छेले ठूलो पाठ सिक्नेछ। जीवनशैली बदल्नेछ। ‘सोसियल डिस्ट्यान्सिङ’ कायम गर्नेछ। मज्जाले हात मुख धुन थाल्नेछ। आफू कति कमजोर रहेछु भन्ने बोध गर्नेछ।
तर मेरो चेतले ठीकविपरीत भनिरहेको छ – मान्छेले यसबाट पनि खासै शिक्षा लिने छैन। ऊ घटना भइन्जेल सहन्छ। तर घटनापछि फेरि फर्किन्छ – उही स्वरूप र चरित्रमा।
मान्छे पाठ सिक्न जन्मेकै होइन। ऊ त आफ्नो मनमाैजीले जिउन जन्मेको हो। दुःख परेका दिन दुःखी हुन्छ, झोक्रिन्छ। र, सुखका दिन आएपछि फुर्किन्छ। उत्ताउलिन्छ। यो औसत मान्छेको चरित्र हो।
ए, यस्तो हुँदा यस्तो गर्नु पर्दोरहेछ जान्नु पनि कहीं पाठ हो र ? त्यो त सिर्फ अनुभव हो। अनुभव र पाठ फरक फरक चिज हुन्। अनुभव फेरि त्यस्तै घटनाका लागि मात्र काम लाग्छ। पाठ त सबै खाले घटनाका लागि काम लाग्ने पो हुनुपर्छ त।
प्रस्ट भए हुन्छ – कोरोनाले पनि हामीलाई त्यति ठूलो र सबैलाई सधैंलाई काम लाग्ने पाठ सिकाउँदै छैन सिकाउने छैन।
साबुन पानीले हात धुने, स्यानिटाइजर बढ्ता प्रयोग गर्ने, मान्छेसँगका भौतिक दूरी कायम राख्ने, कोरोनाविरुद्धको भ्याक्सिन तयार भएछ भने लगाउने, अनलाइन काम र शिक्षामा जोड दिनेजस्ता दैनिक जीवन गुजाराका सतही पाठ सिकाइमा मलाई त्यत्ति रुचि छैन।
म त्यसलाई पाठ सिकेको पनि मान्दिनँ। त्यो ‘रफु पाठ’ले सिंगो कपडा (जीवन) लाई कहाँ पहिलैकै रङ र स्वरूप दिन सक्छ र ?
आज कोरोनाका लागि एउटा पाठ तयार हुन्छ। फेरि अर्को चिज आउँछ।
अर्को बिलकुल फरक र नौलो भाइरस आउँछ। मानौं, अबका केही वर्षमा हेरे वा देखेकै भरमा लाग्ने ‘दृष्टि भाइरस’ आयो तर आज हामी त्यस्तो भाइरसको कुनै कल्पना गरिरहेका छौं त ? अथवा ध्वनीबाट अर्थात् सुनेकै भरमा कानबाट छिर्ने कुनै ध्वनी (भाइरस) को कल्पना र त्योसँग लड्ने कुनै तयारी सोचिरहेका छौं त ?
हामीले त्यस्तो परिस्थितिको कल्पना गर्दै समाधानका उपाय सिकिरहेका छौं त ?
अहिले हामीले कोरोनाबाट सिकेको पाठ त्यतिबेला काम लाग्छ त ?
अहँ, लाग्दैन।
हामी अहिले कोरोनामा केन्द्रित छौं। केवल कोरोनामा। अर्थात् हामी जति बेला जस्तो संकट पर्छ। त्यसकै मात्रै पाठ सिक्छौं। र, हामी कोरोनाको संकटपछि फेरि अर्के कुनै विपद्को पर्खाइमा हुन्छौं।
कोरोना होस् वा अरू कुनै, हरेक संकटले मान्छेलाई एउटा न एउटा पाठ पढाएर जान्छन् ।
दुर्भाग्य चेतना, विचार, मानवीय गुण, व्यवहार र आत्मिक चिन्तनको तहमा हामीले पाठ सिकिरहेकै छैनौं।
ट्वान्टी वान लेसन्स फर ट्वान्टी फर्स्ट सेन्चुरी किताबका लेखक युभल हरारीले भन्ने गरेजस्तो यो डाटावाद को समय हो, जहाँ संख्या र तथ्य एउटा डाटाकेन्द्र मा राखिनेछ, विश्लेषण गरिनेछ। र, त्यसैका आधारमा समाधानका उपाय खोजिनेछ र हिसाबकिताब गरिनेछ।
ह्वाइट हाउसले अहिले यही गरिरहेको छ। अनि सिंहदरबारले गर्ने पनि यही हो।
मलाई सरकार र नीति निर्माता रफुकार जस्ता लाग्छन्, जहाँका होउन्। यिनै हुन्, जसले चोरी बढाउँछन्। र, प्रहरीको संख्या थप्छन्।
कोरोनाले संसारमा यति मान्छेको मृत्यु भयो, चीनमा यति, इटालीमा यति, स्पेनमा यति, अमेरिकामा यति, यति व्यक्तिगत सुरक्षा सामाग्री र भेन्टिलेटर चाहिँदोरहेछ, यस्तो भ्याक्सिन लगाउनु पर्दोरहेछ, बिरामीलाई यसरी ‘ट्रेस’ गर्न सकिँदोरहेछ जस्ता कुराको ‘क्यालकुलेसन’।
मान्छेका पीडा, संवेदनशीलता, मूल्य र सौन्दर्यका आधारमा होइन, डाटाका आधारमा समस्या समाधानको खोजी .
हामीले सिक्ने पाठ यत्ति नै हो। यो सतही पाठले हामीलाई एकपछि आइरहने अज्ञात आपतबाट बच्न सिकाउँदैन।
मानव इतिहासमा यसअघि पनि कैयौंपटक यस्ता रोग, प्रकोप र युद्धसिर्जित संकट आएका छन्। तर तिनबाट मानवले साँच्चिकै पाठ सिक्यो त ?
अहँ।
फेरि पनि भनौं हामी पाठ सिक्न जन्मिएकै होइनौं। हामी त प्रकृति दोहन र मनमौजी गर्न जन्मिएका जीव हौं।
हामीलाई सिर्फ आफ्नो ज्यानको माया लाग्छ। भोगविलासको लोभ लाग्छ। त्यसैका लागि हामी दिमाग र इन्द्रीय प्रयोग गर्न चाहन्छौं।
हामीलाई हाम्रा स्वार्थ र स्वाद प्रिय छन्। हामीले सिकिरहेको पाठको ‘प्याटर्न’ नै गलत छ। तर हामीले खोज्नुपर्ने र सिक्नुपर्ने पाठ त मानवीय चेतको हो। हाम्रा काम, क्रोध, लोभ र मोह कती बिछट्टसँग मनलागी दौडिरहेका छन्, बेपत्तासँग। तिनलाई हामीले कुन हदसम्म नियन्त्रणमा राख्नुपर्छ भन्ने पाठ पो हो त, सिक्नुपर्ने ?
हात धुँदैमा चेतनाका कीटाणु कहाँ पखालिन्छन् र ? मान्छेसँगका भौतिक दूरी ६ फिट राखेर कहाँ हुन्छ र ? जब हामी आफ्नो दिमागमा खराब र विषाक्त विचारका भाइरस बोकेर हिँडिरहेकै हुन्छौं।
जे सकंट आइलाग्यो, त्यहीसँग मात्र लड्न सिकेको पाठ अर्को नौलो संकटका लागि कहाँ काम लाग्छ र ? लाग्ने भए त यसअघि पनि इतिहासमा पाठ सिक्नलायक संकट नआएका हुन् र ? हामी एक समयमा एउटा पाठ सिक्छौं। र, अर्को पाठ सिक्न अर्काे समय (संकट) को प्रतीक्षामा रहन्छौं।
आजको व्यापारिक र भौतिक दुनियाँको चरित्रै यही हो। तपाईं यसलाई घोर निराशावादी विचार भन्नुस् वा जे भन्नुस्, चेतयुक्त, गहिरा र सर्वकालीन पाठ हामीले कोरोना संकटबाट पनि सिकिरहेका छैनौंसिक्ने छैनौं।
ग्राफको तुलना र विश्लेषण गर्ने यो समयमा मानवीय मूल्य, संवेदनशीलता र त्यसका प्राकृत चरित्रबारे हामीले कहाँ चासो दिइरहेका छौं र <
ग्राफमा संवेदना र भाव झल्किँदैन। डाटा र ग्राफले कुनै एक मृत्युलाई केवल त्यही एक व्यक्तिको मृत्युको अर्थमा लिन्छ। तर मृतक र उसका परिवारका लागि त्यो मृत्यु ज्यादै ठूलो र अमूल्य हुन्छ। डाटा र ग्राफले त्यो बुझाउँदैन।
जबसम्म एक जनाको मृत्युलाई पनि करोडौंको भाव र संवेदनशीलतासँग दाँजिदैन, सरकार र नीति निर्माताले दाँज्दैनन्, तबसम्म सही पाठ कहिल्यै सिकिँदैन।
पाठ सिक्ने नै हो भने पहिला हामीले हाम्रा अर्थात् प्रत्येक मानवका स्वभाव, गुण, संवेदनशीलता र प्राकृतिक चरित्र पहिचान गर्नुपर्छ।
मनलागी बजार चहारेका र समाजमा राइँदाइँ गरेका मान्छे आज घर र कोठामा कैद हुनुपर्दा उकुसमुकुस त पक्कै भएको छ। अदृश्य र अज्ञात भाइरसले पछ्याउँदा यता भागौं कि उता भागौं वा भाग्ने ठाउँ नै छैन भनेजस्तो अवश्य भएको छ।
केही दिनयता म कोरोनाबारे मान्छेका अनेकथरी चिन्तन र विश्लेषण पढि/सुनिरहेको छु। तीमध्ये धेरैजसोले कोरोनाले मान्छेलाई पाठ सिकाएको भनिरहेका छन्। मान्छेले अब चेत्ने विश्लेषण गरिरहेका छन्।
तर मलाई तिनका विश्लेषण, मृत्यु-भयको भावावेशजस्ता मात्रै लाग्छन्।
एउटा कुराचाहिँ साँचो रहेछ – मान्छे सबैभन्दा बढी मृत्युसँग डराउँदोरहेछ। यसरी नै मानिस आफ्ना काम, क्रोध, लोभ, मोह र धाक–धक्कुसँग डराए आज दुनियाँ अर्कै भइसक्थ्याे होला ?
भारतकी चर्चित अभिनेत्री कंगना रनावतले हालै कतै एउटा भिडियो सन्देशमा भनिरहेकी थिइन्, ‘दिन आज यस्तो आएको छ धन, समाज, नाम, प्रतिष्ठा र सम्बन्धभन्दा प्यारो जिन्दगी भएको छ।’
हो त, कुरा सिर्फ जिन्दगीको रहेछ। बाँकी कुरा त गौण।
सिके त सिक्ने कुरा छ नि! पाठ सिक्ने यति ठूलो अवसर बिरलै पाइन्छ।
तर सिक्दैनौं।
केही वर्षअघि नेपाललाई भूकम्पले क्षतविक्षत पारेपछि मलाई लागेको थियो र लेखेको पनि थिएँ- अब नेपाली पहिलेभन्दा फरक, तौलीतौली, बडो होसियारीपूर्वक, उदारपूर्वक, श्रद्धापूर्वक, सेवा-भावले हुरुक्क भएर व्यवहार गर्ने, मायाले भरिएका, स्वार्थरहित, असाध्यै दयावान्, काम, क्रोध, लोभ र मोहबाट मुक्त, असाध्यै निर्मल जातका रूपमा परिणत हुनेछन्।
तर त्यस्ता भए त ?
अहँ, भएनन्।
बरु उल्टै, कसरी बाँचियो भन्ने पनि बिर्सिएका जस्ता भए।
यो कोरोना महामारीपछि पनि मानिस हुने यस्तै हो।
यसैले माफ गर्नुहोला पाठक कोरोना महामारीपछि पनि मान्छेले खासै केही मानवीय पाठ सिक्ने छैन।
बानी बदलिनु र चेत फिर्नु फरक-फरक कुरा हुन्। दैनिक गुजाराका तरिकामा, बानीमा केही बदलाव आउलान्, तर चेतमै परिवर्तन आउन मुस्किल छ।
सम्भवचाहिँ छ है।

प्रकाशित मिति: जेष्ठ १० २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ६ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend