Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नियात्राः ब्रिटानीय क्रुज

हाम्रो कोशी आवाज
भाद्र १४ २०७७, आइतबार
नियात्राः ब्रिटानीय क्रुज

जिन्दगीभरि पलाएका दिलचस्पी रहरहरू पुरा गर्ने सबैभन्दा उत्तम उपाय पानीजहाज नै हो भन्ने कुरो हामीले पर्ववर्ती पानी जहाजहरूको यात्रा गरेर अनुभव गरिसकेका थियौं । किनभने पानीजहाज यात्रामा छँदा हरेक बन्दरगाहहरूमा आविभार्व एउटा सुनौला बिहानी सँगसँगै अर्को एउटा नयाँ सहरको जन्म भइरहेको हुन्थ्यो । तिनै प्रसूत नयाँ सहरको नयाँ प्रेम, माया र स्नेह सँगसँगै हरेक बिहानी हामी स्फूर्तिको साथ ब्युझिरहेका हुन्थ्यौं ।
तारासँग स्क्यानडेनिभियन मुलुकहरूमध्ये डेनमार्क, फिनल्याण्ड, स्वीडेन र नर्वेको यात्रा पहिल्यै पूरा गरिसकेका थियौं तर आइसल्याण्डबाट देखिने उत्तरी बत्ती ‘नर्दन लाइट’ हेर्ने समय मिलाइहाल्न सकेका थिएनौं, किनभने त्यो एकदम सही समयमा हुन जरुरी थियो । तिनैमाथि उल्लेख गरिएका राष्ट्रहरू सबै सुन्दर भएतापनि किन किन हामीलाई दोहोरयाएर नर्वे जान मन लागिरहेको थियो ।
दोस्रोपटक नर्वे जाने निधो गरेपछि ‘ब्रिटानीय क्रुज’ बाट ‘नर्वेजियन फियोर्ड’ को एकहप्ते यात्रा मैले आरक्षण गरेको थिएँ । अरू राष्ट्रभन्दा नर्वेको प्राकृतिक रङ्ग मञ्चीय दृश्य, वन जङ्गल, खोला–नाला, झरना, डाँडा–काँडा, ताल–तलैया र हिमशिलाहरूको सुन्दर दृश्यावलोकन गर्न मन पराउने जो कोहीले त्यस यात्रालाई सम्भवतः स्वर्गीय यात्रा भनेर मान्दथे ।
स्क्यानडेनिभियको ठीक विपरीत खडेरीले वयस्क हुन नपाउँदै जिउँदै सुक्दै गरेका खजुरका रूखहरू र सूर्यको नमिठो तापले टलक्कै टल्केका मरुभूमिको वालुवाहरूसँग मितेरी गाँस्न । त्यसको ६ महिनापछि हाम्रो ११ औं पानीजहाज यात्रा ‘जेवेल अफ द सिज’ रोयल क्यारिबियनबाट पर्सियन खाडी राष्ट्रहरूको १० दिने यात्रा पनि हाम्रो अग्रिम आरक्षण भएको थियो ।

ग्रिनविच समयअनुसार बिहानको १० बजे पानीजहाजको सहयात्री क्रिस र सानुसँग ‘ओसन टर्मिनल’ साउथाम्पटनको मुखैमा हाम्रो भेट भएको थियो । तारा र मैले एकदिन अगाडि नै घर छाडेर ‘लियोनार्डो राजकीय होटल’ मा एक रात बास बस्न पुगेका थियौं ।
‘होटलको समय कस्तो रह्यो ?’ क्रिसले हामीलाई भेट्नेबित्तिकै जिज्ञासा ब्यक्त गरे ।
प्रश्नको प्रति उत्तरमा रातभरि पोखिएको मुसलधारे वर्षाले होटलको छानोमा भरेको संगीतसँग सुत्न सकेनौ भन्ने अशुभ समाचार बेखुशी हुँदै उसलाई सुनाएँ । गत रात बर्सिएको तिनै बेसरम मुतले बिहानी पखसम्म सहरका बाटोघाटो भिजाएको थियो । हाम्पसायर जिल्लाको मध्यवर्ती भाग हुँदै बहेर आउने ‘इटचन नदी’ साउथाम्पटान पानीको मुखसम्म नपुग्दै कालोमैलो भएर त्यसबेलासम्म उर्लिरहेको देखिन्थ्यो ।
हाम्रो भेटघाटपछि नजिकै रहेको कार पार्कमा आ–आफ्नो कार पार्क गरेर राख्यौं र लुगाफाटाले टन्न भरिएको एक एक वटा रबरका बाकस सडकको पेटीबाट सरर गुडाउँदै बन्दरगाहतर्फ लाग्यौं । साउथाम्पटनमा अवस्थित त्यो बन्दरगाह बेलायती पानीजहाज ‘पि एन्ड ओ’ क्रुज कम्पनीको घरायसी बन्दरगाह थियो । हामीले त्यही बन्दरगाहबाट पटक–पटक अन्य कम्पनीका पानीजहाजहरू चढेका भएतापनि ‘पि एन्ड ओ’ कै पानीजहाज प्रथम पटक चढ्दै थियौं ।
सहरमा रातभरि पानी परेको भएतापनि बिहानीपख तिरिरी घाम देखा पर्दै थियो । त्यति सफा गरी खुलेको निलो आकाशमुनिको त्यो दिन १० जुन २०१९ को थियो । हामी चारजना ढल्किँदै ढल्किँदै सडकको पेटीमा हिँडेर बन्दरगाहको अध्यागमन हलभित्र छिरेका थियौं । डेढ सय वर्षको बेलायती पानीजहाजको इतिहासमा सबैभन्दा ठूलो पानीजहाज झ्यालबाट देखेर हामी केही बेर स्तब्ध भयौं ।
ब्यस्त बेलायती जिन्दगीबाट भागेर एक हप्ता छुट्टी मनाउन जाने प्रफुल्ल मुद्राका यात्रुहरुले अध्यागमनको हल खचाखच भरिएका थिए । त्यहाँ देखिएका धेरैजसो यात्रुहरू पेन्सन पाकेका बुढापाकाहरु मात्रै थिए । अन्य पानीजहाज भन्दा बेलायती पानीजहाजहरूमा अलिक बढी नियम पालना गर्नुपर्ने भएकोले लैन छोकडाहरूलाई यात्रामा जान त्यति धेरै प्रोत्साहित बनाउँदैन थियो । हामी हलभित्र पसेपछि विस्तारै भिडको पछि पछि लाग्यौं र बिजुलीबाट चल्ने स्वचालित भरयाङबाट माथिल्लो तलामा उक्लियौं ।

माथिलो तलामा लहरै टेबलहरू राखिएका थिए । हामी त्यहाँ पुग्ने बित्तिकै कर्मचारीहरूले हाम्रो कागजपत्रहरू चेकजाँच गर्न थाले । हामीले अग्रिम आरक्षित गरेको कोठाको नम्बर जाँचेपछि पानीजहाजको कोठा खोल्ने चाबी ‘कार्ड’ कर्मचारीहरूले हामीलाई हस्तान्तरण गरिदिए ।
त्यो कार्डले हाम्रो कोठा खोल्न मात्र नभएर पानीजहाजभित्र भएको दश वटा रेस्टुरेन्टहरुमा खाना खान, दोकानमा लुगाफाटा र गहना खरिद गर्न र १३ वटा भट्टी पसलहरूमा पेय पदार्थ किन्न पनि सहजै सकिने थियो । जतिबेला पायो त्यतिबेला सहज तरिकाले तिर्न मिल्ने प्लास्टिक कार्डमा कति खर्च भयो भनेर सुर्ता गरिरहन पनि पर्दैनथ्यो । एकैचोटी पानीजहाज छाड्ने बेलामा जमिनमा भन्दा दोब्बर महङ्गो माल समान खरिद गरेको एकमुष्ट हिसाब निस्किँदा मात्रै टाउको फुलिएर आउने गर्दथ्यो ।
पानीजहाजका कर्मचारीहरूले कागजी काम सकेपछि हाम्रा सुटकेसहरू उनीहरूसँग सँगै राखे । अनि हामीलाई एउटा ठूलो निलो कार्ड दिए । त्यसको साथ साथै ध्वनी प्रशारक यन्त्रबाट त्यस रङ्गको कार्डलाई उद्घोषण नगरुन्जेलसम्म कुर्सीमा आरामले बस्नोस् भनेर उनीहरूले अनुरोध गरे ।
मनभरि एक हप्ता यात्रामा गरिने रमाइलो क्षणहरूको कल्पना गर्दै गर्दै आरामदायी कुर्सीमा हामी थपक्कै बसिरह्यौ । पानीजहाज यात्रामा जाने मानिसहरूको भीड बढेर मुनि तलासम्म पुगिसकेको त्यहीँ कुर्सीबाट देखिन्थ्यो । त्यति धेरै मानिसहरूको हुल देखेपछि विश्वभरि सेवा दिइरहेको ३ सय १८ वटा क्रुजहरुको बारेमा हामीले एक अर्कामा केहीबेर कुरो गरिरह्यौ । हरेकदिन ५ लाख ३७ हजार मानिसहरू बोकेर धर्तीको एक ठाउँदेखि अर्को गन्तब्यसम्म तिनै पानीजहाजहरूले सेवा पुरयाइरहेका हुन्थे ।
नेपाल कम्युनिस्ट पार्टीको सरकारले तामझामको साथ पानीजहाज किन्ने कार्यालय खोलेको समाचार सुन्नमा आएको थियो । निकट भविष्यमा आफ्नो देशको चन्द्रसूर्य झण्डा भएको पानीजहाजबाट यात्रा गर्न पाइनेछ भनेर ताराले धेरै खुशी प्रकट गर्दै हामी सबैको अगाडि मुख खोलिन् ।
दुवैपट्टिको गाला दोब्रिएर कान कानसम्म पुरयाएर छाडेकी मुस्कानसहितको उनको आशावादी कुरो सुनेर मलाई मनमनै हल्का पीर परयो । किनभने त्यो ब्रिटानीय क्रुजको निर्माण गर्न ४७३ मिलियन पाउण्ड लागेको थियो । अझै पोहोर सालदेखि ६,६०० यात्रुहरु बोक्न सक्ने क्षमता भएको विश्वको सबैभन्दा ठूलो रोयल क्यारेबियनको ‘सिम्फोनि अफ द सिज’ सेवाको लागि विश्वमा हाजिर भएको थियो । जसलाई निर्माण गर्न १ बिलियन ३५ मिलियन डलर लागेको थियो । त्यो स्टर्लिङ पाउण्ड वा अमेरिकन डलर नेपालीमा रुपान्तरण गर्दा खै कति हुने होला भनेर विचरी बुईपामा हुर्केकी तारालाई के थाहा होला र….?

हरियो, कालो र बैजनी रङ्ग पछाडि निलो कार्ड बोक्ने मानिसहरूको पानीजहाज चढ्ने पालो आएको थियो । ध्वनी प्रशारक यन्त्रबाट निलो रङ्गको कार्ड बोक्ने मानिसहरू अध्यागमन छेऊमा जानुहोला भन्ने उद्घोष हुने बितिक्कै हामी अरूभन्दा अगाडि अध्यागमनतर्फ लाग्यौं । सुरक्षा ढोकामा हाते झोलाहरूको साथ साथै हाम्रा शरीरहरू जाँचिएपछि हामी हिँड्दै पानीजहाजभित्र पस्ने सानो पुल ‘ग्याङ वे’ लाई पार गर्दै भित्र पस्यौं ।
फिलिपिनो महिला कर्मचारीहरूले पानीजहाजभित्र पस्ने बितिक्कै हामीलाई पानीजहाजमा स्वागत छ तर सबैभन्दा पहिले १६ औं तलामा जानुहोला भन्ने निर्देशन दिए । हाम्रा कोठाहरू क्रमशः जि ७०८ र जि ७१० ८ औं तलामा भएतापनि कोष्ठ परिचरहरूले कोठाको साफ सफाई त्यति बेलासम्म गरिसकेका थिएनन् । महिला कर्मचारीहरूको निर्देशन पालन गर्दै बिजुलीको लिफ्ट चढेर हामी १६ औं तलामा पुग्यौं ।
लिफ्टबाट निस्किनेबितिक्कै टोस्टरमा डढ्दै गरेको रोीिटका मगमग बासना हाम्रो थेप्चे नाकमा सिधै आएर ठोकिन थाल्यो । रोटीको बासना त्यति नजिकै सुँघेर, ‘बल्ल मलाई भोक लाग्यो,’ ताराले हत्तर पत्तर गरेर भनिन् । हामी त्यसबेला १६ औं तलामा अवस्थित ‘होरिजन’ बफेट रेस्टुरेन्टको मुख्य ढोका बाहिर पुगिसकेको थियौं । जहाँ हरेक बिहानको ६ बजेदेखि भोलि बिहानको दुई बजेसम्म टनका टन खानाहरू खाने काम हुन्थे ।
‘पानीजहाज यात्राको एउटा असल पक्ष भनेको खानेकुरो पनि हो ।’
धेरै लामो समय पछाडि क्रिसले बोलेको त्यो वाक्यांश डढ्दै गरेको बेकनको गन्धसँगै मिसिएर म नजिकै आइपुगेको थियो । उसको भनाइमा शत प्रतिशत सहमत हुँदाहुँदै म ढोका भित्र छिरिसकेको थिएँ । जहाँ हाम्रो आँखाले देखिन्जेलसम्म भेगन, शाकाहारी र मांसाहारी तिनै प्रकारमा अङ्ग्रेजी, भारतीय, चाइनिज, टर्किस, जापानिज, मेक्सिकन र भूमध्यसागरीय खानाहरू सजाएर राखिएका देख्न सकिन्थे । गोमन सर्पको जिब्रोझैं घरि घरि बाहिर निस्किरहने ताराको जिब्रो फ्रेन्च फ्राइज, बर्गर, पिज्जा, पानकेक, अमलेट, नुडल्स र सलाद बाडने छुट्टाछुट्टै स्टेसनहरूमा तारासँग सँगै डुलिरह्यो ।
‘खै तपाईहरू के के लिनु हुन्छ, कुन्नी ?’ भन्दै म चाहिँ नुडल्स स्टेशनतिर लागें ।
एउटा खाली थाल टिपेर विभिन्न प्रकारका सामुन्द्रिक माछाहरूको चुली बनाएर नुडल्स बारमा केहीबेर खडा भई रहें । मेरो पालो आएपछि खानै नपाएर मर्न लागेका निमछुरो चाइनिज भान्से भिक्टर गोउको छेऊमा पुगे । भरर बलिरहेको आगोमा तातिरहेको कराहीमा दुई चारचोटी डाडुले चुटेर मेरो लागि नुडल्स र माछाको मिश्रित भोजन उसले तयार गरिदियो ।
भान्सेले तयार पारेको तातो तातो नुडल्स दाहिने हातमा बोकेर रेस्टुरेन्टबाट विस्तारै हिँड्दै बाहिर निस्कें । केहीबेरमा तारा, क्रिस र सानु पनि खाना बोकेर साउथाम्पटनको दृश्यावलोकन गर्दै गर्दै खान म बसिरहेको ठाउँ ‘लाइडो डेक’ मा आइपुगे ।
कुर्सीमा आरामले बसेर खाना खान लाग्दा दुरदृष्टिमा देखिने पोर्टसमाउथ हारबरबाट आएको मन्दमन्द बतासले हाम्रो गालामा यदाकदा छोइरहेको जस्तो आभास हुन्थ्यो । दिउँसोको त्यति सफा मौसममा इटचन नदी र टेस्त नदीको सङ्गममा अवस्थित ओसन टर्मिनलको पानीमाथि आकाशतिर छाती फर्काएर उतानो परिरहेको ब्रिटानिय क्रुजको सोर्हौ तलामा मध्याह्नको खाना खाँदै खाँदै बेलायती आमाको काखैमा रहेको सेतो टापु ‘आइल अफ ह्वाइट’ को सुन्दर दृश्य हामीले नियालिरहेका थियौं ।
सबैजना ब्यस्त भएर टेबलमा लञ्च खानेक्रममा कसैको मुखबाट एक्कै शब्द पनि फुत्किन सकेका थिएनन् । केहीबेरमा घुम्ती पेय पदार्थको सेवा प्रदान गर्ने उत्तर पूर्वी भारतकी युवती मोनिकाले एक गिलास वियर र तीन गिलास सेतो वाइन लिएर हाम्रो टेबलमा हाजिर भइन् । एउटा खुट्टा कँगारुको जस्तै बाङ्गो बनाएर प्रचलित राजकीय सम्मान गरे जस्तै नक्कल पारिन् र हामीले मागेको पेय पदार्थ टेबलमा थपक थपक राखिदिइन् । हामीले उनलाई धेरै धैरै धन्यवाद भन्ने बितिक्कै त्यहाँबाट विलय भइन् ।

खाना खाइसकेपछि इन्डोनेसियन युवतीले तीन वटा कफी र मेरो लागि एउटा ‘अर्ल ग्रे’ चिया ल्याएर टेबलमा उपस्थित जनाइन् । केहीबेरमा दुईजना फिलिपिनो युवतीहरूले तागालोक भाषामा गीत गाउँदै गाउँदै किस्तिमा थपनी केकहरू डुलाइहिँडेको देखेर तारा र सानुले मौकाको फाइदा उठाउँदै फेरि केक बजाए । रमाइलो मौसम र साउथाम्पटनको सुन्दर दृश्यले हामीलाई त्यस टेबलमा धेरै लामो समयसम्म अलमल्याइरह्यो ।
समय दिउँसोको ४ः०० बजेको थियो । पानीजहाजका कप्तान जोन म्याक्नलिले ‘ब्रिज’ बाट आकाश नै चर्काउलाझैं गरेर तीनचोटी ठूलो ठूलो हर्न बजायो । त्यसपछि साउथाम्पटन विदाई गर्ने क्रममा ध्वनी प्रशारक यन्त्रबाट मिठो अङ्ग्रेजी गीत ‘गुडबाइ इङ्लीस रोज’ बज्न थाल्यो । अङ्ग्रेजी गीतसँग सँगै धेरै जसो यात्रीहरू जहाजको बार्दलीमा उभिएर भुईमा कमिलाजत्रा देखिने मानिसहरूसँग हात हल्लाएर बिदाई गर्न थाले । जम्मा ४,३२० जना यात्रु र १,३९८ कर्मचारीको साथमा भिमकाया पानीजहाजले विस्तारै बन्दरगाह छोड्दा उदास भावमा ब्रिटानियको छोटो इतिहास मेरो मानसपटलमा नाचिरह्यो ।
हरेक घण्टा, ३ हजार ग्यालन तेल खर्च हुने ब्रिटानिय क्रुजको निर्माण गर्न सन् २०११ मा ट्रिस्टे, इटालीको फिनकान्टेरी कम्पनीलाई आदेश दिइएको थियो । जसले लगभग ४ वर्षपछि २६ फेब्रुअरी २०१५ मा मात्रै क्रुजलाई पूर्णरुप दिनसकेको थियो । फिनकान्टेरी कम्पनीमा २० हजार श्रमिकहरूले काम गर्ने भएकोले युरोपको सबैभन्दा ठूलो पानीजहाज निर्माण कम्पनी त्यो नै थियो ।
१४३ हजार टन कुल तौल क्षमता भएको १८ तले ब्रिटानिय क्रुजले विस्तारै साउथाम्पटन पानीलाई छाड्यो र अङ्ग्रेजी जलपथ ‘च्यानल’ तर्फ अगाडि बढ्यो । दिनहुँ ३ हजार अण्डा एवम् १५ हजार कफी पाक्ने पानीको पाँच तारे होटल ब्रिटानियले विस्तारै सेतो टापुलाई विदा गर्दै गर्दै अङ्ग्रेजी जलपथमा पुग्यो ।

अङ्ग्रेजी जलपथ पुगेपछि ‘२२ नट्स’ अथवा ४० किलोमिटर प्रतिघण्टाको बेगमा पानीजहाजले गति लिन थालेको पानीजहाजका कप्तान म्याक्नलीले बताए । अङ्ग्रेजी जलपथ छाडेर उत्तरी सागरमा लगभग ३६ घण्टाको जलयात्रा पश्चात् स्टाभाङ्गर नर्वेमा पुग्ने पानीजहाजको पूर्व योजना थियो ।
१० मार्च २०१५ मा बेलायतको हजुर महारानी एलिजावेथ दोस्रोले त्यो क्रुजको नाम ‘ब्रिटानिय क्रुज’ भनेर उद्घाटन गरेका थिए । बेलायती महारानीले उद्घाटन गरेको ब्रिटानीय पानीजहाज भएपनि स्टाभाङ्गर, नर्वे नपुगिन्जेल नयाँ नेपालको प्रथम पानीजहाज भन्दै धेरै लामो समयसम्म हामीले सम्झिरह्यौं ।
हालः अक्सफोर्ड, बेलायत, मेलमार्फत्

प्रकाशित मिति: भाद्र १४ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ६ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend