Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नियात्राः युरोपको आँखी झ्याल

हाम्रो कोशी आवाज
भाद्र १७ २०७७, बुधबार
नियात्राः युरोपको आँखी झ्याल

मुसलधारे पानीसँग पूर्व रसियन राजधानी ‘सेण्ट पिटर्सवर्ग’ रोइरहेको बेला नाताशाको गलबन्दीले अचानक उनको घाँटीमा एक फन्को मारयो । गलबन्दीले फन्को मार्दा उडाएर ल्याएको साइबेरियन मुसेअत्तरको वासनाले मेरो नाकको डण्डी नै भाँच्यो किनभने गाडीमा उनको ठीक पछाडि म आरामले बसेर नेभा नदीको किनारमा रहेको ‘युरोपको आँखी झ्याल’ सेन्ट पिटर्सवर्गलाई नियालिरहेको थिएँ ।
बैकालपछिको स्वच्छ पानीको सबैभन्दा दोस्रो ठूलो ‘लडेगा ताल’ बाट बहन शुरु गरेका नेभा नदीले हाम्रो भावना बोकेर सेन्ट पिटर्सबर्गलाई चक्कर लगाउँदै लगाउँदै फिनिस खाडीमा गएर मिसाइरहेको थियो ।
हामी केहीबेरपछि पिटर र र्पौल किल्ला पार गर्दैगर्दा साँघुमा चालक भ्लादिमिरले तेस्रो गियरमा गाडी घुमाउँदा आएको घकलक–घकलक आवाज मेरो श्रवणशक्ति गुम्दै गरेको कानमा केहीबेर गुन्जिरह्यो । त्यस सहरमा त्यस्तो ३४२ वटा साघुँहरू रहेका थिए । ठीक त्यहीबेला हाम्रो पथ प्रदर्शक नाताशाले त्यस किल्लाको निर्माण १७०६ बाट शुरु गरेको भएतापनि १७४० मा मात्रै पूर्णता पाएको कुरो दोस्रोपटक दोहोरयाएकी थिइन् ।
मैले किन किन हिजोदेखि अङ्ग्रेजी ज्ञानको भण्डार भएकी नाताशाका अनुहार चाहिँ त्यही दर्जा अनुसारको छैन भन्ने महसुस गरिरहेको थिएँ । तर उनको त्यो रसियन अनुहारलाई भर्खरै भेटेको युक्रेनियन अनुहारसँग तुलना गरेर त्यस्तो परिभावना गरेको थिएँ । साँच्चै विश्वमा युक्रेनियन युवतीहरू नभइदिएको भए यो जाबो संसार गोलो धब्बा भएको सबैभन्दा कुरुप ‘बोल्ब माछो’ झैं हुने थियो होला भन्ने मैले उनको ठीक पछाडि बसेर मनमनै कल्पना गरिरहेको थिएँ ।
किल्लाभित्र पसेपछि भ्लादिमिरले गियरलाई सजाय दिँदै घुक्लुक–घुक्लुक गर्दा गर्दै गाडी रोकें । गाडीमा हामी दुई दुई जना नेपाली, फ्रेन्च, ब्राजिलियन र एकजना सिङ्गापोरियन थियौं । गाडी बाट झरेपछि सेन्ट पिटर्सवर्गको ऐतिहासिक नाम पेट्रोग्राड, लेनिनग्राड रपुनः सेन्ट पिटर्सवर्ग भएको कुरो नाताशाले बेखुशी हुँदै हामीलाई बताइन् । त्यसपछि हामी उनी सँगसँगै दुई चार कदम अगाडि हिँड्यौं र नजिकै रहेको पिटर महानको सामाधिस्थल पिटर र पौलकोमुख्य गिर्जा घरमा पस्यौं । जहाँ प्रथम जार पिटरदेखि अन्तिम जार निकोलस दोस्रोसम्मको समाधि रहेको थियो ।
सन् १६७२ मा जन्मेर १७२५ मा देहान्त भएको पिटर महानलाई सम्झेर एक मिनेट मौनधारण गरेर बाहिर निस्कँदा म थोरै भावविह्वल बनेको थिएँ किनभने तिनै महामानवले संसारको सबैभन्दा सुन्दर सहर भेनिसको नक्कल गरेर १७०३ बाट ‘उत्तरको भेनिस’ सेन्ट पिटर्सबर्गको निर्माण गरेका थिए ।
गिर्जा घरको प्राङ्गणमा हिँड्दै हिँड्दै जाँदा ट्रबेस्क्यै बास्चन कारागार पुगेर जारले बनाएका ६९ कोठे कारागार सङ्ग्राहलय निरीक्षण गर्न थाल्यौं ।
हृदयभरि चिसो तरङ्गहरू सङ्गालेर टेकेको मेरो कदमहरूले लेनिनको दाजु अलेक्जाण्डर उलनोभले जेलमा छँदा बिताएका कोठामा परयो । त्यतिबेला उलनोभ भर्खर २१ वर्षका ठेटना थिए । कारागारमा छँदा दिइएको मृत्युदण्डले नै लेनिनलाई राजनीतिमा लाग्न प्रेरणा मिलेको कुरो नाताशाले मेरो कानको नजिक आएर सुटुक्कै बताइन् ।
त्यस कोठाबाट निस्केर सरासर लियोन ट्रोटस्कीलाई थुनिएको कोठा ‘सेल नम्बर ६०’ मा एक्लै छिरे । किनभने रसियन इतिहासको शुन्य ज्ञानकी लखपति ताराले झ्यालखानाको कोठा के हेरिरहने होला भनेर टकटक हिल पड्काउँदै सिँढी बाट ओरालो लागिन् र जेलबाट सरासर बाहिर निस्किन् । उनी त्यहाँबाट हिँडेपछि इतिहास जान्न खोज्ने र नजान्न खोज्नेको फरक पृथ्वी र काईपर बेल्टमा एक्लै कक्षिय गतिमा घुमिरहने क्षुद्र ग्रह यम जतिको टाढा रहेको सोचें ।

बोल्शेभिक कम्युनिस्ट पार्टीको विजयपछि पूर्व मेन्शेभिक पार्टीका ट्रोटस्की स्टालिनसँग फरक विचार राखेर मेक्सिकोमा निर्वासित जीवनयापन गरी रहेका थिए । ट्रोटस्की विश्वको कुनै कुनामा रहेपनि स्टालिनले उसको खुन गर्ने नीति लिएका थिए । त्यसैले उसको हत्याको दुईचोटी असफल प्रयासहरू भइसकेका थिए ।
एक साँझ चराचुरुङ्गीहरू बास बसेपछि थालमा रहेको आलुको चोइटा काँटाले उचालेर मुखमा पुरयाउन लागेको बेला अपघाति समूहको सदश्य जेमी रामनले अचानक हिमाल चढ्दा प्रयोग गरिने बन्चरो ‘आइस एक्स’ ले घाँटीमा हिर्काउँदा, ‘यसचोटीचाहिँ म बाँच्न सकिनँ,’ भन्ने अन्तिम शब्द पुकारेर यस धर्तीबाट उसले सधैंको लागि बिदा लिए ।
गोरी, जर्जियामा स्टालिनको जन्म नभएको भए सायद दुई करोड रसियनहरूले अल्पायुमै स्वर्गको यात्रा गर्न आवश्यक पर्र्दैनथ्यो होला भन्ने मनमनै सोचें । जुन मानवीय क्षति भनेको अध्यक्ष माओको भन्दा एक करोड थोरै र चान्सलर हिटलरको भन्दा एक करोड धेरै थियो ।
त्यहाँबाट निस्केर थोरै अगाडि हिँडदै गए, ‘केवल आमाले मात्र आफ्नो सन्तानको भविष्यको बारेमा सोंच्न सक्छिन् किनभने उनले आफ्नो सन्तानको रूपमा जन्म दिएकी हुन्छिन्,’ भन्ने सोचाइ राख्ने महामानव म्यासिम गोर्कीलाई थुनेको कोठामा पुगें ।
अनेकौ रोग, भोक र कष्ट सहेर ‘पाभेल’ जस्तो क्रान्तिकारी सन्तान हुर्काउने तिनै विश्व भरिको दरिद्र मजदुर आमाहरुको याद गर्दै गर्दै म त्यस कोठाभित्र पसें । किनभने मैले गोर्कीको ‘आमा’ उपन्यास पढिसकेपछि मेरो मस्तिष्कबाट रसियन साहित्यकारहरु टाल्सटाय, पुस्किन, चेखब र दोस टोई इभ्स्कि सँगसँगै उहाँको नाम पनि सम्झिरहेको थिएँ । उहाँले यिनै कोठामा थुनिएर बस्दा अर्को पुस्तक ‘सूर्यको सन्तान’ लाई पनि जन्म दिएका थिए ।
जेलको निरीक्षण सकिएपछि ८ हजार स्मारिका दुई हजार स्मृति स्तम्भ अनि युरोपको कला र संस्कृतिको विगत, वर्तमान र भविश्यको नै सर्वोत्कृष्ट सहरको गहिराइभित्र प्रवेश गर्न भ्लादिमिरले गाडीलाई दरबार स्वायरतिर हुइक्यायो । केहीबेरपछि नेभा नदीको दायाँ काखैमा रहेको लुभ्रे पेरिसपछि संसारको सबैभन्दा ठूलो कलाको सङ्ग्राहलय हर्मिटेज सङ्ग्राहलय पुरयायो ।
हृदयभरि बग्रेल्ती रहर पालेर आफू जन्मेको गाउँ बुइपादेखि हजारौ माइल टाढाको यात्रा गर्दै कहिले नेपोलियन र कहिले नाजीको अधिनमा जबरजस्ती कर खेप्न बाध्य भएको हर्मिटेज सङ्ग्राहलय पुग्दा छातिभरि कौतुहलताको श्वासप्रश्वास बढिरहेको थियो ।
‘चाँडो चाँडो गर्नु ?’
गाडी रोकिने बित्तिकै पूर्व कम्युनिष्ट शासकहरूको आदेश झल्काउने गरी नाताशाले छाडेकी शब्द नेभा नदीको पानीको बाछिटासँग मिसिएर मेरो कानको जालीभित्र फलामेतिर झैं पस्यो । हामी त्यहाँ पुग्दा ग्राण्ड बजार, इस्तानबुल जतिकै बाक्लो मानवीय भीडलाई उछिन्दै अग्रिम बन्दोबस्त गरेको समूहको टिकट छ भनेर सटासट सुरक्षा हलसम्म पुग्यौं ।
विलियम रटेन्जनको एक्स रे मेसिनबाट हाते झोलाहरू फुत्त निस्केर छुटकारा पाएपनि हाम्रो शरीरचाहिँ रसियन सुरक्षा अधिकारीहरूबाट छुटकारा पाउन सकेका थिएनन् । सम्पूर्ण शरीरको अङ्गप्रत्यङ्ग अधिकारीहरू हातबाट जोखिएपछि जुत्ता ढाक्न प्लाष्टिकको ‘ओभर सुज’ दिए र उनीहरूकै भाषामा शुभदिनसम्म भनेर हामीलाई बिदा गरी पठाए ।

१७६४ मा हजुर महारानी क्याथरिन महानले निर्माण गरेकी हर्मिटेज दरबार सङ्ग्रहालय सम्भवतः संसारको सबैभन्दा पुरानो एवम् ठूलो सङ्ग्रहालय होला ? किनभने त्यो दरबार क्षेत्रभित्र जम्मा ६ वटा त्यस्तै भीमकाया कलात्मक दरबारहरूको सङ्ग्रहालय रहेका थिए । १५ औं शताब्दीमा बनेका पूर्वीय गलैंचाहरू, छुन नपाइने सुनका ढोकाहरू, मध्यकालीन युगका दीपमालाहरू सुनबाट बनेका कुर्सी टेवलहरूले मागेर खाने राष्ट्रको हामी मात्रै होइन चिनियाँ पर्यटकहरूको पनि मनै लोभ्याउँदथ्यो ।
माइकल एन्जेलो, रेम्ब्रान्ड, राफेल, भिन्ची, पिकाशो, बर्बेरिल्ली, टिजियानो, ज्याकोब अनि भेन गोगहरूको मेहनत र परिश्रमबाट निस्केका कलापनि आँखै दुखिन्जेल हेर्न पाइयो । महारानी क्याथरिनले पूर्वीय र पश्चिमी ३८ हजार पुस्तक १६ हजार ड्रइङ ४ हजार पेन्टिङ र एक हजार जेम्स जम्मा गरेर विश्वभरिको कलाको विद्यार्थीहरूलाई अध्ययन गर्न सजिलो हुने गरी जम्मा गरिदिएकी छिन् । ढुङ्गे युगदेखि पश्चिमी यूरोपियन सभ्यतासम्मको तीन मिलियनभन्दा बढी सरसमानहरूलाई ३ सय ५० वटा राजकीय कोठाहरूमा सजाएर राखिएका थिए ।
‘यदि यहाँ भएको हरेक चिजलाई एकएक मिनेट समय दिएर हेर्ने हो भने करिब १२ वर्ष जति लाग्नेछ ।’ सङ्ग्राहलयभित्र सय चोटी पसिसकेकी नाताशाले भनिन् । उनको घतलाग्दो भनाई सुनेर चकित पर्दै हरेक वर्ष २५ लाख मानिसहरूले पाइताला पार्ने त्यो सङग्राहलयमा आफ्नो मृत्युभन्दा अगाडि एकचोटी पुग्नैपर्ने मलाई त्यतिबेला बल्ल महसुस भयो । अनि मेरा हात्तीपाइले खुट्टाले टेकेका विश्वको ४ सय ३० सहरहरूसँग तुलना गर्दा भेनिस र एथेन्सपछिको तेस्रो नम्बरमा त्यसलाई पारे ।
अर्कोदिन बाल्टिक सागरको बादल र साइबेरियन पर्वतको बादल जुँधेर निक्लेको वर्षे झरिले हामीलाई बिहानदेखि सताइरह्यो । तैपनि हामी १० बजे नै क्याथरिन दरबारमा पुगिसकेका थियौं । दरबारमा पुगेपछि मेरो जिन्दगीमा सबैभन्दा बढी सुनेको सुबिख्यात लब्धकीर्तिमय कोठा ‘एम्बर कोठा’ भित्र पसिहाल्यौं । किनभने त्यो कोठाका भित्ताहरू दुर्लभ ‘एम्बर’ र सुनका प्यानलहरूबाट बनेका थिए । मुख खोलेर बोल्न र तस्वीर लिन अनुमति नपाइएको तर एक बिलियन डलर मूल्य बराबरको त्यो कोठा विश्वको ‘आठौं आश्चर्य’ मानिन्थ्यो ।
आठौं आश्चर्य र मौसमको उल्का सँगसँगै केही समयपछि झिलझिले प्लाष्टिकको वर्षादी ओढेर हाम्रो शरीरले पिटर होफ दरबारको सामशोन फाउन्टेनको सिँढीमा पहरेदार शुरु गरिसकेको थियो । शिबुया, टोकियो ट्राफिक बत्तीको पादचारी मानव भीड जस्तै भीडमा बिहानको ठिक ११ बजे कानको जाली नै फुटाउने गरी बजेको रसियन सङ्गीतको साथमा ६४ वटा ‘फाउन्टेन’ हरू बाट एक्कैसाथ पानी निस्कँदा दिउँसै दरबार झलमल्ल भएको देखिन्थ्यो ।

पिटर महानले युरोपभरिको कुना कुनाबाट खोजेर ल्याएको सबैभन्दा अनुभवी इन्जिनियरहरूबाट बनाएको पिटर होफ दरबार १२ हजार फुटबल मैदानजतिको क्षेत्रफलमा फैलिएको थियो । जहाँ प्रत्येक वर्ष ४२ लाख पर्यटकहरूले नजर लगाउने गरेका थिए ।
फिनल्याण्डको खाडीबाट आएको सामुन्द्रिक हावा सँगसँगै हामी ‘होभरक्राफ्ट’ चढेर मोइका नदीको किनारमा रहेको यासुपोभ दरबार पुग्दा जाडोले ताराको नाखबाट तुरुरु सिङ्गान चुहिरहेको थियो । तिनै दरबारमा राजकुमार फेलिक्स यसुपोभले जार निकोलस दोस्रोको पत्नी एलिक्सको विश्वास पात्र ग्रिगोरी रसपुटिनको विभत्सपूर्ण तरिकाले गरिएको हत्याको कथा सुनेपछि र मैले झोलाबाट निकालेर दिएको आधा बोतल ‘स्मिर्नअफ’ भोड्का बजाएपछि उनको सिङ्गान बल्ल हिउँदे भेलझैं सुक्यो ।
धेरै इतिहास जानेर के गर्ने होला भन्ने विचारकी माथवरी श्रीमतीसँग सेन्ट पिटर्सवर्गको अन्तिम दिन परालको आगो बाल्दैबाल्दै ‘चर्च अफ द सेभिएर अन स्पिल्ड ब्लड’ पुग्यौं । १३ मार्च १८८१ को दिन अलेक्जेन्डर दोस्रोको हत्या भएको त्यस ठाउँमा निर्माण गरिएको पाँच वटा अण्डाकार छानोको गुम्बजभित्र मध्यकालीन युगको विभिन्न रङ्गीन चित्रहरू कोरिएका थिए ।
आफ्नो पृय बाबुको अमर सम्झनामा अलेक्जेन्डर तेस्रोले १८८३ देखि बनाउन शुरु गरेतापनि निकोलस दोस्रोले १९०७ मात्र निर्माण कार्य सम्पन्न गरेका थिए । त्यति लामो समय लगाएर अघोर आकर्षक बनाइएका गुम्बजको नजर लगाएर विर्यस्खलन हुन लागेको बोकाले झै वा… गरेर मुख खोलिरहँदा मेरो गिजा पग्लिएर हाँसी दाँत भुईमा झर्न खोज्यो ।

बोल्शेभिक कम्युनिष्टहरूले विजय प्राप्त गरेपछि माक्र्सले कण्ठस्थ बनाउन लगाएको ‘धर्म जनताको लागि अफिम हो’ भनेर तीन तीनचोटी भत्काउन प्रयत्न गरेपनि विश्वको अखट्टै सुन्दर गिर्जाघरलाई पार्टीको कुनै तह र तप्काले भत्काउन आदेश दिन सकेनन् ।
कम्युनिस्ट शासकहरुले अन्तिम जार निकोलस र श्रीमती एलिक्सलाई १७ जुलाई १९१८ को मध्य रातमा गोली हानेर हत्या गरेका थिए ।
राष्ट्रघाती महाकाली सन्धि गर्नेलाई पहिचान गरेर खुलामञ्चमा टमहक वा स्कडले शिर उडाइदिए पनि प्रायश्चित नगर्ने मेरो हृदयले कुनै गल्ती नगरी मृत्युदण्ड पाएको त्यति प्यारी रसियन छोरीहरू ओल्गा २२ टाटियाना २१ मरिया १९ एनेस्तासीय १७ र एकल छोरा अलेक्स १३ वर्षकोलाई पनि त्यसै बिहानीपख पालैपालो नाम बोलाएर मृत्युदण्ड दिइएको थियो ।
सबै दिदीहरूको मर्ने पालो सकिएपछि मेरो पालो आउँदैछ भनेर दुई–दुई घण्टा मृत्युको प्रतिक्षा गरेर बसेका बिमारी ‘अलेक्स’ लाई त्यो वर्षको १७ जुलाईको अरुणोदय निक्कै दुखदायी बनिरहेको थियो होला ?
हालः अक्सफोर्ड, बेलायत, मेलमार्फत्

 

प्रकाशित मिति: भाद्र १७ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend