चैत ११ देखि पठनपाठन ठप्प छ । बन्दाबन्दी अर्थात् लकडाउनले गर्दा आजसम्म पनि पठनपाठन छैन । सबैखाले विद्यार्थीहरूको नियमित पठनपाठन बन्द छ । धरानको मात्रै कुरा गर्ने हो भने पनि यहाँ करिब १५ प्रतिशत विद्यालयले मात्रै यसअघि अनलाइन कक्षा अर्थात् दुर शिक्षा चलाएको देखिन्छ ।
अहिले पनि कक्षा चढेर पढ्नुपर्ने विद्यार्थीको भविष्य अलमलमै छ । धरानमा पनि विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका ०७७ कार्यान्वयन गर्नका लागि धरान उपमहानगरपालिका लागेको देखिन्छ । लकडाउनका कारण घरमै रहेका विद्यार्थीलाई वैकल्पिक व्यवस्था गरी असोज १ गतेदेखि पठनपाठन गराइने भएको हो । कोरोना महामारीले तत्काल विद्यालय खुल्ने सम्भावना नरहेपछि शिक्षा मन्त्रालयले वैकल्पिक व्यवस्थाबाट विद्यार्थीलाई पठनपाठन गराउन लागेपछि धरान उपमहानगरपालिका शिक्षा महाशाखाले पनि यो कार्यान्वयन गराउन लागिपरेको छ ।
विद्यालय खुलेर नियमित पठनपाठनको सहज अवस्था सिर्जना नहुञ्जेल खुला तथा दुर शिक्षालगायत वैकल्पिक शिक्षा प्रणालीबाट सिकाइ सहजीकरण गर्न निर्देशिका ल्याइएको महाशाखाका पमुख रत्नबहादुर कटुवालले जानकारी दिए । उनले धरानका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशिका कार्यान्वयन गराउन सुचना जारी गरिएको बताएका छन । ‘मन्त्रालयले असार १ गतेबाट उक्त निर्देशिका बमोजिम वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने, गराउने व्यवस्थाका लागि संघ, प्रदेश र स्थानीय तहका सबै निकायहरूलाई अनुरोध गरेको छ, हामीले पनि सोही अनुसार आफना बालबालिकालाई विद्यालयमा सम्पर्क राखी विद्यालयले व्यवस्थापन गरे बमोजिमको कक्षामा सहभागी गराइदिन हुन अनुरोध गरिएको छ’, उनले भने ।
निर्देशिकामा प्रविधिका माध्यमबाट पठनपाठन गर्न सकिने उल्लेख छ । इन्टरनेट, रेडियो, टिभी, अनलाइन र अफलाइनबाट पठनपाठन गर्न सकिन्छ । शिक्षकले सिक्ने र सिकाउने कुरालाई सहजीकरण गर्नुपर्नेछ । आफूले पढाउनेबाहेकका विद्यालयका विद्यार्थीको सूचीसमेत शिक्षकले तयार पार्नुपर्नेछ ।
विद्यार्थीको ठुलो जमात् प्रविधि पहुँच बाहिर छ जो आफैमा धेरै छरिएको र विविध अवस्थामा छ । हार्ड कोर समूहको रूपमा रहको यो समूहलाई सहजीकरण गर्ने गराउने कुरा निर्देशिकाले भने जस्तै सहज छैन । वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण गर्ने विषय अवधारणा र व्यवस्थापन दुवै रूपमा चुनौतीपूर्ण देखिन्छ ।
वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण निर्देशिकाले निजी क्षेत्रका विद्यालयहरुलाइ समेट्ने प्रयास गरेको देखिँदैन । यो अर्को चिन्ता र चुनौतीको विषय हो । सबैभन्दा महत्वपूर्ण कुरो, यो विषम परिस्थितिमा सबै विद्यार्थीहरू सिकाइका लागि स्वयम् उत्प्रेरित र मानसिक रूपमा तयार देखिँदैनन् । प्रविधि र सिकाइका विभिन्न साधनहरूमा पहुँच हुनेहरुपनि वैकल्पिक प्रणालीबाट सिकाइ गर्ने कुरामा अभ्यस्त हुन समय लाग्ने देखिन्छ ।
‘वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण निर्देशिका’ जारी गरेको छ, जसमा विद्यार्थीहरूको पहुँच अनुसार रेडियो, टिभी, अनलाइन, अफलाइन माध्यमबाट पठनपाठन अगाडि बढाउने परिकल्पना गरिएको छ । यसैको आधारमा असार १ गतेबाट सरकारकै अग्रसरतामा रेडियो, टेलिभिजनमार्फत शैक्षिक कार्यक्रम सुरु भएका छन् । हुन त गैह्रसरकारी तवरमा यस्ता कार्यक्रमहरू वैशाखदेखि नै सञ्चालनमा आइरहेका छन् । केही नहुनुभन्दा देशको क्षमताअनुसार जन्मिएको यो अवधारणा अहिलेको एउटा विकल्प हो । यसको प्रभावकारिता भोलि अनुसन्धानले देखाउँला ।
यो निर्देशिकाको एउटा सकरात्मक पक्ष भनेको पठनपाठनको सहजीकरणमा अभिभावकलाई पनि अघि सारिएको छ । यतिबेला आएर मन्त्रालयलाई सिकाइ सहजीकरणमा अभिभावकको भूमिका खड्किएछ । ढिलै भए पनि अभिभावकलाई सिकाइ केन्द्रित भूमिकामा अघि सारिएको छ । अभिभावकलाई बालबालिकाको सिकाइका लागि उत्प्रेरक भूमिका निर्वाह गराउने, ‘होम स्कूलिङ’ गराउने र ‘होम स्कूलिङ’ सिकाउन प्रदेशस्तरबाट अभिभावक शिक्षा र तालिम सञ्चालन गराउने प्रावधान राखिएको छ ।
त्यसैले अब भावी नीति र कार्यक्रमहरूमा हरेक अभिभावकलाई वैकल्पिक शिक्षकका रूपमा विकास गरौं । त्यसका लागि क्षमता विकासका कार्यक्रम ल्याऔं । शिक्षकलाई जस्तै क्षमता विकासका तालिम, कार्यशाला, गोष्ठीमा अभिभावकलाई पनि किन नल्याउने ?
अभिभावकलाई पनि पाठ्यक्रम राम्रोसँग बुझाऔं । आधारभूत शिक्षण विधि तथा प्रक्रियाहरू सिकाऔं र आफ्ना बालबालिकाको सिकाइको लक्ष्य आफैँ निर्धारण गर्न लगाऔं ।
वैकल्पिक सिकाइ प्रणाली लागु गरेसँगै शिक्षामन्त्रीले अभिभावकसँग ठूलो अपेक्षासहित घरलाई शिक्षालय बनाउनुपर्ने घोषणा गरे । यसका लागि अभिभावकले सिकाइ सहजकर्ता र सह–शिक्षकको भूमिका नखेली हुँदैन । टेलिभिजन, रेडियो, मोबाइल वा कम्प्युटर खोलेर एकतर्फी ‘लेक्चर मेथड’ सुनाउँदैमा सिकाइ हुन्छ भन्ने भ्रममा अभिभावक र शिक्षक पर्नु हुँदैन । वास्तवमा बालबालिका लागि यस्तो ‘लेक्चर मेथड’ उहिल्यै फेल भइसकेको विधि हो ।
सिकाइका लागि तत्परता चाहिन्छ । अन्तरक्रिया चाहिन्छ । सहपाठीसँग सहकार्य चाहिन्छ । क्रियाकलापमा आफैँ सरिक हुनुपर्छ । ‘ट्रायल एण्ड एरर’ चाहिन्छ । नजानेको, नबुझेको सोधपुछ गर्नुपर्छ । जुन कुरा दूर शिक्षाका कमजोरी हुन् । अर्कोतर्फ अनेकथरि कार्टुन र रमझमलाई छोडेर टेलिभिजन हेरी पढ्न विद्यार्थीलाई प्रोत्साहन गर्नै गाह्रो छ भने रेडियो सुनेर पढ्ने कुरा त उनीहरूलाई खेलाँचीझैँ लाग्नेछ । विद्यालय नखुलेसम्म यसो भुलाऊँ भन्ने हो भने अर्कै कुरा, होइन साँचो अर्थमा सिकाउने नै हो भने बालबालिकासँग एकजना सह–शिक्षक चाहिन्छ र त्यो जिम्मेवारी अभिभावकले पूरा गर्नुपर्ने छ । त्यसैले अभिभावक पनि विद्यार्थीसँगै अघि नसरी सुखै छैन ।
सिकाउनलाई पहिले आफूले पनि सिक्नुपयो । आफू पनि अगाडि सरेर कार्यक्रम हेर्नु, सुन्नु परयो । नबुझेको ठाउँमा उनीहरूलाई बुझाउनु पर्यो । छलफलमा सरिक हुनुपर्यो । उनीहरूको कक्षाकार्य वा गृहकार्य हेरेर सुझाव दिन सक्नु पर्यो । एक हिसाबले अभिभावकले बालबालिकाको सहपाठी र सह–शिक्षकको टोपी लगाउनुपर्ने देखिन्छ ।
बालबालिकाको पढाइलेखाइका लागि विद्यालयको मात्रै मुख ताकेर हुँदैन, यो सिकाइ प्रक्रियामा अभिभावकलाई पनि सह–शिक्षकको रूपमा विकास गर्नुपर्छ । त्यसो नगरी दूर शिक्षा अथवा वैकल्पिक शिक्षा कार्यक्रमहरू खासै प्रभावकारी हुन सक्दैनन् । त्यसो भए सिकाइ सहजीकरणमा अभिभावकलाई पनि अगाडि बढाउन हामीले के गर्न सकिन्छ त ? यसका लागि तत्कालीन र दीर्घकालीन उपाय के हुन सक्छन् ?