तिहार पर्वको आफ्नै महिमा छ । तिहार हिन्दू धर्मावलम्वीहरुको दशैंपछिको सबैभन्दा ठूलो सांस्कृतिक पर्व हो । यो पर्व कार्तिक कृष्णपक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित गरेको पाइन्छ । दाजु यमराजलाई विशेष मान(सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ ।
तिहारले प्रेम, सद्भाव र मित्रता बढाउने मात्र होइन, संस्कार, संस्कृति, सभ्यता बोकेको छ । सांस्कृतिक तिहार अहिले हाम्रो घर–आँगनमा भित्रिसकेको छ । हिन्दू धर्मावलम्वीले दीपावली (दिवाली) को रुपमा यस पर्वलाई नेपाललगायत विश्वका थुप्रै देशमा धूमधामसाथ मनाइन्छ । यसलाई दीपावली अनि दिवाली नामले पनि चिनिन्छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई र लक्ष्मी, गोरु–गोवर्धन र भाइ पूजा गरिन्छ ।
तिहार रङ्ग, फूलमाला, उज्यालो र विभिन्न पूजाआजाको पर्वमा हो नै । जसमा पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई भब्यरुपमा हर्षोउल्लासका साथ रमाइलो गरी मनाउने गरिन्छ ।
तिहारको पाँच दिनमध्ये पहिलो दिन काग तिहार, दोस्रो दिन कुकर तिहार, तेस्रो दिन कार्तिक कृष्ण अमावश्या अर्थात् औंसीको दिन हो । यो दिनलाई गाई–तिहार पनि भनिन्छ । यो दिन लक्ष्मीलाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ । गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर गाई तिहारको बेलुका लक्ष्मीपूजा गरिन्छ । यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य घर–घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ । यही दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म भएको थियो । यस्तै, चौथो दिन गोरु तिहार, हल तिहार वा गोवर्धन पूजा मनाइन्छ । यो दिन महिलाले भैलो समेत खेलेर मनाउने गर्दछन् ।
भाइतिहार (भाइ टीका) तिहारको वा यमपन्चकको अन्तिम दिन यो पर्व विशेष उत्साहका र महत्वका साथ मनाइन्छ । यो पर्व दिदीले भाइलाइ र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान–सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा–मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान–दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायूको कामना गर्दै निधारमा सप्तरङ्गी टीकास पहेंलो, नीलो, सुन्तला रङ्गको, सेतो, हरियो, रातो र कालो सात रङ्गलगायतका सप्तरङ्गी टीका लगाइदिने गर्दछन् ।
समग्रमा हेर्दा तिहारका गतिविधिले हाम्रा संस्कार र सभ्यताको झल्को दिन्छन् । यसले आपसी मेलमिलाप, सद्भभाव, स्नेह, प्रेम र प्रकृति पूजा सिकाउँछ । दाजुभाइ र दिदीबहिनी बीचको आदरभाव र स्नेहाभावको अनुपम पर्व हो, तिहार । दुवैले एकआपसमा श्रद्धाभक्ति एवं आदरपूर्वक सप्तरङ्गी टीका निधारमा लगाइदिएर, मखमली, दुबो, सयपत्री र गोदावरीको माला गलामा लगाइदिएर एकआपसमा आयु आरोग्य दीर्घायु होस्, रोगव्याधिले दुःख नदेओस् भनेर कामना र प्रार्थना गर्ने गरिन्छ ।
तर यसपटक कोरोना महामारीले सबैलाई अत्याउँदै बित्याँस पनि पारेको छ । हामी योसँग जोगिनुको विकल्प भनेको सावधानी अपनाउनु मात्रै हो । यसपटकको तिहार यस्तै सावधानीका साथ मनाऔं । यो चाडले सत्य र असल कार्यका लागि बत्तीजस्तै प्रज्जवलित हुन हामी सबैलाई प्रेरित गरोस्, शुभ तिहार । अन्त्यमा सम्पूर्ण पाठक, विज्ञापनदाता, शुभचिन्तक महानुभावहरुमा तिहारको शुभकामना ।
