Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा सुनसरीकै ठूलो बङ्गुरपालन फर्म !

हाम्रो कोशी आवाज
मंसिर २५ २०७७, बिहिबार
धरानमा सुनसरीकै ठूलो बङ्गुरपालन फर्म !

धरानः धरानका ६७ वर्षीय लाहुरे पुण्यबहादुर राईको धरानमै रहरलाग्दो बङ्गुरपालन छ । बङ्गुर पालेर करोडपति बनेका उनी अहिले पनि यसैमा रमाइरहेका छन् ।
१९ वर्षसम्म ब्रिटिसमा लाहुरे जीवन बिताएका उनी अर्थात् नाम पुण्यबहादुर (गाउँमा चिनिने नाम पाण्डुराज राई) अहिले करोडौंको मालिक बनेका छन् भन्दा हुन्छ । उनको फर्मको ना-–वाहिङ बङ्गुरपालन तथा कृषि । यो धरान–२० माछामारामा छ ।
ब्रिटिस आर्मीमा रहँदा पेन्सन पकाएपछि नाम काटेर फर्किनेमा पर्छन् धरान-८ भोटेपुलका बस्ने यी लाहुरे पुण्यबहादुर । विशेषतः यस्तै कृषिकर्ममै रमाउँछु भनेर फर्किएका उनी यहाँ १५ महिना पनि टिकेनन् रे । कारण–उनी यहाँ घुलमिल हुन सकेनन् । उनी बढी पियक्कड बने । पियक्कड बनेसँगै मासु पनि धेरै खान थाले । फेरि उनी विदेश नै पुगे । ३ वर्ष विदेश बसिसकेपछि उनी फेरि नेपाल फर्किएर यस्तो व्यवसाय सुरु गरेको बताउँछन् ।
यो फर्म सम्भवतः धरान मात्रै नभएर सुनसरीमै ठूलो बङ्गुरपालन फर्म हो । उनले यो फर्म २०६५ साल फागुन महिनादेखि शुरु गरेका थिए ।
उनी भन्छन्- शुरुमा डुबें
शुरुमा लगाइएको लगानी उनले डुबाएको बताए । २५ लाख रुपैयाँ डुब्यो तर पनि आत्तिएनन् । ‘शुरुमा ४२ वटाबाट शुरु गरेको व्यवसायले २५ लाख डुबायो’, उनले खुलाए, ‘तर पनि कतिपनि हतोत्साहित, बिचलित नभई त्यसपछि एउटा बङ्गुरबाट शुरु गरेको यो फर्म अहिले करोडौंको बनेको छ ।’
उनी भन्छन्- चारपटक बौलाएँ पनि
म ब्रिटिस आर्मीमा ‘अलराउण्ड क्वालिफाइड’ भएको थिएँ । प्राथमिक ‘ट्रिटमेन्ट’ प्रति पनि म निकै अगाडि थिएँ । १९ वर्षको ब्रिटिस आर्मीको ब्रेकपछि म चारपटक बौलाएँ, डिप्रेसन हो वा अन्य कारण के हो म बौलाएँ । तर त्यतिबेला पनि म घरमा बसिनँ । त्यतिबेला काम गरेको देखेर सबै छक्क परे । एकदिन पनि म घरमा बसेको छैन । काम गरिरहेको छु । आत्मबल बढाउनुपर्छ गर्न नसकिने र नहुने चिज केही छैन । र डिप्रेसन भएपनि घट्दै जाने रहेछ । ‘जति व्यस्त भइयो, त्यति यस्तो हुँदैन भन्ने मैले महसुस गरेको छु’, उनी भन्छन् ।
छोराछोरी युके र अष्ट्रेलियामा
उनको एउटा छोरा र तीन छोरी युकेमा छन् भने अन्य अष्ट्रेलियामा छन् । जेठी, माहिली र कान्छी छोरी युकेमा छन् । छोरा युकेमै इन्जिनियरिङ पढ्दैछन् । छोराले पनि आफै कमाउँदै त्यहाँ मास्टर्स गर्ने तयारीमा छन् । अन्य छोरी ज्वाइँ पनि अष्ट्रेलियामा छन् ।
हामीले प्रश्न गरयौं किन मरिहत्ते ? उनले सहजै भने, ‘अन्यले पनि यही मरिहत्ते शब्द नै प्रयोग गर्छन् तर म अलि फरक छु, सुगरलगायत अन्य रोग पालेर बस्नुभन्दा काम गर्नु नै वेश । त्यस्तै, मैले यस्तो व्यवसाय गरेर यहाँ नाम पनि कमाउनु छ, लाहुरे होस् वा अन्यलाई प्रेरणा दिनु छ ।
अहिले पनि धेरैले ६७ वर्षमा यस्तो नगरौं हौ भन्दै सल्लाह, सुझाव दिने गरेको उनले बताए । ‘यतिको उमेर भइसक्यो, किन मरिहत्ते गर्छस्, के का लागि मरिहत्ते गर्छस् भनिरहन्छन् तर पनि केही छैन । म पौरख गर्न चाहन्छु, म पौरखी हुँ, मरेर जाँदा पनि नाम कमाइयोस्, यसले जीवनभर बङ्गुरपालन गरेर अन्यलाई प्रेरणा दियो भनुन् भन्ने मेरो चाहना हो ।’ उनले थपे ।
कस्तो छ व्यवसाय ?
त्यहाँ उनको आफ्नै निजी फर्म छ । उनको निजी फर्म २०६५ देखि सञ्चालित हो । त्यस्तै, किरातेश्वर कृषि सहकारी संस्थाद्वारा सञ्चालित बङ्गरफर्म पनि छ । त्यहाँ ७० सालदेखि फेरि सहकारीमार्फत् पनि छुट्टै फर्म खोलिएको छ । निजी फर्ममा १२० वटा माउ मात्रै (जसले पाठापाठी उत्पादन गरिरहन्छ) । १०० वटा भन्दा बढी मासुका लागि बङ्गुरपालन गरेका छन् । यस्तै, पाठापाठी पनि छन् । त्यस्तै, सहकारीमा लगभग ५०० भन्दा बढी बङ्गुर छ ।
लगानी र आम्दानी
उनले हालसम्म यहाँ ३ करोड रुपैयाँ लगानी लगाइसकेका छन् । उनले पालेको एउटा बङ्गुरले वार्षिक १ लाख ५० हजार आम्दानी दिने गरेको उनले बताए । ५ जना कर्मचारीले रोजगार पनि पाएका छन् ।
बजारको अवस्था के छ ?
बजारमा बङ्गुर पुरयाउन हम्मेहम्मे पर्छ । विशेषतः क्वालिटीको बनाए बजार पाउन मुस्किल हुन्छ ।
पुरस्कार पाएपछि झनै हौसिए
प्रदेश १ कै उत्कृष्ट बन्दै पुरस्कृत समेत भइसकेका उनी झनै हौसिएका छन् । सरकारी अनुदान पनि पाएका छन्, उनले बोलेरो गाडी किनेका छन् । सुनसरी बङ्गुरजोनबाट गाडी लिएको उनले बताए । ‘मैले ३७ औं खाद्य दिवसको अवसरमा किरातेश्वर कृषि सहकारी संस्थामार्फत् पुरस्कृत बनें, त्यस्तै, राष्ट्रियस्तरमा दोस्रो, प्रदेशको उत्कृष्ट कृषकभित्र परेर सम्मानपत्र पाएको छु, त्यसपछि म झनै हौसिएको छु ।’ उनले भने ।
कसरी पाल्ने बङ्गुर ? उनको सुझाव यस्तो छः
खोरमा ५०० सुँगुर एकैपल्ट हाल्नुभएन । बङ्गुर पाल्न पनि एकैपटक गर्छु र बेच्नका लागि एकैपटक गर्छु भन्नुभएन । कति महिनामा मार्केटमा लाने हो, त्यो विचार गर्नुपर्छ । हरेक महिनामा बङ्गुर थोरै थोरै थप्दै लानुपर्छ ।
देशमा सम्भावना छैन भन्नेहरुका लागि
सुखसयल भनेको आत्मसन्तुष्टि हुनु हो । आफ्नै देशमा पौरख गरे के हुन्न र ? आफ्नै देशलाई हराभरा पारी देशलाई समृद्धिको दिशातर्फ अघि बढाउन सकिन्छ ।
विदेशमा भनेको क्षणिक हो, जबसम्म पाखुरा हुन्छ त्यहाँ काम दिन्छ । पैसाले सबै चिज हुन्छ, पैसा नै ठूलो कुरा होइन, पेन्सन पाकेपछि यहाँ आउने थिइनँ । उतै बस्ने थिएँ तर यतातिर केही गरौं भन्ने सोंचले नै नेपाल फिरेको हुँ । जन्मेर नाम कमाउने हो, त्यही भएर कसैलाई नामसँगै प्रेरणा दिऔं भनेर नेपाल आएँ । नेपालमा २-४ लाख लगानी गर्नुहुन्छ भने विदेश नजानुहोस् । कमाएर आएपनि यहाँ दोब्बर-तेब्बर कमाउन सकिन्छ ।
दिगो व्यवसाय गर्नुभयो भने छोराछोरीले यही सिक्छन् । उदाहरणका लागि भन्छु– मैले १९ वर्षसम्म छोरालाई यहाँ बङ्गुरको गोबर सोराएको छु, अहिले ऊ आफैं कमाएर पढ््दैछ । ‘छोराले यहाँ दुःख देख्यो नि अनि पो आफै प्रगति गरेको छ नि ।’ उनले थपे ।
उनले त्यहाँ केही लोकल कुखुरापालन पनि शुरु गरेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट किनेको गाडीसँग तस्वीर खिचाउँदै राई । तस्वीरः हाम्रो कोशी आवाज

गफिँदै राई । तस्वीरः हाम्रो कोशी आवाज

कसरी यो व्यवसायमा ? यसो भन्छन्- कृषक राईः (हेरौं भिडिओमा)

यस्तो छ, कृषक राईले चलाएको कृषि फर्म ? (हेरौं भिडिओमा)

फर्म सुनसरीमै ठूलो, देशभर र प्रदेश १ मा पनि उत्कृष्ट (हेरौं भिडिओमा)

प्रकाशित मिति: मंसिर २५ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend