तेह्रथुमः तेह्रथुम गाउँपालिका–६ सुदापमा प्लास्टिक पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।
स्थानीय एक सहकारी संस्थाले सिंचाइका लागि निर्माण गरेको पोखरीमा डुबेर उनीहरूको मृत्यु भएको गाउँपालिका उपप्रमुख तारा खरेल ढकालले बताइन् ।
पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु हुनेहरूमा ७ वर्षीया रन्जना लिम्बू, ६ वर्षीया रोजनी लिम्बू र ८ वर्षीया सुहाना लिम्बूको मृत्यु भएको उनको भनाइ छ । रन्जना र रोजनी एकाघरका दिदीबहिनी हुन्। हिजै बिहानदेखि घरबाट हराएका उनीहरू खोजी गर्ने क्रममा मृत भेटिएका थिए ।
एकैपटक तीन बालिकाको शव भेटिएपछि गाउँनै शोकमा डुबेको छ । कलिला उमेरका बालिकाहरुको कसरी मृत्यु भएको हो भन्ने यकिन हुन सकिरहेको छैन । तर खेल्नका लागि भनेर उनीहरु शनिबार दिउँसो घरबाट निस्किएको पाइएको छ ।उनका अनुसार पोखरी गहिरो छ भन्ने चाल नपाएका कारण पौडी खेल्न पसेका तीनै जना डुबेपछि बाहिर निस्कन नसकेको हुनसक्ने अनुमान गरिएको छ ।
शवहरु पोष्टमार्टमका लागि सदरमुकाम म्याङलुङ पठाइएको छ ।